स्मृतिशेष

संगीत अध्येता पनि थिए उनी

नेपालभ्युज

संगीत अध्येता पनि थिए उनी

२०७५ सालमा प्रदर्शित हास्यप्रधान नेपाली चलचित्र ‘दाल भात तरकारी’ मा जयनन्द लामाले उम्दा अभिनय गरेका थिए। नेपालीहरूमा बढ्दो अमेरिका-मोहलाई मुख्य कथावस्तु बनाइएको सो चलचित्रमा एउटा स्वामीले अमेरिका पठाइदिने प्रलोभन देखाएर अनेक व्यक्तिलाई ठगी गर्दछन्। ठगिनेहरूको लस्करमा पर्दछन्- जयनन्द लामा पनि।

‘रिल लाइफ’ मा ठगिएका लामा बुधबार (११ फागुन २०७८) बिहान भने ‘रियल लाइफ’ मै ठगिए। जीवनदेखि नै ठगिए। नेपाली लोकसंगीतका साथै अभिनयकर्ममा निरन्तर लागेका ६६ वर्षीय लामाको दुःखद महाप्रयाण भयो।

अभिनयकर्ममा जम्नुअघि उनको पहिचान बनेको थियो, एक लोकगायकका रुपमा। आफ्नै माटो र परिवेशका लोकसंगीतलाई आम जनबिच पुर्‍याउने श्रेय जान्छ उनलाई। २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रविसेमा जन्मिएका उनले कला क्षेत्रमा पाइला सानै उमेरदेखि चाल्न थालेका थिए। २०२६ सालमा भैरव नृत्यदलमा आबद्ध भएर नृत्यबाट कला यात्रा थालनी गरेका थिए, उनले। दसको दशकमै स्थापित भैरव नृत्यदलको मुख्य हर्ताकर्ता थिए- भैरवबहादुर थापा। त्यहीबाट उनले कलाको करिअर सुरुवात गरे।

नृत्यसँगै लोकगायनमा पनि उनको क्षमता उजागर हुँदै गयो। तीसको दशकतिर रेडियो नेपालमा गाउने अवसर पाएपछि उनले तामाङ भाषी लवजमा लोकगीतहरू गाउन थाले। पछि, नेपाल प्रज्ञा-प्रतिष्ठानमा जागिरे भएपछि संगीत विषयमा उच्च अध्ययन गर्न उनी भारतको इलाहावादस्थित संगीत महाविद्यालयमा गए। उच्च अध्ययन सिध्याएर फर्किएपछि लोकसंगीतमै आफूलाई निर्लिप्त तुल्याए।

ठेट ग्रामीण भाषा र लवजका लोकगीत गाएका लामाले मूलतः आफ्नै समाज, जाति र परिवेशको प्रतिनिधित्व गर्ने गीतहरू गाए। उनको सबभन्दा धेरै चलेको गीत बन्न पुग्यो- ‘कलकत्ते काइँयो…।’ यो लोकगीतले उनलाई नेपाली संगीतको शिखरमा नै पुर्‍याइदियो। पछिल्लो समय यो गीतको रिमिक्स भर्सन आएपछि त एक हिसाबले पुनर्जीवन नै पायो। नेपाली लोकसंगीतका कालजयी र सदाबहार गीतमा यो गीत आबद्ध हुन पुग्यो। उनका ‘के को साँचो डल्ली रेशम’ ‘चुइँ चुइँ चुइँकाने जुत्ता’, ‘मुलाको चाना उही चाना’ ‘लौन हजुर के गरौं’, ‘पानी पर्‍यो बलेसी’ लगायत लोकगीतमा मौलिक नेपालीपनको स्वाद पाइन्छन्। मूलतः उनले सिन्धुपाल्चोकलगायत भेगमा तामाङ जातिबिच लोकप्रिय सेलो र काँठे भाकाका लोकगीतलाई राष्ट्रव्यापी तुल्याउन भूमिका खेले।

उनले जीवनको पूर्वाद्र्ध लोकसंगीतमै बिताए। उनले लोकगायनमा पाइला राख्दा नेपाली लोकसंगीत ‘कोठे संकलन’ बाट टाढा नै थियो। ग्रामीण भेगका विभिन्न जातजाति र समुदायका लोकभाका र संस्कृतिलाई संकलन गरेर रेडियो नेपालबाट प्रसारण गर्न सबैजसो लोकसंकलक र गायक अग्रसर देखिन्थे। उनले पनि लोकगीत संकलन गर्न नेपालका विभिन्न थलोहरूमा पूरै पाँच वर्षसम्म यात्रा गरेका थिए। त्यसले उनलाई नेपाली लोकसंगीतको समृद्ध पाटोबारे बुझ्न यथेष्ट सघाउ पुर्‍यायो।

तीस र चालीसको दशकमा उम्दा लोकगीत गाएका लामा अढाई दशकयता लोकगायनबाट पृथक रहे र पूरै समय अभिनयलाई सुम्पिए। हुन पनि, २०३० सालमै चलचित्र ‘मनको बाँध’ मा लघु भूमिका निर्वाह गरेका उनले पछिल्लो समय भने आफूलाई अभिनयकर्ममै व्यस्त तुल्याउँदै आएका थिए। हास्यकलाकारितामा जमेका उनले नेपालका प्रसिद्ध हास्यकलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाललगायतसँग सहकार्य गर्ने अवसर पाए। ‘छक्कापञ्जा-३’ मा आफूसँगै अभिनय सहकार्य गरेको सम्झिँदै कलाकार दीपकराज गिरीले उनको महाप्रयाणपछि लेखे, ‘ज्वाइँले बहिनी कुटेछ। राम्रो, असाध्यै राम्रो। तर कुटेको मिलेनछ। त्यही भएर मान्छे कसरी कुट्ने भनेर सिकाउन आएको…यस्ता थुप्रै लोकप्रिय संवादले म उहाँलाई सम्झिरहन्थेँ, सम्झिरहनेछु। हरेक भेटमा दीपक भाइ गायकको रुपमा त मेरो एउटा परिचय थियो। तर अभिनयले त मलाई घरघरमा पुर्‍यायो, उहाँ खुसी हुँदै भन्ने गर्नु हुन्थ्यो। साथै, हाँस्ने एउटा गजबको शैली थियो उहाँसँग। जुन हामीले चलचित्रमा पनि प्रयोग गथ्र्यौँ।’

दर्जनौं लोकगीत गायन र थुप्रै चलचित्र/टेलिशृंखलामा अभिनय क्षमता देखाएका लामामा संगीतबारे गहिरो सैद्धान्तिक ज्ञान थियो। उनले २०६४ सालमा ‘नेपाली संगीत वर्णमाला’ र २०६६ सालमा ‘संगीतको सिद्धान्त’ नामक कृति निकालेका थिए। दुवै कृति उनी नेपाल प्रज्ञा-प्रतिष्ठानको संगीत शाखामा कार्यरत रहँदा पाँच वर्षसम्म गीत-संगीतको अध्ययन गर्ने क्रमका उपज थिए। तत्कालीन समय प्रज्ञा-प्रतिष्ठानले संगीतकार अम्बर गुरुङ, गोपालनाथ योगी, रामशरण दर्नाल र उनलाई संगीतको अनुसन्धान गर्ने जिम्मा दिएको थियो। करिब एक महिनाअघि पत्रकार विदुर गिरीसँगको कुराकानीमा उनले भनेका पनि थिए, ‘व्यक्तिगत रुपमा धर्मराज थापाले संगीतको अध्ययन गरे पनि सरकारी तवरले सरकारी खर्चमा नेपाली संगीतको अध्ययन गर्न पाउने हामी चार जना मात्र हौं। त्यसमा पनि अब गोपालनाथ र म मात्र जीवित छौं। त्यो अनुसन्धानको आधारमा कम्तिमा सात ओटासम्म पुस्तक तयार पार्ने सोच छ। अहिले त्यसैको तयारीमा छु।’

संगीतसम्बन्धी सात ओटा पुस्तक तयार पार्ने उनको सोचमा अब पूर्णविराम लागेको छ। साथै, केदार घिमिरे ‘माग्ने बुढा’ लाई आफ्नो मातृभाषा (तामाङ) मा भाषाकै विषयलाई लिएर झपार्ने (चलचित्र छक्कापञ्जा-२) र प्रायः अभिनय गर्दा तामाङ जातिकै भेषभूषामा सजिने उनको जीवन-यात्रा रोकिएको छ, अचानक।

दिवंगत कलासाधक लामाप्रति हार्दिक पुष्पाञ्जली।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved