अहिलेको सरकार बालुवाको मुला हो, तान्दा पुक्लुक्क आउँछः केपी ओली (भिडिओ)

नेपालभ्युज

अहिलेको सरकार बालुवाको मुला हो, तान्दा पुक्लुक्क आउँछः केपी ओली (भिडिओ)

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताउनु भएको हो।

उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए। उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रूपमा उखेलिने बताए।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरूले कर्मचारीहरूलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरूको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गर्नुभयो। उनले निजामती कर्मचारीहरूले पूर्ण रूपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न् आग्रह गर्नुभयो। अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीीतक पार्टीहरू भएको बताए।

अध्यक्ष ओलीले भने, “नेपाली कांग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला गर्‍यो। र सरकारलाई असहयोग गर भनेर नेपाली कांग्रेसका नेताहरूले सरकारलाई असहयोग गर्न आह्वान गरे कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ। कर्मचारीलाई हसयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ ? सिस्टम बिरोधी सोच हो। लोकतन्त्रविरोधी सोच हो।”

यो सरकारलाई तानाशाही बताएका ओलीले कर्मचारीलाई सरकारलाई सघाउनुपर्ने बताए। भने, “सरकारलाई सहयोग गर्नुहोस्। सरकारलाई गलत गर्नबाट जोगाउनुस्। सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस्। सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरू सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन।”

उनले थपे, “यो गभर्मेन्टलाई ठिक छ कि छैन तपाईहरूले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि। यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भए पनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ। जरा न फराको सरकार। केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ। बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो। फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ। हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ। भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ।”

अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरू परमादेशबाट झुक्किएर पावरमा पुगेका बताए। उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरू पावरको आडमा अहंकारी बनिरहेको बताए। अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरू कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरू कुस्ती खेल्न जोडी खोजेझैँ गरिरहेको बताए। उनले केही मन्त्रीहरूको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताए। अध्यक्ष ओलीले अहिले चुनाव जान डराएकाहरू अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved