कथा

टेक्दै हिँडेका डोबहरू

टेक्दै हिँडेका डोबहरू

माथि छतमा एकातिर, ठडिएको एन्टेना र अर्कापट्टिको पानीट्यांकी, टाढैबाट देखियो। ठुल्ठुला ऐना र ऐनाभित्र फिका घिउरङको पर्दावाल झ्यालहरु परको मूल सडकमा पुगेपछि देखियो। सानो मोहोडा पूर्व पश्चिम लाम्चिएको दक्षिण फर्किएको दुईतले घर नजिक हुँदै गयो।

नोकरी गरेर पठनपाठन गर्ने अठोट गरी झन्डै पच्चीस वर्षअघि हामी दम्कीबाट हिँडेका हौं। एक खायल बारी, तलको टार खेत, घर, गोठ र वस्तुभाउ जिनतिन गुजरान चल्ने जायजेथाले शहरको खर्च पुर्‍याउन नसकिने बाबुले भनेका हुन्। गाउँको माध्यमिक विद्यालयले दिएको शिक्षा, प्रवेशिका पास गरेपछि सकिनु थियो, सकियो।

त्यत्रो विधि पढेपछि हलो, कोदालो र खेतबारीको रेखदेख नसुहाउने भो। तन्नेरी उमेर दिनदिन भरी गोठाल्नी र दौंतरीहरुसँग गफ ठट्टाभन्दा बढी हाम्रालागि कामै भएन। माथितिर अग्लो सीमपानीको लेक, तल फेदीमा खहरे खोला र माझमा लाम्चो परेको अग्लो होचो थली, दम्की। मीठामीठा सपनाका गफ र विश्वास लिएर पारी भञ्ज्याङबाट अन्तिमपल्ट दम्कीलाई हेरेर हामी ओरालो लागेको पच्चीस वर्षभन्दा बढी भइसकेको हो।

शहरको साँघुरो गल्लीभित्रको एउटा कोठामा कुँजियौं। नोकरी र पढाइ सँगै चल्न थाल्यो। ग्य्राजुएट भएपछि पढाइ पनि टुंगियो। एकलग काम, मात्र नोकरी, हाकिम रिझाउन खटाएको ठाउँमा जानु– पक्का जागिरे भयौं।

उसको र मेरो कार्यालय बेग्लाबेग्लै थियो र पनि हामी चार वर्ष मात्र राजधानीमा रह्यौं। त्यसै अवधिमा बिहावरी पनि गर्‍यौं। त्यसपछि छुट्टियौं। मधेस, पहाड, दुर्गम, सुगम जता खटाइन्थ्यो, गइन्थ्यो।

उसले प्रशस्त कमाएको छ। धनको तुजुकले अलि घमण्डी पनि हुँदै गएको छ भनेर कतिले सुनाउँथे।

हामीबीच पत्राचार बराबर हुने गथ्र्यो र कमाएको कुरा लेख्थे।

धन र मनको भेउ अर्कालाई दिनु हुन्न। उसको जवाफ हुन्थ्यो।

अठार वर्षदेखि माथि अवधि पुगेका कर्मचारी बर्खास्त गर्ने पजनीमा परेर हामी खोसियौं। त्यसपछि उसले एउटा टोलमा घर बनायो। मैले अर्कै टोलमा एउटा पुरानो घर किनेको छु।

एक वर्षअघि र पछि गरेर उसको र मेरो बाबु बिते। त्यसको दुई वर्षपछि एक महिनाको लागि गाउँघरमा गएको एक साता पनि बस्न सकिएन। दाजुभाइ र गाउँले दौंतरीहरुको आत्मीयता, गाउँले हुनुको अर्थमा जस्तो हुनुपथ्र्यो, छँदै थियो। म भने उनीहरुको लागि ठिमाहा जस्तै भएछु।
सीमपानीको अग्लो चुचुरोले गाउँले परम्परा र आस्थालाई जस्ताको तस्तै सँगालेर राखेको थियो। मलाई भने तल फेदीमा छङ्छङ्ती बग्ने खहरेको स्वरले रातभरि सुत्न दिएन।

काफलचरी, ढुकुरको कुरकुर, सम्साँझमा बाँसको झ्याङतिर सारौंका खैलाबैला र पर ढिस्कोतिर झ्याउँकीरिको स्वर एक तमासको लाग्यो। ऐसेलु र चुत्राका झ्याङ मासिएछन्। धुर्सुल र खिर्राको खोल्सेटार उस्तै रहेछन्। बरु बारीछेउका कोइरालो भने सकिएछन्।

बैंशालु सम्मका आफ्नोपना कतै बिर्सेर आएछु जस्तो लाग्यो। एकोहोरो पाराले शहरले मलाई क्लिष्ट बनाएको अनुभव पो गरेँ।
त्यस पटक धेरै दिन बस्न सकिएन, फर्किहालेँ।

म चाहिँ घर गाउँतिर कहिलेकाहीं जाँदै पनि छु। स्कुल बिदामा केटाकेटी लिएर गाउँघर जाने विचार उसले धेरैपल्ट गरेको हो। यस पटक भने पक्का अठोट गरेर गएथ्यो। बीस वर्षपछि गइने भएकोले घटीमा एक महिना बस्ने निश्चय गरेको थियो। ….तर पन्ध्र दिन पनि नबसेर आएको सुन्दा छक्क परेँ।

मैले जस्तै अनुभव उसले पनि गरेछ क्यारे। मनमनै सोचेँ र दायाँबायाँ हेरेर सडक तरेँ।

पक्की सडक, कच्ची सडक अनि पर्खालको कम्पाउन्ड। मूल ढोकाबाट भित्र पसेँ। दाहिनेतिर निलकाँडाका फेदैनेर ढकमक्क फुलेका फूलका बोट खोस्रिँदै पानी हाल्दै गरेको बुढो माली देखियो। मुसुक्क हाँसेर दुवै हात जोर्‍यो।

–छन् ? अभिवादन फर्काएर सोधेँ र सरासर अघि लागेँ।

–बाहिर ? मालीले जवाफ दियो।

माथि छतमा श्रीमती देखा परिन्। मलाई देखेर नोकर्नीलाई बोलाइन्। ढोका उघार्न लगाइन्।

भरेङ उक्लिएर सरासर माथि गएँ।

बैठक कोठा बाहिर उनी देखा परिन्। अभिवादन गरेँ। मुसुक्क हाँसेर भित्र बस्न भनिन्।

–तपाईंहरु त चाँडै फर्कनु भएछ नि भाउजू। देव्रे सोफामा बस्दै भनेँ।

–केटकेटीले दिक्कै गरेर…के गर्ने ? ढोका छेउको सोफामा बस्दै भनिन्।

–हरि खोई त ?

–सत्संगमा गइस्या छ। उनले भनिन्।

–अबेला गर्ने हो कि ?

–भुजा खान त आइस्सिन्छ।

सानो छोरो दगुर्दै कोठाभित्र पस्यो र आमाको काखमा गएर बस्यो। खल्तीबाट चकलेट झिकेर उसको हातमा राखिदिएँ।
भाउजूलाई त गाउँघर रमाइलो लागेन होला ? मुुसुक्क हाँस्दै सोधेँ।

त्यसो नभन्नोस् न, मेरो मावली त पहाडमै छ। मावलीमै हुर्केँ भने पनि हुन्छ। पछि स्कुलको बिदाभरि पहाडमै बिताउँथेँ। उनले जवाफ दिइन्।
त्यो त केटाकेटी बेलाको कुरा पो त। अहिले गाउँघरको अनुभव कस्तो गर्नु भयो त ?

–त्यस बेला गाउँको फाँट र बारीका कान्ला उफ्रिँदै खेलिन्थ्यो, रमाइलो लाग्थ्यो। ऐले चाहिँ दिनभरि पट्टाइ लाग्ने। चिनजान छैन। बस्उठ छैन। आफूले गर्ने काम पनि छैन। व्यवहार बोलीचाली पनि अर्कै…निर्वाह गर्न सकिएला जस्तो त लागेन। उनले भनिन्।

–त्यसो भन्न भएन भाउजू। उनीहरुको सरलता, आफ्नोपना कति पवित्र हुन्छ। देख्नु भएन र ? मैले सोधेँ।

–के गर्नु ? शहरमै हुर्कियो, बढियो भने जीवनको उत्तराद्र्धमा गाउँघरमा निर्वाह गर्न सकिएला र भन्ने तर्क पो गरेको हुँ। उनले प्रष्ट पार्दै भनिन्।

–मैले त गाउँको अनुभव पो सोधेको। त्यहाँ गएर बस्नोस् वा बस्नु पर्‍यो भनेको त होइन। मेरो आशयलाई प्रष्ट पारेँ।

छोराछोरी त हिँड्नै नजान्ने। भित्र बाहिर गर्दा पनि ठेस लागेर सास्ती। यो सानो छोरोले गएको भोलिपल्टदेखि दूध खानै मानेन। भैंसी दुहेको देखेछ, धिनाएर खानै मानेन। हामी त उनीहरुको लागि तमासा पो भएछौं– ठाने। उनको कुरो अर्कैतिर घुम्यो।
एकै छिन चकमन्न भयो। पल्लोपट्टि केटाकेटीको भनाभन सुनियो।

–हेर त कान्छी के गर्दै छे, चिया भनेको…कतिबेर लगाएकी ? काखको छोरोलाई भनिन्। छोरो मानेन। एकै छिनपछि उनी आफैं बाहिर निस्किन। सानो छोरो पछि लाग्यो।

यस कोठामा धेरैपल्ट आएको छु र घन्टौं बसेको छु। र पनि वरिपरि आँखा घुमाएँ। हरेक वस्तु ठीक ठाउँमा ठीकसँग सजाएर राखिएका छन्। भित्तामा झुन्डिएका आधुनिक कला कम्पोजिसनका दुइटा कलाचित्र सारै राम्रो लाग्यो। कोठाको रंगरोगन सामग्रीका सजावटले नवागन्तुकका लागि त्यस घर दम्पत्तिका रुचि, संस्कार, बौद्धिकता र सम्पन्नताले चिनारी गराइरहेथ्यो। बढी कुनै वस्तु लागे र घटी केही थिएनन्। खाली ठाउँ पनि राम्रोसँग सुहाएको थियो।

मेरो लागि भने यी सबै कताकता तुजुकको प्रदर्शन त होइन भन्ने शंका लाग्दथ्यो।

ढोकामा पाइतालाको दम्को सुनियो। ठुलो छोरो र छोरी देखा परे।

नजिकैको र्‍याबाट कुनै अंग्रेजी पत्रिका झिकेर एकतिर बसी हेर्न थाले।

काटिएर पनि पछाडि लामो र अगाडि छोटो कपाल सरक्क गाजल लगाए जस्ता आँखा, सरक्क जुँगाको रेखी देखिने अनुहार, राता काला धागो बाँधिएको नाडी, आधा बाहुले कमिज लगाएको, दाहिने छातीमा दुई तीनवटा ससाना तस्बिर टाँगिएको, छोरोको हुलिया हेरिरहेँ।

उनीहरु खस्याकखुसुक स्वर गरेर पत्रिका पढिरहेथे।

–यसपालि तिमीहरुको परीक्षा के भयो ? मैले सोधेँ।

–सबै पास, क्लासमा फस्र्ट। छोरीले भनिन्।

–अब कुन कुन क्लासमा छौ त ? मैले सोधेँ।

–दादा अइटमा, म सिक्समा।

–सबै कन्मेन्टमै पढ्छौ हैन ?

–हो। छोरीले भनी।

–छातीमा के टाँसेको नि बाबु ? छोरासँग सोधेँ।

–हिरोइनका तस्बिर। छोरीले प्वाक्क जवाफ दिई। छोरो केही बोलेन।

–किन टाँसेको ? अर्थ जान्ने विचारले सोधेँ।

–पंक स्टाइल। छोरीले नै भनिन्।

–पंकको अर्थ थाहा छ ? सोधेँ।

–फेसन। बल्ल छोरोले भन्यो।

–होइन।

–के त अंकल ? छोरीले आश्चर्य मानेर सोधी।

–विकृति। मुसुक्क हाँसेर भनेँ।

–त्यो गुड हो कि व्याड हो अंकल ? छोरीले नै सोधी।

–हाम्रो लागि व्याड। यस्ता फेसन हाम्रो संस्कृति होइन। बुझ्यौ ? मैले सम्झाउने किसिमले भनेँ।

–संस्कृत। ल्याङ्वेज ? पुलुक्क मलाई हेरेर छोरोले सोध्यो।

–संस्कृत होइन, संस्कृति अर्थात कल्चर। मैले अर्थ लगाएँ।

–हाम्रो पनि कल्चर छ र ? छोरोले सोध्यो।

–किन छैन ? हाम्रो आफ्नै कल्चर छ। हामी हिन्दू आर्य हौं। हाम्रो संस्कृति नै पहिलो र आदर्श संस्कृति हो। मैले व्याख्यात्मक रुपले सम्झाएँ।

–आर्यहरु त जंगली ट्राइव पो हुन्। ल्याङ्वेज विहेभियर लिभिङ स्यान्डर सबै अन सिभिलाइज्ड जंगली। छोरोले जवाफ दियो।

–कसले सिकायो यस्तो कुरा ? उसको कुरा सुनेर आश्चर्य लाग्यो र सोधेँ।

–आर्यहरु जंगलमा बस्छन् भनेर हाम्रो कोर्सबुकमा लेखिएको छ र फादरले पनि यस्तै पढाउने गर्दछन्। केटोले जवाफ दियो।

–सबै मानिस पहिले जंगलमै त बस्दथे। आर्य मात्रै किन र ? यो कुरा तिमीले आफ्नो बाबुसँग सोध्नू। कल्चर उनको विषय नै हो। मैले सम्झाउने पाराले भनेँ।

–ड्याडीले कन्मेन्टमा पढेको हो र ? केटोले जवाफ दियो।

म नाजवाफ भएँ। आधुनिक शिक्षाको, त्यो पनि कन्मेन्टको शिक्षा प्रणाली यस्तै हो। दोष केटोको थिएन। एकै छिन चकमन्न भयो। दुवै दाजु बहिनी कोठाबाट निस्के। त्यति नै बेला चियाको कप लिएर उनी भित्र पसिन्।

–हरि अबेलै आउने भए। चिया समात्दै मैले भनेँ।

–यति बेला त फर्किसक्नु पर्ने। धेरै दिनपछि गइस्सेको। साथीहरुसँग गफमा भुल्नु भएको हो कि ? उनले भनिन्।
र्‍याकको पुस्तक र पत्रिका तह लगाएर उनी बाहिर निस्किन्।

एक्लै कोठामा यताउति हेर्दै चिया पिउन लागेँ। चिया सकेर कपप्लेट देव्रेपट्टिको टेबुलमा राखी जाने विचारले जुरुक्क उठेँ।

–ऊ ड्याडी आइपुग्नु भो। बाहिर छोरीले भनी। म उठिसकेको थिएँ र पनि आफ्नो ठाउँमा थचक्क बसेँ। तल जुत्ताको दम्को आयो। भरेङ उक्लिएको र बरण्डामा हिँडेको दम्को नजिकै हुँदै बैठक कोठामा आइपुग्यो।
एकै छिनमा श्रीमती पनि उसको पछिल्तिर देखा परिन्।

–कुन बेला ? मुसुक्क हाँसेर मलाई हेर्दै उसले सोध्यो।

–धेरैबेर भै सक्यो। श्रीमतीले जवाफ दिइन्।

–खै, चिया पठाउ। कोठाभित्र पस्दै श्रीमतीलाई अह्रायो। मेरो सामुन्ने सोफामा बस्यो।

–गाउँबाट चाँडै पो आएछौ, के छ हालखबर ? उसँग सोधेँ।

–के हुन्थ्यो बिरानो पो भएछ गाउँ त। कसैले पनि चिनेनन्। दुई चार बुढाखाडा बाँकी रहेछन् र मात्रै…।

–जानु आउनु गरिरहे पो चिन्दछन्। यत्रो वर्षपछि गएको, केही दिनै नबसी…।

–के बस्ने ? छर्छरी नै अडिएनन्। पुगेको भोलिपल्टदेखि त जाउँ कि जाउँ भनेर बस्नै दिएनन्। अरुभन्दा पनि बिरामी पर्लान् भन्ने पो डर भयो। बीचमै कुरा काटेर उसले भन्यो।

–पहिलो पल्ट देखेका, बेला बखतमा लैजाँदै गरे पनि रसिन्छन्।

–अब त्यो ठाउँ काम नलाग्ने भएछ। उसले एकातिर हेरेर भन्यो।

–किन ? झस्किएझैँ मैले सोधेँ।

–हाम्रो बानी सरसंगत नै त्यस किसिमको हुन पुग्यो। मतिर हेरेर भन्यो।

–तैंले त्यसो भन्न सुहाउँछ त ? उसको अनुहार हेरेर सोधेँ।

–तैं भन्न, अब हामीले खोज्ने परिवेश त्यहाँ छैन। त्यै ठाउँमा जन्मिएर हुर्केको म, यत्रो समयपछि जाँदा त बिरानु लाग्यो भने, यी जाँदै नगएका झन् के अडिन्थे ? उसले भन्यो।

–यसको दोष कसलाई दिन्छस् त ? मैले सोधेँ।

–दोष दिने ठाउँ नै छैन। सुविधा भोगको चाहनाले हरेक तन्नेरीहरु पलायन भए। हामी पनि भयौं। राम्रो शिक्षा दिए छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने हरेक आमाबाबु सोच्छन्। हामीले पनि त्यसै गर्‍यौं। अब यिनका भविष्य यिनकै हातमा छ। तर आफ्नो संस्कृति, इतिहास, धर्म, आचार, संस्कार के हो यिनलाई थाहा छैन। मातृभाषा पनि राम्रोसँग बोल्न जान्दैनन्। बाबुलाई ड्याडी रे, शिक्षकलाई फादर रे। अब तैं भन यसको दोषी को ? कटुसत्यलाई उसले यसरी ओकल्यो।

उसको अनुहारमा पुलुक्क हेरेँ। खेदजस्तै भावनाको छायाँ सरक्क पलाएको हो कि भन्ने अड्कल गर्न सकिन्थ्यो। मैले केही बोलिन, चुप लागेर टुलुटुलु हेरिरहेँ।

–तैं भनन्। त्यस दिन हामी नहिँडेका भए बारुले माइलोभन्दा बढी हुने थिएनौं। सीमपानीको कोखमा जन्मिएका, खहरेको बगरमा बिसाइन्थ्यो। थोरै भए पनि शहरको छेउतिर जोरेका भए छोरानाति कहाँ पुग्थे भनेर हामी आउँदा पहिलो बासमा राति बाबुबाजेलाई हामीले दोष दिएको कुरो सम्झी त। अब यिनले त दोष नदेलान् कि ? पहिलेका कुरालाई खोतल्दै उसले भन्यो।

–त्यो त बिर्सेकै छैन। कुरो सही गरेथ्यो। जवाफ दिनै पर्‍यो।

–हाम्रो पुस्ता उचित र सहीको खोजीमा दोसाँधमा परेको छ। अब यसलाई समयकै जिम्मामा छोडांै। आउने पुस्ताले बाबुबाजेका छाला भनेर कतै गाउँघरतिर सम्पर्क बढाएछन् भने बेसै हो। यिनलाई अब कर गर्ने होइन। यिनका राजीखुसी र अभिरुचिमा नै छोड्ने विचार मैले लिएको छु। अनुहारभरि आत्मविश्वास लिएर उसले आफ्नो भनाइ टुंग्यायो।

उसको भनाइ साँचो अर्थमा सही हो त ? मनमनै सोचेर मैले आफ्नो आँखा पल्ला झ्याल बाहिर परको पाखातिर घुमाएँ।

(कथाकार एवं रंगकर्मी शर्मा २०७८ सालको ‘धनमान कथा सम्मान’ बाट सम्मानित भएका छन्। बीसको दशकदेखि नै कथा लेख्न थालेका उनको एउटा कथाकृति प्रकाशित छन्। लघुकथा समाजद्वारा प्रदान गरिने कथा सम्मानबाट शर्मा आजै सम्मानित हुँदैछन्। उनको यो कथा नकुल सिलवालद्वारा सम्पादित ‘आजको मान्छेको कथा’ बाट लिइएको हो।)
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved