पुस्तक

अभिवन्द्य : रोदनको रचनात्मक लेखनशैली

इतिहास समृद्ध र गौरव गर्न लायकको भए पनि साहित्यिक पत्रकारिताले सदैव उपेक्षा मात्र बेहोर्दै र स्वीकार्दै आएको छ। रोदन ‘अभिव्यक्ति’ को बहानामा नेपाली साहित्यिक पत्रकारिताले झेल्दै आएको समस्यामाथि गम्भीर बन्छन्।

अभिवन्द्य : रोदनको रचनात्मक लेखनशैली

नेपाली निबन्ध, नियात्रा, लघुकथा विधालाई पृथक लेखनशैली र शिल्पले सिँगार्दै आएका श्रीओम श्रेष्ठ ‘रोदन’ व्यक्तिचित्र उतार्नमा पनि उत्तिकै दख्खल राख्छन्। यसको सप्रमाण उनको सद्यः प्रकाशित कृति ‘अभिवन्द्य’ बाट सहजै जुट्छ, जसमा उनले नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षा, सामाजिक कार्यमा तन्मयपूर्वक जुटेका अथक साधक एवं सेवकहरूमाथि केन्द्रित रहेर स्मरण शैलीमा व्यक्तिचित्र उतारेका छन्। त्यस्ता सर्जकहरूका रचनाशीलता एवं प्रतिभाको यथार्थलाई उजागर गरिएको छ।

पत्रकारितामा सक्रिय हुनुपूर्व २०४६ सालतिर उनी बैंकमा कार्यरत थिए। काम गर्थे, नेपाल बैंक लिमिटेडमा। कार्यालयमा हाजिर भएपछि उनको दिनचर्या नै युगकवि सिद्धिचरण श्रेष्ठका घरमा धाउने हुन थाल्यो। त्यतिबेला आफूसहित सात कवि मिलेर निकाल्न लागेका थिए– ‘सरगम’। त्यसकै निम्ति शुभकामना मन्तव्य लेखाउन धाएका थिए उनी, युगकविको निवास। भूमिका लेखाउन पहिलो पटक सिद्धिचरणकहाँ जाँदा आफ्ना सिर्जनाहरू सुनाएको प्रसंगलाई उप्काउँदै युगकविले राणा शासन विरोधी राजनीतिक परिवर्तनमा अर्पेका योगदानका साथै उनको समुन्नत काव्य धरातललाई नाप्ने प्रयत्नसमेत गरेका छन्।

तर, समालोचकीय दृष्टिबाट नभई पूरै निबन्ध शैलीमा टेकेर। पछि तिनै प्रिय कविको जन्मथलो ओखलढुंगा पुग्दाको प्रसंगलाई उनले यसरी शब्दबद्ध गरेका छन्, ‘पुगें संयोगले ओखलढुंगा। काम थियो बनाउने वृत्तचित्र। चल्यो जाँगर म्युजिक भिडियो बनाउने। जुटाउन थालेँ दृश्य गीतअनुसारको। थियो त्यतिबेला आफ्नै कम्पनी अडियोभिडियोको। राख्यौँ सकेजतिको दृश्य मेरो प्यारो ओखलढुंगा गीतमा। साल उनान्साठीजस्तो लाग्छ। प्रसारण भएथ्यो नसिद्धिदै माओवादी द्वन्द्व। बनेको म्युजिक भिडियो र प्रसारण भएको पनि पहिले नै हो त्यो गीतको।’

नेपाली निबन्ध लेखनका उम्दा साधक थिए– कृष्णचन्द्रसिंह प्रधान। निबन्ध लेखनलाई नै मूल लेखनका रुपमा अँगालेका रोदनको प्रधानसँग घनिष्ठ सम्बन्ध र उठबस रह्यो। त्यही सम्बन्धलाई ‘भजाउँदै’ उनले प्रधानसँग केही सहकार्य गर्न चाहेका थिए। तर, साढे आठ दशकभन्दा बढी नै बाँचेर जीवन–यात्रा बिसाएका प्रधानसँग उनको दुइटा इच्छा भने अधुरै रह्यो। एउटा, आफ्नो निबन्धकृतिमा भूमिका लेखाउने र अर्को भिडिओमा अन्तर्वार्ता कैद गर्ने।

एक समय त, कृष्णचन्द्र–निवास ताहाचलमा अडियो–अन्तर्वार्ता लिन जाँदा रेकर्डरले धोका दिँदा दुई दिनसम्म दुःख खेपेपछि तेस्रो दिन मात्र सफलता हासिल गरेका थिए– उनी, भीष्म उप्रेती र मदन राई लामाखुलेले। निःसन्देह, कुनै पनि मूल्यमा आफूले अँगालेको मूल्य, मान्यतालाई बेच्न नचाहने मानिस आज दुर्लभ छन्। प्रधान भने त्यस्तै दुर्लभ व्यक्तित्व थिए। प्रधानको स्वाभिमानी चरित्र र व्यक्तित्वलाई भने उनले यसरी सम्झेका छन्, ‘गर्नुभयो विद्रोह सधैँ अक्षरसँग। उक्लनुभएन भर्‍याङ कहिल्यै सत्ता र नेताहरूसँग नजिकिने। बन्नुभयो सदावहार प्रतिपक्षी। समयमा थियो गोदबाको त्यत्रो महत्व। मरिहत्ते गर्थे पाउनका लागि जो पनि। दिएको पनि नलिइदिने तपाईं भने। बाध्य हुनुभयो पछि स्वीकार्न। लिनु भएन तैपनि राजाको हातबाट।’

प्रातःस्मरणीय भाषाविद् बालकृष्ण पोखरेलले नेपाली भाषा र इतिहास लेखनको विकासमा यथेष्ठ योगदान दिए। बयालीस वर्षको नित्य तपस्यास्वरुप जन्मिएको थियो, ‘खस जातिको इतिहास’। जुन ग्रन्थको नेपाली वाङ्मयमा पृथक स्थान छ। पछिल्लो समय प्रखर भाषाविद् र इतिहास–लेखकका रुपमा चिनिएका उनले पूर्वाद्र्धमा भने सस्ता खाले उपन्यास पनि लेखे, ‘रुपावासी’ को छद्म नाममा। उचाइँ भने बनाए– भाषाविद्कै रुपमा, इतिहास–सर्जककै रुपमा। नेपाली भाषा र वाङ्मयको उन्नयनमा उच्च योगदान रहेका उनको विविध भाषाप्रतिको ज्ञान देखेर चकित पर्दै रोदन लेख्छन्, ‘होइन जान्न पनि कति जान्नुभएको। नेपाली भाषाको कुरै भएन। अंग्रेजी र हिन्दीका धुरन्धर नै। जान्नु हुन्थ्यो रुसी, मगर, उर्दू, नेवारी भाषा पनि। बोल्नुहुन्थ्यो मैथिली, राई, लाप्चा भाषा। सिक्न पनि कसरी पो होला सक्नुभएको। कसरी मात्र अट्नसकेको होला त्यत्रो ज्ञान। देखिने त्यति सानो दिमागमा ? बसेकै पो छन् कि जस्तो सानो बनेर सरस्वती नै।’

नगेन्द्रराज शर्मा र ‘अभिव्यक्ति’ नेपाली साहित्यिक पत्रकारिता जगतमा पर्यायवाची नै बनिसक्यो। पछिल्लो समय ‘अभिव्यक्ति’ ले दुई जना सारथि पाएका छन्– पवन आलोक र देविका तिम्सिना। बितेको छ दशकदेखि शर्माले नै कमाण्ड सम्हाल्दै आएका छन्। उनले नेपाली साहित्यिक पत्रकारिताको समृद्ध इतिहासलाई चम्काउन अथक भूमिका निर्वाह गरिरहे। साहित्यिक पत्रकारको परिचय नै काफी रहे पनि कथालेखनमा पनि शर्माको दक्षता देखिँदै आयो। त्यसो त, शर्मा र ‘अभिव्यक्ति’ को प्रसंग उप्काउनासाथ साहित्यिक पत्रकारितामा लाग्नेहरूका दुःख कोट्याइएन भने अपुरो हुन जान्छ।

इतिहास समृद्ध र गौरव गर्न लायकको भए पनि साहित्यिक पत्रकारिताले सदैव उपेक्षा मात्र बेहोर्दै र स्वीकार्दै आएको छ। रोदन ‘अभिव्यक्ति’ को बहानामा नेपाली साहित्यिक पत्रकारिताले झेल्दै आएको समस्यामाथि गम्भीर बन्छन्। उनी लेख्छन्, ‘डुंगाजस्तो रहेछ नदीमा वारिपारि गरिरहने। रहेछ माझीजस्तै मात्र सम्पादक। चाहिने पानीमाथि बहिरहँदा। नचाहिने जमिनमा पुगेपछि। नहेर्ने फर्किएर पनि। नसम्झिने डुंगा नसम्झिने माझी। पुगे पनि जुनै ठाउँमा। चाहिन्छ फर्किनलाई फेरि त्यही डुंगा। साहित्यको नदीमा। लगाएको छ धेरैधेरैलाई अभिव्यक्ति डुंगाले। बनेर माझी नगेन्द्र दाइले।’

‘अभिव्यक्ति’ ले साहित्यिक पत्रकारिताको जगलाई मजबुत तुल्याउँदै समृद्ध भवन निर्माण गर्न जेजस्तो योगदान पुर्‍याउँदै आयो, आजपर्यन्त जसरी भए पनि निरन्तता पाउँदै आयो, त्यस्तै गहकिलो भूमिका रह्यो– ‘रचना’ को पनि। जुन बितेको छ दशकयता निरन्तर छ। प्रधानसम्पादक रोचक घिमिरे प्रतिबद्ध रुपले लागेका छन्, छ दशकदेखि नै। दिनरात नभनी। पछिल्लो समय सुपुत्रद्वय सुधीर र प्रतीकले सघाए पनि ‘रचना’ लाई रचनात्मक बनाउन रोचकले कुनै कसर बाँकी राखेका छैनन्। रोदन लेख्छन्, ‘नाम पनि रचना रोचक दाइको। काम पनि रचना। परिचय पनि रचना। प्रतिष्ठा र त्याग पनि रचना। बनिसकेको छ रोचकको जीवन पनि रचना नै। बुझ्नसकिन्छ समग्र साहित्यिक पत्रकारितालाई। बुझ्न खोजियो भने रोचक र रचनालाई।’

विचारमा प्रतिबद्ध, व्यवहारमा अत्यन्तै सरल। अनुहारको बान्की हेर्दा कार्ल माक्र्सको झल्को आउने। साँच्चै, यस्तै व्यक्तित्व थियो– माक्र्सवादी चिन्तक, समालोचक गोविन्द भट्टको। माक्र्सवादी दर्शन, साहित्यका गहन अध्येताका साथै थुप्रै दार्शनिक, साहित्यिक कृति दिएका भट्ट केही समय गोरखापत्र संस्थानको अध्यक्ष पनि बने। उनी अध्यक्ष हुँदा रोदन गोरखापत्रमा कार्यरत थिए।

अध्यक्षबाट बिदा हुँदाको प्रसंगलाई उठाउँदै भट्टको नैतिकता र इमानदारिताप्रति नतमस्तक देखिन्छन्, रोदन, ‘संस्थानबाट बाहिरिनुभएको दिन। देखिएको थियो उहाँले कमाउनुभएका मनहरू। गरेको थियो औपचारिक बिदाइ। थियो ठूलो भीड। बाहिरी ढोकासम्म पुर्‍याउन जानेहरूको। तयार थियो घरसम्म पुर्‍याउन गाडी। मान्नुभएन चढ्न गाडी। भन्नुभो, पदमा बसुन्जेलसम्म मात्र चढ्ने हो यो गाडी। ट्याक्सीमा जान्छु भन्दै जोड्नुभो दुई हात। गरियो अनुरोध पटकपटक। हुनुभएन अडानमा तलमाथि। …गइरहेका थियौं बाहिरको ढोकासम्म पुर्‍याउन। सम्झेजस्तो गर्नुभो अकस्मात् केही। रहेछ संस्थानले दिएको पाइलट पेन उहाँको सर्टको बगलीमा। झिकेर फिर्ता गर्नुभो त्यो पनि। हेर्‍यौँ सबैले अनुहार अनौठो मानेर। सकेनौं केही भन्न। दुलही अन्माएको घरकोजस्तो थियो अनुहार। बिदाइ गरेर फर्किँदा उहाँलाई।’

मूलतः यो पुस्तक स्रष्टा डायमनशमशेर राणा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य, बद्रीविक्रम थापा, कमलमणि दीक्षित, तेजेश्वरबाबु ग्वंग, उपेन्द्र श्रेष्ठ, कृष्णप्रसाद पराजुली, इन्दिरा श्रेष्ठ, प्रचण्ड मल्ल, राममणि रिसाल, तुलसी दिवस, डा. कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, डा. धु्रवचन्द्र गौतम, मञ्जुल, शशी भण्डारी, जनकबहादुर राणा, मदनदास श्रेष्ठ, डा. बिहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्मोही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, डा. चिन्तामणि योगी, डा. हरिप्रसाद पोखरेल, डा. लक्ष्मणप्रसाद गौतम र रमेश श्रेष्ठसम्मका प्रतिभा÷व्यक्तित्वका जीवनका मोटामोटी पाटाहरूको उत्खनन गर्नमा अग्रसर देखिएको छ। राणाकालीन समयमै कालजयी काव्य सिर्जना गर्ने युगकविदेखि पछिल्लो समय विम्बकविका रुपमा उभिएका रमेश श्रेष्ठसम्म आफूले बिताएका अन्तरंग पलदेखि उनीहरूका सिर्जन क्षितिजलाई गहिरिएर नियाल्ने कार्यमा रोदनले बाजी मारेका छन्।

जीवित र पञ्चतत्वमा विलिन भइसकेका दुवैथरि व्यक्तित्वमाथि केन्द्रित व्यक्तिचित्र संग्रहित ‘अनुवन्द्य’ मा दिवंगत प्रतिभाका व्यक्तिचित्र उतार्ने क्रममा भने कताकता स्मृतिशेषको आभास आउँछ। अर्थात्, रोदनले कुनै सर्जकको महाप्रयाणपश्चात सम्झनारुपी शब्द उनेका सहजै बुझ्न सकिन्छ। अर्को पक्ष, उनले जुन–जुन व्यक्तित्वमाथि लेखेका छन्, ती व्यक्तित्वहरूका चयनदृष्टि भने आफूसँगको निकटतालाई बनाएका छन्। लेखन, पत्रकारिता र रंगकर्मलगायत क्षेत्रमा आफू क्रियाशील हुँदा भेटिएका र घनिष्ट सम्बन्ध स्थापित भएका पूर्ववर्ती र समवयस्क दुवै तहका पात्रहरूलाई उनले ‘अनुवन्द्य’ मा अनुवन्धित तुल्याएका छन्।

कुनै पात्रको असल कर्मलाई मात्र उधिन्न तत्पर देखिएका छैनन्, व्यसनजस्ता पक्षलाई पस्किन पनि छाडेका छैनन्। साहित्य, पारिवारिक वा सामाजिक वृत्तमा कथाकार मनु ब्राजाकीको पहिचान पियक्कडको रुपमा थियो, यस्ता पक्षलाई पनि रोदनले आफ्नो भोगाइसँग जोडेर लेखेका छन्। त्यस्तै, अल्पायुमै बितेका गीतकार श्रीविक्रम राणासँगको सामीप्यता र गुमनाम मृत्युबारे उनको लेखाइमा गहन संवेदनशीलता झल्किन्छन् भने योग र प्राकृतिक चिकित्साका विज्ञका साथै मानसाग्नी उपनाममा साहित्य लेख्ने डा. हरिप्रसाद पोखरेलको कर्म–चर्चाले पनि यो कृतिमा स्थान पाएका छन्।

अतः रोदनको उद्देश्य नै नेपाली समाजका विशिष्ट स्रष्टा, विद्वान् र वाङ्मयसेवीहरूका व्यक्तित्व विश्लेषण गर्नुका साथै उनीहरूका असल कर्मलाई उजागर गर्नमा केन्द्रित रहेको देखिन्छ। यो कृतिले रोदनको रचनात्मक लेखनशैलीको विशिष्ट पहिचान दिलाउन सक्षम रहेकोमा कुनै दुईमत देखिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved