विवाह, सेक्स र प्रेम

सेक्स सम्बन्ध आपसी समझदारीमा भर पर्छ। जुन सम्बन्धमा प्रेम हुँदैन त्यसमा सुख हुँदैन। प्रेमबिनाको सेक्स नुन नहालेको तरकारी जस्तो खल्लो हुन्छ। नुन नहालेको तरकारी खान मिल्छ, खान सकिन्छ, तर त्यसमा स्वाद हुँदैन ।

विवाह, सेक्स र प्रेम

उसो त भ्यालिन्टाइन डेलाई विदेशी संस्कारको रूपमा हेरिन्छ नेपालमा। तथापि आजको पुस्ता रोज डे, प्रोपोज डे, चकलेट डे, टेड्डी डे, प्रोमिस डे, किस डे, हग डे र भ्यालेन्टाइन डेसहित सप्ताहव्यापी पर्वका रूपमा आफ्ना मनको अन्तरकुनामा रहेको व्यक्त गर्न नसकेको प्रेम प्रस्तावको रूपमा अगाडि ल्याउने, मायाको चिनो साँटासाँट गर्ने तथा प्रेमी–प्रेमिकाबीचको सम्बन्ध सुमधुर बनाउन एकआपसका भावना साँटासाँट तथा भविष्यका योजना वा कल्पनाहरूमा बहस गर्ने उपयुक्त समयको रूपमा मनाउन थालेको छ।

जे होस्, मूलतः प्रेम प्रवाहलाई सहज बनाइदिएको छ भ्यालेन्टाइनले। यो पश्चिमा मुलुकबाट प्रचलनमा आएको रसरंग दिवस भएकाले मुस्लिम अतिवादी मुलुकमा भने यसप्रकारको पर्वलाई प्रतिवन्ध लगाइन्छ। प्रेमलाई विभिन्न दार्शनिकहरूले अनेक परिभाषा गरेका छन् । रजनिश ओशोले प्रेमलाई बासनाबाट टाढा राखेका छन्। प्रेममा आशक्त प्रकट हुँदैन, तर आशक्तका लागि प्रेम गरिन्छ भन्ने उनले भनेका छन्। प्रेमका विषयमा फरक–फरक प्रकारका भाव धेरैले व्यक्त गरेका छन्।

भ्यालेन्टाइनसँग सम्बन्धित प्रेम विशुद्ध युवायुवतीबीच हुने सम्बन्धको हो। बुबाआमा, दिदीबहिनी, दाजुभाइ वा अन्य नातेदारसँग गरिने प्रेमसँग यसको कनेक्सन छैन । त्यसैले, प्राचीन सभ्यतादेखि यो कालसम्म प्रेमका सारलाई केलाउन यो साता सान्दर्भिक देखिन्छ। यसलाई पश्चिमा पादरीले उच्च सम्मान व्यक्त गर्ने दिन अर्थात् प्रेमपूर्ण सम्मान गर्ने दिनका रूपमा मनाएका थिए। पछि यो क्रमशः युवायुवतीबीच हुने प्रेमको दिवसमा परिवर्तन हुँदै गयो। र, ‘प्रणय दिवस’का रूपमा फैलियो। तर, जे–जसरी व्याख्या गरिए पनि अहिले विश्वभर विपरीतलिङ्गी बीच हुने सम्बन्धलाई भ्यालेन्टाइन दिवस चित्रण गरिन्छ।

विवाह एक सम्बन्ध हो। यो प्रेमको रूप होइन। किशोरावस्था वा यो चरण पार भएपछि यौनिक रूपमा मानिस विपरीतलिङ्गीप्रति आकर्षण देखाउँछ। त्यसलाई परिपूर्ति गर्न त्यतिबेला सानैमा विवाह गरिन्थ्यो। विवाहकै माध्यममार्फत यौन सम्बन्ध स्थापित हुन्थ्यो। अति अपवादमा बाहेक प्रेम गरेर सम्बन्ध राख्ने प्रचलन निकै कम थियो। तर, आज त्यो क्रमशः परिवर्तन हुँदै गएको छ। समाज विस्तारै शारीरिक सम्बन्धका विषयमा खुल्दै गएको छ। यो आधारलाई सहज बनाउन भ्यालेन्टाइन युवायुवतीका लागि अवसर बनेको छ। तर, प्रेम गर्नेलाई ३६५ दिन नै आफैमा भ्यालेन्टाइन पर्व हुन्।

प्रेममा नजिक वा टाढा हुनुले फरक पर्दैन। तर, प्रेम व्यक्त हुनुपर्छ। म तिमीलाई माया गर्छु नभनेसम्म प्रेमको संकेत देखिँदैन। व्यक्त प्रेमले सार्थकता दिन्छ। अव्यक्त प्रेम सक्कली रूपमा झल्कँदैन। नझल्केको प्रेम पानीको फोका जसरी विलीन हुन्छ। तर, आजभोलि व्यक्त गर्ने नाममा ढोंगी प्रवृत्ति पनि हावी नभएको होइन।

हाम्रो समाजमा पहिले विवाह, अनि सेक्स र त्यस पछि मात्र प्रेम भएको देखिन्छ । कहिल्यै एक अर्कालाई नदेखेको युवक र युवतीबीच विवाह हुन्छ । अनि सुहागरात मनाइन्छ र त्यसपछि विस्तारै एक अर्का प्रति प्रेम पलाउछ । अर्थात् विवाह, सेक्स अनि प्रेमको मान्यता रहेको हाम्रो समाज पछिल्लो समयमा आएर प्रेम, सेक्स अनि विवाहमा परिवर्तन भएको देखिन थालेको छ ।

कसैकसैले प्रेमको निचोड सेक्स हो भन्छन्। सेक्स सम्बन्ध आपसी समझदारीमा भर पर्छ। जुन सम्बन्धमा प्रेम हुँदैन त्यसमा सुख हुँदैन। प्रेमबिनाको सेक्स नुन नहालेको तरकारी जस्तो खल्लो हुन्छ। नुन नहालेको तरकारी खान मिल्छ, खान सकिन्छ, तर त्यसमा स्वाद हुँदैन । त्यही नुनको मात्रा ठिक्क हुन पुगेको तरकारीको स्वादमा मिठास हुन्छ। मिठासमा शक्ति हुन्छ। र, यो शक्ति भिटामिनको माध्यम भएर शरीरमा शक्ति प्रदान गर्छ। हो त्यही भएर प्रेममा शक्ति हुन्छ। तर, प्रेमबिनाको सम्बन्ध नाटकीय हुन्छ। यो नाटकको अभिनय मिलेन भने सम्बन्धमा गडबड देखिन शुरु गर्छ। ‘अनि भन्छन् नि, भर्खर विवाह भएको, हेर न कति झगडा गरेका यिनका बूढाबूढी।’ यो किन भएको भने अनेक अभाव, असन्तुष्टिका कारणले झगडा भएको होइन। प्रेमबिनाको विवाह भएको नतिजा हो। यो अहिलेको नयाँ पुस्ताले क्रमशः बुझ्न थालेको छ। तर, अहिलेका अभिभावकलाई यसको मेसोमेलो केही छैन।

पैसाको अभावले झगडा हुन्छ भनिन्छ। सेक्स असन्तुष्टिले पारिवारिक जीवन चौपट भो भन्ने विश्लेषण गरिन्छ। छोरो बिग्रियो विवाह गरिदिएपछि सुध्रिन्छ भन्ने पनि चलन छ। छोरी उत्ताउली भई, छिट्टै विवाह गरिदिए समाधान हुन्छ भन्ने गरिन्छ। यो जस्तो अनैतिक र गैरजिम्मेवार तर्क केही होइन। माथिका समस्या भौतिकतासँग जोडिएका छन्। पैसाले भरिपूर्ण भए पनि झगडा अन्य कारणमा रूपान्तर भइहाल्छ। सेक्स सन्तुष्टि भए पनि आत्मसम्मान, सम्पत्ति र प्रतिष्ठाका कारणबाट झगडाले निरन्तता पाउँछ। विवाह गर्दैमा कसैका छोराछोरी सुध्रिएको उदाहरण दुनियाँमा छैन। यसको एक मात्र कारण हो, हाम्रो समाजलाई प्रेम गर्न नै नआएको हो । बल्ल अहिले आएर प्रेमका तौरतरिका सिक्न थालेका छन् । केही व्यक्तिले विदेशबाट भित्रिएको दिवस भनेर भ्यालेन्टाइनलाई उपेक्षा पनि गरेका छन्। तर, राम्रा पक्ष अरूबाट सिक्ने र नराम्रा पक्ष हटाउँदै जाने मानवीय गुण हो। त्यही भएर मार्क्स, लेनिन, माओ, गान्धी, बुद्ध आदिका दर्शन र विचार विश्वभर फैलिएका उदाहरण हामीमाझ छन्।

प्रेम र लैंगिक भेदभाव

प्रेममा असफलता हुनुका मुख्य कारण लैंगिक भेदभाव मुख्य हो। महिला र पुरुषबीचको स्वतन्त्रतामा बिनाभेदभाव हाम्रो समाजमाथि उठ्ने हो भने हाम्रा सम्बन्ध सुमधुर हुँदै जान्थे। डिभोर्स, विछोड र टाढा भएर बस्ने अधिकारलाई समाजले अझै पचाउन सकेको छैन। मानिसका जीवनमा यी सबै प्रक्रिया पनि अधिकार हुन् भन्ने समाजले बुझ्न आवश्यक छ। विछोडमा पनि प्रेम हुन्छ। तर, सँगै बसेर पनि प्रेम नहुन सक्छ भन्ने समाजले बुझ्न आवश्यक छ। त्यसैले, दुईजनाबीचको समझदारी, विश्वास र प्रेम उच्चकोटिको बनाउन समान अधिकार महत्वपूर्ण विषय हो। जसरी पुरुषको स्वतन्त्रतालाई हाम्रो समाजले सहज रूपमा लिने गरेको छ, त्यसरी नै महिलाको स्वतन्त्रतालाई समाजले सजिलै ग्रहण गर्ने हो भने हाम्रा सम्बन्धहरू प्रेममय हुनेछन्। प्रेममय समाज निर्माणका लागि संकुचन विचार, कुसंस्कृति, धार्मिक विकृत, पुरातन जडता र अहंकार पुस्तौनी चलन अन्त्य हुन आवश्यक छ। यही कुरालाई सबैले मनन गर्दै हामी सबै ह्याप्पी भ्यालेन्टाइन भनौँ आजैबाट।

विदेशी संस्कार भनेर भित्रिएपनि सदुपयोग गर्नेको लागि प्रेम दिवस हो। भ्यालेन्टाइन डे विकृतिका रूपमा पनि देखा नपरेको होइन। तर सदुपयोग गरे प्रेम प्रकट गर्ने यो भन्दा सुन्दर अवसर के हुनसक्छ ?  आफ्नो बाटो आफैले रोज्न पाउने अधिकार सबैलाई छ तर कुन बाटो सही र कुन गलत थाहा पाउन चाहिँ जरुरी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved