सन्दर्भः १ फागुन

‘जनयुद्ध’को स्मृतिसँगै झस्काइरहने चिहान

सुन्नुहोस्

तत्कालीन शाही नेपाली सेनाले ओछ्यानबाट उठाएर लगी हत्या गरेर गाडेका एक किशोरीको शव उत्खननको कथा।

‘जनयुद्ध’को स्मृतिसँगै झस्काइरहने चिहान

१ फागुन। नेपाली जनमनमा नमेटिने गरी बसेको छ यो दिन। २०५२ सालमा यही दिन तत्कालीन नेकपा (माओवादी)ले ‘जनयुद्ध’ नाम दिँदै शुरु गरेको सशस्त्र संघर्षले नेपाली राजनीतिमा मात्रै होइन समाजमै उथलपुथल ल्याइदियो। सुगौली सन्धिपछि प्रत्यक्ष युद्धको अनुभव नगरेको नेपाली जनजीवनले ‘गृहयुद्ध’ भोग्नुपर्‍यो। हरेक बिहान मृत्युको समाचारसँगै शुरु हुन थाल्यो। के दियो यो युद्धले ? हेर्ने आँखा फरक छन् र केही आँकडाहरू छन्। सरकारी तथ्याङ्क अनुसार करीब साढे १७ हजारले जीवन गुमाए। यी सङ्ख्याभित्र कथा छन्।

एक पत्रकारको रूपमा मैले ती कथालाई नजिकबाट छामेको छु। सशस्त्र संघर्षकालीन ती दिनमा नेपालका विभिन्न गाउँमा पुगेर मैले त्यसबाट पीडित आम जनताको पीडा देखेको छु। दुःख सुनेको छु। त्यसबारे त्यतिबेला कार्यरत सञ्चारमाध्यममा रिपोर्ट लेखेको छु।

जब-जब यो दिन आउँछ मेरो मानसपटलमा युद्धले चिथोरेको समाज, अनाहकमा ज्यान गुमाएका मानिस र शोकमा विक्षिप्त भएका तिनका आफन्तको तस्वीर आउँछ।

मैले देखेका युद्धकालीन कथाहरूमध्ये सधैँ झस्काइरहने कथा भने चिहानको हो।

माओवादीले सशस्त्र संघर्ष शुरु गरेको २६ वर्ष (अन्त्य भएको १५ वर्ष) पुगेको यो दिनमा म त्यही चिहानको कथा सुनाउँदैछु।

 


“राष्ट्रिय मानवअधिकार आयोगले भोली धादिङमा एउटा चिहान उत्खनन गर्दैछ।”

२६ पुस २०६२। एकाबिहानै आएको फोनले म सन्नँ भएँ। फोन थियो मानवअधिकार आयोगमा केही वर्षदेखि संरक्षण अधिकृतका रूपमा कार्यरत घनिष्ठ मित्र वासुदेव शर्माको। उनले जे भने त्यसले मेरो शरीरमा एकैपटक हजार भोल्टको करेण्ट प्रवाह गर्‍यो। भनेका थिए– “त्यो डेढ वर्षदेखि बेपत्ता १५ वर्षीया किशोरीलाई गाडेको चिहान हो। सेनाले राति घरबाट लगेर चौतारामाथि गाडेको रहेछ। आयोगले पुरानो कङ्काल खाल्डोबाट निकाल्दै छ।”

सुन्नासाथ त अवाक् भएँ। तर पेशाले मौन रहन दिँदैनथ्यो। सोधिहालेँ, “के म त्यसको स्टोरी गर्न जान सक्छु। हामी गयौँ भने आयोगले काम गर्न बाधा ठान्छ कि ठान्दैन होला ?”

मेरो जिज्ञासा वासुजीले प्रष्ट जवाफ दिनसक्ने थिएन तर आफ्नो आचारसंहिताको सीमा चाहिँ बताए, “हाम्रै टीममा जान चाहिँ मिल्दैन। आफ्नै हिसाबले त्यहाँ पुग्दा त तपाईंलाई कसले काम गर्नबाट रोक्ला र !”

माओवादी सशस्त्र द्वन्द्वको अन्तिम वर्षतिरको कुरा थियो यो। राजा ज्ञानेन्द्रको ‘शाही शासन’ थियो देशमा। माओवादी द्वन्द्वको दबाब राजधानी काठमाडौंले समेत महसुस गर्न थालिसकेको थियो।

आयोगमा शाही सरकारले नियुक्त गरेका पदाधिकारी थिए। मानवअधिकार रक्षाका लागि कटिबद्ध त्यहाँको कर्मचारीतन्त्र र शाही सरकारको नियुक्ति खाएका पदाधिकारीबीच पनि आशंका थियो तर पनि ‘एक्टिभिस्ट’ कर्मचारीहरूले लतारेर लगेका थिए– आयोगका पदाधिकारीलाई।

उक्त घटना नेपालमा चिहान उत्खननको पहिलो अभ्यास थियो। मैले केही महिनाअघि मात्र राजधानीको एक होटलमा एउटा द्वन्द्वग्रस्त अफ्रिकी मुलुकमा सामूहिक चिहान उत्खनन गरी मानवकङ्कालहरू निकालेको ‘डकुमेन्ट्री’ हेरेको थिएँ। भावुक भएको थिएँ– त्यो हेरेर। कल्पना गरेको थिएँ– नेपालमै त्यस्तो दारुण दृश्यको।

शायद् थाहै नपाई म मानसिक रूपमा तयार पनि भएको थिएँ– त्यस्तै दर्दनाक घटनाको ‘फिल्ड रिपोर्टिङ’ गर्न। त्यसैले वासुजीको फोन काटिएलगत्तै म उक्त डकुमेन्ट्रीको दृश्य स्मरण गर्दै आफूलाई धादिङसम्म जान तम्तयार पार्दै थिएँ।

हतार–हतार खाना खाएर अफिस दौडिएँ। मंगलबारको दिन थियो। त्यसबेला म कान्तिपुर पब्लिकेशन्सको ‘नेपाल’ म्यागेजिनमा कार्यरत थिएँ जुन हरेक आइतबार प्रकाशित हुन्थ्यो। बुधबार चिहान खनेको घटना चार दिनपछिसम्म ‘एक्सक्लुसिभ’ नरहन पनि सक्थ्यो।

तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन्स पुगेलगत्तै अग्रज फोटोपत्रकार चन्द्रशेखर कार्की (दाइ) सँग सल्लाह गरेँ। मेरो सूचनाले उनी जोशिए। दुई जना जाने सल्लाह भयो। कहाँ जाने ? किन जाने भन्ने दैनिक पत्रिका– कान्तिपुर, काठमाण्डूपोस्टमा कार्यरत साथीहरूसँग पनि गोप्य राख्नु थियो। अनि फेरि कार्यालयकै गाडी लिएर ‘फिल्ड’ मा पुग्नु पनि थियो।

हामी दुईको योजना बन्यो– अफिसको गाडी लिएर मानवअधिकार आयोगको टोलीलाई ‘फलो’ गर्दै धादिङ जाने। त्यसै अङ्कदेखि ‘नेपाल’को सम्पादक फेरिएका थिए। सुधीर शर्मा सम्पादकबाट अघिल्लो सातामात्र बाहिरिएका थिए। नयाँ सम्पादकको नेतृत्वमा नयाँ अंक निस्कँदै थियो। पहिलेदेखि काम गर्नेहरूका लागि त्यति अनुकूल थिएन– वातावरण। तर पनि काम त गर्नु थियो।

प्रशासनबाट गाडी बन्दोबस्त गरियो– ‘एक्सक्लुसिभ रिपोर्टिङ’ मा जाने भनेर। भोलिपल्ट बिहानै जाने व्यवस्था भयो। चालक राजकुमार श्रेष्ठ खटिए– हामी जाने गाडीमा।

त्यहाँ पुग्दा देखेँ, चौतारोभरि मान्छे जम्मा भएका रहेछन्। सबैका अनुहार निन्याउरा थिए। आँखा टिलपिल। चौतारोमा भेला भएकाहरूको पीडा सबै आँशु भएर बग्ने हो भने शायद खानीखोला पनि त्रिशूलीजत्रो हुन्थ्यो होला। युद्धले चिथोरेको अनुहारमा मुस्कान कसरी आश गर्न सकिन्थ्यो र ? तर हामीलाई रुने छुट थिएन।

वासुजीसँग जाने ‘लोकेसन’ सोधिसकेको थिएँ– धादिङको धार्केबाट उत्तरपट्टि केवलपुर जाने बाटोबाट उकालो चढ्नुपर्छ। त्यसैले हामी पिछा गर्न आयोगको टोलीभन्दा अगाडि नै नौबीसे पुग्ने योजना बन्यो।

आयोगको अनुसन्धान टोलीमा अधिकृतहरूसहित त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठ र डा. हरिहर वस्ती पनि टोलीमा थिए। डा. वस्ती मेरा पूर्व परिचित थिए। आयोगको टोलीका अधिकांश अधिकृतहरूसँग मेरो मित्रता थियो।

ठूलै टोली थियो, आयोगको। दुई जना चिकित्सकसहितको मानवअधिकार आयोगको टोली पुस २७ गते धादिङको केवलपुर हिँड्यो। नौबीसे अलि नपुग्दै पिछा गर्न बाटोमा पर्खिएर बसेका थियौँ हामी।

गाडी पछ्याउँदै

करिब एक घण्टा कुरेपछि आयोगको सम्पूर्ण बन्दोवस्तीसहित आएको ‘बलेरो’ गाडी हामीलाई नाघेर अघि लाग्यो। हामी पिछा गर्न थाल्यौँ।

नौबीसे कटेर धार्के पुगियो। पिछा गरेको थाहा पाएछन्, आयोगका ड्राइभरले। हामीले पिछा गरे/नगरेको जाँच्न उनीहरू सीधै मुग्लिनतिर लागे। हामी पनि पछि–पछि गयौँ। हामीलाई थाहा भइसकेको थियो– उनले थाहा पाएको।

करिब तीन किलोमिटर अगाडि गएपछि आयोगको गाडी रोकियो। हामी पनि अडियौँ। उनीहरू पुनः धाकतिर्रे फर्के। हामी पनि फक्र्यौं।

धार्केमा आयोगको टोलीले खाजा खायो। हामी पनि छुट्टै बसेर खाजा खायौँ। त्यसपछि गोप्य सहमति भयो– हामी आयोगको टोलीभन्दा आधा घण्टा पछि त्यहाँबाट हिँड्ने। सोहीबमोजिम बलेरोभन्दा आधा घण्टापछि हामी केवलपुरको उकालो लाग्यौँ।

धूले कच्ची बाटो थियो। हामीसँग मारुती भ्यान थियो। हाम्रो गाडी आचार्यपोखरी नजिकको घटनास्थल पुगेपछि आश्चर्य माने, बलेरोमा गएकाहरूले। शायद उनीहरूलाई लागेको थियो– मारुती भ्यान यहाँसम्म आउन सक्दैन भन्ने। तर हाम्रा चालक राजकुमारको जोशले हामीलाई त्यहाँ पुर्‍यायो।

त्यहाँ पुग्दा देखेँ, चौतारोभरि मान्छे जम्मा भएका रहेछन्। सबैका अनुहार निन्याउरा थिए। आँखा टिलपिल। चौतारोमा भेला भएकाहरूको पीडा सबै आँशु भएर बग्ने हो भने शायद खानीखोला पनि त्रिशूलीजत्रो हुन्थ्यो होला। युद्धले चिथोरेको अनुहारमा मुस्कान कसरी आश गर्न सकिन्थ्यो र ? तर हामीलाई रुने छुट थिएन।

चौतारोमा त पुग्यौँ तर उत्खननमा आएका डाक्टरहरूले ‘मिडिया आएकोले काम गर्न नसक्ने’ भनी आयोगका पदाधिकारीसँग भनेको थाहा भयो।

डा. वस्तीलाई भेटेर मैले भनेँ, “तपाईंहरूले आफ्नो एरिया घेर्नुस्, हामी त्योभित्र पस्दैनौँ तर तपाईंहरूले मलाई तिम्रो काम गर्न पाउँदैनौ भन्न मिल्दैन। यदि तपाईंहरूको अनुहार छाप्न मिल्दैन भन्नुहुन्छ भने त्यो पनि स्वीकार्य छ।”

त्यसपछि सहमति भयो – ‘उहाँहरूले टाँगेको डोरीभित्र हामी नपस्ने। उहाँहरूले हामीलाई काम गर्न पाउँदैनौ भनेर बाधा नगर्ने !’

आयोगले चिहान खन्न शुरु गर्‍यो। हामीले पनि डोरीको क्षेत्रबाहिरबाट काम थाल्यौँ।

दानवहरूको राज्य’

शव निकाल्न त्यहाँ टोली पुग्दा वातावरण भावुक थियो। युवा त त्यति देखिएनन् तर अधबैंसे, वृद्ध र महिला–केटाकेटी चौतारोमा जम्मा भएका थिए।

सरलाका हजुरबा भैरवबहादुर चिहानभन्दा करिब ४० मिटर टाढा बसेर खाल्डोतिर हेर्दै थिए। आँशु लुकाउने प्रयासमा थिए उनी। उनी यसरी अचल बसेका थिए मानौँ शालिक हुन्।

नातिनीको अस्थिपञ्जर हेर्न पनि गएनन् उनी। कुराकानीका क्रममा एकपल्ट मात्र आँशु खसालेका उनले भने, “यो दानवहरूको राज्यजस्तो लाग्छ। मानव भए यस्तो पाप हुँदैनथ्यो।”

चिहानबाट सेतो  सल र खैरो  कुर्ता–सलवार लगाएको मानव अस्थिपञ्जर निकालियो। त्यो कपडाका आधारमा सरलाकै शव भएको पिता भक्तबहादुरले चिने। उनले भने, “कपडा, चप्पल, टाउको र दाँतको बनावटसम्मले त्यो शव मेरै छोरीको हो भन्ने चिनिन्छ। कपाल बाँधेको रबरसम्म उसैको हो।”

सैनिकले ओछ्यानबाट लगेका थिए किशोरी

सरलाका पिता भक्तबहादुर छोरीको चिहान उत्खननमा आयोगका टोलीलाई सघाइरहेका थिए।  ७१ वर्षीय हजुरबा भैरवबहादुर चिहान खनेको दृश्य हेर्दै थिए। आँशु लुकाउन खोजिरहेका थिए– हजुरबा।

आँशु पनि सिद्धिएको थियो होला– हजुरबा भैरवबहादुरको। उनी एकहोरो टोलाइरहेका थिए– नातिनीको चिहान खनेको। म साहससाथ उनीसमिप गएँ। पेशाको धर्मबमोजिम उनलाई सोध्न थालेँ– सरलालाई घरबाट लैजाँदाको रातको घटना। मैले सोध्दै गएँ। हजुरबाले बताउँदै गए।

०६१ असार मसान्तको रात। त्यस्तै ११ बजेको हुँदो हो। धादिङ जिल्लाको जीवनपुर–१, छापगाउँस्थित भैरवबहादुर सापकोटा (त्यतिबेला ७१ वर्षका) को घरमा ढोका ढक्ढक्याएको आवाज आयो। कसैले बोलायो।

“बाहिरबाटै सोध्यो, तपाईंको नाम के ? सापकोटा हो ?”, उनले जवाफ दिए, “हो।”

नातिनीको अस्थिपञ्जर हेर्न पनि गएनन् उनी। कुराकानीका क्रममा एकपल्ट मात्र आँशु खसालेका उनले भने, “यो दानवहरूको राज्यजस्तो लाग्छ। मानव भए यस्तो पाप हुँदैनथ्यो।”

उनीमध्ये एउटाले भन्यो, “हामी आर्मीका मान्छे हौं, ढोका खोल्नुस्।”

बिरामी बूढा आफैँले बत्ती बाले, ढोका खोले।

“छोरो लुकाएर आफ अघि सर्ने”, बूढालाई पनि घिच्रामा समातेर मुन्ट्याइहाले, “फलानो थोक गर्ने बूढा भन्दै भित्र लग्यो।”

“सरलाको बाउ (भक्तबहादुर) थिएन। मचानमा कान्छो छोरो सुतेको थियो। त्यो को ? भन्यो। मैले कान्छो भनेँ। दाजु भगाएर तँ सुत्ने ? बाहिर निस्की भन्यो।”

भैरवबहादुरका माइला छोरा शिव सापकोटा (त्यतिबेला २७ वर्षीय) पनि बेपत्ता थिए। माइलो छोरालाई यसअघि नै बेपत्ता पारेकाले कान्छोलाई पनि अब मार्ने भए भनेर भैरवबहादुर आत्तिए। उनले सुनाएका थिए, “‘माइलो पनि बेपत्ता बनायौ, नौ महिना भो मरे–बाँचेको थाहा छैन। यसलाई नि मार्छौ ? सबै निखार्ने र’छौ, मार्ने भए भित्रै मार !’ भनेर कराएँ। त्यसपछि नातिनीको ओछ्यानमा पुगे।”

भैरवबहादुरका दुई जना नातिनी सँगै सुतेका थिए, सरला (जेठो छोराकी छोरी) र मेनुका (छोरीकी छोरी)।

“ओढ्ने पल्टायो र भन्यो, ‘सरला भनेको तँ होइनस्’, ऊ डराएर बोल्न सकिनँ। मलाई त नाउँ नि था’थेन। काली भन्थें, सानी भन्थें, माया गरेर। स्कुलमा सरला लेखेको र’छ। मैले सरला होइन भनेँ।”, वृद्ध भैरवबहादुरले सुनाए, “ओछ्यानबाट उठाए, तल झारे। केही नगर, नलैजाऊ भनेर बूढीआमा र अर्की नातिनी झुन्डिए, रोए, कराए तर छाडेनन् । नाम्लोको बलियो फुकाएर दुवै हात बाँधे। ‘हात बाँध्न पर्दैन, मार्नैपर्ने नियममा छ भने मार बरु, यसले केही गल्ती गरेकी छैन’ भनेँ। हाम्रो कुरा सुनेनन्। बाँधेर लिएर हिँडे।”

हिँडाउने बेलामा सुरक्षाफौजलाई भनेको वाक्य उनी सम्झिरहेका थिए्, “बाटोमा मारौला नि पनि भने।”

सैनिकको जवाफ सुनाए, “हामीले मार्न लाने होइन, दुई–चार दिनपछि खबर गर्छौं भने।”

हिँड्ने बेलामा लैजाने मान्छेले  ढोका खोल्ने बेलामा आफूहरू सेना भएको परिचय दिएको हजुरबाले सम्झिरहेका थिए तर कहाँबाट आएको भन्ने चाहिँ बताएका थिएनन्। सबैको अनुमान थियो, “बैरेनी ब्यारेकबाटै आएका होलान्। त्यसताका सैनिकहरू त्यस क्षेत्रमा निकै घुम्ने गर्थे।”

त्यसरी लगिएकी छोरी त्यसपछि बेपत्ता भएकी थिइन्।

कोदालो माग्न मध्यरातमा

तथ्यहरू खोज्ने क्रममा दिमागमा अनायास आयो, ब्यारेकबाट एक जना आत्मसमर्पणकारीसहित आएको सेनाको टोलीले कोदालो बोकेर त पक्कै आउँदैन। कोदालो सबैभन्दा नजिकको घरबाटै ल्याएको हुनुपर्छ।

एउटी किशोरीलाई सोधेँ। होमबहादुर राना भेटिए। रानालाई सोध्दा उनले त्यो कहालीलाग्दो रातको घटना बताए।

२०६१ सालको साउने संक्रान्तिको अघिल्लो रात। मध्यरातको एक–डेढ बजेको हुँदो हो, कसैले होमबहादुर राना (रान्दाइ) को ढोका ढक्ढकाए।

तीन–चार जना अपरिचित ठिटाहरू रहेछन्। गाउँमा ‘रान्दाइ’ भनेर चिनिने रानाले झयालबाट हेरे तर डरले ढोका खोलेनन्।

चौबाटोमा अलपत्र माओवादी

“किन आएको मध्यरातमा ?”, रान्दाइले आउनुको कारण सोधे। ठिटाहरूले कोदालो र खुर्पा मागे।

साउने संक्रान्ति मनाउन आएका १५/१६ जना चेलीबेटी आएका थिए– उनका घरमा। उनले मनमनै चिने– सैनिक भनेर। सोचेछन्– कोदालो र खुर्पा एक–डेढ सय रुपैयाँको त हो नि !

“को हौ ?” भन्ने पनि नसोधी झ्यालबाटै दुईटा कोदालो र एउटा खुर्पा झारिदिए। ढोका खोलेनन्।

त्यसपछि चूपचाप ओछ्यानमा त पल्टिए तर रातभरि सुत्न सकेनन्। त्यसबेला ५५ वर्षीय होमबहादुर रानाले सुनाए, “रातभरिको त के कुरा सर, एक महिना निद्रा लागेन।” घरभरि पाहुना भएकाले बाहिरको आवाज भने केही सुनेनन् उनले।

चार दिनपछि रान्दाइले सुने, “छापगाउँका भक्तबहादुर सापकोटाकी छोरी सरलालाई राती घरबाट सेनाले समातेर लगे रे !“

ओछयानबाट उठाए, तल झारे। केही नगर, नलैजाऊ भनेर बूढीआमा र अर्की नातिनी झुन्डिए, रोए, कराए तर छाडेनन् । नाम्लोको बलियो फुकाएर दुवै हात बाँधे। ‘हात बाँध्न पर्दैन, मार्नैपर्ने नियममा छ भने मार बरु, यसले केही गल्ती गरेकी छैन’ भनेँ। हाम्रो कुरा सुनेनन्। बाँधेर लिएर हिँडे।”

‘आफ्नै पल्लो गाउँकी छोरी, यही बाटो स्कुल जान्थी, के भयो होला नि !’ यस्तै सोचे, रान्दाइको मन पिरोलियो। उनको मनमा चिसो पस्यो।

घरमास्तिर (करिब एक सय मिटरपूर्व) को मैदानचौतारोमा सिनोको गन्ध आयो। झाडीनजिकै खनेको खाल्डोमा झिंगा भन्केको पनि देखे उनले तर यसबारे मुख खोल्ने आँट गर्न सकेनन्।

नजिकका हितैषीलाई उनले भने पनि, “चौतारोमा झिँगा भन्किन्छ, गन्ध आयो। मेरो घरमा यसरी आएर कोदालो लगेका थिए।”

पल्लो गाउँकी छोरी बेपत्ता भएको सुनेका साथीभाइले उनलाई भने, ‘चूप लाग्, तँलाई पनि मार्लान्।”

सोझा रान्दाइको मुख बन्द भो।

“त्यसपछि मुख खोलेनौँ”, संक्रान्तिको अघिल्लो रातको घटनाबारे पहिलोपल्ट मसँग भनेको रान्दाइले बताएका थिए।

छापगाउँ सापकोटाकी छोरी यसरी घरबाट सेनाले लगेकी, बेपत्ता भई भन्ने खबर एक महिनापछि रान्दाइले पनि सुने। उनले मनमनै अनुमान गरिसकेका थिए, “पक्कै पापीहरूले मारेर यहीँ पुरे है, तामाको मुनाजस्ती त्यो छोरीलाई। गर्नु–नगर्नु के–के गरे होलान् !”

पाण्डेगाउँका महिला र केटीहरूबीच पँधेरामा पनि खासखुस चल्यो। १५ वर्षकी किशोरी रञ्जना पाण्डेले सुनाइन्, “हामीले पँधेरामा सुनेको ! सरलालाई यस्तो गरे भनेर। यत्रो–यत्रो टाउको भएका सेनाका मान्छे आएर गाउँका मान्छे कुटेको देखेका थियौँ। डरले कसैलाई भनेनौँ।”

स्कुलमा पनि केटाकेटीले आपस खासखुस गरे तर उनीहरूका आमा–बाले मास्टरलाई पनि बताएनन्। डेढ वर्षसम्म यो घटना स्थानीय केही मान्छेको मनभित्रै गुम्सेर रह्यो।

छोरी खोज्ने क्रममा भेटियो चिहान

सरलाको आमाको मृत्यु भएको एक वर्ष मात्र बितेको थियो। सरला त्यसपछि विद्यालय जान छोडेकी थिइन्। १५ वर्षकी किशोरी सरलाकी सात कक्षा पढ्दाकी सहपाठी रञ्जनाले सुनाएकी थिइन्, “एकपल्ट भेट्दा ’साथी, किन पढ्न नआको’ भन्दा “अब नपढ्ने’ भनेकी थिई।”

त्यस दिन बेसीखेतमा धान  (चैतेधान) काटेको थियो। धन्दा सक्दा अबेर भयो। त्यसैले हजुरबाकै घरमा सुतेकी थिइन्।

गाउँको घरमा सुतेका सरलाका पिता भक्तबहादुरले भोलिपल्ट मात्र थाहा पाएका थिए छोरीलाई सैनिकले लगेको। बैरेनी ब्यारेकमा बुझ्दा केही जानकारी आएन।

उनले मानवअधिकार आयोगमा उजुरी दर्ता गरे तर पत्नीको भर्खरै मृत्यु भएका भक्तबहादुरका भाइ र छोरी बेपत्ता थिए। आफूलाई पनि लग्यो स–साना छोराछोरीको बिजोग हुन्छ भन्ठानेर  खुलेर खोज्न जान पनि नसकेको बताएका थिए। उनी पनि पटक–पटक पक्राउ परिसकेका थिए।

एक वर्षअघि श्रीमती बितेको, १२ वर्षीया छोरी र १० वर्षको छोराका पिता भक्तबहादुरले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) मा पनि उजुरी हाले। छोरी खोज्न लागेका उनले करिब डेढ महिनाअघि २२ मंसीर ०६२ मा सुनेका थिए–  मैदानचौतारोनजिक लास गाडिएकोबारे।

छोरीलाई त्यस ठाउँमा गाडेको हुनसक्छ भन्ने खबर सुन्दा छाँगाबाट खसेजस्तो भएको बताउने भक्तबहादुरले भनेका थिए, “मिलको भारी बोकेर आएँ। चौतारोमा बिसाएर यतातिर सबै हेरें, केही देखिनँ।”

७ पुस २०६२ मा आईसीआरसीका दुई जना प्रतिनिधि जीवनपुर पुगेका थिए। भक्तबहादुरले बेपत्ता छोरीको अवस्थाबारे आफूले सुनेको कुरा बताए। आईसीआरसीका प्रतिनिधिले सोधे। २०–२५ जना गाउँलेसहित मैदानचौतारो आएर खोजे।

एक ठाउँमा खनेर हेरे, भेटेनन्। काँडाघारीको छेउमा नयाँमाटोको चिनो देखियो। सरलाले लगाएको कपडा र हड्डी देखियो। त्यसपछि त्यत्तिकै परेर छाडियो। बेपत्ताबारे खोजबिन गरिरहेको जानकारी पाएपछि दुई जना चिकित्सकसहितको मानवअधिकार आयोगको टोली २७ पुसमा धादिङको केवलपुर गएको थियो, जसले सरलाको शव उत्खनन गरी कङ्काल लिएर फर्किएको थियो।

सम्पादकले (न)दिएको ‘भ्यालू’

रिपोर्टिङ गरेर बुधबार ल्याइएको सामग्री आइतबारसम्म ‘एक्सक्लुसिभ’ नै राख्नुपर्थ्यो किनकि मेरो जिम्मेवारी ‘नेपाल म्यागेजिन’मै थियो। आइतबारको नेपालमा उक्त स्टोरी छापियो– ‘चिहानमा भेटिइन् चेली’ शीर्षकमा। उक्त स्टोरी एक्सक्लुसिभ त रह्यो तर ‘कभर स्टोरी’ बनेन। यो अंकको नेपालको कभर स्टोरी थियो– ‘किनमेल क्रान्ति’। जो राजधानीका विजनेश मलको स्टोरी थियो । ‘नेपाल म्यागेजिन’का सम्पादकले त्यो स्टोरीलाई दिएको ‘भ्यालु’ देखेर उनीप्रति ‘दया’ लाग्यो।

कान्तिपुर पब्लिकेसन्सकै प्रकाशन ‘द काठमान्डु पोस्ट’का सम्पादक थिए– प्रतीक प्रधान। उनले उक्त स्टोरी अंग्रेजीमा अनुवाद गरेर ‘द काठमान्डु पोस्ट’ को मुख्य समाचार बनाए।

मेरा पूर्वसहकर्मी शेखर खरेलले ‘द काठमान्डु पोस्ट’  मा स्टाेरी अंग्रेजीमा छाप्न सुझाएका थिए– सम्पादक प्रधानलाई ।  त्यसलाई अंग्रेजीमा उत्कृष्ट अनुवाद गरेका थिए– मित्र विकास संग्रौलाले। भोलिपल्ट ‘काठमान्डु पोस्ट’ मा मेरो बाइलाइनमा उक्त स्टोरी छापियो। त्यसपछि बल्ल मानवअधिकार जगतमा हल्लीखल्ली मच्चियो। मेरो पनि दिलखुश भयाे।

म त्यसबेला प्रतीक दाइले मलाई शान्त्वना दिँदै व्यंग्य गरेर भनेको सम्झन्छु, “पत्रिकाको आवरण हेर्दा त नछापिनुपर्थ्यो, यो रिपोर्ट । कसरी छापेछन् यसका सम्पादकले !”

मैले त्यसबेला घटनास्थलमा भेटेका पात्रहरूमध्ये पनि कतिपयले धर्ती छाडिसके होलान्। माओवादी सशस्त्र द्वन्द्व सकिएको १५ वर्षपछि ती दिन आफूले गरेका काम सम्झँदा गौरव लाग्छ। अनि नेपाली समाजका दुःख देख्दा लाग्छ– अब कहिल्यै देशले त्यस्तो दिन फेरि व्यहोर्नु नपरोस्।


Comment

One thought on “‘जनयुद्ध’को स्मृतिसँगै झस्काइरहने चिहान

  1. अहिले ती कथाहरुको महत्व झन बढेको छ। त्यत्रो घटना,त्यति धेरै कुकर्मका नायकहरु राजनेता बनेका छन।जनतालाई दुधभातको खोला बग्ने सपना देखाए।आपसमा लड्न भिड्न सिकाए।खोस्न लुट्न सिध्याउन र आतंक मच्चाउन सक्नेलाई आफ्नो प्रियजन बनाएर तिनको घेरामा रमाउन पो रहेछ यत्रोविधि संत्रास।समाजलाई अविश्वास निराशा र आक्रोशको ज्वालामा होमेर नयाँ व्यवस्था र पुरानै शत्ताको हेपाइतिका प्रकाण्डहरु सखाप नहुन्जेल दुनियाँलाई सम्झाइरहनु पर्छ निर्दोष सरलाका कथाहरु।उनीहरुको निष्कपट बलिदानलाई सम्झिरहनु पर्छ।धन्यवाद प्रिय मित्र माधवजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved