चिनियाँ विश्वविद्यालयले पत्याएका तन्नेरी पुस्ताका नेपाली वैज्ञानिक

नेपालका विश्वविद्यालयमा काम गर्नका लागि चाहिने पहिलो गुण सम्बन्धित विषयमा क्षमतावान र योग्य भएर पुग्दैन। सत्तारुढ दलको झोले कार्यकर्ता बन्नुपर्ने बाध्यता छ। यसैले त उनीहरू भन्छन्, ‘नेपालमा गएर नेताको चाकडी गर्नुभन्दा चीनमा इज्जतसाथ काम गर्नु राम्रो।’

चिनियाँ विश्वविद्यालयले पत्याएका तन्नेरी पुस्ताका नेपाली वैज्ञानिक

बेइजिङ। चीनका ख्यातिप्राप्त विश्वविद्यालयमा नेपाली युवाहरू अनुसन्धानकर्ताको रूपमा काम गरिरहेका छन्। चीनबाटै पीएचडी र पोष्टडक गरेका उनीहरूको अनुसन्धानबाट लोभिएर चिनियाँ विश्वविद्यालयहरूले उनीहरूलाई काम दिएका हुन्।

यतिबेला दर्जन हाराहारीमा नेपाली युवाहरू विभिन्न चिनियाँ विश्वविद्यालयमा सहप्राध्यापक (रिसर्च एसोसिएट्स) का रूपमा कार्यरत छन्। केही चाहिँ चीनमा काम गर्दागर्दै युरोप र अमेरिकातिर फड्किएका छन्।

नेपालीहरूले चीनमा पीएचडीका क्रममा गरेको मिहिनेत, प्राप्त उपलब्धि, अन्तर्राष्ट्रिय विज्ञान जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखहरू, कामप्रतिको लगाव र गरेका आविष्कारबाट प्रभावित भएर चिनियाँ विश्वविद्यालयले उनीहरूलाई पत्याएका हुन्।

चीनको सिचुवानस्थित विश्वविद्यालयबाट पीएचडीका क्रममा चितवनका जनक खतिवडाले दुई नयाँ प्रजातिका भ्यागुता पत्ता लगाएका थिए। इलाम र झापामा उनले नयाँ प्रजातिका भ्यागुता पत्ता लगाएपछि उनलाई उक्त विश्वविद्यालयले उच्च महत्व दिएको थियो। उनको कामबाट चीनमात्र नभएर क्यानडा पनि लोभिएको थियो। फलस्वरुप उनी सिचुवानबाट सोझै क्यानडा हानिए।

चीनमा उच्च ज्ञान हाँसिल गरेका त्यस्ता वैज्ञानिकहरूलाई काम दिने ठाउँ पनि नेपालमा सीमित छन्। विश्व विद्यालयबाहेक इसिमोड, आइयुसिएन, डब्लुडब्लुएफ, जाइका, युएनडिपी, जस्ता अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र परियोजनाहरूमा यस प्रकारका वैज्ञानिकहरूको ज्ञान प्रयोग हुनसक्छ।

त्यसैगरी चीनको कान्सु प्रान्तस्थित विश्वविद्यलयमा वातावरण विज्ञानमा पोष्टडक गरिरहेका दम्पती लेखेन्द्र त्रिपाठी र प्रकृति शर्मा केही समयअघि मात्र बेलायत गएका छन्।

चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता मेधावी नेपाली युवा वैज्ञानिकलाई आफ्नै देशले भने चिन्न चाहेको छैन। उनीहरूको इच्छा अझै पनि नेपाल फर्किएर विश्वविद्यालय लगायतका क्षेत्रमा सेवा गर्ने रहेको छ। नेपालका विश्वविद्यालयमा काम गर्नका लागि चाहिने पहिलो गुण सम्बन्धित विषयमा क्षमतावान र योग्य भएर पुग्दैन। सत्तारुढ दलको झोले कार्यकर्ता बन्नुपर्ने बाध्यता छ। यसैले त उनीहरू भन्छन्, ‘नेपालमा गएर नेताको चाकडी गर्नुभन्दा चीनमा इज्जतसाथ काम गर्नु राम्रो।’

चीनमा उच्च ज्ञान हाँसिल गरेका त्यस्ता वैज्ञानिकहरूलाई काम दिने ठाउँ पनि नेपालमा सीमित छन्। विश्व विद्यालयबाहेक इसिमोड, आईयूसीएन, डब्लूडब्लूएफ, जाइका, यूएनडीपी, जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र परियोजनाहरूमा यस प्रकारका वैज्ञानिकहरूको ज्ञान प्रयोग हुनसक्छ।

सन् २०१२ मा चीनको चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस)बाट पीएचडी गरेका भोजपुरका डीबी कट्‍टेलले जर्मनीबाट पोष्टडक गरे। एक वर्ष जर्मनीमा पोष्टडक गरेपछि सन् २०१३ देखि २०१६ सम्म पाकिस्तानमा विदेशी प्रोफेसरका रूपमा काम गरे। सन् २०१६ देखि उनी चाइनिज एकेडेमी अफ साइन्सेस (क्यास) मा सहप्राध्यापकका रुपमा काम गरिरहेका छन्।

आफूलाई उच्चस्तरीय अनुसन्धान वैज्ञानिकका रूपमा विश्वविद्यालयले नियुक्त गरेको कट्टेल बताउँछन्। भुटानदेखि पाकिस्तानसम्मको हिमालय क्षेत्रमा जलवायु क्षेत्रको अनुसन्धान गरिरहेका कट्टेलका अन्तर्राष्ट्रिय विज्ञान जर्नलमा दुई दर्जन अनुसन्धान आलेखहरू प्रकाशित छन्। उनको एउटा आलेख विश्वकै प्रख्यात जर्नल ‘नेचर क्लाइमेट चेन्ज’मा पनि प्रकाशित छ। उनका अनुसन्धान आलेखहरू २५ सयभन्दा बढी ‘साइटेसन’ भएका छन्।

कट्टेल हिमालय क्षेत्रको जलवायु अन्तर्क्रिया अन्तर्गत वायुमण्डलीय ताप आयामिक विषयमा अनुसन्धान गर्दछन्। उनी मास्टर्स र पीएचडीका विद्यार्थीलाई सुपरीवेक्षण पनि गर्दछन्। चीनमा रहेका २५ प्रतिष्ठित विदेशी युवा वैज्ञानिकका रूपमा सन् २०२१ को फेब्रुअरी २ तारिख कट्टेलले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेट गरी अन्तर्क्रिया गर्ने अवसर पनि पाएका थिए।

बेइजिङकै चाइनिज एकेडेमी अफ साइन्सेसबाट सन् २०१५ मा वनस्पतिशास्त्रमा पीएचडी सकेका नवल श्रेष्ठले पेकिङ विश्वविद्यालयबाट चार वर्षे पोष्टडक गरेका छन्। पेकिङ विश्वविद्यालय विश्वमा १६ औँ स्थानमा छ भने एसियाको पहिलो स्थानमा रहेको छ। श्रेष्ठ पेकिङ विश्वविद्यालयमा पोष्टडक गर्ने पहिलो नेपाली हुन् भने चीनमा रिसर्च अनुदान प्राप्त गर्ने पहिलो नेपाली पनि हुन्। सन् २०१७ मा उनले पेकिङ विश्वविद्यालयबाट चार लाख चिनियाँ युआनको अनुसन्धान अनुदान प्राप्त गरेका थिए।

श्रेष्ठ सन् २०१९ देखि कान्सु प्रान्तको लान्चौ विश्वविद्यालयमा प्रोफेसर सरह पदमा कार्यरत छन्। उनले उक्त विश्वविद्यालयमा जानासाथ १० लाख चिनियाँ युआनको अनुसन्धान अनुदान प्राप्त गरेका थिए।

पीएचडीको अनुसन्धानमा श्रेष्ठले तीन नयाँ प्रजातिका उन्यू पत्ता लगाएका थिए। पोष्टडकमा उनले गुराँसको विषयमा अनुसन्धान गरेका थिए। विश्वमा अफ्रिका र दक्षिण अमेरिकाबाहेक अन्यत्र सबैतिर गुराँस पाइने गरेको श्रेष्ठले बताए।

श्रेष्ठले भने, “विश्वमा एक हजार प्रजातिका गुराँस पाइन्छन् जसमध्ये ६ सय प्रजातिका गुराँस चीनमा पाइन्छन् भने नेपालमा ३२ प्रजातिका मात्र गुराँस पाइन्छन्। यी ३२ प्रजातिमध्ये २ प्रजातिका गुराँसचाहिँ नेपालमा मात्र पाइन्छन्।’

स्याङ्जाका शालिकराम सिग्देलले सन् २०१७ मा बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेस ‘क्यास’बाट पीएचडी र सन् २०२० मा पोष्टडक गरेका छन्। सिग्देल हाल रिसर्चर एसोसिएटका रूपमा क्यासमा कार्यरत छन्। वनस्पतिशास्त्र अन्तर्गत ‘ट्रीलाइन’मा पीएचडी गरेका सिग्देलले वनस्पति इकोलोजीमा पोष्टडक गरेका हुन्।

नेपालका विभिन्न क्षेत्रका वनस्पतिको अध्ययन अनुसन्धान गरेका सिग्देलले विशेष गरी जलवायु परिवर्तनबाट वनस्पतिमा केकस्तो प्रभाव परेको छ भन्ने कुरामा विभिन्न नयाँ तथ्य फेला पारेका छन्। नेपालको उच्च हिमाली क्षेत्रका वनस्पतिमा जलवायु परिवर्तनका अवसरमा उनका अनुसन्धानहरू नेपाल केन्द्रित छन्। सिग्देलले ‘ग्लोबल चेन्ज बायोलोजी’ लगायतका ख्यातिप्राप्त जर्नलमा दुई दर्जनभन्दा बढी अनुन्धान लेखहरू प्रकाशन गरेका छन्।

चिनियाँ विज्ञान प्रतिष्ठानबाटै सन् २०१७ मा पीएचडी गरेका दिपेश रुपाखेतीले लान्चौबाट वातावरणशास्त्रमा सोही वर्ष पोष्टडक शुरु गरेका थिए। सन् २०२० सम्म लान्चौमा पोष्टडक गरेपछि रुपाखेतीले नानचिङको विज्ञान सूचना प्रविधि विश्वविद्यालयमा सहप्राध्यापक सहरको पदमा काम गर्ने अवसर पाएका छन्।

रुपाखेतीको अनुसन्धान क्षेत्र वायु प्रदूषण हो। आफूले वायु प्रदूषणमा गरेको अनुसन्धानबारे व्याख्या गर्दै रुपाखेती भन्छन्, “वायु प्रदूषणमा फरक स्थानमा फरक प्रकृतिको हुने गर्छ। मुख्य गरी वायु प्रदूषणका कारक तत्वहरूमा कोइला, सवारी साधन, मरुभूमिबाट आउने बालुवा कणहरू, आगलागी, इन्धन, कारखानाबाट निस्कासित धुवाँ आदि हुन्।”

वायु प्रदूषणको अनुसन्धान भौतिक पूर्वाधार तथा औद्योगिक विकासको प्रत्युत्पादनसँग पनि सम्बन्धित हुने गरेको उनले बताए। रुपाखेतीका पनि अन्तर्राष्ट्रिय साइन्स जर्नलहरूमा दुई दर्जन हाराहारीमा अनुसन्धानात्मक लेखहरू प्रकाशन गरेका छन्। काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषणमा पनि गहन अध्ययन गरी विभिन्न जनचेतनाका कार्यक्रम फैलाउनुपर्ने रुपाखेतीले बताए।

पाठक ६ वर्षदेखि चीनमा स्टेम सेलमा आधारित हड्डी पुनर्जनन (बोन रिजेनेरेसन)को अनुसन्धान गरिरहेका छन्। अन्तर्राष्ट्रिय साइन्स जर्नलमा पाठकका दर्जनभन्दा बढी अनुसन्धान आलेखहरू प्रकाशन भएका छन्।

सन् २०११ मा चीनको वुहानबाट मास्टर्स गरेका झापाका जनक पाठकले नेदरल्याण्ड र बेल्जियमबाट सन् २०१५ मा ‘बायोमेडिकल साइन्स’ विषयमा पीएचडी गरेका छन्। पोष्टडकका लागि पाठकले पुनः चीनलाई नै रोजे। उनले सन् २०१५ देखि २०१७ सम्म थिआनचिन मेडिकल विश्वविद्यालयमा पोष्टडक गरेपछि सोही संस्थामा एक वर्ष सहप्राध्यापकका रूपमा काम गरे।

एकपछि अर्को अवसर समाउँदै सन् २०१८ मा उनी क्वाङ्चाउ मेडिकल विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा काम गरिरहेका छन्। उनले सन् २०२१ को डिसेम्बेरमा चार लाख चिनियाँ युआनको अनुसन्धान अनुदान पनि प्राप्त गरेका छन्।

पाठक ६ वर्षदेखि चीनमा स्टेम सेलमा आधारित हड्डी पुनर्जनन (बोन रिजेनेरेसन)को अनुसन्धान गरिरहेका छन्। अन्तर्राष्ट्रिय साइन्स जर्नलमा पाठकका दर्जनभन्दा बढी अनुसन्धान आलेखहरू प्रकाशन भएका छन्।

सन् २०१९ को डिसेम्बरमा चीनको कान्सु प्रान्तको लान्चौस्थित चिनियाँ विज्ञान प्रतिष्ठान ‘चाइनिज एकेडेमी अफ साइसेन्स’बाट विद्यावारिधि गरेका विज्ञान न्यौपाने हाल चीनको क्वाङतोङप्रान्तको सदरमुकाम क्वाङ्चौको साउथ चाइना नर्मल युनिभर्सिटीको भूगोल विभागमा ‘डिस्टिङगुइस एसोसिएट रिसर्चर’का रूपमा कार्यरत छन्।

उनको अनुसन्धानको विषय वातावरणीय परिवर्तन रहेको छ।  तालको लेदो माटोमा कालो कार्बन र पारोले पारेको प्रदूषण विगत र वर्तमान उनको विषय हो। न्यौपाने भन्छन् ‘कालो कार्बन र पारो नै वायु प्रदूषणका मुख्य कारक तत्व मानिन्छन्। यस्ता तत्वहरू मुख्य गरी जंगलमा भएको आगलागी, काठ तथा कोइला बाल्दा उत्सर्जन हुने गर्दछन्।’

पीएचडीका क्रममा न्यौपानेले नेपालको हिमालय क्षेत्र र चीनको स्वायत्त प्रदेश तिब्बतका तालको लेदो माटोको नमूना सङ्कलन गरेर अनुसन्धान गरेका थिए। नेपालमा उनले गोसाइकुण्ड र गोक्यो तालको नमूना सङ्कलन गरेर अनुसन्धान विश्लेषण गरेका थिए।

लान्चौबाट पीएचडी गरेपछि शाङहाईको फुतान विश्वविद्यालयले पोष्टडक गर्नका लागि न्यौपानलेलाई आमन्त्रण गरेको थियो। फुतानमा एक वर्ष पोष्टडक गरेपछि उनलाई क्वाङचौस्थित साउथ चाइना नर्मल विश्वविद्यालयले सहप्राध्यापक सो सरहको पदमा काम गर्ने अवसर दिएको हो। न्यौपानेले पनि ४ लाख चिनियाँ युआनको अनुसन्धान अनुदान प्राप्त गरेका छन्।

इलामका कुलराज राईले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ माइक्रोबायोलीबाट सन् २०२० मा पीएचडी गरे। राईको पीएचडीको मुख्य विषय माइक्रोबायोलोजी अन्तर्गत राईले भाइरोलोजी इम्युनोलोजी (विषाणु विज्ञान प्रतिरक्षा प्रणाली) हो।

यतिबेला राई चीनको दक्षिणमा पर्ने फुचियान प्रान्तको फुचियान कृषि तथा वन विश्वविद्यालयमा पोष्टडक गरिरहेका छन्। पीएचडी सकिनासाथ राईलाई उक्त विश्वविद्यालयमा पोष्टडकको अवसर मिलेको हो। उनले अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनभन्दा बढी अनुसन्धान लेखहरू प्रकाशन भएकाले चिनियाँ विश्वविद्यालले उनलाई पत्याएको हो।

विज्ञान विषयमा मात्र नभएर गैर विज्ञान विषयमा पनि नेपालीले चीनमा गरेको अनुसन्धान लोभलाग्दो छ। यसका एक उदाहरण हुने अछामबाट टिकापुर बसाइँ सरेका लोचन बटला।

बटला सन् २०१२ मा फाइनान्स विषयमा एमबीए गर्नका लागि बेइजिङ आएका थिए। बेइजिङको विज्ञान प्रविधि विश्वविद्यालयबाट सन् २०१४ मा फाइनान्स विषयमा एमबीए गरेर एक वर्ष बेइजिङमै इन्टर्नसीपको रूपमा काम पनि गरे।

मास्टर्सको पढाइ र एक वर्षको कामको अनुभव लिएर बटाला सन् २०१५ मा चीनको पूर्वी क्षेत्रमा रहेको आन्हुई प्रान्तको सदरमुकाम हफेइमा रहेको विज्ञान प्रविधि विश्वविद्यालयमा सार्वजनिक प्रशासन विषयमा पीएचडी गर्न गए।

सन् २०१९ मा पीएचडी सकेपछि उनी हनान विश्वविद्यालयमा पोष्टडक गर्न गए। दुई वर्षे पोष्टडक सकेपछि त्यही विश्वविद्यालयमा उनी अहिले सह अनुसन्धान पदमा काम गर्दैछन्। बटाला भन्छन्, “मेरो पद सहप्राध्यापक सो सरह हो तर यहाँ सहप्राध्यापक भनेर विदेशीलाई नदिने हुनाले रिसर्च एसोसिएट्स भनेर दिएका छन्।”

उनी अहिले बीआरआई र दक्षिण एसियाको आर्थिक विकास तथा गरिबी निवारण लगायतका क्षेत्रमा अनुसन्धान गरिरहेका छन्। सामाजिक विकासमा उनी चीन र नेपालको विकासमा पनि तुलनात्मक अध्ययन गरिरहेका रहेछन्। मास्टर्सका चिनियाँ तथा विदेशी विद्यार्थीलाई कक्षा लिने काम पनि गर्ने उनले सुनाए।


Comment

2 thoughts on “चिनियाँ विश्वविद्यालयले पत्याएका तन्नेरी पुस्ताका नेपाली वैज्ञानिक

  1. Great to know that Dipesh Rupakheti and others are contributing significantly in Science and Technology through Chinese Universities.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved