प्रिय कथा

मनको अपहरण

मनको अपहरण

(रचनागर्भ– २०५९ सालमा नेपालीहरूको मनस्थिति त्रसित र भयभित अवस्थामा थियो। जुनसुकै समयमा जे भए पनि हुन सक्ने त्रासले हरेक मानवको मन काँपिरहेका हुन्थे। जनता कहिले सरकारको गोलीको निसानामा कहिले विद्रोहीको एम्बुसको निसानामा पर्दथे। सरकारले जनतालाई सुरक्षाको आभास दिनु त परै जाओस् सबैलाई विद्रोही देखेर मनपरीसँग पुलिसले डण्डा बर्साउने र जेलमा कोच्ने मात्र नभई बेपत्ता पार्नेसम्म गरिरहेको थियो। यस समयमा न्यायको पक्षमा आवाज उठाउने जनताप्रति सरकारको वक्रदृष्टि रहेको थियो। शासक वर्गमा निरङ्कुशताको भोक जागेका बेला भएकाले सचेत वर्ग निरङ्कुशताका विरुद्ध आन्दोलित भइरहेका थिए। यस्तो परिस्थितिमा हामी पनि चुपचाप हात बाँधेर बस्न सक्ने अवस्थामा थिएनौँ।

मेरो लोग्ने विनोद मन्जन रत्न राज्यलक्ष्मी क्याम्पस स्ववियु सभापतिका साथै स्वतन्त्रता र न्यायको पक्षपाती भएकाले आन्दोलनको अग्रमोर्चामा थिए। ‘‘दरबारका सीआईडीले मलाई सेकेन्डभर छोड्दैनन्।” उनले मसँग यसो भन्दा हामी दुई जना बाटामा हिँडिरहेको बेलामा लाग्न भएर मात्र नभएर म एक्लै भएका बेलामा पनि कथा, कविता पत्रिकामा छाप्नका लागि माग्ने बहानामा दरबारका सीआईडीहरू मसँग कुरा गर्न आइरहेका सम्झेको थिएँ। यिनले केही उपद्रो गर्छन् भन्ने आभास हामी दुवैलाई भएको केही दिनपछि सुरक्षा निकायका मानिस हौँ भनेर बलजफ्ती विनोद मन्जनलाई लगेर चार दिन बेपत्ता पारेका थिए।

लोग्नेलाई बेपत्ता पारिएपछि राज्य पक्षले होस् वा विद्रोही पक्षले अपहरण गरेको समाचार पढ्न, सुन्न नसक्ने भएकी थिएँ म। बाहिर आन्दोलनमा होमिएकी भए पनि भित्र मनमा अन्याय विरुद्ध बलेको आगो छट्पटीलाई शान्त पार्न ‘मनको अपहरण’ लगायत अरू कथा र कविता सिर्जना गरेको थिएँ। अतः ‘मनको अपहरण’ कथाका पात्र हामी (विनोद, गायत्री) लगायत त्यस बेलाका विद्यार्थी नेता र पार्टीका नेताहरू रहेका छन्।)

भूत कुनै दृश्य होइन ! त्यसो त हुँदै हुँदैन। यो अदृश्य हुन्छ भनेर मान्ने मानिसले आफ्नो कल्पना अनुसार भनौँ मनको त्रास अनुसार अनुमान गरेर दृश्यमा रूपान्तरण गर्छ। त्रास जुनसुकै मानव मनको अन्तरकुन्तरमा हुन्छ। त्यसले समय अनुसारको रूप प्रकट गर्दछ। त्यस अदृश्य भूतको रूपमा उसकी छोरी प्रकट भई, उसकै काखमा बसेर। छोरीको कल्पनाको भूतलाई छोरीले आफ्ना दुवै हात फैलाएर दुवै हातका औँला दोबारेर, मुख आँ… गरी च्याते, जतिसक्दो ठुलो मुख बाएर उसकी छोरीले आवाज निकाली, ‘आँ…।’ छोरीले उसलाई हेरिरहेकी थिई। छोरीको आशय बुझेर उसले डराएको अभिनय गर्दै ‘लौ न आमा !’ भनी। उसकी छोरीले आफ्नो सामान्य अवस्थाको रूप पकट गर्दै हाँसेर छिटोछिटो भनी– “होइन नानी, नानी ! नानी क्या !” ऊ पनि छोरीलाई हेरेर हाँसी। उनीहरू दुवै आमाछोरी केही समय हाँसि रहे। हुन सक्छ, उसकी छोरीले आफ्नी आमालाई तर्साउन सफल भएकी ठानेर हाँसेकी होली। यो उसको एउटा अनुमान मात्र हो। उसकी छोरी दुई वर्षकी मात्र छे, त्यसैले छोरीको मनमा भएका कुरा सबै बताउन जान्दिन। छोरीको बाल मनोविज्ञानलाई बुझेर उसले डराएको जस्तै गरेकी थिई। वास्तवमा ऊ डराउनु पर्ने कारण थिएन। आमालाई तर्साउन सफल भएकामा छोरी दङ्ग परेकी थिई।

करीब दुई हप्तापछि उसको जीवनमा डराउने समस्या आइ लाग्यो। उसको श्रीमान् पलङमा पल्टिरहेका थिए। ढोकाबाट कसैले टाउको निहुराएर कोठामा चियायो। त्यस व्यक्तिलाई उसले पुलुक्क हेरी। त्यो व्यक्तिसँग अर्को व्यक्ति उभिइरहेको थियो। त्यस व्यक्तिले उसलाई हेर्दै उसको श्रीमान्लाई देखाएर भन्यो– ‘‘उहाँलाई यता हेर्नु होस्, भन्नु होस्।’’

अलमलिँदै उसले भनी– “किन ?”

त्यो व्यक्तिले पुनः भन्यो– ‘‘उहाँलाई यता हेर्न भन्नु होस्।’’

पलङबाट जुरुक्क उठेर ती व्यक्तिहरूलाई आँखा लगाए।

‘‘तपाईंलाई सोधपुछका लागि लिन आएको हिँड्नु होस्।’’

त्यसका कुरा सुनेर श्रीमान् श्रीमती दुवै अलमलमा परे। पालैपालो एकअर्काको अनुहारमा हेरे। श्रीमान्ले भने, ‘‘कहाँ जाने ? यहीँ सोधे भइहाल्यो नि !’’

‘‘यहीँ जाने हो, हामीलाई लिएर आउनु भन्या छ।’’
‘‘पुर्जी चाहियो, देखाउनु होस्।’’

‘‘छैन छिटो हिँड्नु होस्। हामीलाई लिएर आउनु भन्ने मात्र छ।’’

उसले कुरा थपी– ‘‘हेर्नु होस् अहिलेको स्थिति ठीक छैन। तपाईंहरू कुन निकायबाट आउनुभएको हो, जानकारी नपाई कसरी जाने ? मानौँ, मानवीय नाताले तपाईं दाजु, म बहिनी परिचय पत्र देखाउनु होस्।’’

त्यो व्यक्तिले गोजीबाट परिचय पत्र झिक्यो र झुलुक्क देखायो। त्यो काम यति छिटो भयो उनीहरूले खुट्ट्याउनै सकेनन्। त्यसले आफ्नै परिचय पत्र देखायो या परिचय पत्र जस्तै अरू नै केही।

‘‘त्यो परिचय पत्र राम्ररी देखाउनु होस् मैले देखिनँ,’’ श्रीमान्ले बोलेपछि उसले पनि पुनः थपी– ‘‘केही थाहा भएन एक पटक देखाउनु होस्।’’
‘‘छिटो गर्नु होस्। हाम्रो हस्ताक्षर देखाउन मिल्दैन।’’

‘‘कपडा फेर्नु पर्‍यो ?’’ उसको श्रीमान्ले भने।

‘हुन्छ, छिटो गर्नु होस्।’’

उसको श्रीमान् कपडा फेर्दै थिए। उसले एक पटक श्रीमान्को अनुहार हेरी। नलगी नछाड्ने भए जस्तो उसको मनमा लाग्यो। उसले फेरि त्यो व्यक्तिलाई हेर्दै भनी– ‘‘तपाईंहरू कुन निकायबाट आउनु भएको, सैनिक या प्रहरी ?’’

त्यो व्यक्तिले छोटो जवाफ दियो– ‘‘भन्न मिल्दैन छिटो गर्नु होस्।’’

उसको श्रीमान्ले कपडा फेरिसकेका थिए। सङ्घर्ष कोठाबाट बाहिर निस्किएपछि त्यो व्यक्ति पछिपछि लाग्यो। सँगै अर्को व्यक्ति पनि हिँड्यो। ऊ पनि पछिपछि लागेकी थिई। उनीहरूको निवासको तल भर्‍याङमा एक जना मानिस बसेको थियो र मूल ढोकामा अर्को एक जना। भर्‍याङ

ओर्लंदाओर्लंदै उसको श्रीमान्ले भन्नु भयो– ‘‘अध्यक्षलाई फोन गर्नू।’’

‘‘हुन्छ’’, उसले आज्ञा पालनको शब्द पोखेकी थिई।

कार्यालयमा फोन गर्दा फोन व्यस्त थियो, डायरी पल्टाउँदा कामरेड आस्थाको मोबाइल नम्बर फेला पर्‍यो। नम्बर थिची, फोन उठेन। कार्यालयको फोन जस्तै व्यस्त थियो। उसको मनमा आगो बलिरहेको थियो। फोनको घन्टी बज्यो। रिसिभर उठाउँदा कामरेड आस्थाको फोन थियो। उसले सबै कुराको जानकारी गराइ दिई। आफूले प्रक्रिया चाल्ने र पार्टी कार्यालयमा जानकारी गराउनु पर्ने कामरेड आस्थाले बताउनु भयो। उसको दिमागले राम्रोसँग काम गरिरहेको थिएन। हतारिँदै पार्टी कार्यालयका फोन नम्बरहरू थिची, बल्ल फोन गयो। सबै कुराको जानकारी गराएपछि फोन उठाउनेले पार्टीले काम सुरु गर्ने र कार्यालयमा जानकारी गराउनु भन्ने सल्लाह दियो। यति बेलासम्म पनि सङ्गठनको कार्यालयको फोन व्यस्त थियो। उसलाई अत्यास लागिसकेको थियो। बल्लबल्ल कार्यालयमा फोन सम्पर्क भयो। उसले सबै वृत्तान्त सुनाएकी थिई। खोजी कार्यमा लाग्ने बताएपछि उसले फोन राखी। पुनः फोनका घन्टी बजेकाले उसले फोन रिसिभ गरी। आस्थाको फोन रहेछ। ‘‘केही जानकारी भयो ?’’

‘‘छैन’’, उसले अत्तालिँदै भनी, ‘‘पार्टी कार्यालय र भातृ सङ्गठनको कार्यालयमा जानकारी गराएँ।”

उताबाट आवाज आयो– ‘‘चिन्ता गर्नु पर्दैन। मैले प्रधानमन्त्री कार्यालयमा जानकारी गराइसकेको छु। सङ्घर्ष क्याम्पसको स्ववियु सभापति, अखिलको केन्द्रीय सचिवालय सदस्य, प्रशिक्षण विभाग प्रमुख मात्र नभएर एक नम्बर क्षेत्रको हाम्रो पार्टीको कार्यकर्ता हो भनेको छु। कुनै किसिमको टर्चर नदिनु। तुरुन्त सार्वजनिक गराइदिनु भनेको छु। तपाईंले पिर लिनु पर्दैन।’’

‘‘कतै सम्पर्क हुन सकेको छैन। पिरको के कुरा मुटु भतभत पोलि रहेछ।’’ चिन्तित हुँदै उसले भनेकी थिई।

‘‘नअत्तालिनु होस्। भोलि योभन्दा नराम्रो स्थिति आयो भने पनि सहज हुने मनस्थिति बनाउनु पर्छ तपाईंले।’’ फोनको रिसिभ राख्ने बित्तिकै फोनको अर्को घन्टी बज्यो। घटना घटेको करीब एकडेढ घन्टा भएको थियो। उसले फोन रिसिभ गरेपछि ‘‘सङ्घर्षजी हुनु हुन्छ ?’’ भन्दै परिचित आवाज जसरी श्रीमान्को नाम लिएर सोधेकाले उसले शङ्का गर्दै सोधेकी थिई– ‘‘को बोल्नु भएको ?’

‘‘म रत्न राज्यलक्ष्मीको विद्यार्थी, सङ्घर्षजी हुनु हुन्छ ?’’

ऊ चिन्तामा भएकीले झर्किंदै भनी– ‘‘नाम भन्नु होस् न नाम।’’

‘‘म्याडम ! सङ्घर्षजी यहीँ हुनु हुन्छ, कुरा गर्नु होस् ल !’’

‘‘सङ्घर्षको आवाज सुनेपछि उसले भनी– ‘‘तपाईं कहाँ हुनु हुन्छ ?’’

‘‘थाहा छैन। आँखामा पट्टी बाँधेको छ।’’

‘‘हँ…।’’ उसको श्रीमान्ले ऊसँग बोल्न खोज्दाखोज्दै रिसिभर अर्को व्यक्तिले लिएर भन्यो, ‘‘म्याडम ! तपाईंले चिन्ता गर्नु पर्दैन। उहाँसँग केही सोधपुछ गर्नुपर्ने भएकाले ल्याएका हौँ। समय लाग्ने भयो भने फेरि फोन गरौँला।’’

उसले छिटोछिटो भनेकी थिई– ‘‘सञ्चारकर्मीहरूले कहाँ हुनु हुन्छ भनेर सोधिरहेका छन्, कुन ठाउँमा हो ?’’

‘‘तपाईंले कोहीसँग केही कुरा नभन्नु होला। उहाँलाई अप्ठ्यारो पर्न सक्छ।’’ त्यो व्यक्तिले धम्कीको भाषा बोलेर फोन राखि दियो।
फोनमा कुरा गर्दा होस् या प्रत्यक्ष मानिसहरूसँग कुरा गर्दा उसले आफूलाई सामान्य रूपमा प्रस्तुत गरिरहेकी थिई। श्रीमान् घर फर्कने आस गर्दागर्दै रात पर्‍यो। उसका आँखा श्रीमान्लाई देख्न हतारिएका थिए भने मन श्रीमान्सँग भेट्न। कलिलो रात छिप्पियो, छिप्पिएको रातले अन्धकारलाई अँगालेर उसको विछोडको पीडासँग सामीप्य जनायो। ऊ चाहन्थी उज्यालो र मिलन तर यो सम्भव थिएन। उसको रात छट्पटाएर नै बित्यो।

श्रीमान्को बारेमा जानकारी लिन फोन गर्नेहरूलाई जवाफ दिँदादिँदा ऊ थाकिसकेकी थिई। कोठामा जम्मा भएका आफन्तहरूले पनि ऊसँग श्रीमान्को बारेमा सोधिरहेका थिए। आफू भित्रभित्रै चिन्ताको आगोमा सल्किरहेकी भए पनि बाहिर सकेसम्म शान्त भएर उसले बारम्बार दोहोरिरहेका प्रश्नहरूको जवाफ दिइरहेकी थिई। ऊ चाहन्थी श्रीमान्को बारेमा जानकारी लिनेको भन्दा पनि जानकारी दिनेको फोन आओस् तर यस्तो हुन सकेको थिएन। कान्तिपुर एफएम र रेडियो सगरमाथाबाट हनुमान ढोका र महेन्द्र पुलिस क्लबमा लगेको अपुष्ट खबर पाएकी थिई उसले। यही समाचारलाई आड बनाएर उसले आफ्नो मनलाई सान्त्वना दिइरहेकी थिई। फेरि हनुमान ढोका र महेन्द्र पुलिस क्लबमा लगेको अपुष्ट खबर पाएकी थिई उसले। फेरि हनुमान ढोका र महेन्द्र पुलिस क्लबमा गएर जानकारी लिँदा त्यहाँ नभएको कुरा सिद्धान्तले सुनाएपछि ऊ खङ्ग्रङ्ग भएकी थिई। त्यस बेला आफूले टेकेको ठाउँ भासिएको अनुभव भएकाले उसले गोडा दह्रो गरी टेकेकी थिई। छताछुल्ल भएर बाढी जस्तै उर्लिन लागेको मनमा उसले बाँध बाँध्नु परेको थियो। उसले दुनियाँका सामु कठोर भएर प्रस्तुत हुनु परिरहेको थियो। हो, शोषित र पीडित जनताको पक्ष लिएर सङ्घर्षमा होमिएको उसको श्रीमान्को व्यक्तित्वले उसलाई सामान्य श्रीमतीको भूमिका निर्वाह गर्न दिइरहेको थिएन। राम्ररी काम गर्न नसकेर अत्तालिएको उसको दिमागले प्रलेसका अध्यक्ष दर्शन सरलाई सम्झियो। उसले फोनमा कुरा गरी।

‘‘सङ्घर्षजीको बारेमा समाचार सुनेँ। यो सरकार किन गैरजिम्मेवार काममा उत्रेको छ ? हाम्रो सङ्घर्षजीलाई जानकारी गराएर कानुनको उल्लङ्घन नगरी लैजान सक्थ्यो। हामीले थप दबाब दिएर यो सरकारलाई उहाँको सार्वजनिक रिहा गराउन बाध्य बनाउनु पर्छ।”

उहाँको कुरामा जोड दिँदै उसले भनी– ‘‘हो सर ! हामी पत्रकार सम्मेलन गर्दै छौँ। रत्न राज्य क्याम्पसमा एक बजे आउनु होस्।’’
‘‘हुन्छ, ठीक कति बजे सुरु हुन्छ ?’’

‘‘एक बजे भनेको छ, सवा एकमा सुरु हुन्छ।’’

‘‘हुन्छ म आउँछु।’’ भनेर दर्शन सरले फोन राख्नुभयो। छटपटिँदै ऊ घरबाट बाहिर निस्की।
क्याम्पसमा पुग्दा स्थिति तनाउपूर्ण थियो। स्ववियु सभापति सङ्घर्षजीको सार्वजनिक र रिहाको माग गर्दै विद्यार्थीहरूले आक्रोशित भएर आन्दोलन गरिरहेका थिए। ऊसँग भेट भएपछि सबै विद्यार्थीहरू आन्दोलन स्थगित गरेर पत्रकार सम्मेलन गर्नतर्फ जुटे।

‘‘कस्ता मानिस थिए ?’’
‘‘के के भने ?’’

‘‘सङ्घर्ष सरले तिनीहरूसँग के कुरा गर्नु भयो ?’’
यस्तै प्रश्नहरू पत्रकारहरूले पनि दोहोर्‍याएका थिए। उस्तै खालका प्रश्नहरूको जवाफ दिँदादिँदा ऊ हैरान भइसकेकी थिई। ‘‘म्याडम ! सरकारलाई दबाब दिनका लागि आगामी योजना के छन् ?’’

एक जना पत्रकारको प्रश्नको जवाफ दिँदै उसले भनी– ‘‘पार्टीको भूमिकाका बारेमा मैले सम्पर्क गरेर सोध्नु पर्छ। स्ववियुले आन्दोलन गरिरहेकै छ। सङ्घर्षजी एक सशक्त साहित्यकार पनि हुनु भएकाले अन्य साहित्यकारहरूसँग सल्लाह गरेर यो तानाशाही सरकारलाई थप दबाब पुग्ने कार्यक्रम गर्नु पर्छ।’’

‘‘कस्तो कार्यक्रम गर्ने सोच बनाउनु भएको छ ?’’

‘‘अनसन बस्ने। काव्यात्मक विरोध सभा गर्ने…।’’

उसको भनाइलाई नै थप जोड दिँदै प्रलेसका दर्शन सरले भन्नु भयो– ‘‘भोलिसम्ममा सरकारले बेपत्ता पारेका हाम्रा सङ्घर्षजी लगायत अरू साहित्यकारहरूलाई नछोडेमा हामी कडा सङ्घर्षमा उत्रने छौँ।’’

पत्रकार सम्मेलन सम्पन्न गरेर साहित्यकारहरूले आयोजना गरेको विरोध सभामा ऊ सहभागी हुन पुगेकी थिई।

उसले सम्पूर्ण देश आन्दोलित भइरहेको महसुस गरी। शाही सरकारको विरुद्धमा को बुद्धिजीवी, को साहित्यकार, को शिक्षक, को सर्वसाधारण सबका सब आक्रोशित र आन्दोलित भइरहेका थिए। ऊ पनि भित्रभित्र आगो भएर सल्किरहेकी थिई। आन्दोलनरत सम्पूर्ण व्यक्तिका मनमा विद्रोहको आगो बलिरहेको महसुस गरी उसले। सबै आफूभित्र बलेको आगोलाई संयमित नभई बाहिर निकाल्ने हो भने देश खरानी हुने अनुमान गरी उसले। सबैले संयमित भएर शान्तिपूर्ण आन्दोलन गरेका छन् र त देश छ। देश नै नभए…।

‘‘भाउजू ! ए भाउजू !’’

कसैले चर्को स्वरमा आफूलाई सम्बोधन गरेर बोलाएकाले उसको सोचाइको सिलसिला टु्ट्छ। बनावटी हाँसो अनुहारमा भर्दै उसले भनी– ‘‘तपाईं कतिखेर आउनु भयो ?’’

‘‘भर्खरै हो, टोलाइ रहनुभएको रहेछ।’’

‘‘टोलाएकी होइन, देशलाई बचाउन सक्दो प्रयास गर्नु पर्छ भनी सोचिरहेकी हुँ।’’

‘‘दाइको बारेमा केही थाहा पाउनु भयो ?’’

‘‘छैन’’ भनेर ऊ नन्दलाई भुलाउन अरू नै कामतिर लागेकी थिई।

ओछ्यानमा पल्टेर ऊ छटपटाइ रही। आधा रात बितिसक्दा पनि उसका आँखा टाठा भइरहेका छन्। मन अनेकौँ तानाबाना बुनेर कराहीको तरकारी छड्किए जत्तिकै छड्किरहेको छ। जति नै प्रयास गरे पनि मनको आशङ्काको जालोलाई उसले बढार्न सकेकी होइन। न कतै सिद्ध्याइसके कि ? ओहो ! त्यस्तो भयो भने दुई वर्षकी छोरी बाबाको बारेमा अनविज्ञ हुने छे। बाबाबाट प्राप्त गर्ने माया ममताबाट ऊ वञ्चित हुने छे। कठै मेरी छोरी…। भित्रभित्रै खरो भएर उसलाई पानी प्यास लाग्छ। उठेर बोतलको पानी घटघट गर्दै पिउँछे। हातको बोतल टेबलमा राखेर लामो सास फेर्दै ओछ्यानमा पल्टिन्छे। ओल्टोकोल्टो गर्दागर्दै उसको रात बितेको थियो।

बाबासँग प्रभावित भएर ‘‘म बाबा हुँ’’ भन्ने सानी छोरीले बाबालाई चिन्न पनि नपाउने भई भन्ने धारणाले उसको मनमा बास गर्‍यो। मन कुँडिएर दुवै आँखाबाट शालीनदी उर्लियो। केही समयपछि औडाहा भएको उसको मनलाई ऊ आफैँँले सान्त्वना दिएकी थिई। श्रीमान्को अत्तोपत्तो थिएन। ऊ भने सामान्य रूपमा प्रस्तुत भइरहेकी थिई। मानिसहरूले विभिन्न खालका कुरा गरिरहेका थिए। केही विद्यार्थीले उसलाई सान्त्वना दिँदै भनेका थिए, ‘‘सङ्घर्ष कामरेडलाई त बेपत्ता पार्छन् भने हाम्रो के कुरा ? हामीले आन्दोलन चर्काएका छौँ दिदी। स्ववियु काउन्सिलले सबै क्याम्पसमा तालाबन्दी गरेर हड्ताल गर्ने घोषणा गरेको छ। तपाईंले चिन्ता गर्नु पर्दैन।’’

सान्तवनाले पीडालाई कम गराए पनि निर्मूल पार्न नसकिने अनुभव उसले गरिरहेकी थिई। जबजब उसको मनमा उसलाई कमजोर बनाउने भावना उर्लिन्थ्यो तब कामरेड आस्थाले उसलाई सम्झाउँदै भन्नु भएका शब्दहरूलाई मनमा खेलाउँथी। कामरेड आस्थाले भन्नु भएको थियो, ‘‘तपाईंलाई कसैले भावुक बनाउने कुरा गर्लान्, कसैले आक्रोशित बनाउलान्। संयमित भएर परिस्थितिको सामना गर्नु पर्छ। हामी लागि रहेका छौँ, तपाईं दह्रो हुनु पर्छ।’’ पार्टी केन्द्रीय सचिवालय, पत्रकारहरू सबै सङ्घर्षको खोजी कार्यमा लागिरहेका थिए। कतिपय व्यक्तिले विद्रोही पक्षले पो अपहरण गरेको हो कि ? भनेर उसँग शङ्का व्यक्त गरेका थिए। उसको आत्माले विद्रोही पक्षप्रति पटक्कै शङ्का गरेको थिएन। त्यतिखेर विद्रोही पक्षले कि चन्दाका कारण अपहरण गरेको कि सुराकी र प्रहरी भएका कारणले अपहरण गरेर सफाया गरेको समाचार उसले सुनेकी थिई। सङ्घर्ष त इमानदार जुझारु जनताका कार्यकर्ता र विद्यार्थी नेता थिए। सङ्घर्षलाई बेपत्ता पारेको तेस्रो रात उनीसँग बस्ने विष्णु बहिनी आएकी थिइन्। विष्णुले भन्नु भयो– ‘‘आज दाइलाई छोडि दिन्छन् जस्तो लागि रहेछ।’’

विष्णुले सान्त्वना दिन खोजेको बुझेर उसले आफ्नो अनुहार हँसिलो बनाएकी थिई। मनभित्र आँधी तुफान चलिरहेको भए पनि ऊ हाँसिरहेकी थिई। छोरीलाई खुसी पार्न डराएको अभिनय गरे जस्तै उसले चिन्ता नलिएको अभिनय गरिरहेकी थिई। हरेक रात श्रीमान् फर्किने आशाले अनिँदो बिताएकी उसले यो रात निदाउने सोच बनाएकी थिई। कोठाको शून्यतालाई भङ्ग गर्दै फेरि विष्णुले भन्नु भयो– ‘‘दाइ टुप्लुक्क आउनु भए हुन्थ्यो। अरू आउँदा पनि दाइ आउनु भयो कि जस्तो लाग्छ भन्नु भएको होइन दिदी ? छोडि दिए हुन्थ्यो नि हगि दिदी ?”

‘‘मलाई निद्रा लागि सक्यो। चुप लागेर सुत्नु होस्।’’ विष्णुको निद्रा बिग्रेला भनेर उसले बनावटी कुरा भनेकी थिई। उसका आँखा श्रीमान्को खोजीमा दौडिरहेकाले निदाउने छाँट नै थिएन। ऊ ओछ्यानमा पल्टिएर छटपटाइ रहेकी थिई। यतिकैमा ढोका बाहिरबाट कसैले बोलाएको आवाज आयो– ‘‘म्याडम ! म्याडम ! म्याडम !’’

उसले ओछ्यानबाट नै प्रश्न गरी, ‘‘किन हो ?’’

‘‘ढोका खोल्नु होस् न, सरलाई ल्याएका छन् रे !’’

उसले हतारिँदै बत्ती बाली। ढोका खोल्दा श्रीमान्लाई नदेखेपछि भनी– ‘‘खोई, कहाँ हो ?’’

‘‘तल हिँड्नु होस् रे !’’ त्यो व्यक्तिको अनुहार त्रसित देखी उसले। ऊ नर्भस् भए जस्तै गरी बोलिरहेको थियो। उसको मनमा नकारात्मक विचारले घेर्‍यो। ‘‘राति ल्याएका छन्, कतै लास बुझाउन ल्याएका त होइनन् ?’’ ऊ खङ्ग्रङ्ग भई। उसले सुकेको मुख प्याकप्याक गर्दै भनी– ‘‘विष्णु ! तपाईं सिद्धान्त दाइलाई फोन गर्नु होस्। म तल जान्छु।’’

तल मझेरीमा सुरक्षा कर्मीहरूको घेराभित्र उसको श्रीमान् उभिइरहनु भएको थियो। केही बुझ्न नसकेर उसको मन अत्तालिरहेको थियो। उसको उपस्थितिमा सुरक्षा कर्मीहरूले केही लेख्न खोजिरहेका थिए तर लेख्न सकिरहेका थिएनन्। किन हो कुन्नि उनीहरूका हात कामिरहेका थिए। पालैपालो लेख्ने प्रयत्न गर्दथे तर सकिरहेका थिएनन्। तिनीहरू छिट्टै गए हुन्थ्यो जस्तो लागेकाले उसले ‘‘म लेखि दिऊँ’’ भनेकी थिई। तिनीहरूले एकै स्वरमा ‘‘मिल्दैन’’ भन्दै आफ्नो लेख्ने काम सकेर मेरो हस्ताक्षर गराए। ‘‘सङ्घर्षजी तपाईंलाई जिम्मा लगायौँ।’’ भन्दै तिनीहरू बाहिरिए। उसलाई एउटा पीडाले छोड्यो। सरकारी निकायको गलत रवैयाले गर्दा उसको जीवनमा तर्साउन आएको भूत भाग्यो। कमजोर व्यक्ति भएको भए त्यस भूतले ज्यानसम्म लिन्थ्यो। उसको मनले जाली, फटाहाहरू नै भूत हुन् भन्ने निष्कर्ष निकाल्यो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved