सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस

खतराकी खेलाडी मीना, नेपालकै पहिलो लेडिज ‘बन्जी क्रू’

गहिरो खोँचमाथिको अग्लो झोलुङ्गे पुलमा खुट्टा राख्ने बित्तिकै ज्यान सिरिङ्ग गर्न थालिहाल्छ । पुलको बारबाट तल खोँचमा हेर्दा समेत कहाली लाग्छ। सोच्नुहोस् त, अझ त्यहाँबाट हामफाल्दा कस्तो होला? त्यही पुलबाट साहसिक मनोरञ्जनात्मक खेल बन्जी र स्विङ गराइन्छ। जहाँबाट जम्प गराएर मज्जा दिने काम गर्दै आएकी छिन् मिना श्रेष्ठले।

खतराकी खेलाडी मीना, नेपालकै पहिलो लेडिज ‘बन्जी क्रू’

२०५७ सालतिरको कुरा हो। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा चहलपहल बढी नै भए पनि अहिले जस्तो व्यापक थिएन। त्यही ठाउँमा साहसिक गतिविधिमा रुचि राख्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर भोटेकोशी नदीमाथि झोलुङ्गे पुल हालियो। पुलमा मनोरञ्जनात्मक खेल बन्जी शुरु भयो।

त्यो पुलको अगाडिपछाडि हेर्दा देखिन्छ, अग्ला भीमकाय पहाड र हरिया डाँडाकाँडा। भिरालो जमीन एवं ओसिलो माटोमा बनेका सुन्दर घरहरू नियाल्न सकिन्छ। पुलबाटै दायाँबायाँ हेर्दा देखिन्छ, गहिरो कहालीलाग्दो खोँच। जहाँ बगिरहेको छ, कलकलाउँदो भोटेकोशी नदी। भोटेकोशी नदीको मुहान भने तिब्बत हो। गहिरो पहाडी खोँच हुँदै बगेको यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ। पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको छ कलकल सङ्लो पानी। जहाँ बन्जी जम्प गराउँदै आएको छ ‘द लास्ट रिसोर्ट’ले।

सुसाउँदै आएको भोटेकोशीको गुन्जन र सिरसिर बतासको चिसो स्पर्श। वरिपरि हरिया डाँडा र सुन्दर नयाँ पुल बजार। बन्जी गराउन पुल बनेपछि त्यसलाई ‘नयाँ पुल’ भनियो। त्यो माथितिरका बासिन्दा पुल छेउमा घर बनाएर बसे। यसरी सानो बजारकै नाम पुलबजार राखियो। पुलसँगै पारी अर्को गाउँ थपियो। त्यहाँ होमस्टेसहितका घरहरू छन्। वारि नयाँपुल बजारमाथि भने चारतारे होटेल बनिरहेको छ। बन्जीको लागि बनाइएको पुलबाट पारिपारि यात्रा गर्न निक्कै सहज भएको छ।

गहिरो खोँचमाथिको अग्लो झोलुङ्गे पुलमा खुट्टा राख्नेबित्तिकै ज्यान सिरिङ्ग गर्न थालिहाल्छ । पुलको बारबाट तल खोँचमा हेर्दा समेत कहाली लाग्छ। सोच्नुहोस् त, अझ त्यहाँबाट हामफाल्दा कस्तो होला? त्यही पुलबाट साहसिक मनोरञ्जनात्मक खेल बन्जी र स्विङ गराइन्छ। जहाँबाट जम्प हानेर आनन्द लिन देश तथा विदेशबाट एडभेन्चर पारखीहरू आउँछन्।

त्यहाँ बन्जी जम्प र स्विङ गरेकाहरूलाई एउटा अनुहार दिमागमा आउँछ। जम्परलाई फाल हाल्न लगाउने, तलमाथि र दायाँबायाँ गर्ने र माथि तान्ने प्रक्रिया गराउने त्यो अनुहार। उनी हुन् २८ वर्षीय मीना श्रेष्ठ।

उनी नेपालकै पहिलो ‘बन्जी क्रु’ लेडी मेम्बर हुन्। भोटेकोशी– ५, टयाङथलीकी उनी र बन्जी गर्ने ठाउँको दुरी करिब १५ मिनेटको बाटो मात्रै छ। उनै मीना अहिले बन्जी जम्प गर्न आउनेलाई बन्जी र स्विङ गराउँछिन्। फालहाल्दा जम्परहरू डराउन सक्ने भएकाले मनोबल खस्कन नदिने काम पनि उनैले गर्छिन्। यस गतिविधिमा खटिएका अरू क्रु मेम्बरसँग समन्वय पनि उनैले गर्छिन्।

मीना भन्छिन्,‘‘फाल हाल्दा कतिपयले डराउँछन्। तल झर्न नपरिदिए हुन्थ्यो जस्तो मान्छन्। अनि मेरो कपालमा समाउँछन्। कतिपयले कपडामामा समाएर झण्डिन्छन्। यस्तो गर्दा उनीहरूले हामीलाई समेत तल तानेर झार्ने खतरा हुन्छ।’’

भोटेकोशीमा बन्जी बन्दा उनी पाँच सात वर्षकी थिइन्। उनले अरूले बन्जी गरेको देखिकी थिइन्। तर, गरेकी थिइनन्। शुरुशुरुमा दैनिक मुस्किलले आठ-दश जना विदेशीले बन्जी गर्थे। नेपालीहरू डराउँथे। बन्जी गर्ने नेपाली कमै हुन्थे। त्यति बेला विदेशीसहितको ‘क्रु मेम्बर’ थियो । ‘बन्जी क्रु मेम्बर’ विदेशी देख्दा उनले आफू पनि ठूलो भएपछि त्यही काम गर्ने सोच बनाइन्।

पछि बिस्तारै नेपालीहरूले पनि बन्जी गर्न थाले। बिस्तारै बन्जी गर्ने नेपालीहरू बढ्दै गए। त्यति बेला मीना घरबाट ८ किलोमिटर पर रहेको झिर्पु उच्चमाविमा पढ्दै थिइन्। उनको परिवारमा धेरै जना थिए। तर घर खर्च चलाउन धौधौ थियो। मीना पनि ठूली भइन्। १२ कक्षको पढाइ पनि सकियो।

गाउँमा रोजगारी थिएन। घाँस दाउरा र मेलापात गर्नुपर्थ्यो। केही साथीहरू काठमाडौँ गए। केही विदेश होमिए। उनलाई भने बन्जीको ‘क्रु मेम्बर’ बन्ने सानै देखिको इच्छा थियो। २०६९ सालमा मीनाले ‘बन्जी क्रु ’ मा काम गर्न चाहेको भन्दै ‘द लास्ट रिर्साेट’ मा गइन्। त्यो बेला उनको उमेर १९ वर्षको थियो। रिर्साेटका म्यानेजरले ‘केटी मान्छेले क्रु मेम्बरमा काम गर्न नसक्ने’ भनेर वेटरमा काम लगाइदिएको उनी बताउँछिन्। ‘‘त्यति बेला म सानै थिए। केटी मान्छेले काम गर्न सक्दैनन् भनेर वेटरको काम दिए। मैले पनि हुन्छ भनेर काम थाले,” मीना भन्छिन्।

आफूले चाहेजस्तो काम नपाउँदा शुरुमा त उनलाई खल्लो लागेको थियो। बिस्तारै त्यहाँको माहोल रमाइलो लाग्न थाल्यो। साढे वर्ष अघिको कुरा हो। धेरैजना बन्जी ‘क्रु मेम्बर’ बिदामा थिए। त्यति बेला बन्जी मास्टर्सलाई सहयोग गर्ने अरू सहकर्मीको अभाव भयो। वेटरकै काम गरिरहेकी मीनाले आफूले पनि काम गर्न सक्ने बताइन्। बन्जी गराएको हेर्दाहेर्दै उनले धेरै काम जानिसकेकी थिइन्।

उनले ‘बन्जी क्रु’को सहयोगीको काम गर्ने मौका पाइन्। बिस्तारै उनले बन्जी मास्टर्ससँग जम्प गराउन सिकिन्। हरेक दिन नयाँँनयाँ अनुहारहरूलाई बन्जी गराउन उनी सहयोगी भूमिका निर्वाह गर्दै गइन्।

शुरुआती दिनमा उनलाई जम्परलाई हार्नेस लगाउने कामको जिम्मा दिइयो । ६ महीनापछि एक बढुवा भयो। जुनिएर जम्प अपरेटरमा काम थालिन्। समय बित्दै गएपछि उनी अहिले बन्जी मास्टर बनेकी छिन्। साढे तीन वर्षको अनुभवपछि उनी अहिले ‘बन्जी क्रु’ मेम्बरकै नेतृत्वमै रहेर बन्जी गराउँछिन्। मीनाका कतिपय साथी अझै गाउँमा घाँस दाउरा गर्छन्। कतिपय साथीहरू रोजगारीका लागि खाडी मुलुकमा छन्। उनी भने गाउँमै देशी विदेशीलाई साहसिक खेल खेलाइरहेकी छन्।

बाहिरबाट हेरेको जस्तो सजिलो भने बन्जी गराउँदा नहुने उनको अनुभव छ। आफैँले धेरै पटक बन्जी गरे पनि अरूलाई गराएर उसको ज्यानको जिम्मा लिन सजिलो नहुने उनको अनुभव छ। मीना भन्छिन्, ‘‘बन्जी गर्नेहरूको सुरक्षा नै हाम्रो सबैभन्दा ठूलो चुनौती हो। त्यहाँ कुनै सानो दुर्घटना पनि हुनै हुँदैन। यदि भयो भने अरू बन्जी गर्नेहरूको मानसिकतामा बन्जी गर्न नसक्ने भावना आउँछ। त्यति मात्र बन्जी प्रतिको प्रचार समेत नकारात्मक हुन्छ। यस कारण थोरै पनि असावधानी गर्ने छुट छँदै छैन।’’

कसैलाई जम्प गराइसकेपछि माथि नतानुन्जेलसम्म आफूहरू निक्कै चुनौतीपूर्ण अवस्थामा हुने उनको अनुभव छ। सुरक्षाका माध्यमबाहेक ‘बन्जी क्रु’मा एक आपसमा सहकार्य पनि उत्तिकै आवश्यक पर्ने उनी बताउँछिन्। उनी अनुभव सुनाउँछिन्, ‘‘तल डोरिमा झुन्डिएका जम्परहरूको स्वास्थ्य अवस्था कस्तो छ? उनीहरू कस्तो अवस्थामा छन्। मज्जा लिइरहेका छन् वा डराएका छन्। त्यो बुझ्न सक्नुपर्छ। हामी सधैँ आइअलर्टमै बस्नुपर्छ। क्रु मेम्बर टिमसँग कोअडिनेटमा बसिरहनुपर्छ।’’

बन्जी गर्न तयार भएर बसेकाहरू पनि तल खोँचमा हेरेपछि कहालिन्छन्। उनीहरूको मुटु काप्छ । कतिपय त बन्जी नगर्ने भन्दै चिच्याएर भाग्न थाल्छन्। त्यस्तो अवस्थाका उनीहरूलाई ‘बन्जी गर्दा केही हुँदैन, मज्जा आउँछ भनेर साहस थपिदिनु अर्को चुनौती रहेको बताउँछिन्। ‘‘डराएको मानिसलाई उसको मानसिकता बुझेर जम्प गराउन सक्नु चानचुने कुरा होइन। जम्पपछि माथि तानेपछि उनीहरूको मुहारमा खुशी र हाँसो आउँछ,’’ मीना भनिछन् ‘‘पहिला आफू होपलेस हुँदा झन्डै गुमेको महत्त्वपूर्ण अवसरलाई बचाइदिएको भन्दै धन्यवाद दिन्छन्। त्यो बेलामा आफूले धेरै राम्रो काम गर्न सफल भएछु भन्ने लाग्छ।’’

त्यही बन्जी नेपालको पहिलो हो। अलि पछि पोखरामा पनि शुरु भयो। अहिले पोखरामा दुई वटा छ। अहिले पर्वतमा पनि सञ्चालनमा छ। तर, अहिलेसम्म लेडी ‘क्रु मेम्बर’ कतै छैनन्। बिस्तारै नेपालमा बन्जीहरू धेरै स्थानमा सञ्चालन भएकोमा उनी मीना खुशी छिन्। तर, ‘बन्जी क्रु’ मा महिलालाई अगाडी ल्याउनुपर्ने उनको जोड छ।

‘‘महिलाहरूलाई सकेसम्म घरमै सीमित गर्ने चलन छ। तर, अवसर पाएमा महिलाले पनि धेरै काम गर्न सक्छन्,’’ मीना भन्छिन्,‘‘ साहसिक काम गर्न सक्छन्। महिलाले यही कामले आफ्नो देशलाई विश्वमा प्रवर्द्धन गर्न सक्छन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved