माओवादी नेताहरूले भने- पार्टी महाधिवेशनको निर्णयअनुसार एमसीसी पारित भएको हो

नेपालभ्युज

माओवादी नेताहरूले भने- पार्टी महाधिवेशनको निर्णयअनुसार एमसीसी पारित भएको हो

काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन्।

शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरूसँग नेताहरूले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताए। उनले नेपालीहरूले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताए। केन्द्रिय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे।

केन्द्रीय सदस्य क्षेत्रीले भने, ‘एमसीसीको बारेमा हामीले पहिल्यै नेकपा हुने बेलामा पनि हामी एउटा कमिटी बनाएका थियौं झलनाथ खनालको नेतृत्वमा। त्यसले सुझाव दिएको थियो। माओवादी पार्टीले एमसीसी संशोधनबिना यथास्थितिमा पास गर्नुहुन्न भनेर हामीले अधिवेशन पनि पास गरेको स्थिति हो। अहिले जसरी बहस उठ्यो गठबन्धनभित्र त्यसलाई हामीले धेरै कोणबाट छलफल गर्‍यौं।”

व्याख्यांससहित भनेको अन्तर्राष्ट्रिय सन्धि, नियमानुसार, व्याख्यांशलाई स्वीकार गरेमात्र नै त्यसलाई लागू हुनसक्ने, त्यो भएन भने ३० दिनभित्रमा त्यसलाई लागू नहुनसक्ने प्रावधानलाई धेरै छलफल गरेको उनले बताए। भने, “अहिले सदनले त्यसलाई पास गरेको छ। एकथरी साथीहरूले त्यसलाई विरोध गरिरहनुभएको छ। केही न केही सम्झौता नगरी हामीले गरेका छैनौँ। अमेरिकाकै गर्न हुँदैन भन्ने पक्षमा हामी छैनौँ। त्यही रूपमा हामीले छलफल अघि बढाएका छौँ र व्याख्यात्मकसहतिको एमसीसी पारित गरेका छौँ। अमेरिकाले पनि स्वीकार गरेको छ। यो ठिक हो भन्ने लागेको छ। पदाधिकारीको बारेमा हाम्रो ठूलो अड्चन झमेला छैन।”

त्यस्तै पार्टी केन्द्रीय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे। उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोहीअनुसार नै एमसीसी पास भएको दाबी गरे।

केन्द्रीय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रूप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए। उनले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गरे। पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै केन्द्रीय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यताबमोजिम रहेको बताए। उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्न पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गरे।

केन्द्रीय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अध्यारोमा जानबाट रोकेको बताए। उनले सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्ने र सम्भवतः आज नै त्यसको टुंगो लाग्ने पनि बताए।

केन्द्रीय सदस्य पौडेलले भने, ‘हाम्रो पार्टीको ८ औँ महाधिवेशनले एमसीसीबारे जुन निर्णय गरेको थियो। त्यो निर्णयको विषयमा भर्खरै सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ।”

पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि व्याख्यात्मक सहमति व्यवहारिक भएको भन्दै उनले योभन्दा अर्को उत्तम हुनसक्ने अवस्था नहुने बताए। भने, “त्यो नभएको भए गठबन्धन टुट्थ्यो, एमसीसी पास हुन्थ्यो र फेरि केपी ओलीको नेतृत्वमा वा प्रतिगमनकारीको नेतृत्वमा देश पछि फर्किन सक्थ्यो। अध्यारो सुरुङबाट देशलाई जान हाम्रो पार्टीको नेतृत्वले जुन किसिमको कुशलपूर्वक मिहिनेत गर्‍यो त्यसलाई नेतृत्वप्रति आभार व्यक्त गर्नुपर्छ। आजको बैठकबाट पदाधिकारीको चयन सम्भव हुनसक्ला। समयको पावन्दी आदि इत्यादी भयो भने नहुन पनि सक्ला। सहमतिको आधारबाट पदाधिकारी चयन हुनुपर्छ।”

त्यस्तै अर्का केन्द्रिय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रूप भएको बताए। उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरीतका मुद्दाहरू संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताए।

केन्द्रीय सदस्य दाहालले एमसीसी पास भएपछि पार्टीमा केही अन्तरविरोधहरू देखा परेको उल्लेख गर्दै केन्द्रीय समिति बैठकले समाधान गर्ने बताए। उनले सर्वसम्मत रूपमा पार्टी पदाधिकारीको चयन हुनुपर्ने र त्यसो नभए निर्वाचन प्रक्रियाबाट पनि पदाधिकारी चयनको प्रक्रियालाई मूर्त रूप दिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved