एमसीसी पास भएपछि सक्रियता बढाउँदै अमेरिकी र चिनियाँ राजदूत

एमसीसी संसद्बाट पारित गर्न सक्रिय रहेका नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीको त्यो सक्रियता अझै घटेको छैन भने नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि उत्तिकै छ।

नेपालभ्युज

एमसीसी पास भएपछि सक्रियता बढाउँदै अमेरिकी र चिनियाँ राजदूत

काठमाडौं । नेपालस्थित अमेरिकी र चिनियाँ राजदूतको सक्रियता झनभन्दा झन् बढ्दै गएको छ। केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पारित गर्न सक्रिय रहेका नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीको त्यो सक्रियता अझै घटेको छैन भने नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि उत्तिकै छ।

बुधबार बिहानमात्रै अमेरिकी राजदूत बेरीले सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट्दा चिनियाँ राजदूत यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिन्।

सूचनामन्त्री कार्कीसँगको भेटमा अमेरिकी राजदूत बेरीले एमसीसी पारित गर्न नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसा गरिन्। यस्तै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि मन्त्री कार्की र राजदूत बेरीबीच छलफल भयो।

यता माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेकी चिनियाँ राजदूत यान्छीले चिनियाँ प्रधानमन्त्री लि खछ्याङको सम्भावित नेपाल भ्रमण र आसन्न चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा छलफल गरेकी थिइन्।

चैत दोस्रो साता दुई दिने भ्रमणका लागि चिनियाँ परराष्ट्रमन्त्री यी नेपाल भ्रमणमा आउँदै छन्। यही जुनमा भारत भ्रमणमा आउन लागेका चिनियाँ प्रधानमन्त्री खछ्याङ नेपाल भ्रमणमा पनि आउने सम्भावना रहेको स्रोत बताउँछ। यसैको तयारीका लागि चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल भ्रमण गर्न लागेको स्रोत दाबी गर्छ।

२३ फागुनमा परराष्ट्रमन्त्रालयमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना चिनियाँ समकक्षिसँग एक घण्टा फोनवार्ता भएको बताएका थिए। दुई देशबीचको समस्या समाधानका लागि आफू र आफ्नो चिनियाँ समकक्षिबीच छलफल भएको मन्त्री खड्काको भनाई थियो। उक्त पत्रकार सम्मेलनपछि नै चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणको जानकारी आएको थियो।

२३ फागुनमै सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता भयो। एमसीसी पारित भएपछिको अवस्था र चिनियाँ प्रधानमन्त्री खछ्याङको सम्भावित नेपाल भ्रमण र परराष्ट्रमन्त्री यीको नेपाल भ्रमण लगायतका विषयमा सभामुखसँग राजदूत यान्छीले छलफल गरेको स्रोत दाबी गर्छ।

नेपालको संसद्ले एमसीसी पारित गरेको परिपेक्षमा चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन्। यसअघि १२ मे २०१७ मा नेपाल–चीनबीच भएको बीआरआई सम्झौता ठोस रूपमा अघि बढ्न सकेको छैन। बीआरआईपछि १४ सेप्टेम्बर २०१७ मा सम्झौता भएको एमसीसी अघि बढ्ने अवस्थामा बीआरआईको काम रोकिँदा चिनियाँ पक्ष असन्तुष्ट छ। नेपालका कारण बीआरआई अघि बढ्न नसकेको चीनले आरोप लगाउँदै गर्दा चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन्।

नेपालको संसद्ले एमसीसी पारित गरेपछि चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन्। एमसीसी पारित भएसँगै नेपालमा रहेका शरणार्थीका मुद्दाको विषयलाई अमेरिकालगायत नेपालमा रहेका पश्चिका केही राजदूतले वकालत गर्न थालेसँगै चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमण हुन लागेको हो।

१५ फागुनमा नेपालको संसद्ले एमसीसी पारित गरेको थियो। १६ फागुनमा गृहमन्त्री बालकृष्ण खाँड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता भयो। उक्त भेटवार्तामा राजदूत बेरीले एमसीसी पारित गर्न नेपाल सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालमा रहेका शरणार्थीलाई कोभिड–१९ भ्याक्सिन प्रदान गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरे। यस्तै नेपालमा रहेका शरणार्थीलाई स्थायी लेखा नंम्बर (प्यान कार्ड) प्रदान गर्न पनि उनको आग्रह थियो।

बुधबार सञ्चारमन्त्री कार्कीसँगको भेटवार्तामा पनि अमेरिकी राजदूत बेरीले यस्तै आग्रह गरेको स्रोतको दाबी छ। एमसीसी पारित भएसँगै अमेरिकाको विकास सहयोगी संस्था युएसएडले विभिन्न कार्यक्रमका लागि नेपाललाई ठूलो आर्थिक सहायता गर्ने तयारी गरेको छ। एमसीसी नेपालको विकास निर्माणमा खर्च हुनेछ भने यूएसएडमार्फत आउने रकम समाजिक कार्यमा लगानी हुनेछ।

नेपालमा एमसीसीलाई राजनीति करण गर्न बाह्यशक्तिको भूमिका रहेको अमेरिकी बुझाइ छ। सार्वजनिक रूपमा यस्तो आरोप नलगाए पनि विभिन्न व्यक्तिमार्फत यस्तो भनाई सार्वजनिक हुने गरेका छन्। दूतावासका प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहने एक व्यक्तिका अनुसार एमसीसी पारित गर्न अमेरिकाले जुन प्रकारको दुःख खप्नुपर्‍यो त्यसको भरपाई गर्ने मनशाय दूतावासले राखेको बताउँछन्। भन्छन्, “एमसीसी पारित गर्न अमेरिकाले जुन प्रकारको सकस व्यर्होनुपर्‍यो, त्यसको प्रतिशोध साध्ने संकेत दूतावासले दिएको छ।”

एमसीसी पारित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने सार्वजनिक रूपमा नै अभिव्यक्ति दिए। प्रधानमन्त्री देउवाको यस्तो अभिव्यक्तिका पछाडि चिनियाँ चासोको सम्बोधन गर्ने प्रयास भएको बुझाइ उनीनिकट केही व्यक्तिको छ।

तिब्बती समुदायको नयाँ वर्ष (ल्होसार) को अवसरमा २१ फागुनमा जावलाखेलमा एक कार्यक्रम आयोजना भयो। उक्त कार्यक्रममा तिब्बती समुदायका अलावा नेपालस्थित विभिन्न नियोगका प्रतिनिधि पनि सहभागी थिए।

यसअघि तिब्बती समुदायले खुलेर कार्यक्रम गर्न नपाएको केही समय भइसकेको थियो। यस्तो अवस्थामा यो पटकको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा शरणार्थीसँगै अमेरिकी राजदूत बेरी लगायत अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क, बेलायती राजदूत निकोलस पोलिटीलगायत अन्य दूतावासका प्रतिनिधि सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved