कास्कीमा थपिए ५७ हजार नयाँ मतदाता

कास्कीमा एउटा महानगरपालिका र चारओटा गाउँपालिका छन्। भूगोलको हिसाबले पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका हो।

कास्कीमा थपिए ५७ हजार नयाँ मतदाता
सांकेतिक तस्वीर

पोखरा। कास्कीमा ५७ हजार १२९ नयाँ मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनमा भन्दा उक्त संख्यामा मतदाता थपिएका हुन्। यससँगै कास्कीमा मतदाताको संख्या २ लाख ८१ हजार ९४० पुगेको छ।

२०७४ को स्थानीय निर्वाचनमा २ लाख २४ हजार ४८१ मतदाता थिए। त्यतिबेला स्थानीय चुनाव तीन चरणमा गरिएको थियो। मतदाताको हालको तथ्यांक बाहिरी जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएका तथा दोहोरो तथ्यांक हटाउन लगायत काम गर्नुअघिको रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने जानकारी दिए।

आगामी ३० वैशाखमा सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ। कास्कीमा एउटा महानगरपालिका र चारओटा गाउँपालिका छन्। भूगोलको हिसाबले पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका हो।

यस्तै, कास्कीमा मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका गरी जम्मा ७२ वडा छन्। कास्कीमा सबैभन्दा धेरै पोखरा महानगर र थोरै मतदाता रुपा गाउँपालिकामा छन्।

पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७०५ जना मतदाता छन्। सातओटा वडा रहेको रुपा गाउँपालिकामा १४ हजार ६४४ मतदाता छन्। १२ वडा रहेको मादीमा १८ हजार ७५१ मतदाता छन्। अन्नपूर्ण गाउँपालिकामा २० हजार ३६४ र माछापुच्छ्रे गाउँपालिकामा २० हजार ४६८ मतदाता छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख २५ हजार ९३२ मत खसेको थियो। अन्नपूर्ण गाउँपालिकामा ११ हजार ३५०, मादी गाउँपालिकामा ९ हजार ८८०, रुपा गाउँपालिकामा ८ हजार २६०, माछापुच्छ्रे गाउँपालिकामा १२ हजार ६८२ मत खसेको थियो।

उक्त निर्वाचनबाट पोखरा महानगरमा एमालेबाट मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयर बने। पोखराका ३३ वडा मध्ये ११ वडामा कांग्रेस उम्मेदवार वडाअध्यक्ष निर्वाचित भए भने २२ वडामा एमाले उम्मेदवार विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved