सामाजिक सञ्जालमा भाइरल गगन थापाको भिडिओको यथार्थ (भिडिओसहित)

भिडिओमा मात्र होइन धेरैले स्ट्याटस लेखेरै गगन थापाविरुद्ध आक्रोश पोखेका छन्। जहाँ धेरैले उनीप्रति नकारात्मक कमेन्ट बर्साइरहेका देखिन्छन्। ‘संसद् तथा सडकमा ओजनदार भाषण दिने र मुलुक विकासको भाषण दिने गगन थापाले कसरी यस्ता कुरा गरे होला’ भन्दै धेरैले आश्चर्यसमेत प्रकट गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल गगन थापाको भिडिओको यथार्थ (भिडिओसहित)

‘‘मलाई प्रधानमन्त्री बनाइदिनुस्। म कस्तो निर्णय गर्दिन्छु भने, ६० वर्ष नाघेकाहरूलाई घरमा बसीबसी ३० हजार भत्ता दिन्छु। १८ वर्ष पुगेका सबैलाई मोबाइल फ्रि, त्यसमा पनि आइफोन चलाउने वा सामसङ चलाउने छानीछानी। मोटरसाइकल चढ्नेलाई वर्षको सय लिटर पेट्रोल फ्रि’’

यतिबेला कांग्रेस महामन्त्री गगन थापाको भनाइको यो क्लिप सामाजिक सञ्जालमा भाइरल छ। भाइरल मात्रै होइन थापाले राम्रै गाली पनि खाइरहेका छन्।

शुक्रबार रातिदेखि उनको भाषणको बीचभागको यो सानो क्लिप फेसबुक, ट्विटर र टिकटक जताततै भाइरल छ।

गगन थापालाई गाली गर्दै ट्विटरमा गरिएको पोस्ट

त्यही क्लिप सुनेका, देखेकाहरूले अहिले ‘कृषिमा, उत्पादनमा तथा रोजगारीमा जोड दिनुपर्नेमा अनुत्पादक क्षेत्रमा पैसा बाँड्ने हावादारी योजना बनाइएको’ भन्दै सामाजिक सञ्जालमा थापाको आलोचना गरिरहेका छन्। ‘आशा लाग्दा युवा नेतामा समेत कुनै भिजन नै नदेखिएको’ भन्दै भिडिओमा कमेन्टमार्फत गालीगलौज बर्सिरहेका छन्।

भिडिओमा मात्र होइन धेरैले स्ट्याटस लेखेरै गगन थापाविरुद्ध आक्रोश पोखेका छन्। जहाँ धेरैले उनीप्रति नकारात्मक कमेन्ट बर्साइरहेका देखिन्छन्। ‘संसद् तथा सडकमा ओजनदार भाषण दिने र मुलुक विकासको भाषण दिने गगन थापाले कसरी यस्ता कुरा गरे होला’ भन्दै धेरैले आश्चर्यसमेत प्रकट गरेका छन्। कतिपयले उनको भाषणलाई मजाकको रूपमा उडाइरहेका छन्।

टिकटकमा एक युजरले गरेको पोस्ट, जुन भिडियो भाइरल भयो

कसरी भयो भाइरल ?

टिकटकमा धेरैले यो भिडिओ पोस्ट गरेका छन्। सबैभन्दा बढी भ्यूअर्स भने टिकटकमा धेरै पैसा कमाउने दाबी गर्दै आएका अंशु वर्माको नाममा खोलिएको नक्कली आईडीमा छ।

९७ हजार फलोअर्स भएको सो अकाउन्टमा पोस्ट भएको भिडिओलाई २६ लाखभन्दा बढीले हेरेका छन्। करीब दुई मिनेट लामो भिडिओमा एक लाख ८० हजार बढी लाइक छ। १४ हजार बढी कमेन्ट छ।

अरू युजरले पोस्ट गरेको भिडिओमा त्यति धेरै भ्यूअर्स नभए पनि डेढ दुई लाख कटेका भेटिन्छन्। यस्तै फेसबुक र ट्विटरमा समेत सोही भिडिओ क्लिप भाइरल भएको देखिन्छ।

टिकटकमा देखिएका पोस्टको स्क्रिनसट

के थापाले यही भनेकै हुन् त?

नेपाली कांग्रेसको मादी गाउँपालिका कार्यसमिति कास्कीले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापा प्रमुख वक्ता थिए। दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै थापाले मुलुकमा कम्युनिस्ट पार्टीले उत्तेजनाको राजनीति गरिरहेको बताए।

सो कार्यक्रममा गगन थापाले दिएको मन्तव्यको पूरा भिडिओ हेर्ने हो भने ‘उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने’ भन्दै केही उदाहरण दिएको देखिन्छ। तर, उनको आशय भने आइफोन र पैसा बाँड्ने नभएको देखिन्छ।

हामीले फेला पारेको सो कार्यक्रमको भिडिओमा थापाले भाषणमा उदाहरणसहित कार्यकर्तालाई प्रस्ट्याउन केही समय खर्चिएका रहेछन्। तर, भाइरल भिडिओ भने त्यही भाषण मध्यको दुई मिनेटको मात्रै छ। अर्थात् कांग्रेस महामन्त्री थापाले भन्न खोजेको कुराको ठीक विपरीत अर्थ लाग्ने गरी प्रचार गरिएको बुझ्न कठिन छैन।

उक्त भाषणमा महामन्त्री थापाले भनेका छन्-

‘‘दिने कुराको निर्णय गर्न सबैभन्दा सजिलो हुन्छ। म कस्तो निर्णय गर्दिन्छु भने, ६० वर्ष नाघेकाहरूलाई घरमा बसी बसी ६० हजार भत्ता दिन्छु। १८ वर्ष पुगेका सबैलाई मोबाइल फ्री, त्यसमा पनि आइफोन चलाउने वा सामसङ चलाउने छानाछानी। मोटरसाइकल चढ्नेलाई वर्षको सय लिटर पेट्रोल फ्री। म जत्तिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ? सबै कुरा फ्री। सबैको ताली पनि आउँछ। वाहवाह पनि हुन्छ। तर, त्यो निःशुल्क दिन चाहिँ ढुकुटीमा पैसा कसरी आउँछ त्यो कसैले सोध्दैन। म मञ्चमा जान्छु, जब ज्येष्ठ नागरिकको भत्ताको कुरा छ। यो वर्ष हाम्रो पार्टी सरकारमा आयो भने ज्येष्ठ नागरिकको भत्ता बढाएर १० हजार पुर्‍याउँछु भन्यो भने सबैभन्दा पहिले ताली बजाउँछ भने त्यो तरुणले बजाउँछ। क्या खुशी हुन्छ। तर, उसले अत्तोपत्तो पाउँदैन। त्यो कतार गयो भने, मलेसिया गयो त्यसको आम्दानीबाट आएको पैसाले सरकारको ढुकुटीमा ल्याएर सरकार चलाउने हो। त्यो तरुणले त के प्रश्न गर्नुपर्ने हो भने तिम्रो सरकारले रोजगारी कति सिर्जना गर्छ। यो वर्ष मेरो भाइ कतारबाट फर्किएर स्वदेशमा काम गर्ने अवसर पाउँछ कि पाउँदैन। मेरो बहिनी इजरायलको हाउस किपिङ र केयर टेकरबाट फर्किएर आएपछि महीनाको ४०– ५० हजारको नर्सिङ तलब खान पाउँछ कि पाउँदैन। तर, त्यो कुरा उसले सोध्दैनन्। किनकि उत्तेजनको राजनीति छ। उत्तेजनाको राजनीति बडो सजिलो हुन्छ। यसैले कांग्रेसको प्रत्येक साथीलाई म भन्न चाहन्छु- गाउँदेखि माथिसम्म डेमोक्रेटिकको सबैभन्दा मुख्य कुरा भनेको सुसूचित बहस हो। इन्फर्म डिवेट। सूचना राख्नुपर्याे, तथ्य राख्नुपर्याे। तथ्याङ्क राख्नुपर्याे। विचार निर्माण गर्नुपर्‍यो। त्यसको आधारमा जनमत बनाउनुपर्‍यो।’’


भिडिओ : सामाजिक सञ्जालबाट।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved