प्रचण्डमा वैचारिक समस्या देखियोः नारायणकाजी

नेपालभ्युज

प्रचण्डमा वैचारिक समस्या देखियोः नारायणकाजी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहालको विरोध गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा लिखित मन्तव्य वाचन गर्दै नेता श्रेष्ठले अध्यक्ष दाहालमा वैचारिक समस्या देखिएको आरोप लगाएका छन्।

१५ फागुनमा संसद्ले एमसीसी पारित गर्दै गर्दा श्रेष्ठ पक्षका नेताले त्यसको विरोध गरेका थिए भने उनी पक्षका सांसदहरु पारित गर्ने प्रक्रियामा नै सहभागी भएका थिएन्। पार्टीको आठौँ महाधिवेशनले एमसीसी यथास्थितिमा पारित नगर्ने निर्णय लिए पनि नेतृत्वले त्यस विषयमा ध्यान नदिएको उनको आरोप छ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष श्रेष्ठले अध्यक्ष दाहालमा व्यक्तिवादी प्रवृत्ति हावी भएको समेत आरोप लगाएका छन्। बिहान ११ बजेबाट शुरु हुने भनिएको पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेन्डाका विषयमा सहमति नहुँदा बैठक केही ढिलो शुरु भएको थियो।

पार्टीको केन्द्रीय समितिको बैठकमा एमसीसीका विषयलाई प्रवेश नगराउने अध्यक्ष दाहालको चाहना भए पनि नेता श्रेष्ठलगायत नेताको दबाबपछि एमसीसी मुद्दालाई केन्द्रीय समितिमा प्रवेश गराइएको हो।

एमसीसी संसद्बाट पारित भएसँग माओवादी केन्द्रमा असन्तुष्टि बढेको छ। जसका कारण श्रेष्ठलगायत नेताले पार्टी छोड्नसक्ने वा पार्टीभित्रै अन्तर्संर्घष गरेर बस्ने यही बैठकपछि थाहा हुने श्रेष्ठ पक्षका नेताको दाबी छ। यद्यपि, महाधिवेशन सकिए पनि पार्टी पदाधिकारीलगायत विषय टुंगो लाग्न बाँकी रहेको अवस्थामा श्रेष्ठले अध्यक्ष दाहालसँग आफ्नो पक्षलाई सम्मानजनक रूपमा सहभागी गराउन बार्गेनिङ गरेको दाहाल पक्षका नेताको आरोप छ।

एमसीसी संसद्बाट पारित भएपछि १६ फागुनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीकै कारण पार्टी छोड्न चाहने व्यक्तिले पार्टी छोड्न सक्ने भन्दै श्रेष्ठ लगायतका नेतालाई चुनौति दिएका थिए।

यता अध्यक्ष दाहालको यस्तो चुनौतिसँग श्रेष्ठले आफू पक्षका नेताको बैठक गरेपछि भने १७ फागुनमा दाहाल श्रेष्ठ निवासमा नै पुगेर पार्टी फुटाउने कार्य नगर्न आग्रह गर्दै मिलेर जान आग्रह गरेका थिए। १९ फागुन बिहान पनि दाहाल–श्रेष्ठबीच दाहाल निवास खुमलटारमा भेटवार्ता भएको थियो। दुवै नेताबीच भेटवार्ता भएपनि श्रेष्ठ लगायतका नेताले पार्टी छाड्ने नछाड्ने यो केन्द्रीय समितिको बैठकपछि निर्णय लिने बताएका छन्। त्यसैले पनि माओवादी केन्द्रको चालु केन्द्रीय समितिको बैठकलाई चासोका साथ हेरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved