फिल्म समीक्षा

पल शाहको वास्तविक जीवनसँग मिल्दोजुल्दो ‘म यस्तो गीत गाउँछु २’

‘कहिल्यै कसैसामु नझुकेका पल’ आज संसारसामु झुक्यो, स्टार्डम बनाउन वर्षौं लाग्छ, तर खरानी हुन छिनभर नै काफी हुन्छ’ फिल्मको अन्त्यले यही भन्छ। जुन संवाद अभिनेता पलको रियल लाइफमै मिलेको छ।

पल शाहको वास्तविक जीवनसँग मिल्दोजुल्दो ‘म यस्तो गीत गाउँछु २’

काठमाडौँ। अहिले चल्तीका अभिनेता पल शाहलाई प्रहरीले खोजिरहेको छ। नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको उनीमाथि आरोप छ। उनीविरुद्ध पक्राउ पूर्जीसमेत जारी भइसकेको छ। तर संयोग भन्नुपर्छ; उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो राखिएकै दिन पल शाहलाई पक्राउ पूर्जी जारी भयो।

फिल्म देशभरका हलमा शुक्रबारबाट प्रदर्शनमा आएको छ। आजभन्दा तीन वर्षअघि लेखिएको भनिएको फिल्मको कथा पलको यो घटनासँग मिल्दोजुल्दो छ। एक सुपरस्टार र एक उदीयमान गायिकाको प्रेमकथामा बुनिएको यो फिल्ममा पल शाह र नवोदित गायिकाबीच भेट हुन्छ। प्रेम सम्बन्ध अघि बढ्छ। पछि उनै पलकै कारण ती गायिका पीडित बन्छिन्। अन्ततः पल शाह प्रहरीको फन्दामा पर्छन्।

‘‘कहिल्यै कसैसामु नझुकेका पल’ आज संसारसामु झुक्यो, स्टार्डम बनाउन वर्षौं लाग्छ, तर खरानी हुन छिनभर नै काफी हुन्छ’’ फिल्मको अन्त्यले यही भन्छ। जुन संवाद अभिनेता पलको रियल लाइफमै मिलेको छ।

फिल्म दुई वर्षअघि नै प्रदर्शनमा आउने तयारी थियो। तर, कोरोना महामारीका कारण पटक–पटक रिलिज मिति सर्दै अभिनेता पल शाहविरुद्ध पक्राउ पूर्जी जारी भएकै बखत हलमा प्रदर्शनमा आयो।

अब केलाऊँ फिल्मको कथावस्तुबारे।

कोरोना महामारीका कारण पटक–पटक रिलिज मिति सर्दै अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएकै बखत हलमा प्रदर्शनमा आएको छ।

पलविक्रम शाह (पल शाह) एक चर्चित गायक हुन्छन्। उनको उचाइ बराबरका अरू गायक हुँदैनन्। फिल्ममा छाँया (पूजा शर्मा) उदीयमान गायिका हुन्छिन्।  शर्माजीकी छोरी (छाँया) मा सानैदेखि संगीतप्रति रुचि हुन्छ। शर्माजी आफै पनि संगीतका साधक हुन्छन्। उनले छोरीलाई संगीत सिकाउँछन्। राम्रो साधक भएर पनि आर्थिक अभावका कारण संगीत क्षेत्रका प्रगति गर्न सक्दैनन्। तर उनले छोरी छाँयालाई एक सुपरिचित गायिका बनाउने सपना पालेका हुन्छन्।

उनले छोरीलाई संगीत सिकाउँदा छिमेकीहरूले हेप्छन्। किनकि संगीतमा लाग्नु भनेको समय खेर फाल्नु वा बेकामे बन्नु हो भन्ने सोचाइ छिमेकीहरूमा छ। छाँयालाई माग्न धेरै आउँछन्। तर, शर्माजीले आफ्नो ‘जीवनभरिको साधना खेर जान दिँदैनन्। अहिल्यै छोरीको बिहे गर्दिनँ’ भनेर बिहे अस्वीकार गरिदिन्छन्। छाँया चर्चित गायक पलको ठूलो फ्यान बनेकी हुन्छिन्।

यता पल भने धेरै ख्याति कमाएका गायक हुन्छ। आफू धेरै चर्चित भएको भन्दै उनमा घमण्ड पलाएको देखिन्छ। एक सांगीतिक कार्यक्रममा गीत गाउन पल छाँयाको गाउँ जान्छन्। त्यहीँ छाँयासँग भेट हुन्छ। अनि दुवै जना नजिकिन्छन्।

यहीँबाट शुरु हुन्छ फिल्मको वास्तविक कथा।

आफ्नो गाउँमा केही दिन बसेर पल फर्किँदा छाँया नरमाइलो मान्छिन्। फिल्म त्यहाँसम्म पुग्दा दर्शकको आँखामा आशु देखिन सक्छ। फिल्ममा केही दर्शक हसाँउने केही चेष्टाहरू पनि छन्। शुरुआत हाँसोका दृश्य मिसाइएको छ। उत्कर्षतिर गम्भीर बनाउने तानाबाना बुन्ने निर्देशक सुदर्शन थापाको प्रयास केही हदसम्म सफल मान्न सकिन्छ।

दमदार संवाद छैन

तर, ‘जाने बेलामा हाँसेर बिदा गर्दा मन खुशी हुन्छ, आकाशमा धेरै ताराहरू छन् तर, ध्रुव ताराको मात्र नाम याद आउँछ’ चलनचल्तीका यस्ता डाइलगले दर्शकलाई खासै मज्जा दिँदैन। कथाको शुरुआतमै छाँयालाई माग्न आउने क्रममा पनि केही चलनचल्तीका संवाद राखिएका छन्। जुन अधिकांश फिल्ममा दोहोरिँदै आएका हुन्। ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने, मर्ने बेलामा हरियो काँक्रो’ भन्ने डाइलगका ठाउँमा अरू नै भएको भए अझ राम्रो हुन्थ्यो। यति हुँदाहुँदै पनि परम्परागत फिल्मबाट वाक्क दिक्क भएका दर्शकलाई यो फिल्म आँखा र मनलाई शीतल पर्ने थेरापी बनेको बन्न सक्छ।

नेपाली साङ्गीतिक क्षेत्रमा अहिलेको भइरहेकै घटना फिल्ममा देख्न पाइन्छ।

गाउँका ठूला सांगीतिक कार्यक्रममा गीत गाउने अवसर पाएपछि छाँयाको सफलता बढ्न थाल्छ। यता पलको भने सफलता र लोकप्रियता ह्वात्तै घट्छ। जसको कारण उनमा भएको घमण्ड र साङ्गीतिक क्षेत्रको विकृति देखाइएको छ।

कठोर साधना र मिहिनेत गरेर तयार गरिएका ओझपूर्ण गीतहरू कहिलेकाहीँ चल्दैनन्। हावा र उटपट्याङ खालका गीतले पनि मार्केट पिट्छन्। जसले लोकप्रिय गायक पललाई समेत धक्का पुग्छ। पलका लागि गीतमा लगानी गर्दै आएकाहरूले नयाँ कलाकार रोज्न थाल्छन्।

फिल्म अघि बढ्दै जाँदा कथाअनुसार डाइलगहरू मिसाइएका छन्। गीतको लगानीकर्ता मोहनविक्रम (दिनेश डीसी) भन्छन्, ‘म एक व्यापारी हुँ, जे बिक्छ त्यो बेच्छु।’ ‘‘सूर्यमा कहिलेकाहीँ ग्रहण लाग्छ। तर एकैछिन मात्र। मोहनविक्रम एक दिन तपाई मेरो खुट्टा ढोग्न आउनुहुन्छ’’ पलको ओजपूर्ण जवाफ आउँछ।

संगीत क्षेत्रमा पललाई उछिनेर अरू बढ्न थाल्छन्। ‘ओराली लागेको मृगलाई बाच्छोले पनि हेप्छ’ भने झैँ पल तल झरेको झर्‍यै हुन्छन्। उनलाई आफ्नो करिअर जोगाउनै ठूलो चिन्ता हुन्छ। उनले कुनै राम्रो गीत पाउँदैनन्। अरू बेला सधैँ अघि पछि लाग्ने मिडियाले पनि उनको साथ छोड्छन्।

छाँया गीत रेकर्ड गराउन काठमाडौँ जाने तयारी गर्छिन्। छरछिमेकदेखि सबैमा यो खुशीको हल्ला फैलिन्छ। छाँयालाई उनको बुबाले राम्रो तयारी गराउँछन्। बुबाकै शब्दमा राम्रो गीत गाएर पललाई पठाउँछिन्। आफ्नो गीतले आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउने छाँयाले सपना बुन्छिन्। उनी गीत गाउनको लागि काठमाडौँ जान्छिन्। पलसँग भेट हुने भएपछिको खुसी त छँदै छ, पहिलो गीत रेकर्ड गराएर नाम चम्काउने कसिलो सपनाले छाया उत्शाहित हुन्छिन्। तर, जब उनले पललाई भेट्छिन् तर उनको सबै सपना चकनाचुर हुन्छ। त्यो पीडा सहन नसकेर छाँयाले पासो लगाउँछिन्। त्यो समयमा हलमा मौनता छाउँछ। दर्शकहरूले आफू खसेको थाहै पाउँदैनन्। किन छाँया यो अवस्थामा उनी पुगिन्? त्यो हेर्न भने फिल्म हलमै पुग्नुपर्ने हुन्छ। फिल्म हेर्दाहेर्दै दर्शकहरू धेरै पटक रोएको र धेरै पटक रोमाञ्चित भएको थाहै हुँदैन।

कठोर साधना र मेहनत गरेर तयार गरिएका ओझपूर्ण गीतहरू चल्दैनन्। हावा र उटपट्याङ खालका गीतले मार्केट पिट्छन्। जसले लोकप्रिय गायक पललाई समेत धक्का पुग्छ। पलको लागि गीतमा लगानी गर्दै आएकाहरूले नयाँ कलाकार रोज्न थाल्छन्।

 

सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा पटकथा र संवादले पनि दर्शकको संवेदना छुन सफल छ। फिल्मका अन्यमा सुनिने यस्ता डाइलगले दर्शको मन छुन्छ, ‘कहिल्यै कसैसामु नझुकेको पल आज संसारको सामु झुक्यो, ‘स्टाडम बनाउन वर्षौ लाग्छ, तर खरानी हन छिनभर नै काफी हुन्छ।’ नेपाली समाजको घटना झल्काउने केही सिन छन्। जसमा ‘कलाकार भनेको चुइगम जस्तै हो, स्वाद हुँदासम्म चपाउने र स्वाद सकिएपछि थुक्ने’ लगायतका संवादको फिल्मको बटमलाइन हो।

यसबीचमा कथाका मुख्य पात्र पलको सकिसकेको करियर उचाइमा पुर्‍याउन छाँयाले गरेको योगदान र छाँयाको जीवनमा आउने उतारचढाव कथाको बटमलाइन हो। फिल्म  ‘म यस्तो गीत गाउँछु २’ मा मात्र सीमित छैन। समाज र संगीतको सेरोफेरोमा घुमेको कथावस्तुमा आधारित छ, फिल्म। नेपाली फिल्ममा संगीतको चित्रण कमै हुने गर्छ। ‘म यस्तो गति गाउँछु २’ को सार भनेकै नेपाली संगीत कस्तो र कहाँ गइरहेको छ भन्ने नै हो।

फिल्ममा कमजोरी पक्कै छन्। तर, निर्देशक कथा र पात्रप्रति इमानदार रहेकोमा सन्देह छैन। केही पात्रलाई अनावश्यक संवाद दिइएको छ। अप्रासङ्गिक बोझिला संवाद नभएपछि ती संवाद नभइदिएको जस्तो लाग्छ। फिल्ममा देखाइएको गाउँमा एक जँड्याहा यसका उदाहरण हुन्।

गीतसंगीतको कथामा इलाम मिसिएको छ। सुन्दर पर्यटकीय थलो निकै फिल्ममा झनै सुन्दर लाग्छ। फिल्मको अर्को सबैभन्दा बलियो पक्ष हो छायांकन। इलामका चिया बगान, नदी, तलाउ लगायतमा सौरभ लामाको क्यामराका सशक्त सटले रङ, गति र प्रकाशमा गजबले लुकामारी खेल्छन्।

फिल्ममा सबैभन्दा बिझाएको पक्षचाहिँ डबिङ हो। यसले दृश्यमार्फत पैदा हुने संवेदनालाई मूर्त बनाउन होइन, बिथोल्न भूमिका खेलेको छ। फिल्मको ध्वनि अर्को सशक्त पक्ष भए पनि डबिङ पक्ष केही कमजोर देखिएको कतिपय दर्शकको प्रतिक्रिया छ।

‘म यस्तो गति गाउँछु २’ को सार भनेकै नेपाली संगीत कस्तो र कहाँ गइरहेको छ भन्ने नै हो।

‘कसम कसम’ गीत फिल्ममा धेरै ठाउँमा दोहोरिएका छन्। स्टुडियोमा रेकर्ड गर्दा, टेलिभिजनबाट बज्दा र टिकटक बनाउँदै सबैतिर एउटै गीत दोहोरिँदा कतिपय दर्शकले अलि दिक्दारी मान्न सक्छन्। ‘तिम्रो घरको वरिपरि, आएर घरिघरि म आएको त्यसै होर’लगायत सबै गीतहरू दमदार छन्। फिल्मको सेट, ड्रेसअपमा केही कमी देखिँदैन।

पटकथाको लयले पनि दर्शकलाई झन्झट हुन दिँदैन। पछिल्लो समय इन्टरनेट प्रयोगकर्ता बढेपछि युट्युबरसमेत बढेका छन्। डलर कमाउन युट्युबमा अनेक फन्डाको धन्दा गर्नेलाई दह्रो झापड हानिएको छ।

कमेडी पटकथा, रमाइला पंचलाइन, चरित्रहरूको गहिराइलगायतले हेर्न योग्य तुल्याइदिएको छ ‘म यस्तो गीत गाउँछु २।’ फिल्मको अर्को सबल पक्ष गीत हो। गीत फिलर लाग्दैन किनभने फिल्म संगीतकै विषयमा छ। टाइमिङ मिलेको मात्रै छैन समेटिएका सबै गीतलाई दर्शकले मन पराएका छन्। फिल्म चल्नुअघि नै गीतहरू युट्युब र टिकटकमा हिट भइसकेका थिए। फिल्मको मुख्य द्वन्द्वचाहिँ मुख्य कलाकारबीचकै गतिविधिहरू हुन्। कुनै छुट्टै फाइट छैन।

सुदर्शन थापाद्वारा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मालगायत हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, सोनिका रोकाया, गणेश गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। सुदर्शन थापा प्रोडक्सनको प्रस्तुतिमा निर्देशक थापा र नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा निर्देशक सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा हो। अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved