धनगढी । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स क्लब मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको थियो।
फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।
खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा राजिबले गोल गर्दै फ्रेन्ड्सलाई दोब्बरको अग्रता दिलाएका थिए। तर खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरे पनि बागमतीले हार टार्न सकेन।
आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।