फराकिलो बन्दैछ समाज, फेरिँदैछ महिलाको पहिरनलाई हेर्ने दृष्टिकोण

सांसद डा.  विमला राई पौड्यालको तीन पुस्ताको पहिरन र त्यसबारेको सोचाइमा आएको परिवर्तनले नेपाली समाज महिलाको पहिरनको मामिलामा उदार बन्दै गएको देखाउँछ।

फराकिलो बन्दैछ समाज, फेरिँदैछ महिलाको पहिरनलाई हेर्ने दृष्टिकोण

आउने साल सय वर्षकी हुँदैछिन् सांसद डा. विमला राई (५५) पौड्यालकी आमा इन्द्रमाया पौड्याल तर, सारी बाहेक अरू पहिरन लगाएको अनुभव छैन उनीसँग। उनी हुर्किँदैगर्दा नेपाली समाजमा आम महिलाको पहिरन भन्नु नै फरिया थियो। जुनसुकै उमेरको भए पनि पैताला ढाकिने गरी सारी लगाउनुपर्थ्यो।

स्मृतिमा मधुरा छन् बाल्यकालका यादहरू। तिनै याद सम्झिँदै इन्द्रमाया भन्छिन्, “मलाई  पाँच बर्षमा गुन्यु चोला दिए। त्यसपछि सानै भए पनि बेरुवा (फरिया जस्तै पोशाक), पटुका र चोलो लगाएँ।”

त्यतिबेला घरबाहिर निस्कँदा बेरुवा र त्यसको बाहिर फेर छोडेर पटुका बाँध्ने गर्थे।

“आइमाईले कुरकुच्चा देखाएर हिड्नुहुँदैन भन्थे,” उनी सुनाउँछिन्, “केही समयपछि लुँगी आयो त्यो पनि लामो बनाएर कुरकुच्चा छोपेर लगायौं। लुंगी धेरैजसो नुहाउँदा, राती सुत्ने बेलामा अनि घर बस्दा लगाउथ्यौँ। धेरै बेरुवा लगाए पनि आकलझुक्कल फेरफार गर्ने कपडा चाहि लुंगी हुन्थ्यो।”

कम्मरमाथी भने चोलो लगाएर मजेत्रो ओड्थे। बाकटे र पूरा बाहुला भएको चोलो लगाउने चलन भएको सुनाउँछिन् इन्द्रमाया। भन्छिन्,  “बाकटे बाउला भएको चोला साना केटीले मात्र लगाउँथे। अलि ठूला हुँदै जाँदा भने लाज हुन्छ बाकटे बाउला लगाउन हुदैँन भन्थे।”

२०३२ सालमा काठमाडौं आएपछि पहिलोपटक कुर्ता सुरुवाल लगाएको देखेको सुनाउँछिन् उनी।

“कुर्ता सुरुवाल पंजाबीको पहिरन भन्थे”, उनी सुनाउँछिन्, “२०३२ सालमा काठमाडौं आउँदा कुर्था सुरुवाल लगाएको देखे, हुँदै हुँदै अहिले आफ्नै छोरी बुहारीले लाउन थाले।”

अहिले पनि उनी शरीर पुरै ढाकिने कपडा नै राम्रो लाग्ने बताउँछिन्। भन्छिन्, “आफूलाई सधैं शरीर ढाक्ने कपडा नै लगाउन मनपर्छ। अरूले लगाएको देख्दा नि अलि कस्तो कस्तो लाग्छ। छोटा लुगा लगाउने चाहि राम्रो होइन जस्तो लाग्छ।”

समयसँगै महिलाको पहिरन फेरियो। पहिरनबारे इन्द्रमायाको धारणा पनि फेरिँदै गयो। छोरी विमलालाई शुरुमा सर्ट र जामा लगाइदिएको सुनाउँछिन् उनी।

“छोरीहरूले घुँडा छोप्ने कपडा लगाए,” उनी भन्छिन्, “स्कुल पढ्दा उनीहरूको ड्रेस नै घुडाँ छोप्ने फ्रक थियो। त्यो नलगाए पढ्न पाउँदैनथे नलगाएर के गर्नु !”

आफूले छोरीलाई कपडाको मामिलामा कहिल्यै हस्तक्षेप नगरेको उनी बताउँछिन्। भन्छिन्, “मेरो उद्धेश्य एकोहोरो पढ्नु चाहिँ पर्छ भन्ने हो। लाउन खानमा त्यति नखरा गरिनँ मैले।”

डा. विमला राई पौड्याल आफ्नो परिवार पुरै आधुनिक नभए पनि पुरातन भएर कयस काट्न नपरेको बताउँछिन्। सानो छँदा सर्ट-फ्रक लगाए पनि आठ कक्षा पुगेपछि भने पाइन्ट लगाएको सुनाउँछिन् उनी।

“कक्षा सातसम्म पढ्दा सर्ट फ्रक लगाउँथे, कक्षा आठमा ऐच्छिक गणित बिषय पढ्ने आफुमात्र हुँदा सहपाठी केटा साथिले जिस्काएपछि केटाको जस्तै पाइन्ट लगाएँ। त्यतिबेला केटीले पाइन्ट लगाउने कुरा समाजलाई पाच्य नहुने भए पनि आमालाई कन्भिन्स गरेँ,” उनी भन्छिन्, “आमाले केटाकेटीलाई ट्युशन पढाउनुहुन्थ्यो, गाउँमा सबैले गुरुआमा भन्थे। सम्मानित व्यक्तिको छोरी भएर होला मैले नराम्रो बचन सुन्नु वा सहन परेन।”

आफ्नो बाल्यकालमा महिलाले लगाउने कपडा सिमित भएको स्मरण गर्छिन् उनी। “त्यति बेला कपडा छानेर लगाउन पाइदैन थियो। अहिलेजस्तो घर बस्दा, बजार जाँदा, सुत्दा अर्को, बजार निस्किँदा अर्को, पार्टी जाँदा अर्को लगाउन कहाँ पाइन्थ्यो र !” उनी भन्छिन्, “हामीले घर बस्दा, गाउँ चहार्दा लगाउने लुगा एउटै हुन्थ्यो। बजारै जानुपरे पनि धोएका कपडा लगायौं होला।”

तयारी कपडा त धनीमानीले मात्र लगाउने गरेको उनी सुनाउँछिन्। हुनेखाने र हुँदा खानेले लगाउने पोशाक नै फरक हुने गरेको सम्झिन्छिन्। “कसैले रेडिमेड कपडा लगाएको देखे आभुई त्यसले त रेडिमेट कपडा लगाएछ भन्थे। उच्च वर्गका अर्थात जमिन्दारका छोरीले मात्र लगाउँथे। अहिले लुगाले वर्गीय विभेद एकदमै कम देखाउँछ। सडकमा राखेको र ठूला मलमा राखेको कपडा उस्ताउस्तै देखिन्छ।”

आफ्नी आमाको जीवन जसरी एकै खाले पोशाकमा गुज्रिएको छैन डा. विमला राई पौड्यालको जीवन। उमेरसँगै उनले फरक-फरक कपडा लगाइन्।

“किशोरी अवस्थामा सर्ट र पछाडि फित्ता भएको मिडि लगाएँ। अलि हुर्किएपछि पाइन्ट लगाउन थालेँ” उनी सुनाउँछिन्, “म्याक्सीलाई घरबस्दा लगाउने पोशाक भन्थे। कसैले म्याक्सी लगाएर बाहिर निस्के ‘हेर त म्याक्सी लगाएर हिँडेकी भन्थे। कसैको कुरा काट्दा ‘म्याक्सी लगाएर घुम्छे’ भन्थे।”

आफ्नोभन्दा थोरै अघिका पुस्ताको पनि पोशाकबारेको धारणा पुरानै रहेको अनुभव छ उनको। उनकी जेठी भाउजुले सधैँ सारी नै लगाउने गरेकी थिइन् भने कान्छी भाउजुले कुर्ता सुरुवाल र पाइन्ट पनि लगाउने गरेकी छन्।

“जेठी भाउजु सधैं घरमा बस्नुभयो, कान्छि भाउजु संसार कुद्नुहुन्छ”, सुनाउँछिन्, “मेरो दिदी नर्स हुनुहुन्थ्यो। नर्सले छिटो छरितो काम गर्नुपर्ने भए पनि उहाँले सारी नै लगाउनुहुन्थ्यो।”

अहिले महिलाको पहिरनबारे समाज उदार बन्दै गएको अनुभव छ उनको।

“अहिले घरबस्दा प्लाजो सुरुवाल धेरैले लगाउँछन्। प्लाजो लगाउन एकदमै सहज र सस्तो पनि पर्छ क्यारे।”

आफु चाहि घरबस्दा ट्राउजर र टिर्सट लगाउने उनी बताउँछिन्। पोशाकबारे उनी आफैँ उदार विचार राख्छिन्।

“भर्खरका केटीले कट्टु लगाएको पनि राम्रो लाग्छ। मेरो छोरीले पनि छोटो कपडा लगाओस् भन्ने लाग्छ तर सधैं शरिर ढाक्ने कपडा लगाउँछे”, सुनाउँछिन् सांसद डा. विमला।

उनकी छोरी अनुसुया राई भने साधारण कपडा लगाउन रुचाउँछिन्।

“मलाई छोटो कपडा लगाउन त्यति रुची छैन। मेरो केहि साथिहरू भने हाफ पाइन्ट लगाउँछन्। घुम्न जाँदा टिर्सट जिन्स लगाउँछु। पार्टिमा जाँँदा लेहेँगा लगाउँछु। चाडपर्व सम्बन्धित कार्यक्रम भए राईको ड्रेस लगाउँछु।”

अहिलेसम्म कुर्ता सुरुवाल लगाएको अनुभव नभएकी अनुसुया भन्छिन्, “सर्ट पाइन्ट, हाफ पाइन्ट त सानैदेखि लगाए। स्कुल ड्रेस पनि पाइन्ट नै हो, मलाई सहज पाइन्ट टिसर्ट नै हो।”

आत्मनिर्भरताले ल्याएको परिवर्तन

समाजशास्त्री टिकाराम गौतमका अनुसार समाजमा रहेको लैंगिक विभाजन साँघुरो हुँदै गएकाले पहिरनबारेको धारणा पनि फराकिलो बन्दै गएको हो।

केही वर्ष पहिलासम्म पनि महिलाले लगाउने, खाने, बाहिर निस्कने, नाच्ने विषयमा संकुचित रहेको नेपाली समाज बिस्तारै खुला हुँदै गइरहेको उनको विश्लेषण छ।

“हिजो महिलाले के लगाउने के नलगाउने भन्ने लैगिक विभाजन थियो। अहिले समानतातिर उन्मुख भइरहेको छ”, समाजशास्त्री गौतम भन्छन्।

समाजशास्त्री निर्मला ढकाल पनि त्यसमा सहमत छिन्। भन्छिन्, “अहिले महिला स्वतन्त्र छन्, के लगाउँने के नलगाउने आफैले निर्धारण गर्न पाउँछन्।  आफुलाई जुन पोशाकमा सहज महसुस हुन्छ त्यहि लगाउन पाउँछन्।”

महिलाको आर्थिक हैसियत बढ्दै जाँदा यस्तो परिवर्तन आएको ठम्याई छ समाजशास्त्री गौतमको। उनका अनुसार शिक्षामा महिलाको पहुँच बढ्दै गयो अर्कोतर्फ देशको अर्थतन्त्र उदार हुँदै जाँदा रोजगारीका अवसरहर सिर्जना भए जसले महिलालाई आर्थिक रूपमा सक्षम बनायो। भन्छन्, “महिलाको आर्थिक हैसियत कायम भएसँगै पहुँच पनि वृद्धि हुन भयो।”

घर, परिवार तहका विभिन्न क्षेत्रका संरचनादेखि सिंगो सामाजिक संरचनामा आएको परिर्वतनले महिलाको स्थिती सुधारोन्मुख भएको उनी बताउँछन्। भन्छन्, “सामाजिक संरचनाभित्र जब महिलाले आन्दोलन गरे, कानून निर्माण भयो। महिलाको सहभागितामा परिर्वतन ल्याउने यस्ता विभिन्न तत्त्वहरू छन्।”

आर्थिक रूपमा सबल भएकाले नै समाजमा महिलाको उपस्थिति बलियो बनेको र उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको विश्लेषण छ समाजशास्त्री ढकालको पनि।

भन्छिन्, “महिला शिक्षित भए चेतनशिल भए, आर्थिक सशक्तिकरण बढ्दै जाँदा समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिर्वतन हुँदै आएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved