मतपत्रमा रंग विवाद

हरियो रङको मतपत्रले एमालेमा त्रास, रङले के फरक पार्छ ?

अहिले मात्रै हरियो रंग प्रयोग गर्न लागिएको होइन

निर्वाचन आयोगले भने मतदाता र गणकमैत्री भएकाले सेतो कागजमा हरियो रङका चुनाव चिह्नसहित विवरण राखेर मतपत्र तयार गरिने निर्णय गरेको प्रस्ट्याएको छ। एमालेले यसको विरोध गरेको छ। कांग्रेस प्रतिरक्षामा छ। के मतपत्र र चुनाव चिह्रनको रङले मतमा प्रभाव पर्छ?

हरियो रङको मतपत्रले एमालेमा त्रास, रङले के फरक पार्छ ?

काठमाडौं। ‘‘निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो राख्ने भयो रे। हरियो चिह्न किन राख्ने? के कारणले राख्ने? कुन हिसाबले राख्ने? धार्मिक हिसाबले राख्ने हो? अथवा कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्ने? केका लागि राख्ने, आयोगले निर्णय गरेको हो भने सच्याउनुपर्छ, हरियोसरियो हुँदैन?’’

हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलीले माथिको यो पंक्ति भाषण गरे।

केही दिनअघि मात्र निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको थियो। ओलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेमसंघद्वारा मंगलबार आयोजित कार्यक्रममा हरियो मतपत्रबारे प्रश्न उठाएपछि ‘मतपत्रको रङले चुनावमा असर गर्छ कि गर्दैन’भन्ने बहस गर्न सकिन्छ।

कांग्रेसको चुनाव चिह्न रूख हरियो भएकाले मतपत्रको रङ पनि त्यस्तै राख्ने निर्णय भएको हुन सक्ने पहिलो ठूलो दल एमालेको आशंका छ। एमालेले आयोगलाई त्रुटि सच्याउन लगाउने बताइरहँदा कांग्रेसले समेत प्रतिउत्तर दिइसकेको छ, ‘‘विभाजित कम्युनिस्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ।’’

एमाले अध्यक्ष ओलीले निर्वाचनका आयोगको विरोध गर्न छाडेका छैनन्। बुधबार मोरङको रंगेलीमा पार्टी प्रवेश गराउने कार्यक्रममा पनि उनले उस्तै विरोध गरे।

माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलीपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले कांग्रेसको आलोचना गर्दै भने, ‘‘कांग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ। बुढो रूख बचाउन निर्वाचन आयोगले चुनाव चिह्न सबै हरियो बनायो, चुनाव चिह्न हरियो हुँदा कांग्रेस बौरिँदैन।’’

के पहिलो पटक हरियो रंग प्रयोग गर्न लागिएको हो ?

आगामी ३० वैशाखमा देशभर एकैसाथ हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्र बनाएको छ। स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने आयोगको तयारी छ।

आयोगले बिहीबार नै विज्ञप्ति जारी गरेर मतपत्रका चिह्नहरू ‘एसके-३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ गर्ने बताएको थियो। आयोगको निर्णयलगतै विवाद देखिएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाइरहँदा सत्ता नेतृत्वकर्ता कांग्रेस भने प्रतिरक्षामा छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा निलो रङको चिह्न प्रयोग गरिए पनि यसपटक हरियो राखिन लागिएको हो। तर, हरियो रङको प्रयोग भने पहिलो पटक गरिन लागिएको होइन। आयोगले यसअघिको निर्वाचनमा समेत गरिसकेको छ। यसअघि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न प्रयोग गरिएको थियो।

प्रदेशसभा निर्वाचनका लागि सेतो मतपत्रमा कालो चुनाव चिह्न थियो। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भने हल्का रातो रङको मतपत्र प्रयोग गरिएको थियो। पछिल्लो पटक १२ माघ ०७८ मा राष्ट्रिय सभा सदस्यतर्फ प्रदेश सभा सदस्यले प्रयोग गरेको मतपत्रमा हरियो रङको चिह्न थियो। तर, स्थानीय तहका सदस्यले भोट हाल्ने मतपत्रमा रातो रङको चिह्न थियो।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न प्रयोग गरिएको थियो।

आयोगको प्रस्टीकरण : हरियो रंग गणकमैत्री

निर्वाचन आयोगले भने मतदाता र गणकमैत्री भएकाले सेतो कागजमा हरियो रङका चुनाव चिह्नसहित विवरण राखेर मतपत्र तयार गरिने निर्णय गरेको प्रस्ट्याएको छ। मतपत्र र चुनाव चिह्नको रङका विषयमा नेपालभ्यूजको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले ‘हरियो रंग स्पष्ट भएकाले’ प्रयोग गरिन लागिएको बताए।

उनले भने, ‘‘विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको। यस पटक हरियो रंग स्पष्ट भएकाले सोही रंग प्रयोग गर्ने निर्णय भएको हो।’’

मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियोस् भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसंख्या राख्ने आयोगले निर्णय गरेको प्रवक्ता शर्मा पौडेलले बताए।

उनले भने, ‘‘कुनै दललाई सर्पोट पुगोस् भनेर बदनियतका साथ राखिएको होइन। मतगणनामा सजिलो होस्, मतपत्रमा गरिएको मत संकेत स्पष्ट देखियोस् भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसंख्या राख्ने आयोगले निर्णय भएको हो।’’

अब रंग फेर्न नसकिने आयोगको भनाइ

मतपत्र छाप्ने काम जनक शिक्षा सामग्रीले गर्दै छ । मतपत्र छाप्नका लागि रङ किन्नुपर्ने भएकाले जनक शिक्षाले आयोगसँग रङबारे सल्लाह लिएको जनाइएको छ। त्यसैअनुसार आयोगले जनक शिक्षालाई हरियो रङ किन्नसमेत भनिसकेको छ।

पटक–पटक प्रयोग भइसकेको रङ पुन प्रयोग गर्दा आयोगमाथि शंका गर्नुपर्ने जरुरी नरहेको आयोगका उच्च अधिकारीहरू बताउँछन्। एक अधिकारीले भने, ‘‘सबै प्रक्रिया अघि बढिसकेको छ। समय छोटो छ,अब निर्णय सच्याउन सकिँदैन।’’

एमालेमा छलफल हुनै बाँकी, ओलीद्वारा मात्रै विरोध

एमालेमा निर्वाचनको आयोगको निर्णयको विषयमा छलफल हुनै बाँकी छ। अहिलेसम्म अध्यक्ष ओलीलेमात्रै विरोध गरेका हुन्। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि हरियो रंगश प्रयोग गरेकाले अहिले विरोध गर्न नहुने एमालेमा केही पंक्ति देखिन्छन्। जसकारण अरू नेताहरु यसबारे विरोधमा उत्रिएका देखिँदैनन्।

एमाले उपाध्यक्ष सुवास नेम्बाङ भन्छन्,‘‘निर्वाचन आयोगको निर्णयको विषयमा अध्यक्षज्यूले आफ्नो राय प्रकट गरिरहनुभएको छ। पार्टीमा छलफल भएको छैन। आउँदो बैठकमा उहाँले एजेन्डा प्रस्तुत गर्नुहुन्छ होला। त्यसमाथि छलफल भएपछि पार्टीको निष्कर्ष के आउँछ, त्यो अनुसार निर्वाचन आयोगसँग छलफल गर्नेछौँ।’’

यस्तो बन्दै छ, चुनावी कार्यतालिका

३० वैशाखमा निर्वाचन हुनेछ। दल दर्तामा ८० राजनीतिक दलले निवेदन दिएका छन्। आयोगले ११ वैशाखमा उम्मेदवारी दर्ता शुरु गर्ने गरी निर्वाचन कार्यतालिका बनाउन थालेको छ।

तालिकाअनुसार १७ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। निर्वाचन प्रचार–प्रसार गर्न यस पटक छोटो समय दिने तयारी छ। यसका लागि १३ दिनको अवधि दिने आयोगको कार्ययोजना छ। उम्मेदवारहरूले २७ वैशाखसम्म निर्वाचन प्रचार–प्रसार गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved