बेइजिङ डायरी

शाकाहारी मान्छे चीनमा कसरी बाँच्छन्?

छाप्रे होटलमा पनि तरकारी पकाउने तेल त आखिर बङ्गुरको बोसो प्रयोग हुन सक्थ्यो तर मैले त्यस्तो सूचना उनीहरुलाई दिइनँ। हिजोआज बेइजिङका मुख्य शहरी क्षेत्रमा त्यस्ता छाप्रे होटलहरु चलाउने अनुमति छैन।

शाकाहारी मान्छे चीनमा कसरी बाँच्छन्?

कोभिड महामारी हुनु अगाडि नेपालबाट एकजना हितैषीले सामाजिक सञ्जालमा भने- ‘चीन घुम्ने मन त छ तर खान पाइन्न रे। त्यही भएर मन मारेर बसेको छु।’

विश्वकै सबैभन्दा धेरै परिकार पाइने देश हो चीन। चिनियाँ खाद्य संस्कृति पाँच हजार वर्ष पुरानो छ। तारे होटलको रेष्टुरेन्टमा खानेकुराको लाइन देख्तै थाहा हुन्छ चीनमा हजारौँ परिकारहरु खाइन्छन्।

अनि साथीको गुनासो चाहिँ चीनमा खानै पाइन्न भन्ने छ।

उनी शाकाहारी रहेछन्। चीनमा शाकाहारीका लागि उपयुक्त खान पाउनु महाभारत नै हुन्छ। शाकाहारी खाना पाइँदै नपाइने चाहिँ होइन तर कठिन चाहिँ पक्कै हो। यस्ता कुरा सुनेरै उनले उल्लिखित गुनासो गरेका थिए।

चिनियाँहरुसँग रेष्टुरेन्टमा खान बस्दा एउटै भाँडोबाट चपस्टिक्सले झिक्दै खानुपर्छ। मासु टिप्दै खाएको सिन्को खानेकुराको भाँडोमा चोबेपछि शाकाहारी खानेकुरा पनि बिटुलिनु स्वाभाविक भयो।  चिनियाँसँग समूहमा खाना खाएपछि जुठो र मासु खान्न भन्न निकै कठिन छ।

चिनियाँहरुको बुझाइमा शाकाहारी भनेको मासुका ठूल्ठूला चोक्टा मात्र नखानु हो। साना साना टुक्रा र झोल खाने पनि शाकाहारी नै हुन् चिनियाँका लागि। कसैले म शाकाहारी हुँ भन्यो भने चिनियाँको प्रतिक्रिया हुने  गर्छ- ‘सुप त खाने होला नि। अनि रक्ति त खाए हुन्छ। साना साना पिस बनाएको खाँदा के बिग्रन्छ र।’

चिनियाँहरु सबै कुरा खान्छन्। चिनियाँले नखाने त उड्नेमा हवाइजहाज, पौडिनेमा पानी जहाज र चारखुट्टेमा खाट मात्र हुन्।

अधिकांश चिनियाँहरु धर्म मान्दैनन्। भौतिकवादी र नास्तिक भएकाले चिनियाँहरु जे पनि खान्छन् भन्ने धारणा बन्नसक्छ। भगवान बुद्धले हिंसा नगर भन्ने सन्देश दिए। जनावर मारेर खानु पनि हिंसा नै हो। बुद्धले भिक्षामा जे पाउँछौँ त्यो ग्रहण गर्नु भनेकाले भिक्षामा पाएको मासु खानु हुने तर आफैँ मारेर खानु नहुने भाष्य पनि विकसित छ।

चीनमा गैर धर्मावलम्बीमात्र होइन बौद्ध धर्मावलम्बीहरु पनि मज्जाले मासु खान्छन्। सन् २०१७ को जुन महीनामा चीनको सञ्चार मन्त्रालयले गरिबी निवारणको स्थलगत अवलोकन गराउने क्रममा १९ जना पत्रकारलाई कान्सु प्रान्तको कान्नान तिब्बती स्वायत्त प्रिफेक्चरमा लगेको थियो। कान्नान तिब्बती स्वायत्त प्रिफेक्चरमा अधिकांश तिब्बती जातिका मानिस बसोबास गर्छन्। त्यहाँ पुराना गुम्बाहरु पनि छन्।

हामीले केही गुम्बाको अवलोकन भ्रमण गर्‍यौँ। त्यसक्रममा गुम्बाभित्रै रहेको अतिथि गृहमा हामीलाई दिउँसोको खाना खुवाइएको थियो। खानामा धेरैजसो परिकार मासुका थिए। एक हातले उठाउन नसिकने मासिका लवटा टेबुलमा राखेको देख्ता हामी गुम्बाभित्र छौँ भन्न कठिन थियो।

चिनियाँका भोजनमा मासु नभई हुँदैन। साँच्चै भन्ने हो भने मासुबिना चिनियाँले खाना नै खाँदैनन्। चीनमा कतै कतै शाकाहारी रेष्टुरेन्ट पनि नभएका होइनन्। त्यस्ता शाकाहारी रेष्टुरेन्ट अन्य रेष्टुरेन्टका तुलनामा अचाक्ली महङ्गा हुन्छन्। तब न शाकाहारीले चीन भ्रमण गर्नका लागि पहिले राम्ररी सोच्ने गरेका हुन्।

चीन भ्रमण गरेका अथवा चीनमा काम गरिसकेका शाकाहारी भुक्तभोगी नेपालीका केही प्रसङ्गलाई यहाँ उल्लेख गर्दा उपयुक्त होला।

सन् २००२ तिर नेपालको एक सरकारी प्रतिनिधि मण्डल चीन भ्रमणमा आएको रहेछ। भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्तामा रहँदा सबैका टेबुलमा प्लेट, काँटा, चम्चा, चपस्टिक्स राखिएका थिए। शाकाहारी भनेर पहिले नै जानकारी दिइएका नामका अगाडि प्लेटमा केही पनि राखिएको थिएन। तर, अरुका प्लेटमा सुइटर बुन्ने ऊनीको धागो जस्तो खाद्यपदार्थ थियो। गफ गर्दागर्दै चिनियाँहरुले उक्त खाद्य पदार्थ खाएको देखेपछि नेपाली प्रतिनिधिले खाइदिए।

बैठक सकिएपछि चीनका लागि तत्कालीन नेपाली राजदूत राजेश्वर आचार्यले भने- ‘ओहो त्यो नखानुपर्थ्यो नि। त्यो त गोरुको मासुबाट बनेको हो।’

केही नेपालीले तुरुन्तै मुख कुल्ला गरे। केही थकथकाए। केहीले ‘चीनमा हामीले पुज्ने जस्तो गोरु होइन। हिमाल काटेर आएपछि दोष लाग्दैन, फेरि अन्जानमै खाएको हो’ भनेर चित्त बुझाए। एकजना उपसचिवलाई चाहिँ ठूलै अपराध गरेजस्तो भान भएछ। आफ्नो आस्थामाथि भयङ्खर प्रहार भएको ठाने उनले। तुरुन्तै उनको मुड अफ भयो। उनी चीन भ्रमणभरि अत्यन्त तनावमा रहे। धेरैजसो बैठकमा भागै लिएनन्। होटलको कोठामै सुतेर बिताए।

नेपाल फर्किएपछि पनि उनको समस्या ठीक भएन। बरु बढ्दै गयो। उनलाई डिप्रेसन भयो र ६ महीनापछि उनले यो संसार नै त्यागे।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा कार्यरत सहकर्मी लक्ष्मी लम्साल पनि शाकाहारी। नेपालमा अण्डा पनि नखाने लम्सालजी चीनमा आएपछि अण्डा खान थाले। मासुको लटपट हुन्छ भनेर चिनियाँ साथीहरुसँग रेष्टुरेन्टमा खान जानै नमान्ने। कहिलेकाहीँ खान जानुपरे पहिले नै सागपात, गाँजर, काँक्रो, दही, फलफल जस्ता खानेकुरा आफ्नो प्लेटमा राखेर खाने उनको बानी। थप्ने कुरै भएन। चिनियाँले मासु बिरोलेको चपस्टिक सलाजतिर पनि घुसारेको आँखाले देखेपछि त्यही सलाद कसरी खाने भन्ने उनको चिन्ता। खाएको देखेर चिनियाँहरुले लम्सालजीलाई खरायो उपनाम समेत दिएका थिए।

लम्सालजीको चीन बसाइ जति लम्बिदै गयो समस्या पनि बढ्दै गयो। बेइजिङमै बसेको बेला त जसोतसो चल्थ्यो, बेइजिङ बाहिर गएको बेला त भोकै हुने संभावना थियो। अन्ततः उनी पनि मासु खान बाध्य भए। चीनले उनलाई शाकाहारीबाट मांसाहारी बनाएरै छोड्यो।

सन् २०१४ को अप्रिलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यक्रम अधिकृत शेखर शर्मा, सिन्धुपाल्चोकका हस्त पण्डित र इटहरीका टंक तिम्सिना लगायत ५ जना नेपालीहरु विश्व बैंकले आयोजना गरेको वैकल्पिक उर्जासम्बन्धी सेमिनारमा भाग लिन बेइजिङ आएका थिए। पाँचजनामध्ये टंक तिम्सिना र शेखर शर्मा शाकाहारी रहेछन्।

उनीहरु बसेको पाँचतारे होटल नजिकैको एउटा सानो छाप्रो रेष्टुरेन्टमा उनीहरुसँग भेट भयो। काउली, साग, गोलभेडा र अन्य तरकारी दिँदै त्यो छाप्रे होटललाई उनीहरुले भने ‘ल राम्ररी मिठो बनाएर पकाइ दिऊ है।’

नेपालीमा संवाद गरेको देख्दा मलाई अचम्म लाग्यो। मेरो कौतुहल बुझेर साथीहरुले हाँस्दै भने ‘हामीलाई चिनियाँ भाषा आउँदैन। यो होटलवाला चिनियाँ बाहेक अरु बुझ्दैन। यसलाई अंग्रेजीमा भन्नु र नेपालीमा भन्नुमा के फरक? पैसा दिएपछि यसले भने अनुसारको खानेकुरा पकाइ हाल्छ।’

पाँच तारे होटलमा बसाइ तर खान नपाएर छाप्रे होटल खोज्नु उदेक लाग्दो थियो। काठमाडौँबाट हिँड्नु अगाडि नै उनीहरुले कार्यक्रम संयोजकलाई दुईजना प्रतिनिधि शुद्ध शाकाहारी रहेको जनाउ दिएका रहेछन्। त्यही अनुसारको व्यवस्था भएको कार्यक्रम संयोजकले इमेलमा लेखेको रहेछ।

तर होटलमा सधैँ मासु नै मासु। वाध्य भएर कार्यक्रम संयोजकलाई गुनासो गरेपछि होटलको वेटरलाई शाकाहारीका रुपमा छुट्टै खानेकुरा मगाएछन्। खानेकुरा त आयो तर माथिबाट गेरु रङको साना साना टुक्राहरु छरिएर। नेपालमा खाने चनामाथि प्याज र धनियाका पातलाई मसिनो बनाएर छरेजस्तो। के रहेछ भनेर बुज्दा त्यो रहेछ विफको टुक्रा अर्थात् गोरुको मासु। आजित भएर उनीहरु पाँच तारे होटलमा बसे पनि छाप्रे होटलमा खान वाध्य भएका रहेछन्।

छाप्रे होटलमा पनि तरकारी पकाउने तेल त आखिर बङ्गुरको बोसो प्रयोग हुन सक्थ्यो तर मैले त्यस्तो सूचना उनीहरुलाई दिइनँ। हिजोआज बेइजिङका मुख्य शहरी क्षेत्रमा त्यस्ता छाप्रे होटलहरु चलाउने अनुमति छैन।

सन् २०१५ को जनवरीमा प्याप्सनका तत्कालीन वरिष्ठ उपाध्यक्ष बिजय सम्बाहम्फेको नेतृत्वमा दुई दर्जन नेपालीहरु बेइजिङ आएका थिए। उनीहरुलाई बजार घुमाउने क्रममा मैले सिल्क मार्केट लिएर गएँ। उग्र बार्गेनिङ हुने भएकाले सिल्क मार्केट विदेशी पर्यटकका लागि लोकप्रिय किनमेल स्थलमा परिचित छ।

किनमेल गरेर सबैभन्दा माथिल्लो तलामा दिउँसोको खाना खानका लागि गइयो। त्यो समूहमा पनि केही साथीहरु शाकाहारी रहेछन्। केही ठाउँमा शाकाहारी खानेकुरा पनि मगाइयो। खाना ल्याउने क्रममा रेष्टुरेन्टको मान्छेले एउटै भाँडोमा पकाएको गोरुको मासु र आलुको मिसावट तरकारीबाट आलु आलु छानेर प्लेटमा राखेर ल्यायो। अर्को कराईबाट बंगुरको मासु पन्साउँदै काउली काउली छानेर ल्यायो।

उसले बुझेको भेजिटेरियन फुड त त्यस्तो पो रहेछ। आँखाका सामुन्ने मासुबाट छुट्ट्याएर ल्याएको तरकारी खाने कुरै भएन। साथीहरु भोकै परे।

त्यस्तै घटना भयो नेपाली पत्रकारहरुको टोलीको भ्रमणमा पनि। सन् २०१८ को अगष्टमा नेपालका सातैवटै प्रदेशबाट दुईदईजना गरी १४ जना पत्रकारहरु सिचुवान प्रान्त र बेइजिङ भ्रमणमा आएका थिए। उक्त पत्रकारको टोलीमा पूरै समय सहभागी हुने मौका यो स्तम्भकारले पनि पाएको थियो। बेइजिङको एक रेष्टुरेन्टमा शाकाहारी खाना अर्डर गर्दागर्दै मासु मिसाएर ल्याएपछि दुईजना साथीहरुले त्यो दिन खानै पाएनन्। यसो सलाद खाएर चित्त बुझाए।

चीन भ्रमणका क्रममा सामान्य पसल अथवा सुपर मार्केटमा चकलेट किन्दा गाईको सुकुटी पनि पर्न सक्छ। प्याकेटमा चिनियाँ अक्षरमा ‘गाईको सुकुटीबाट बनेको क्याण्डी’ भनेर लेखिएको हुन्छ तर बुझे त हो नि। अनि नेपालमा घर परिवार र आफन्तलाई बाँड्न भनेर किनेको चकलेटमा गाईको सुकुटी परेमा के गर्ने!

सन् २००९ मा इटहरीस्थित जनता माविका शिक्षकहरु नारायणप्रसाद मण्डल र भैरवप्रसाद सापकोटा कन्फ्युसियसको तालिमका लागि चीन आएका थिए। चीनबाट फर्किएपछि उनीहरुले कोसेलीका रुपमा दुई प्याकेट क्याण्डी (आम नेपालीले बुझ्ने चकलेट) लिएर गएछन्। काठमाडौँमा मेरो कोठामा उनीहरु चिनियाँ चकलेट लिएर पुगे।

चकलेट मुखमा हालिसक्दा गाईको सुकुटी रहेछ भनेर मलाई थाहा भइहाल्यो। मैले त्यस अगाडि पनि एकजना चिनियाँ साथीको कोठामा गएको बेला काठमाडौँमै त्यस्तो क्याण्डी खाएको थिएँ। मेरी श्रीमती र दिदी पनि उक्त चकलेट चपाउँदै थिए। शिक्षकद्वय पनि चिनियाँ चकलेटको स्वाद लिँदै थिए। मेरी दुई वर्षकी छोरी अमूल्यले चकलेट चपाउँदै तोते बोलीमा भनिन् ‘माच्चु’ अर्थात् उनकै बोलीमा मासु। छोरीले सुकुटी चिनिसकेकी थिइन्।

सबैले मुखमा क्याण्डी चपाउँदै गरेकाले मैले केहीबेर पर्खिएर बसेँ। सबैले खाइसकेपछि सोधेँ ‘चकलेट कस्तो लाग्यो?’

‘मिठो’ सबैले जवाफ दिए। मेरी दिदी शाकाहारी। उनले पनि चकलेट मिठै भएको प्रतिक्रिया दिइन्।

श्रीमतीले मलाई कानमा सुटुक्क भनिन् ‘कस्तो अनौठो। ठुस्स गन्हाएजस्तो लाग्यो मलाई त।’ पाहुनाले ल्याएको चकलेट मिठो भएन भनेर सबैले सुन्ने गरी भन्न नमिल्ने संस्कारले उनले कानेखुशी गरेकी थिइन्।

सबैले चकलेट खाइसकेपछि मैले भेद खोलिदिएँ। त्यसपछि सबै खाकखाक र खुकखुक गर्दै मुख खोकल्न थाले। गाईको सुकुटी अगाडि नै पेटमा पुगिसक्यो। तै पनि मुख खोकलेर चित्त बुझाउने मेलो थियो सबैको।

‘हैट! यस्तो चकलेट अब बागमतीमा मस्नाउनु पर्छ। अनि अर्को किनेर इटहरी जानुपर्छ’ भन्न थाले मण्डल र सापकोटा।

मलाई त्यसभन्दा अगाडि नै थाहा थियो गाईको सुकुटीको क्याण्डी चीनमा लोकप्रिय हुन्छ भनेर। त्यसबेला देखियो पनि खाइयो पनि। तर दोहोर्‍याएर आफैँ त्यही क्याण्डी किन्नु पर्दा चाहिँ आफैँ महामुर्ख बन्न पुगेँ।

सन् २०१३ को जुनमा चीनको खुन्मिङमा आयोजित चीन दक्षिण एसियाली मेलामा नेपालको प्रतिनिधिमण्डलमा सहभागी भएर खुन्मिङ आएको थिएँ। औपचारिक कार्यक्रममा निकै व्यस्त भएकाले बजार जाने समय मिलेको थिएन। फर्कने बेलामा पनि मैले साथीहरु र छोराछोरीका लागि चकलेट किन्न भ्याएकै थिइँन।

मेरो फर्कने रुट खुन्मिङ-छङ्तू-काठमाडौँ थियो। खुन्मिङबाट छङ्तु पुग्दा रातको ९ बजेको थियो। भोलिपल्ट बिहानैको उडानमा काठमाडौँ फर्कनु पर्ने भएकाले म होटल नजिकैको पसलमा गएर एक प्याकेट क्याण्डी किनेर झोलामा हालेँ। भोलिपल्ट काठमाडौँमा पुगेपछि पो थाहा भयो क्याण्डीमा उही गाईको सुकुटी रहेछ।

घरमा कसैले पनि खान मानेनन्। किनेर ल्याएको फ्याँक्न पनि मन लागेन। साथीहरुलाई झुक्याएर दिनुभन्दा भनेरै दिनु जाति भनेर गाईको सुकुटीको क्याण्डी भन्दै बाँडेँ। कतिले तत्काल खाए, कतिले गोजीमा राखे। खतिले हैट खाइँदैन भनेर अस्वीकार गरे। क्यापिटल एफएममा काम गर्ने नम्रता भट्टराई बैनीलाई चाहिँ खुबै मन परेछ। उनले थपी थपी मागेर खाइन्।

मासु नखाने मान्छे चीनमा अडिनै सक्दैन भन्ने चाहिँ होइन। नेपालका पूर्व मुख्य सचिव लीलामणि पौड्याल शुद्ध शाकाहारी हुन्। उनले तिब्बतको ल्हासामा महावाणिज्य दूत भएर सन् २००३ देखि २००७ सम्म चार वर्ष बसेका थिए। सन् २०१६ मा उनी चीनका लागि राजदूत भएर बेइजिङ आए र तीन वर्षभन्दा बढी बसे। नेपाली दूताबासमै चार वर्ष मिनिस्टरका रुपमा काम गरेका परराष्ट्र मन्त्रालयका सहसचिव सुशीलकुमार लम्साल पनि शुद्ध शाकाहारी हुन्। उनी गत असारमा कार्यकाल पूरा गरेर नेपाल फर्किएका हुन्। अहिले पनि बेइजिङस्थित नेपाली दूताबासमा कार्यरत श्रुति कडेरिया पनि शाकाहारी हुन्।

नेपाली  शाकाहारी साथीहरु चीन भ्रमणमा आउने हो भने कही कठिन त होला तर असंभव नै चाहिँ होइन है।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved