शिक्षाविद् भन्छन्– सरकारले विद्यार्थीको सिकाइस्तर ख्याल गरेन

१ जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने सरकारको निर्देशनले विद्यार्थीको सिकाइस्तर खस्किएको यथार्थलाई बेवास्ता गरेको शिक्षाविद् र शिक्षकहरुको टिप्पणी छ ।

शिक्षाविद् भन्छन्– सरकारले विद्यार्थीको सिकाइस्तर ख्याल गरेन

काठमाडौं। चालु शैक्षिक सत्र वैशाखमै टुंग्याएर १ जेठबाट शुरु गर्नेगरी शिक्षा मन्त्रालयले दिएको निर्देशन त्रुटीपूर्ण रहेको विज्ञहरुले टिप्पणी गरेका छन्। ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र’ले ४ फागुनमा सूचना जारी गर्दै चालु शैक्षिक सत्र चैत्र महिनाभर नियमित पठन-पाठन गरि विद्यालयले लिने परीक्षा वैशाखमा सञ्चालन र नतिजा प्रकाशन सक्न आदेश दिएको छ।

केन्द्रले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाखमा नै लिएर १ जेठबाट नियमित पठनपाठन गर्ने र २०७९ चैत्र मसान्तभित्र शैक्षिक सत्र सक्ने कार्यतालिका बनाउन सूचना जारी गरेको हो। सरकारले शैक्षिक क्यालेण्डर मिलाउन खोज्दा विद्यार्थीको सिकाई उपलब्धिलाई उपेक्षा गरेको शिक्षाविद् मनप्रसाद वाग्लेको धारणा छ।

“सरकारको यो निर्णय गलत हो, विद्यालयमा पढाई भएकै छैन। कोर्स त सकिए होलान्, सिकाई हुनुपर्यो, विद्यार्थीले सिकेका छैनन्”, उनी भन्छन्, “कोर्स मात्र सकाएर विद्यार्थीको उन्नती हुँदैन। त्यसैले शैक्षिक सत्र लम्ब्याएर विद्यार्थीलाई सिक्ने अवसर दिनुपर्छ।”

नेपालमा अनलाइनमा सिकाई प्रभावकारी नभएको उनको दाबी छ। सिकाई उपलब्धी नभइकन पनि विद्यार्थीलाई कक्षा चढाउने अभ्यास रोक्नुपर्ने उनको मत छ। सरकारले आफ्नो सुविधा मात्र हेरेर विद्यार्थीको सिकाइ बेवास्ता गरेको उनको आरोप छ।

शिक्षाविद् विनय कुसियतको धारणा पनि उस्तै छ। कोभिडका कारण पठनपाठन प्रभावित हुँदा भएको उनको मत छ। भन्छन्, “सिकाई उपलब्धिमूलक बनाउन सरकारले सोच्नुपर्ने हो। केभिडले सिकाईमा पुगेको क्षती न्युनिकरण गर्न एक महीना समय दिनुपर्छ।”

शैक्षिक क्यालेण्डर मिलाउने बहानामा सिकाई उपलब्धि प्रभावित हुन नहुने उनले तर्क गरे। विद्यालयलाई पनि सिकाई उपलब्धिमा जोड दिन उनले सुझाए। उनी भन्छन्, “विद्यालयहरुले समिक्षा बैठक गर्नुपर्छ। कुन विषयमा विद्यार्थी कमजोर छन् ति बिषयमा सिकाई उपलब्धि कायम गर्नुपर्छ।”

सरकारले मिति तोक्ने काम मात्र नगरी सिकाई उपलब्धि गराउने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ। अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले लगानी बढाउनुपर्ने उनको मत छ।

जनकल्याण माविकी प्रधानाध्यापक कुमारी कमला राई भन्छिन्, “कोभिडपछि विद्यार्थीको पढाईप्रतिको रुचि कम देखिएको छ। विद्यार्थीमा सोचेजति सिकाई प्रगती भएको छैन। विद्यार्थीले कक्षागत र विषयगत रुपमा ‘स्टायन्डर्ड’ (मानक) कायम राख्न सकेका छैनन्।”

कोर्स सक्न कुनै आपत्ति नभएको राई बताउँछिन्। स्कुलले दोस्रो त्रैमासिक परिक्षा लिइसकेको र वैशाखमा अन्तिम परिक्षा लिँदा एक महीना दोहो¥याएर सिकाउन सक्ने आंकलन गरेको उनले जानकारी दिइन्।

पद्मोदय माविका प्रधानाध्यापक नारायण प्रसाद गौतमको धारणा पनि उस्तै छ। भन्छन्, “कोर्स समस्या होइन्। असारबाट नै प्राय स्कुलले अनलाईन कक्षा चलाए। विद्यार्थीले कति सिके कति बुझे भन्ने समस्या हो।”
शैक्षिक क्यालेण्डर मिलाउन सरकारको निर्णय स्वागतयोग्य भए पनि विद्यार्थीको सिकाई उपलब्धि भने कमजोर नै रहेको उनले जानकारी दिए।

चालु शैक्षिक सत्र असारबाट शुरु भएको हो। कोभिड–१९ को दोस्रो लहरका कारण दशैंपछि मात्र भौतिक रुपमा विद्यालय पठन पाठन भएको थियो। तर तेस्रो लहरका कारण विद्यालयहरु पुनः एक महीना बन्द भएका थिए।


Comment

One thought on “शिक्षाविद् भन्छन्– सरकारले विद्यार्थीको सिकाइस्तर ख्याल गरेन

  1. क्रियामा प्रतिक्रिया दिने अनि यथास्थितिमा रमाउने शिक्षाविद् होइनन् अवसवादी हुन् किनभने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो बनाउने उनीहरूमा चिन्ता थियो भने हिजोसम्म किन मौन बसे। कोरोना माहामारीको बिचमा शिक्षा व्यवस्थामा देखिएका समस्या र सम्भावनाका बारेमा धारणा किन राखेनन्। म त भन्छु, हाम्रा कथित शिक्षाविदहरू आफ्नो घर चलाउन धन कमाउन ढंगले परिचालित छन् नकि देशको शिक्षा व्यवस्था राम्रो बनाएर देश राम्रो बनाउन चाहन्छन्। उनीहरू अभ्यासमा भएको समस्यामा केन्द्रीत छन् जबकि समस्या शिक्षा व्यवस्था नीति र प्रवृत्तिमा छ। शैक्षिक उपलब्धि राम्र बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तनविना सम्भव छैन्। यसका लागि पैरवी गर्दैनन् तर शिक्षाविद् भएर भ्रम छर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved