तनहुँ। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ। यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शनिबार शिलान्यास गरे। सो अवसरमा उनले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्वपूर्ण प्रदेश रहेको चर्चा गरे। प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उनले बताए।
प्रदेशभित्र धेरै धार्मिक सम्भावना बोकेका ठाउँ भएकाले त्यसको विकासका लागि सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे। “धर्मलाई पर्यटनसँग जोडेर अगाडि लैजान सकिए प्रदेशलाई समृद्ध बनाउन सकिन्छ, त्यसतर्फ सरकार लागिपरेको छ”, उनले भने।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, तत्कालीन् संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वेदव्यासको जन्मभूमि दमौली र आसपासका क्षेत्रलाई धार्मिक पर्यटनको माध्यमबाट विकास गर्न सकिने धारणा व्यक्त गरे।
हाते ट्र्याक्टर वितरण
कृषि ज्ञान केन्द्र तनहुँले व्यास –९ गजौडेका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। सुनौला नयाँ गोरेटो कृषि सहकारी संस्थामा आबद्ध कृषकलाई ज्ञान केन्द्रले हाते ट्र्याक्टर वितरण गरेको हो।
पचास प्रतिशत अनुदानमा नौवटा हाते ट्र्याक्टर वितरण गरिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित हाते ट्र्याक्टर वितरण गरिएको तिवारीले बताए।
हाते ट्र्याक्टरको कूल लागतको पचास प्रतिशत कृषकले र पचास प्रतिशत कार्यालयले व्यहोरेको छ।