एमसीसीमा फसेको माओवादी महासचिव छान्न विफल, पदाधिकारी चयन चुनावपछि

चुनावको मुखमा पार्टीभित्र थप चिरा पर्नसक्ने भन्दै पदाधिकारी चयनको विषयलाई ३० बैशाखपछि सार्न खोजिएको हो।

नेपालभ्युज

एमसीसीमा फसेको माओवादी महासचिव छान्न विफल, पदाधिकारी चयन चुनावपछि

काठमाडौं। एमसीसी विवादमा फसेको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको जारी बैठक पनि पदाधिकारी चयन नगरी सकिने भएको छ। एमसीसीलाई राष्ट्रघाती संज्ञा दिँदै कार्यकर्तालाई आन्दोलनमा उतार्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले समर्थन गर्ने निर्णय गरी प्रतिनिधिसभाबाट पारित गरेपछि माओवादीकेन्द्र विवादमा फसेको हो।

एमसीसी पास गरेकोबारे पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले फरक मत नै पेश गरेपछि अध्यक्ष प्रचण्डले त्यसलाई विषयान्तर गर्न पदाधिकारी चयनको विषय अघि सारेका थिए तर त्यसमा पनि सहमति जुटाउन नसकेपछि अब पदाधिकारी चयन आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछिका लागि सारिएको हो।

महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेतले दाबेदारी पेश गरेपछि सहमति जुट्न नसकेको हो। पुराना नेताहरूले यी चारको विकल्पमा देव गुरूङलाई अघि सारेका थिए। त्यसमाथि नारायणकाजीले पनि एमसीसीको विषय उठाएर आफ्नो प्रभाव बढाएपछि प्रचण्डले निर्णय नै नगरी अघि जान खोजेका हुन्। अहिलेका मुद्दा सेलाएपछि गृहकार्य गरी टुंगोमा पुग्ने रणनीति प्रचण्डको छ।

संसदीय दलका मुख्य सचेतक रहेका नेता देवप्रसाद गुरुङले पदाधिकारीबारे सहमति नभएको र त्यससमा थप गृहकार्य गर्न बाँकी नै रहेकाले पदाधिकारी चयन स्थानीय चुनावपछि मात्रै गर्ने जानकारी दिए।

उनका अनुसार सोमबारको बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन टुंग्याउने छ। प्रचण्डनिवासमा भएको बैठकमा पदाधिकारी चयनले चुनावको मुखमा पार्टीभित्र थप चिरा पर्नसक्ने भन्दै यसलाई बैशाख ३० पछि सार्ने उपाय खोजिएको सहभागी एक नेताले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकका लागि विभिन्न ६ ओटा एजेण्डा राखिएको थियो। तीमध्ये अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने काम सकिएको छ। आजको बैठकमा अध्यक्षले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन्।

बाँकी एजेण्डामा संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव छन्।

यस्तै, अर्को एजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए। माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुपर्नेमा यसअघि २४७ जनामात्रै चयन गरेको थियो। आजको बैठक ११ बजे बस्ने भनेपनि अझै शुरु हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved