प्रचण्ड-नेपालले प्रतिनिधिसभा विघटन प्रस्ताव गरेर आफैँलाई प्रतिगमनकारी घोषणा गरेः सुवास नेम्वाङ

नेपाल भ्युज

प्रचण्ड-नेपालले प्रतिनिधिसभा विघटन प्रस्ताव गरेर आफैँलाई प्रतिगमनकारी घोषणा गरेः सुवास नेम्वाङ

काठमाडौं। एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको आरोप लगाउँदै विरोधको आगो बाल्ने माओवादी केन्द्रका प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई प्रतिगमनकारी घोषणा गरेको बताएका छन्।

पूर्वसभामुख नेम्वाङले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गर्दा त्यसलाई प्रतिगमनकारी भन्नेहरू आफैंले पुनर्स्थापना गराएको प्रतिनिधिसभा अहिले विघटन गरी ‘अर्ली इलेक्सन’ मा जान प्रस्ताव गर्नु भनेको प्रतिगमनकारी हुँ भन्ने कुराको स्वघोषणा भएको व्याख्या गरे।

“प्रचण्ड र माधव नेपालले अहिले संसद् विघटन गरौँ भनेर कसरी भन्न सकेको ? त्यसो भन्नु भनेको आफूलाई प्रतिगमनकारी घोषणा गर्नु हो”, नेपालभ्यूजसँग कुरा गर्दै नेम्वाङले भने, “प्रतिनिधिसभा विघटन भएको बेला सडकमा विरोधको आगो बाल्नेहरूले कुन नैतिकताले विघटन भन्न सक्नुहुन्छ ? उहाँहरू नै होइन हिजो टाउकोले टेकेर अदालत जानेहरू ? अनि पुनर्स्थापना हुँदा प्रतिगमनबाट जोगायौँ भन्ने उहाँहरू नै होइन ?”

“प्रतिनिधिसभाको अर्लि इलेक्सन भन्नु भनेको प्रतिनिधिसभा विघटनको प्रस्ताव हो, पहिले प्रतिनिधिसभा विघटन नगरी अर्ली इलेक्सन हुँदैन”, उनले भने, “पहिले दुई पटक ओलीले प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन देख्नेहरू अहिले किन विघटनको कुरा गर्दैछन्। उद्देश्य के हो ? त्यो कुरा पहिले प्रस्ट पार्नुपर्छ।” त्यस कारण विघटनको नियत ठीक नभएको उनले बताए।

प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको कुरा गर्नु एमालेका लागि खुशीको कुरा भएको पनि उनले बताए। “अबको चुनावमा एमालेले दुई पटक प्रतिनिधिसभा विघटन गरेको मुद्दा उठ्न सक्थ्यो तर अब उनीहरूले यो मुद्दा कुन मुखले उठाउँछन्”, उनले भने।

स्थानीय चुनाव वैशाखमा हुँदा गठबन्धनका उम्मेद्वारको विजोग हुने देखेर चुनाव सार्ने षड्यन्त्रमा लागेको पनि उनले आरोप लगाए। “उहाँहरूले कहिल्यै पनि राष्ट्रिय र ठूलो हितको कुरा सोच्नुहुन्न। मूल्य मान्यताको कुरा होइन, आफ्नो स्वार्थ मात्र हेर्नुहुन्छ”, उनले भने।

स्थानीय चुनावमा गठबन्धन गर्न नसकिने भनी कांग्रेसकै दोस्रो पुस्ताका नेताहरूले बोलिरहेको बताउँदै उनले भने, “यो घोषित चुनाव स्थगित गर्ने षड्यन्त्र हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved