आकार लिँदैछ ‘रैथाने विश्वविद्यालय’ को सपनाले

नेपाली समाजबाट हराउँदै गरेका रैथाने ज्ञान, सीप र कला जोगाउने र परिष्कार गर्ने उद्धेश्यले एउटा नयाँ विश्वविद्यालयको बीज रोपिँदै छ।

आकार लिँदैछ ‘रैथाने विश्वविद्यालय’ को सपनाले

काठमाडौं। कुनै समय थियो, अहिले विकट भनिने हुम्ला जिल्लाले मनग्गे खाद्य उत्पादन गर्थ्यो। बचेको खाद्यान्न तिब्बततिर निकासा गर्थ्यो। अहिले त्यही जिल्ला खाद्य संकट व्यहोर्नेमध्ये अग्रलहरमा पर्छ। हुम्लाको नियति देशैभरि छ भन्दा हुन्छ। रैथाने ज्ञान, सीप र कला हराउँदै जाँदा देशमा रोजगारीका अवसर संकुचित भएका छन्।  परिणाम, देशमा रोजगारी नपाएर विदेशिनु पर्ने बाध्यता सिर्जना भएको छ। विदेशीनेको लर्को बढ्दो छ।

पूर्व सचिव डा. मानबहादुर विकेलाई नेपाली समाजको यो नियतिले पिरोल्छ। र त उनी रैथाने सीप र कला जोगाउन लागिपरेका छन्। रैथाने कृषि, सीप, कला जोगाउन विश्वविद्यालयकै आवश्यकता महसूस गरेर उनी नेपालमा ‘रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय’ स्थापना गर्न दौडधुप गरिरहेछन्। जसलाई उनी ‘रैथाने विश्वविद्यालय’ भन्न रुचाउँछन्।

भ्रूणमै ‘रैथाने विश्वविद्यालय’

३० भदौ २०७८ मा भएको एउटा प्राज्ञिक भेलाले उनलाई यो अभियान बढाउने जिम्मेवारी दिएको थियो। सो दिन शिक्षा क्षेत्रसँग सम्बद्ध त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका शैक्षिक संस्थाका सरोकारवालाबीच भएको छलफलले रैथाने सीप, कला सम्बन्धी अध्ययन र प्रवर्द्धन गर्ने विश्वविद्यालय स्थापनाको अभियान बढाउन विकेको संयोजकत्वमा एउटा कार्यसमिति बनाएको थियो। कार्यसमिति डा. गोविन्द नेपाली सदस्य सचिव छन् भने डा. इन्द्रमान राई, डा. लिला न्याइच्याइ, डा. सलिम धोबी, मानीकरत्न शाक्य, चक्रमान वि.क., डीबी नेपाली (दमु), गिता चौधरी, इन्दिरा घले, राजन विश्वकर्मा र देवी सरा वादी सदस्य छन्।

उक्त कार्यसमितिले ‘रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय’ स्थापनाका लागि प्राज्ञिक, शिक्षाविद्, संस्कृतिविद् लगायत व्यक्तिहरूसँग छलफल थालिसकेको छ।

त्यति मात्रै होइन, अमेरिका, हवाइको अकामाइ विश्वविद्यालय, बोस्टनको ब्रन्डाइज विश्वविद्यालय र मिचिगनको स्टेट मिचिगन विश्वविद्यालय सम्बद्ध व्यक्तिहरूसँग पनि छलफल गरेको विके बताउँछन्।

रैथाने विश्वविद्यालयले सम्पूर्ण आकार पाइसकेको छैन। प्रारम्भिक चरणमै छ यो। समितिले ‘रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय’ स्थापना सम्बन्धमा आशयपत्र र प्रस्ताव तयार पारेको छ । आशयपत्र नेपाल सरकारको विभिन्न मन्त्रालयमा बुझाइएको छ। विके भन्छन्, “युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन र शिक्षा मन्त्रीलाई आशय पत्र दिएका छौँ ।”

नेपालको संविधानको धारा ५१ को सामाजिक र सांस्कृतिक रूपान्तरण सन्बन्धी नीति, सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिका विभिन्न धाराहरू र धारा ४० को दलितको हकले ऐतिहासिक पुरातात्त्विके तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्न पाउने अधिकारको व्यवस्थाका आधारमा उक्त आशय पत्र बनेको हो।

त्यस्तै नेपाल सरकारले जारी गरेको राष्ट्रिय संस्कृति नीति २०६७, संस्कृति नीति २०६८, राष्ट्रिय शिक्षा नीति २०७६ र राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदनले पनि यस्तो विश्वविद्यालय स्थापनाको आवश्यकता बोध गरेको छ।

देशको विभिन्न भागमा बसोबास गर्ने विभिन्न जाति र समुदायसँग भएको ऐतिहासिक ज्ञानलाई आधुनिक ज्ञानसँग र स्थानीय ज्ञानलाई विश्व ज्ञानसँग जोड्दै राष्ट्रिय आवश्यकता सम्बोधन हुने उच्च शिक्षा तथा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नेदेखि परम्परागत ज्ञान, सीप र प्रविधि पाठ्यक्रममा समावेश गर्ने र कार्यान्वयन गरिने उक्त नीति र प्रतिवेदनहरूमा उल्लेख छ।

“सरकारले नै उद्घोष गरेको नीतिलाई हामी यस क्षेत्रमा लागेका केही साथी मिलेर अगाडि बढाएका छौँ,” विके भन्छन्, “रैथाने सीपलाई उच्च शिक्षामा पढ्न आवश्यक प्रक्रिया बढाइदिनुपर्‍यो भनेर सरकारलाई घच्घचाउने कामको थालनी हो यो।”

प्रस्तावमा विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौंमा खोलिने र त्यसका कलेजहरू हरेक प्रदेशमा खोल्ने योजना छ। यो विश्वविद्यालय प्रदेशको पहिचान र समृद्धिको लागि पनि महत्त्वपूर्ण भएकोले जग्गा र भौतिक संरचना निर्माणको लागि प्रदेशको सहयोग आवश्यक पर्ने डा. विके बताउँछन् ।

किन चाहियो यस्तो विश्वविद्यालय?

भूमण्डलीकरणको प्रभावबाट नेपाली समाज मुक्त छैन। बाहिरी उत्पादनप्रति आकर्षित र निर्भरता बढेको छ। नेपाली परम्परागत सीप कला कौशल, संस्कृतिहरूको प्रयोग आर्थिक क्रियाकलासँग जोड्ने काम खस्कँदै गयो। यी काम मार्फत आर्थिक उपार्जनमा नजोडिएपछि बाध्य भएर अरू काममा लाग्नुपर्ने, उत्पादन बन्द हुँदै जाने, वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता आइपर्‍यो । जसले देशको व्यापार घाटा त बढायो नै, साथै परनिर्भरता पनि बढायो।

डा.विके रैथाने सीप, कला संस्कृतिको जगेर्ना गर्न नसकेका र भूमण्डलीकरण मूलतः दुई कारणले यो अवस्था आएको बताउँछन् ।

“हुम्ला जस्तो विकेट जिल्ला कुनै समय आफ्नो रैथाने खाद्य उत्पादन तिब्बत पठाउँथ्यो। तराई भेगले धान चामल भारतमा बिक्री गर्थे,” उनी भन्छन्, “पछिल्लो समय यस्ता रैथाने कृषि, सीप, कलामा राज्यको ध्यान गएन, कुनै पनि शैक्षिक संस्थाहरूले त्यसलाई जोगाउने तर्फ पनि ध्यान गएन। यो अवस्थामा थोरै भए पनि योगदान गर्न सकिन्छ कि भनेर रैथाने सीप कलाको अध्ययन गराउने विश्वविद्यालयको धारणा आएको हो।”

नेपाली माटोमा सिर्जना भएको ज्ञान, सीप, कला र संस्कृतिको अध्ययन–अध्यापन यो विश्वविद्यालयमा हुनेछ। उनी भन्छन्, “यो कुनै जात विशेषको होइन। आदिम कालदेखि जो मानिस यहीँ बसेर मानव सभ्यताको विकास गर्ने क्रममा निर्माण भएका कला, संस्कृति, सीप सिकाउने हो। सबै समुदायमा केही न केही त छ। ती सबैलाई समेट्ने प्रयास हुनेछ।”

यो विश्वविद्यालयको माध्यमद्वारा नेपालको जनसङ्ख्यालाई रैथाने सीपबाट आत्मनिर्भर बनाउने, आर्थिक अवस्थाले गर्दा शिक्षाबाट वञ्चित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र मौलिक सीप सिर्जना गर्न सक्ने ज्ञानको विस्तार र निर्माण गर्ने उनले बताए।

“रैथाने सीप हराउँदै गयो, युवा विदेशिए र हामी विदेशी उत्पादनको भर पर्न थाल्यौँ”, उनी भन्छन्, “यसो हुनुमा हाम्रा विश्वविद्यालयमा परम्परागत रैथाने सीप, कलाकौशल, संस्कृतिलाई मूल विषय बनाएर अध्ययन-अध्यापन गराउने व्यवस्था नभएर हो। यस्तो अध्यापन गराउने विश्वविद्यालय स्थापना गर्न अब ढिलो गर्नुहुन्न।”

विश्वमा प्रविधिले फड्को मारेको छ। मानिसहरू सहज र सरल जीवन बिताउन प्रविधिकै प्रयोग गर्न रुचाउँछन्। तर, नेपाली रैथाने सीपलाई व्यावसायिक गर्दै जोगाउने काम नभएकोले नै यस्तो विश्वविद्यालयको आवश्यक भएको त्रिभुवन विश्वविद्यालयकी सह-प्राध्यापक राजनीतिकर्मी लीला न्याइच्याइ बताउँछिन् ।

“विश्वविद्यालयको हुलमा एउटा थप विश्वविद्यालयको के नै अर्थ होला र? तर पहिले स्थापित भएका विश्वविद्यालयले रैथाने सीप कला जगेर्नाको लागि आवश्यक काम गर्न सकेन, बेवास्ता गरिदियो,” उनी भन्छिन्, “त्यसो हुँदा आधुनिक समयमा ज्ञान र क्षमता अनुसार यथोचित सम्मान र परम्परागत ज्ञान र विज्ञान परिष्कृत हुन सकेन । त्यसैले यसको लागि छुट्टै विश्वविद्यालयको आवश्यकता परेको हो ।”

उनका अनुसार, यो विश्वविद्यालयले रैथाने सीपलाई उत्पादन श्रमसँग सिधै जोडेर यहाँ पुस्तालाई हस्तान्तरण गर्ने काम गर्छ । साथै सामाजिक विभेदकारी सोच हटाएर यसलाई विज्ञानसँग जोड्ने काम गर्नेछ।

डा. विके नेपालको रैथाने सीपको संरक्षणले मौलिक सीप, कला र मानव जीवनको मात्रै नभई पृथ्वीकै संरक्षण हुने तर्क गर्छन्।

“विश्वभरी नै दुई किसिमका उपभोक्ता हुन्छन्, एकथरीले सस्तो रोज्छन् र अर्कोले महँगो र टिकाउ । दुवै खालको उपभोक्तालाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन वा विकास गर्छौँ,” उनी भन्छन्, “यी सीप जति बेला जस्तो रूपमा विकास भयो, त्यतिमा मात्रै सीमित गरेर सिकाउने होइन, यो विश्वविद्यालयले प्रविधिसँग जोडेर परम्परागत रैथाने सीप, कलालाई उत्पादन प्रणालीमा कसरी जोड्ने भन्ने कुरा पनि गर्छ र प्रविधिको प्रयोग र परम्परागत शैली दुवैलाई साथ लैजान्छौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved