इन्जिनियरिङ कलेज ठगी प्रकरण

विद्यार्थीले कलेजमा बुझाएको पैसा खल्तीमा हाल्थे लम्बोदर

न्यौपाने कलेजको अध्यक्ष छँदा भर्ना हुन आउने कतिपय विद्यार्थीलाई कलेजको प्रशासन शाखामा विधिपूर्वक भर्ना नगराई आफैँले नगद रकम लिएको भन्दै उजुरी परेको भेटिएको हो।

नेपालभ्युज

विद्यार्थीले कलेजमा बुझाएको पैसा खल्तीमा हाल्थे लम्बोदर

काठमाडौं। इन्जिनियरिङ पढाइमा नामी कलेज मानिने नेपाल इन्जिनियरिङ कलेज (एनईसी) भक्तपुरको विवादमा चर्चामा छन्, सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने। लामो समयको अनुसन्धानपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी विरुद्ध मुद्दा दायर गरेपछि उनका गलत क्रियाकलापको चर्चा भइरहेका छन्।

सार्वजनिक संस्थाको सम्पत्ति हत्याउन खोजेको आरोपमा बिहीबार उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। कलेजको कोषको रकम ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेका उनले लाखौँ रकम कलेज कोषमा आउनबाट रोकेर आफैँले लिँदै आएको समेत खुलेको छ। १२ करोड ८४ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएका उनीविरुद्ध केही विद्यार्थीले समेत आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय भक्तपुरमा उजुरी हालेको भेटिएको छ।

न्यौपाने कलेजको अध्यक्ष छँदा त्यहाँ भर्ना हुन आउने कतिपय विद्यार्थीलाई कलेजको प्रशासन शाखामा विधिपूर्वक भर्ना नगराई आफैँले नगद रकम लिएको भन्दै उजुरी परेको भेटिएको हो।

इन्जिनियरिङ कलेज ठगी प्रकरण : लम्बोदर न्यौपानेविरुद्ध मुद्दा दायर

‘भर्ना गर्दा शुल्क लिएको बिल माग्दा पछि दिन्छु भनिएको र पछि पटक पटक माग्दा समेत नदिएको’ भन्दै उजुरी परेको छ। यसरी धेरै विद्यार्थीसँग उनले यसरी पैसा असुलेर कलेज कोषलाई क्षति पुर्‍याएको वर्तमान सञ्चालक समितिका सदस्यहरू बताउँछन्। विद्यार्थीहरूले उजुरीमा पैसा तिरेको बिल माग्दा घरमै जाँदा समेत नदिएको गुनासो गरेका छन्।

जबकि उनै न्यौपानेले ‘कलेजमा विद्यार्थी भर्ना गर्दा निर्धारित शुल्कभन्दा न्यून रकम जम्मा गरी बाँकी पछि बुझाउने सर्तमा भर्ना हुने र पछि त्यो शुल्क कहिल्यै लिन नसक्ने प्रथाले कलेज डुब्ने अवस्था आएको’ बताउँथे। उनी दोस्रो पटक अध्यक्ष हुँदा यस्तो बक्यौता रकम करिब १५ करोड पुगिसकेको माइन्युटमा उल्लेख गरेका छन्।

इन्जिनियरिङ कलेज आर्थिक हिनामिना प्रकरण: अभियुक्तलाई उन्मुक्ति दिन चलखेल

अझ रोचक त के भने यस्तो बक्यौता रकम उठाउन सहयोग गर्नेलाई उनले पुरस्कार भन्दै रकम खर्च गर्ने अधिकार आफैँमा राखेका थिए। बक्यौता रकम उठाउन सहयोग गरेबापत १५ प्रतिशत रकम खर्च गर्ने अधिकार पनि आफैँलाई दिने निर्णय गराएका थिए। १७ माघ २०७० मा उनले आकस्मिक बैठक राखेर गरेको यस्तो निर्णय गराएको फेला परेको छ।

कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठ भन्छन्, ‘‘न्यौपाने अध्यक्ष हुँदा विद्यार्थीसँग पुरा पैसा असुल्ने तर बिल नदिइएको भेटियो। अनि विद्यार्थीले पुरा पैसा नदिएको भन्ने गर्नुहुन्थ्यो। फेरि ती पैसा उठाउने बहनामा कलेज कोषबाट मनलाग्दी पैसा खर्च गर्न पाउने माइन्यूट गराएको भेटियो।’’

बालुवाटार जग्गा प्रकरण जस्तै सरकारले नै आरोपितमाथि रोक्यो अर्को मुद्दा

लम्बोदरले पत्नीको विदेश जानेआउने हवाई भाडा पनि कलेज कोषबाट खर्च गर्थे

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved