सुटुक्क बझाङ पुग्यो भारतीय हेलिकोप्टर, पश्चिम सेतीबारे सोधपुछ गरी फिर्ता

नेपालभ्युज

सुटुक्क बझाङ पुग्यो भारतीय हेलिकोप्टर, पश्चिम सेतीबारे सोधपुछ गरी फिर्ता

धनगढी। बिहीबार दिउँसो सुटुक्क बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकोप्टर अवतरण भयो। कैलाश हेलिकोप्टर सर्भिसको ९ एनएजेजे नम्बरको हेलिकोप्टर एक्कासी बझाङ पुगेर अवतरण भएपछि धेरैको ध्यान केन्द्रीत भयो।

पूर्वजानकारीबिना भारतीय नागरिक सवार हेलिकोप्टर आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधि सोधीखोजी गर्न थाले। थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले हेलिकोप्टरमा आएका भारतीय नागरिकलाई नै प्रश्न गरे।

वडाध्यक्षको प्रश्नमा उनीहरूले नदीको बहाव र कटान गरेको हेर्न आएको जवाफ दिए। उनीहरूको जवाफ चित्त नबुझेपछि स्थानियले प्रहरीलाई खबर गरे। तर उनीहरू प्रहरी पुग्नुअघि नै त्यहाँबाट फिर्ता भए।

हेलिकोप्टरमा चालकसहित पाँच जना भारतीय नागरिक रहेको वडा अध्यक्ष जोशीले बताए। उनले भने, ‘‘हिन्दी बोलिरहेका थिए। साथमा नक्सा पनि बोकेका थिए। उनीहरू करीब आधा घण्टा बसेपछि गए।’’

हेलिकोप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनविज्ञ छ। हेलिकोप्टरको विषयमा जानकारी नभएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

हेलिकोप्टरमा को, किन आए भनेर नखुलेको र आफूलाई कुनै पूर्वजानकारी पनि नभएकाले यस बारेमा आफूलाई जानकारी नभएको उनले बताए।

तर यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान बहादुर विष्टले पश्चिम सेती परियोजनाको बिषयमा अवलोकन आएका बताएका छन्। उनले भने, ‘‘पुर्व जानकारी हामीलाई केही थिएन्, स्थानियले खबर गरेपछि जानकारी पायौं तर हामी पुग्नुअघि नै उनीहरू फिर्ता भइसकेका थिए। उनले थपे विस्तारै बुझ्दै जादाँ पश्चिम सेती परियोजनाको बिषयमा अवलोकन गर्न आएको भन्ने छ।’’

डीएसपी विष्टले उक्त हेलिकोप्टर सुर्खेतबाट आएको र बाकी जानकारी पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा रहेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved