सिर्जना-गर्भ

हरेक गीत कुनै घटनासँग जोडिएका छन्

मैले गीत लेखन क्षेत्रमा पाइला चाल्न थालेको आठ वर्षको उमेर हुँदादेखि नै हो। हजुरबुबा हरिलाल भण्डारीले मलाई कहिलेकाहीं ‘फर्सीको मुन्टा, पकाउनका टन्टा’ भनेर सिकाउनु हुन्थ्यो। यसरी सिकाउने क्रममा मैले लेख्न थालेँ।

हरेक गीत कुनै घटनासँग जोडिएका छन्

मैले गीत लेखन क्षेत्रमा पाइला चाल्न थालेको आठ वर्षको उमेर हुँदादेखि नै हो। हजुरबुबा हरिलाल भण्डारीले मलाई कहिलेकाहीं ‘फर्सीको मुन्टा, पकाउनका टन्टा’ भनेर सिकाउनु हुन्थ्यो। यसरी सिकाउने क्रममा मैले लेख्न थालेँ।

पछि विद्यालयमा पढ्न थालेपछि गीत लेख्न थालेँ र कुनै प्रतियोगितामा भाग लिँदा पुरस्कार पनि पाउन थालेपछि लेखनतिर झनै प्रेरित हुँदै गएँ।

सानैदेखि लेख्न थाले पनि मेरो पहिलो गीत रेकर्ड भयो, २०५६ सालतिर। गाउँमा आयोजित एक राजनीतिक सभामा गायक बुद्धिसागर बस्याल पनि आएका थिए। त्यो सभामा मैले एउटा कविता वाचन गरेको थिएँ। मेरो कविता सुनेपछि बस्यालले भने, ‘यति राम्रो कविता लेख्दा रहेछौ, गीत पनि लेख्छौ तिमी ?’

‘मैले लेख्छु’ भनेँ र तत्काल एउटा गीत उनलाई दिएँ। त्यसपछि उनीसँग लामो समय भेटघाटै भएन। पछि उनले त्यो गीत गाएछन् र त्यो गीतलाई आफ्नो एलबम ‘ढल्के बरैमा’ समेटेछन्। त्यो गीतको बोल थियो- ‘देउरालीमा हावा चल्यो…।’

उक्त गीति-एलबममा मेरो नाम छापिएको हुँदा ममा खुसीको सीमा नै रहेन। मैले त्यो एलबमको आवरण एक महिनाजति खल्तीमा बोकेर हिँडेँ र अरूलाई देखाउँदै हिँडेँ।

मैले आजसम्म जेजति गीत लेखेँ, ती गीतहरू कुनै न कुनै घटना-प्रसंगका उपज हुन्। जसमध्ये मेरा केही गीतहरूको सिर्जना-गर्भ यसरी भएको थियो।

१. आओ यादहरू आओ…

यो गीत मैले २०५९/०६० सालतिर लेखेको हुँ। रेकर्ड चाहिँ ०६३ सालतिर मात्र भयो।

२०५९ सालमा म भर्खर काठमाडौं आएको थिएँ। स्याङ्जा, गल्याङ-९, सम्पासबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन सिध्याएर। काठमाडौं आएपछि त्रिचन्द्र कलेजमा भर्ना भएँ र बिहानको क्लास लिन्थेँ।

एक रात सुत्ने बेलामा मलाई कसैको याद आयो। गहिरो गरी। यादमा रुमल्लिँदारुमल्लिँदै बिहानको ४ बज्यो। त्यतिबेला मलाई याद सकिएको अनुभूत भयो। कताकता सम्झिने कुरा सकिएजस्तो लाग्यो। ६ बजे कलेज जानुपथ्र्यो। तर कलेज जाने समय अझै केही बाँकी रहेको हुँदा फेरि निदाएँ भने उठ्न सक्दिनँ भन्ने लाग्यो र त्यो समयमा अझै याद आओस् भन्ने लाग्यो र यही कथाबीजमा मैले यो गीत लेखेको हुँ। कलेज जानुभन्दा अगावै मैले यो गीत लेखिसिध्याएँ र कलेज गएँ।

यो गीतमा संगीत सुरेश अधिकारीले दिएका हुन् भने स्वर चाहिँ जगदीश समालको रहेको छ।

२. कम्मरमाथि पटुकी…

यो गीत चलचित्र ‘नाई नभन्नू ल- ४’ मा समेटिएको छ। यो गीतमा वसन्त सापकोटाले संगीत दिएका हुन् भने मेलिना राईले गाएकी छिन्।

कुनै-कुनै गीतको गर्भाधान निकै ढिलो हुन्छ। यो गीतको प्रथम गर्भाधान म स्याङ्जा, वालिङमा बस्दा नै भएको थियो, करीब १५ वर्षअघि। गल्याङमा एउटा चिया पसल थियो र एक दिन त्यो पसलमा साथी अर्जुन तिवारीसँग चिया पिउँदै थिएँ म। उनलाई राम्ररी गितार बजाउन आउँथ्यो। त्यही बेला एउटी १५-१७ वर्षकी युवतीले पहेंलो पटुकीमा अड्याइएको तामाको गाग्रीमा पानी बोकेर हामी छेउबाट गइन्।

यो बेला म कविता लेख्ने र साथीभाइलाई सुनाउने गर्थेँ। त्यो दृश्य देखेपछि साथीले भने, ‘अब एकनारायणले यही विषयमा गीत बनाइदिन्छ होला।’

म मुसुक्क हाँसेँ मात्र। कुनै प्रतिक्रिया जनाइनँ। तर मनमनै म यो विषयलाई गीत वा कवितामा उतार्छु भन्ने सोचेँ। यो विषय मनमा झुन्डिरहेको थियो।

पछि फिल्म बन्ने भएपछि निर्माताले मलाई यस्तै थिमको गीत चाहियो भने। मैले त्यही घटना सम्झिँदै बल्ल १५ वर्षपछि यो गीत लेखेँ। यो गीत निकै लोकप्रिय पनि भयो।

३. ढलें, म ढलें…

यो गीत स्वरुपराज आचार्यले गाएका हुन्। संगीत चाहिँ मेरो आफ्नै हो।

२०६१ सालको शिवरात्रीको दिन म पशुपति गएको थिएँ। साथीभाइले त्यो दिन पशुपतिमा जमघट गर्ने हेतुले बोलाएका हुँदा म पनि उपस्थित रहेँ।

त्यो दिन साथीभाइसँग रमाइलो गर्ने क्रममा प्रसाद (भाङ) खाइयो। फर्किँदा अरू साथीहरू आ-आफ्नो घरतिर लागे। मसँग सवारी साधन नभएको हुँदा म हिँड्दै-हिँड्दै बसुन्धरातिर आएँ। नशा लागेर हो क्यार, म झुम्म अवस्थामा थिएँ। बाटोमा आउँदाआउँदै ढलेजस्तो अनुभूति भयो र बाटामा हिँड्दै गर्दा यो गीत फुर्‍यो। पछि स्वरुपको स्वरमा सजिएपछि यो गीतले निकै चर्चा पायो।

४. मलाई जसले पनि किन रुवाउँछ…

यो गीत प्रमोद खरेलले गाएका हुन्। संगीतचाहिँ मैले नै गरेको हुँ।

यो सिर्जनाको गर्भाधान कसरी भएको थियो भने, एक जना मानिस थिए, मैले उनलाई दाइ भनेर सम्मान गर्थेँ। उनलाई मेरा सुख-दुःख सबै थाहा थियो। मैले पनि उनलाई कुनै समय गुन लगाएको थिएँ।

तर मेरा गीतहरू चल्न थालेपछि उनको मप्रतिको पूर्ववत् व्यवहार बदलियो। उनले मेरो खुट्टा तान्ने र मविरुछ नकारात्मक कुरा गर्न थालेछन्। मेरा गीतको पोस्टर कुनै चिया पसलमा टाँसिएको देख्दा त्यसलाई उप्काउनेजस्ता कार्य पनि गर्न थालेछन्।

त्यतिबेला म तीनकुनेमा बस्दथेँ र अनामनगरमा मैले यो कुरा सुनेँ। त्यहाँबाट तीनकुनेतिर जाँदै गर्दा बानेश्वरमा ट्राफिक जाममा परेँ। त्यही बेला नै मलाई यो गीत फुरेको हो।

५. लालुपाते नुघ्यो भुइँतिर…

यो गीतको रचनागर्भ २०६२ सालतिरको हो।

त्यो बेला म बसुन्धरामा बस्थेँ। म बसेको घरभन्दा पल्लो घरमा एउटी युवती बस्थिन्। म कौसीमा जाँदा उनी पनि आफ्नै कौसीमा आउँथिन् र मलाई भन्थिन्, ‘कविता सुनाउनुुस्, गीत सुनाउनुस्।’ त्यो बेलासम्म मेरा केही गीत चर्चित भइसकेको हुँदा उनलाई यो कुरा थाहा रहेछ र उनले मलाई गीत, कविता सुनाउन भनेकी रहिछन्।

त्यो बेला म अविवाहित नै थिएँ। कुनै दिन म कौसीमा नजाँदा उनी सोध्थिन्, ‘हिजो किन कौसीमा नआउनुभएको तपाईं ?’

उनले मप्रति प्रेमभाव व्यक्त गरेजस्तो मैले महसुस गरेँ। मैले पनि उनलाई बिस्तारै प्रेमभाव व्यक्त गर्न थालेँ।

तिनै युवतीको घरमा एउटा भाइ बस्थे। एकदिन उनले मलाई भने, ‘मेरो त उनीसँग प्रेम बस्न लागेको छ दाइ। मैले उनलाई टोखातिर घुमाउन पनि लिएर गइसकेँ। घुमाउन लैजाँदा उनलाई दही र चिउरा पनि खुवाएँ मैले त।’

त्यसपछि म कौसीमा उक्लिन छाडेँ र उनलाई वास्ता गर्न छाडेँ। तर एकदिन बाटोमा जम्काभेट भयो। उनले मुखै फोरेर भनिन्, ‘अचेल किन कौसीमा आउनु हुन्न तपाईं ? किन मसँग बोल्न चाहनु हुन्न।’

कुनै प्रतिक्रिया नजनाई म आफ्नो बाटो लागेँ। त्यही बेला, उनीसँग छुट्टिएर हिँड्दाहिँड्दै बाटैमा यो गीत फुर्‍यो, ‘अरूलाई त दहीमा चिनी, मलाई भने पानी नि नदिनी, लालुपाते नुघ्यो भुइँतिर…कि लाऊ माया मैतिर, कि लाऊ उैतिर, निरा नलाऊ दुईतिर…।’

यो गीत राजु परियार र विष्णु माझीले गाए। लयचाहिँ मेरै हो। पछि यो गीत निकै चर्चित भयो।

६. जिन्दगी नै भन्दिनँ…

यो गीत चलचित्र ‘ए मेरो हजुर- ३’ मा समेटिएको छ।

म त्यतिबेला पाल्पामा थिएँ। एक दिन मेरा साथीहरूले मलाई धतुरो खुवाइदिएँ। धतुरोको नशाले मलाई यसरी लठ्याएछ कि, मलाई त्यो दिन घाम उदाएको, अस्ताएको र भोक लागेको केही पनि थाहा भएन।

त्यो घटना मेरो हृदयमा गडिरहेको थियो। मैले त्यही घटनालाई प्रेम प्रसंगमा जोडेर लेखेँ। त्यो एकदिन मेरो जीवनमा थिएन भन्ने भावभूमिमा यो गीत लेखेको थिएँ।

यो गीत सुगम पोखरेल र प्रविशा अधिकारीले गाएका हुन् भने संगीत चाहिँ आशिष अविरलले दिएका हुन्।

(कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved