सम्बन्ध

पिता-पुत्रका लोभलाग्दो लेखन-सम्बन्ध

गाउँमै रमाउँदै थिए, उनी। कहिले घाँस-दाउरा गर्दै, कहिले गोरु जोत्दै। भन्छन्, “मैले खेतीपाती र घाँस-दाउरा गर्दै जीवन बिताइरहेको थिएँ। तर ती किताबहरू पढ्न थालेपछि मलाई कताकता लेख्ने रहर जाग्यो। झ्याउरे छन्दमा लेख्न थालेँ। मैले खासै जानेर पढेको पनि थिइनँ र जानेर लेखेको पनि होइन।”

पिता-पुत्रका लोभलाग्दो लेखन-सम्बन्ध

फिरन्तेजस्तै लाग्छन्, कवि जसराज किराँती। कहिले काठमाडौं, कहिले धरान, कहिले इटहरी र कहिले पुग्छन्/बस्छन्- जन्मथलो खोटाङ, बुइँपामा। अचेलहुँदो अड्डा जमाएका छन्, धरानमा। भन्छन्, “बुइँपामा थिएँ। हिउँदमा गाउँ चिसो हुन्छ। छोराहरूले पनि धरानमा झर्नुस्, न्यानो छ भने र धरान झरेको हुँ। सबैतिर छोराछोरी छरिएका छन्, कहिले कसकहाँ बस्छु, कहिले कसकहाँ।”

“धरान, इटहरी, काठमाडौं र गाउँ सबैतिर छोराहरू बस्छन्, कहिले कता कहिले कता हुन्छु म त। म त बराल्लिएको चराजस्तै पो छु त। जता पनि जान सक्छु,” उनी निर्धक्क भन्छन्। हुन पनि उनले जति कविता जन्माए, छोराछोरीहरू पनि त्योभन्दा केही कम मात्रै जन्मिए। आठ भाइ छोरा र सात ओटी छोरीका उनी अभिभावक। आहान छ, ‘सन्तानले डाँडाकाँडा ढाकुन्’, तर उनका सन्तानहरूले भने ‘शहर’ ढाकेका छन्। छोरा सुदनले धरानमा घर बनाएर बसेको थुप्रै वर्ष भयो। केही तलको इटहरीमा बस्छन्, माइला छोरा देवान।

अलिकति दुःखमिश्रित भाकामा बोल्छन्, “दश वर्षको छँदै मेरो विवाह बाबु-आमाले गरिदिनुभयो। म बीस वर्ष पुग्दा एउटी छोरी जन्मिई। एउटी छोरी जन्मिएपछि जेठी पत्नी बितिन्। फेरि म २२ वर्षको हुँदा बाबु-आमाले अर्कीसँग विवाह गराइदिनुभयो।”

पहिलो पत्नी बितेपछि ससुराले भनेछन्, ‘म मेरो ज्वाइँलाई मार्दिनँ। म अर्की छोरी विवाह गराइदिन्छु।’ ससुराको कुरामा दुवै पक्ष सहमत भएपछि मात्र उनले विवाह गरेका रहेछन्। यसरी, उनले दुइटी पत्नी पाए। तिनै दुई पत्नीबाट पन्ध्र सन्तान जन्मिए।

काव्य-यात्रातिर

लेख्न त उनले बीसको प्रारम्भिक दशकदेखि नै लेख्न थालेका हुन्। तत्कालीन समयमा गाउँघरतिर सहज रुपमा पाइन्थ्यो, महाकवि देवकोटाकृत ‘मुनामदन’। लय हालेर गाउँथे उनी। भन्छन्, “अलिअलि सावाँ अक्षर चिनेको थिएँ। गोठाला र घाँस-दाउरा गर्न जाँदा म त्यो किताब बोकेर जान्थे र लय हालेर गाउँथेँ।”

बुइँपास्थित स्कुलका हेडमास्टर गोरखबहादुर श्रेष्ठले साहित्य अध्ययनतिर उनलाई डोर्‍याए। उनले नै पारिजातका किताबहरू दिए। भन्छन्, “उहाँ कहिलेकाहीं काठमाडौं जानु हुन्थ्यो। काठमाडौंबाट फर्किँदा केही किताब लिएर आउनु हुन्थ्यो र ती किताब मलाई पढ्न दिनु हुन्थ्यो।”

गाउँमै रमाउँदै थिए, उनी। कहिले घाँस-दाउरा गर्दै, कहिले गोरु जोत्दै। भन्छन्, “मैले खेतीपाती र घाँस-दाउरा गर्दै जीवन बिताइरहेको थिएँ। तर ती किताबहरू पढ्न थालेपछि मलाई कताकता लेख्ने रहर जाग्यो। झ्याउरे छन्दमा लेख्न थालेँ। मैले खासै जानेर पढेको पनि थिइनँ र जानेर लेखेको पनि होइन।”

त्यतिबेला बुइँपामा स्कुल खुलेको थियो, भर्खरै। उनी स्कुलमा पढ्न थाले। गुरु गोरखले काठमाडौंबाट ल्याएका पुस्तक/पत्रपत्रिकासम्म पुग्थ्यो, उनको पहुँच। एक पटक उनको हातमा पर्‍यो, उत्तम कुँवरको सम्पादनमा निस्किने ‘रुपरेखा’। त्यो बेलाको चर्चित साहित्यिक पत्रिका। धेरै साहित्यसर्जकका जन्मदाता-पत्रिका। त्यही ‘रुपरेखा’मा भूपी शेरचन, पारिजातको काव्य-सिर्जनालाई देख्न, पढ्न पाएँ। भन्छन्, “त्यो पत्रिकामा छापिएका कविता पढ्न थालेपछि कविता लेख्न थालेँ। लेख्दै गएँ, लेख्दै गएँ। तर कसैले पनि सुनाइँन मैले। कसैले सुनिदिने अवस्था पनि थिएन। त्यसरी लेखिएका चिजहरूलाई अहिले आएर कविता भनिँदो रहेछ।”

लेखनको प्रारम्भिक कालमा पढेका भूपी र पारिजातमध्ये उनले पारिजातलाई एक पटक मात्रै भेट्न पाए। भन्छन्, “एक पटक मात्रै भेट भयो, पारिजात दिदीसँग। उहाँलाई भेट्दाखेरी मैले लेखनमा झनै ऊर्जा पाएँ।’ त्यतिबेला पारिजातले उनलाई केही हदसम्म फुर्क्याएर भनेकी थिइन्, ‘गाउँमा बसेर पनि राम्रो लेख्नु हुन्छ, भाइ तपाईंले।”

उनले पनि पारिजातसामु भनेका थिए, “म त गाउँमै रमाउँदै आएको छु। काठमाडौंमा बसेर न म ठूलो जागिर खान सक्छु, न केही गर्न सक्छु। मलाई त गाउँ नै फापेको छ। म शहरमा बस्न सक्दिनँ। दिदीबाट पाएको प्रोत्साहनले म यत्तिको लेख्न सक्ने भएँकी जस्तो लाग्छ।” यो स्वीकारोक्तिलाई उनले आफ्नै कवितामा पनि पोखेका छन्, पटकपटक। ‘यो शहरमा’ भित्र उनी यसरी अभिव्यक्त भएका छन्-

‘यो शहरलाई म उजाड उजाड देख्छु

यो शहरमा उदास उदास छु।’

२०२७/०२८ सालतिर रामेश-मञ्जुल पुगे, उनको गाउँ। जनतामा सांस्कृतिक चेतना प्रवाह गर्ने अभियान बोकेर हिँडेका रामेश-मञ्जुलको जोडीले गाउँले पारामै काव्य पस्किरहेका किराँतीलाई भेटे। त्यो भेट उनको लेखन जीवनका लागि कोसेढुंगा नै बनिदियो। भन्छन्, “गाउँमा आएपछि मलाई रामेश-मञ्जुलले निकै ठूलो सहयोग पुर्‍याउनुभयो।” बुइँपास्थित स्कुलको हेडमास्टर गोरखबहादुर रामेशको दाजु थिए। बुइँपामा केही समय रामेश-मञ्जुल रहँदा किराँतीले घनिष्ठ संगत पाए र लेखनमा ऊर्जा थप्न झनै सघाउ पुर्‍यायो। भन्छन्, “उहाँहरूले मलाई लेख्ने अभ्यास गराउनु भयो। रामेशले पनि बुइँपामा शिक्षण गर्न थालेपछि र मेरो संगत बढ्दै गएपछि म लेखनमा झनै राम्ररी लाग्न पाएँ।”

त्यतिबेला रामेश-मञ्जुलमा राल्फाको सिधा प्रभाव थियो। राल्फाली आन्दोलन छिन्नभिन्न भएपछि उनीहरू गाउँ-गाउँमा सांस्कृतिक अभियान लिएर निस्केका थिए। किराँतीको तत्कालीन लेखनमा पनि राल्फाको प्रभाव देखिन्छ। उनको एउटा गीत छ, जुन गीत रामेशको संगीत र स्वरमा सुन्न सकिनेछ-

‘क्षितिजको लामो अँगालोमा
बदलमुनि, कुइरोमाथि, माथि आकाशमा
इन्द्रधनु सुन्दर छ
इन्द्रधनु रंगीन छ।’

रामेशले त उनको शब्दलाई सुन्दर स्वर र संगीतले चम्काइ दिए। मञ्जुलले पनि किराँतीको लेखनलाई शब्दहरू बुनेर चम्काइदिए, यसरी-

‘जसराज तलसम्म पुर्‍याउन आयो। नयाँ कविताहरू लेख्न नसकेकोमा ग्लानीको अनुभव गर्दै धेरैपल्ट गाली गर्‍यो आफूलाई। तर पहाडको त्यस खोचमा बसेर उसले जे जति लेखेको थियो ती सब कविताहरू ज्यादै स्तरीय थिए। विचार र शिल्पको सुन्दर संयोजन भएका उसका कतिपय कविताहरू मैले आफ्नो डायरीमा सारेको थिएँ। आफू जहाँ जहाँ पुग्थेँ, त्यहाँ हुने कवि गोष्ठीहरूमा म उसको कविता सुनाउँथेँ। स्रोताहरूले पनि ती कविताहरू औधी रुचाउँथे। अहिले पनि जसराजलाई सम्झँदा लाग्छ, उच्च लेखाली एकान्तको अग्लो रुखमा लरक्क लर्किएर फुलेको रहरलाग्दो सुनाखरी फूल हो ऊ।’

जसराज भन्छन्, “रामेश-मञ्जुलको जोडाले मलाई ठूलो प्रभाव पार्‍यो र म यत्तिको लेख्न सक्ने भएको हुँ।”

पछिल्लो समयमा परशु प्रधान र शैलेन्द्र साकारको पनि संगत पाए उनले। परशु-शैलेन्द्रबन्धुको संगतले पनि उनको लेखनलाई तिखार्न सघाउ पुर्‍यायो। परशुमाथि त उनले कवितै लेखे- ‘ट्याम्के, परशु र म।’ भोजपुर र खोटाङलाई छुट्याउने त्यो पहाडी थुम्कोलाई विम्बात्मक संसारमा उभ्याएर उनले लेखे-

‘उताबाट ट्याम्केलाई तिमीले हेरिरहेछौ
मैले यताबाट हेरिरहेछु
परशु,
निःसन्देह हामी एउटै कुरालाई दुई तिरबाट हेरिरहेछौं।’

पद्चिह्न पछ्याउँदै छोराछोरी

उनका माइला सुपुत्र हुन्, देवान किराँती। उम्दा कविता लेख्छन्। इटहरीमा बस्छन् अचेल। एउटा कविताकृति ‘हुरीमा नाचिरहेको ईश्वर’ निकाले, दशकअघि नै। अचम्म चाहिँ के छ भने, बुबाले कविता लेख्छन् भन्ने कुरा उनले धेरै पछि मात्र थाहा पाए। अझ, आफूले कविता लेख्न थालेको धेरै वर्षपछि।

पन्ध्रमध्ये चार सन्तानले उनको पाइला पछ्याएका छन्। माइला देवान कविताकर्ममा छन्, कान्छा अनिल पनि कविताकर्ममै। कान्छोभन्दा माथिको छोरा मिलनले गीत लेख्छन् भने कान्छी छोरी बबिना चाहिँ गायनमा छिन्। भन्छन्, “उनीहरूले राम्रै लेखिरहेका छन्, राम्रै गरिरहेका छन्, मैले आफ्ना बच्चाहरूलाई नराम्रा गरेका छन् भन्न पनि मिल्दैन।”

२०४९ सालमा एसएलसी दिएपछि विराटनगर/इटहरीतिर झरे, देवान। बुइँपाबाट। बुइँपामा रहुन्जेल बुबाले कविता लेख्नु हुन्छ भन्ने थाहा थिएन उनलाई। एकदिन विराटनगरमा कृष्णभूषण बल र परशु प्रधानसँग भेट हुँदा उनले भने, ‘म जसराजको छोरा हुँ।’

छोरा (जन्तरे) गीतकार मिलान किराँती र छोरी (कान्छी) गायिका बबिना किराँती।

‘ओहो, तिमी त जसराजको छोरा। बुबाले राम्रो कविता लेख्नु हुन्छ नि।’ दुवै जनाले यसो भन्दा बल्ल थाहा पाए उनले, ‘बुबा जसराज किराँती पनि कवि हुनुहुँदो रहेछ।’ त्यतिबेलासम्म उनले पनि कविता लेख्न थालिसकेका थिए। कविता लेख्दै विराटनगर, इटहरी, धरानका गोष्ठीहरूमा सुनाउन पनि भ्याउँथे।

गाउँमा छँदा बुबा-छोराबिचको सम्बन्ध कस्तो रह्यो भने, देवानलाई बुबाले कविता लेख्नु हुन्छ भन्ने कहिल्यै थाहा भएन। त्यो बेला जसराज राजनीतिमा सक्रिय थिए। पहिला जिल्ला पञ्चायतको सदस्य, पछि जिल्ला विकास समितिको उपसभापति। कहिले कता, कहिले कता पुगिरहन्थे। घरमा भने महिनामा एक-दुई पटक मात्र आउँथे। देवान भन्छन्, “घरमा हामीसँगै बुबा बस्नुभएको त्यति याद पनि छैन, हामीलाई। महिनामा एक दुई दिन घरमा आउनु हुन्थ्यो। कहिले काठमाडौं पुग्नु हुँदोरहेछ, कहिले कता। हामीलाई पनि बुबाको त्यति वास्तै हुँदैनथ्यो। उहाँले लेख्नुहुन्छ भन्ने खासै ज्ञान थिएन ममा।”

आगामी साउनदेखि ७९ वर्षमा टेक्न लागेका जसराजले कविता त २०२४-०२५ सालदेखि नै लेख्न थालेका हुन्। तर देवानले भने यो कुरा २०५७ सालतिर मात्रै थाहा पाए। कस्तो अचम्म।

एक पटक, जसराजको हातमा ‘गरिमा’ (साहित्यिक मासिक) पर्‍यो। त्यसमा छापिएको थियो, देवानको एउटा कविता। उनले त्यो पत्रिका पल्टाउँदै देवानलाई भने, ‘यो कवितामा छापिएको त तेरो फोटोजस्तै छ त। कविता पनि लेख्छस् कि क्या हो ?’

त्यो क्षणलाई देवान सम्झिन्छन्, “म दशैँमा गाउँ (बुइँपा) गएको थिएँ। उहाँले गरिमा देखाउँदै भन्नुभयो, तँ पनि कविता लेख्छस् कि क्या हो ? फोटो त तँजस्तै छ। नाम पनि तेरै छ। त्यसपछि मात्रै हामीबिच साहित्यसम्बन्धी कुरा हुन थालेको हो। मैले पनि उहाँलाई म लेख्छु भनिनँ त्यसअघि।”

साँच्चै, आफ्नै सुपुत्र देवानले कविता लेख्छन् भन्ने उनलाई थाहै थिएन। छोराले आफ्नो पद्चिह्न पछ्याएको देखेपछि उनी खुसी मात्र भएनन्, बाबु-छोराबिच कवि-कविको नयाँ सम्बन्ध पनि थपियो। जसराज भन्छन्, “ऊ धरानतिर बस्थ्यो। धरानमा वम देवानहरूसँग संगत भएछ र कविता लेख्न थालेछ। धरानका मित्रहरूका साथै विराटनगरका साथीहरूसँगको संगतपछि उसले लेख्न थालेछ।”

अचेल भने बाबु-छोराबिच भेट हुँदा लेखन-चर्चा चल्न थालिहाल्छ। भन्छन्, “म उनको कविता लेखनबारे चर्चा गर्छु। ऊ मभन्दा पढेलेखेको पनि छ, मास्टर्स पनि गरेको छ, राम्रो लेख्छ।” अरू सन्तानको लेखनप्रति पनि उत्तिकै सन्तुष्ट छन् उनी। भन्छन्, “अनिलले पनि राम्रै कविता लेख्छ। मिलनले पनि राम्रै गीत लेख्छ र उसका गीतहरू चलेका पनि छन्। छोरीले पनि राम्रै गाउँछे।”

जसराज किराँतीका छोरा (कान्छा) कवि अनिल किराँती।

कहिलेकाहीं देवानले पनि उनको कवितामाथि अलिक ‘फुर्क्याएर’ टिप्पणी गर्छन्। फुक्र्याएको मन पर्दैन उनलाई। भन्छन्, ‘मलाई अरू साथीहरूले पनि फुर्क्याएर बोल्छन्। उनीहरू गाउँमा बसेर पनि कति राम्रो कविता लेख्छस् भन्छन्।’ हुन त, उनले आफूलाई ‘गाउँकै कवि’ ठान्दै आएका छन्। २०५७ सालमा छापिएको ‘जसराज किराँतीका कविता’ मा उनले आफ्नो भनाइ पस्किने क्रममा स्वीकारेका पनि छन्, ‘गाउँको मान्छे म। त्यहाँको आकाश, क्षितिज र परिवेशभित्र जेजे छ, म त्यही हुँ। त्यहाँको साँझ र त्यहाँको बिहान पनि हुँ। त्यसो भन्दा म गाउँको बिन्ती पत्र र थोरबहुत त्यहाँको बकपत्र पनि हुँ। गाउँभन्दा बाहिर लगेर मैले आफूलाई कतै राख्न सकिन, यसमा मेरा आफ्नै नितान्त निजी बाध्यता र विवशताहरू छन्।’

अचेल गाउँभन्दा पनि धरान, इटहरी र काठमाडौंजस्ता शहरमा बढी बस्न थालेका किराँतीले त्यतिबेला लेखेका थिए, ‘गाउँमा बाँच्ने बानी परिएछ, गाउँ नै आफ्नो जस्तो लाग्छ, प्यारो लाग्छ। शहरको आलिसान महल र महलभित्रका नीला नीला सर्प रङका जिजीविषाको जिब्रोले दंशित जीवनभन्दा फरक जीवन म बाँच्न खोज्छु।’ त्यही भएर उनले कुनै समय काठमाडौंलाई यसरी झाँटेका थिए-

‘काठमाडौं हिउँदभन्दा चिसो छ
काठमाडौंको मान्छेको छाती
हिउँ जमेको खाल्टोभन्दा चिसो छ।’

उनमा पहाड-प्रेम त यति गहिरो रह्यो- हरेक कविताले पहाडकै विम्ब र अर्थबोध समेटेका छन्। ‘पहाडकी केटी’ मा उनी यसरी खुलेका छन्, जसरी हिउँदको बेला आकाश खुल्ने गर्छ। निलाम्य र सौम्य तरिकाले।

‘पहाडकी केटी
जसको कम्मरमा पटुकी भएर सपनाहरू बाँधिएका छन्
पहाडकी केटी
जसको छातीमा रगत भएर भविष्यहरू जाम भएका छन्
नदीको किनारजस्तै मस्त भएर
गर्भदान माग्न त्यो केटी आउँछे
नदीको छालजस्तै मस्त भएर हामी जिस्कने छौं
हामी अँगालोमा बाँधिने छौं
प्रेमी र प्रेमिका मस्त भएको बेला नआए हुन्छ जूनले
देखा नपरे हुन्छ ताराले…।’

आफूले कविता लेखे पनि छोराछोरीलाई उनले कहिल्यै भनेनन्, ‘तिमी पनि कविता लेख, गीत लेख, गीत गाऊ।’ जानेर हो वा नजानेर, केही सन्तानले उनको पद्चिह्न पछ्याए, पछ्याउँदै छन् आजसम्म।

देवान पनि बाबुको काव्य-लेखनबारे मूल्यांकनको भाषामा भन्छन्, “बुबाले जुन बेला कविता लेख्नुभयो, त्यो बेला लेख्नेहरूलाई म निकै शक्तिशाली पुस्ता ठान्दछु। त्यो पुस्ताले लेखेको कविता पढ्दा उहाँहरू निकै निष्ठापूर्वक कविता लेख्नु हुन्थ्योजस्तो लाग्छ मलाई।” अझै भन्छन् देवान, “हामी पनि कविता लेख्छौं तर हाम्रा कविता बराल्लिएजस्तो लाग्छ। तर उहाँका कविताहरू आद्योपान्त पढ्दा समग्र चित्र र कथावस्तु आउँछन्। ठीक ठाउँमा पुर्‍याएर ठीक ढंगले नै कवितालाई टुंग्याउनु हुन्छ उहाँहरूले। पूर्ण कविता लेख्ने समयका कवि हुनुहुन्छ उहाँ।”

आफ्नो कविता लेखनमा बुबाको प्रभाव खासै नरहेको देवान भन्छन्। तर धरान बस्दा वम देवान, विराटनगर बस्दा बल र प्रधानको प्रभाव भने कताकता आफ्नो लेखनमा परेको उनको बुझाइ छ। भन्छन्, “बुबाको लेखनको खासै प्रभाव परेन ममा। बरु अरूका प्रभाव छ।”

छोरालाई बाबुको लेखनबारे न कुनै ज्ञान, न बाबुलाई नै छोराको लेखन धरातल नाप्ने फुर्सद। यो पहिलाको कुरा भयो। अचेल भने बाबु-छोरा भेट्ने बित्तिकै लेखनको कुरा चल्न थालिहाल्छ। देवान भन्छन्, “अचेल त बाउ-छोराबिच भेट हुने बित्तिकै दुई तीन घण्टा त किताबकै कुरा हुन्छ, साहित्य लेखनकै कुरा हुन्छ। कसको लेखन कस्तो छ, कसले उम्दा लेखिरहेका छन्, त्यसमै छलफल हुन्छ हामी बाबु-छोराबीच।”

अहाँ, कति लोभलाग्दो लेखन-सम्बन्ध।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved