व्यक्तिवृत्त

जसले रोजे- माछापुच्छ्रे, धुवाँ र रात्रीकालीन विम्ब

आठ दशकभन्दा लामो समयदेखि रङ, ब्रस र रेखासँग खेल्दै आएका उनका भूदृश्यबाहेकका कलालाई नियाल्ने हो भने त्यसमा आत्मानुभवको खोजी र आत्मबोधको व्याकुलता सहजै देख्न सकिन्छ।

जसले रोजे- माछापुच्छ्रे, धुवाँ र रात्रीकालीन विम्ब

बितेको ४ पुसदेखि ९० वर्षमा टेके, कृष्णगोपाल रञ्जितले। जोश भने अझै युवाकालीन नै। बिहान एकसरो ‘मर्निङवाक’ सिध्याएपछि रङ र रेखासँग संवाद गर्न थालिहाल्छन्। काठमाडौं, कपुरधारास्थित घरको माथिल्लो तलामा अस्तव्यस्तजस्तो देखिए पनि, कला-सिर्जनाका लागि चाहिने अनेक ‘टुल्स’ हरूसँगै रमाउन थाल्छन्, यी पाका कलासाधक।

रञ्जित भन्छन्, “कला सिर्जना गरिनँ भने म मरेसरह नै हुन्छु। काम नगरी बस्नै सक्दिनँ।”

मंगलबार मध्याह्न। ‘कुमारी’ क्यानभासलाई परिपक्व तुल्याउने उपक्रममा जुटेका थिए, उनी। उही लय र तन्मयका साथ। क्यानभासमा आकार लिँदै थिए- बादलको फुर्को, हिमचुली र केही वनस्पतिले। भन्दै थिए, ‘यो माछापुच्छ्र्रेको ल्याण्डस्केप हो। तर पहिले बनाएको माछापुच्छ्रेभन्दा केही फरक हुनेछ।’

बिहीबारसम्म आइपुग्दा त उनले त्यो सिर्जनाको एकसरो काम नै सिध्याए। कति लोभलाग्दो सक्रियता। नब्बे कटिसक्दा पनि। क्यानभासमा उभ्याए, माछापुच्छ्रे र बादललाई।

पाँच वर्ष छँदादेखि नै कलालाई पछ्याएका उनले समयान्तरमा अनेक प्रयोग अपनाउँदै आए। प्रयोगधर्मी र कर्मी दुवै भन्दा हुन्छ उनलाई। कसै-कसैलाई लाग्ला- कला रङहरूको मात्र संसार हो। प्रयोगरुपी गुफाभित्र प्रवेश गरेर टहलिन उनलाई कसले रोक्ने ? धुवाँबाट पनि उनले कला सिर्जे। धुवाँको बुद्ध, धुवाँकै सरस्वती। दशकअघि धुवाँबाट सिर्जित चित्रकलाको प्रदर्शनीसमेत गरे।

‘धुवाँ’ र ‘रात’। यी दुई फरक कलाशैली र शिल्प प्रयोजनले उनको कला-संसार र चेतलाई पर्गेल्न कुनै कष्ट झेल्नु पर्दैन। सिर्जनामा पूरै डुबुल्की मार्ने स्वभावका रञ्जितले रात्रीकालीन विम्बलाई पनि कलामा उभ्याएका छन्। अत्यन्तै मिहीन र सुस्पष्ट रुपले। भन्छन्, ‘मैले हरेक समयको प्रकाशलाई कलामा समेटेको छु। तर रात्रीकालीन समयको प्रकाशलाई चित्रकलामा उतार्न अरूभन्दा धेरै मिहिनेत गर्नुपर्छ।’
रञ्जितको शिल्पको सबभन्दा ठुलो र प्रशंसायोग्य पक्ष के हो भने, रङहरूसँग खेल्दा उनको प्रकाश-संयोजन उच्च र विशिष्ट देखिन्छ।

माछापुच्छ्रे-मोह
रञ्जितमा माछापुच्छ्रे-मोह अचाक्ली नै छ। उनको त्यो मोह ‘हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न सक्दैन होला’। किन त यस्तो ? सुन्दर नगरी पोखरामा जन्मिएका उनको स्पष्टीकरण छ, “बिहान उठ्ने बित्तिकै आँखामा माछापुच्छ्रे ठोक्किन आइपुग्थ्यो। त्यही भएर मैले माछापुच्छ्रेलाई आफ्नो कला-सिर्जनामा अनगिन्ती पटक सजाएको छु।”

हुन पनि, माछापुच्छ्रेलाई उनले कति रङ, ब्रस र चक्कुले घोटे, यादै छैन। चित्रकलामै भविष्य देखेकी छोरी अस्मिना रञ्जित भन्छिन्, “बुबाले माछापुच्छ्रेको चित्र बनाउँदा चौबीसै घण्टाको प्रकाश संयोजन प्रयोग गर्नुभएको छ। बिहान कस्तो देखिन्छ, दिउँसो कस्तो देखिन्छ र सूर्यास्तअघि कस्तो देखिन्छ, ती सबै समयावधिलाई बुबाले उतार्नुभएको छ।”

अस्मिना भन्छिन्, “बुबाले हिमालको दृश्य-चित्र यस्तरी उतार्नु हुन्थ्यो कि, हामी त्यसलाई हेर्दा चित्र हो कि साँच्चै हिमालको तस्बिर हो भनेर झुक्किन्थ्यौं।”

नेपाल एयरलाइन्ससँगै व्यावसायिकताको थालनी
रञ्जितले कला-रचनामा हिमचुलीलाई प्राथमिकता दिनुमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्रसंग नजोडी धरै छैन। सन् १९५८ मा उनले निगममा जागिरे जीवन प्रारम्भ गरे। एक कलाकारको रुपमा। काम थियो- जहाजमा पेन्टिङ गर्ने। पछिल्लो समय निगमको कला विभाग इञ्चार्ज नै भए।

वायुसेवा निगमको ‘लोगो’ उनले नै बनाउन पाए। भन्छन्, “हरेक दश वर्षमा जहाजको रङ बदलिन्थ्यो। त्यो रङ पनि मैले नै मिलाउनु पथ्र्यो।”

प्रायः जहाज विदेशमा नै रङ्ग्याएर ल्याइन्थ्यो। तर एकपटक भने उनले एउटा ट्विनटरलाई भने पूरै रङ्ग्याउनु पर्‍यो। सम्झिन्छन्, “त्यो सामान्य दुर्घटना भएको एउटा जहाज थियो। त्यो जहाजलाई ट्रकमा बोकाएर ल्याइयो र त्यसलाई इन्जिनियरहरूले मर्मत गरे। निर्देशकले मलाई ‘तिमी पेन्ट गर्न सक्छौ ?’ भनेर सोधे। मैले ‘म त बोइङको पनि पेन्ट गर्न सक्छु’ भनेँ।”

त्यो जहाजको उनले ‘ओभरल पेन्टिङ’ गरे। करीब सवा महीना लगाएर। त्यति समय लाग्नुमा त्यो जहाजको पुराना रङ खुर्किएर नयाँले चिटिक्क पार्नु परेको थियो।

आत्मस्वाभिमानलाई जीवन बाँच्ने सूत्र बनाएका उनले एक दिन निगमबाट बिदा लिए। पूरै २८ वर्ष परिश्रम गरेर। त्यसमा अरू कुनै कारण थिएन। भन्छन्, “मैले त्यत्रो जहाज पेन्ट गरेँ तर मलाई धन्यवादसमेत दिएनन्। त्यही भएर छाडेँ।” किन त ? फेरि भन्छन्, “म कसैकहाँ जीहजुरी गर्न नजान्ने मान्छे परेँ। कसैसामु पनि शिर निहुर्‍याउन आउँदैन मलाई। त्यही भएर धन्यवाद पाइनँ र जागिर छाडेँ।” अर्को चाहिँ, माथिल्लो तहका कर्मचारीले उनको कुरा नसुन्ने र तल्लो तहकाले नटेर्ने। “त्यस्तो ठाउँमा बसेर इज्जत नहुने भएपछि मैले जागिर किन खाइरहनु पर्‍यो ?” भन्छन् उनी।

त्यसो त, निगममा जागिरे रहुन्जेल उनको सान नै अर्कै थियो। निर्देशकहरूले सामान्य चुरोट सेवन गर्थे भने उनले तान्थे, उनकै भाषामा ‘ट्रिपल फाइभ’ अर्थात् ५५५। भन्छन्, “म निर्देशकहरूलाई ५५५ तान्नका लागि अफर गर्थेँ।” त्यो बेलादेखि धूमपान गर्न थालेका उनी अहिले पनि खैनी खान्छन्। भन्छन् ठट्यौलो पारामा, “चुरोट, खैनी खाए क्यान्सर हुन्छ भन्छन्, मलाई अहिलेसम्म केही भएकै छैन।”

मद्यपानका पनि सौखिन हुन् उनी। अलि ठट्टामजाकमा भन्छन्, “मेरो नाम भन्दा कसैले चिन्दैनथे, आर्टिस्टभन्दा पनि कसैले चिन्दैनथे तर ‘त्यो धेरै पिउने छ नि’ भन्दा सबैले चिन्थे। त्यतिसम्म नाम वा बदनाम भएको मानिस म।”

केही वर्ष असममा
पोखरामा जन्मिए पनि बाल्यकालका केही वर्ष उनले बिताए, भारतको असममा। बुबालाई बाथले सताएपछि उपचारका लागि कलकत्ता लागे, सपरिवार नै। पाँच वर्षका मात्र थिए उनीचाहिँ। भन्छन्, “कलकत्ताबाट त्यतैत्यतै असममा गएर बिजनेस गर्न थाल्नुभयो बुबाले। असममा बस्दा मलाई बुबाले किताबहरू ल्याइदिनु हुन्थ्यो। ती किताब हेर्दा मेरो ध्यान चित्रतिर मात्र जान्थ्यो।”

असममा रहँदा एक जना मित-मामा भेट्न आइरहन्थे, बारम्बार। एकपटक उनले स्लेट (खरिढुंगा) मा चकले मूर्ति बनाएर उनलाई दिए। भन्छन्, “त्यो मूर्ति मलाई खुबै मन पर्‍यो। मैले १५ दिनसम्म मेटिनँ। मैले त्यसैलाई कपी गर्दै चित्र बनाएको थिएँ।”

असमको बसाइ त्यति तन्किएन। करीब ४-५ वर्ष मात्रै। किनभने, त्यतिबेला दोस्रो विश्वयुद्धको शुरुआत हुनै लागेको थियो र त्यसको त्रासदी सर्वत्र फैलिएको थियो। सम्झिन्छन्, “त्यतिबेला आकाशमा लडाकु जहाज उड्न थालिसकेका थिए। दुश्मनको हो कि, कसको हो, पत्ता लगाउन सकिँदैनथ्यो। साइरन बज्नासाथ खाल्डोभित्र पस्नुपथ्र्यो। यस्तो भयावह अवस्था देखेपछि हामी सबै पोखरामै फर्कियौँ।”

पोखरा फर्किनमा भने उनको आमाको करले काम गरेको थियो। बुबासामु आमाले भनिन्, “छोराछोरीको भविष्य पनि हेर्नुपर्छ। हामी सबै मर्‍यौं भने के गर्ने ?” त्यसपछि कुम्लोकुटुरो बोकेर पोखरा फर्किए, सबै जना।

कलाप्रति अभिरुचि त असममा छँदै बढिसकेको थियो। पोखरा फर्किएपछि भने पेन्सिल र कापीको अभाव झेल्नुपर्‍यो उनले। भन्छन्, “कहिलेकाहीं पेन्सिल भेट्थेँ र चुरोटको बट्टामा चित्र कोर्न थाल्थेँ।”

राणाकालमै काठमाडौंतिर
नौ दशक टेक्दासम्म उनले विभिन्न शासनकालको आरोह-अवरोहलाई नियाल्न पाए। तत्कालीन समय अध्ययनका निम्ति पोखरामा स्कुल थिएन। पढ्नैका निम्ति उनी काठमाडौं आए- २००४ सालमा। जतिखेर राणा शासनविरुद्ध जनआवाज घनीभूत हुँदै थियो।

उही ठट्यौलो पारामा भन्छन्, “चार सालमा काठमाडौं आएँ, सात सालको क्रान्ति हामीले नै ल्याएका हौं भन्नुपर्‍यो।” अझ, ठट्टा गर्दै भन्छन्, “सात सालको क्रान्तिमा म सबैभन्दा पछाडि थिएँ, नेवारको बच्चा न परेँ।”

काठमाडौंमा पढ्न आएपछि उनले ठूलो दुर्भाग्य बेहोर्नुपर्‍यो। सात वर्ष पूरै बिरामी। कुनै पनि चिकित्सकले उनको रोगको पहिचान गर्न सकेनन्। त्यो बेला डा. हल्दर निकै प्रसिद्ध थिए। राजपरिवारको निजी चिकित्सक। त्यो समय न्यूरोडको रञ्जना हलनजिकै नेपाल मेडिकल नामक अस्पताल थियो। डा. हल्दरसहित चार जना चिकित्सकले हेर्दा पनि रोग पत्ता लगाउन सकेनन्।

पेनसिलिन भर्खरै निस्किएको थियो त्यति बेला। उक्त अस्पतालमा रञ्जित थरकै एक जना कम्पाउन्डर थिए। उनले एउटा औषधि दिँदै भने, ‘यो औषधि खानू, औषधि खाँदा मासुचाहिँ नखानू नि।’ त्यो औषधि खाएपछि त उनको पेटबाट दुई कोपरा जुका निस्कियो। भन्छन्, “त्यसयता मलाई कुनै ठूलो रोग लागेको छैन।”

व्यावसायिक पेन्टिङतिर
६४ वर्षअघि नेपाल एयरलाइन्समा जागिर खान थालेपछि उनको व्यावसायिक पेन्टिङ यात्राले गति लिन थाल्यो। उनलाई व्यावसायिकतातिर धकेल्न एयरलाइन्सको एकजना स्टेवार्डको भूमिका रह्यो। उनले भने, ‘मलाई एउटा साइनबोर्ड बनाइदिनु पर्‍यो।’

कस्तो समय, त्यति बेला साइनबोर्ड बनाउने आर्टिस्ट पाउनै मुस्किल। यट्खामा भने एक जना चाहिँ थिए। भन्छन्, “मलाई साइनबोर्ड बनाउने जिम्मा दिएको बेला म भारततिर घुमिसकेको थिएँ। भारत घुम्दा मैले त्यहाँ व्यावसायिक कलाको विकास भएको देखिसकेको थिएँ। त्यसपछि मैले साइनबोर्ड बनाएँ र त्यसलाई सबैले प्रशंसा गरे।”

त्यो साइनबोर्डले उनको व्यावसायिक कलायात्राको जग नै बसाल्यो। पाको पोखल्ड्याङनिर उनले एउटा पसल नै खोले- रञ्जित आर्ट। झन्डै ६४ वर्षअघि। उनी गर्विलो भाषामा भन्छन्, “मलाई अरूले नेपालको कमर्सियल आर्टको जग बसाल्ने व्यक्ति भन्छन्।”

नेपालमा ठूला-ठूला होर्डिङ बोर्ड बनाउने श्रेय पनि जान्छ, उनैलाई। कलासाधक राधेश्याम मुल्मी सम्झिन्छन्, “काठमाडौं र पोखराका मुख्य चोकहरूमा बाँसमा ठड्याएर उहाँले होर्डिङ बोर्ड राख्न शुरु गर्नुभएको मलाई अझै सम्झना छ।”

एकपटक भारतको एउटा ठूलो कम्पनीले नेपालमा आएर होर्डिङ बोर्डको ‘बिजनेस’ प्रारम्भ गर्‍यो। त्यही कम्पनीका एक जनाले उनलाई भने, ‘एकपटक तपाई होर्डिङ बोर्ड बनाउनुस्, कति फाइदा हुन्छ, हुन्छ, थाहा पाउनु हुनेछ।’

त्यही बेला उनले पाकिस्तान एयरलाइन्सको होर्डिङ बोर्ड बनाउने जिम्मा पाए। त्यो जिम्मा किन पनि पाए भने त्यो एयरलाइन्सले कुनै लोगो बनाउनुपर्दा उनीकहाँ नै धाउँथे। उनले बनाएको दुइटा होर्डिङ बोर्ड रत्नपार्कमा राखेपछि त तहल्कै मच्चियो। भन्छन्, “पाकिस्तानी एयरलाइन्सको होर्डिङ बोर्ड राखेपछि त एयर इन्डियाको नआउने कुरै भएन। पछि त बर्मा एयर पनि आए।”

रञ्जितको विशेषता के छ भने, आफूलाई चाहिने उपकरणहरू आफै बनाउँछन्। ब्रस होस्, चक्कु होस् वा क्यानभास नै। सबै बनाउँछन् आफैले। आफूद्वारा सिर्जित कलालाई मिहीन रुपले सिँगानुपर्ने भएको हुँदा बजारबाट खरिद गरेका उपकरणहरूले उनको सिर्जनालाई शोभायमान तुल्याउँदैन। भन्छन्, “कतिपय उपकरणहरू त विदेशी नै छन्, तर त्यसलाई मैले आफ्नै शैलीमा ढालेर काम गर्दै आएको छु।”

आफ्नै क्यानभास, आफ्नै कला
नेपाल एयरलाइन्सबाट बिदाबारी भएपछि उनले चित्रकलामा अझै खारिएर लाग्ने विचार गरे। व्यावसायिक र कलात्मक दुवै हिसाबले। तर केही प्राविधिक समस्या भने झेल्नुपर्‍यो। कुनै रङ तयार पार्दा त्यही दिन नै त्यसलाई पेन्टिङमा प्रयोग गरे भने मात्र उपयोगी हुन्थ्यो। नभए जान्थ्यो खेर।

पछि त उनले आफूले तयार पारेको रङलाई कुनै टुथपेस्ट कम्पनीको पेस्टभित्र राख्न थाले र त्यसैलाई प्रयोग गर्न थाले। भन्छन्, “टुथपेस्टको बट्टामा रहेको हावालाई पूरै निकाल्नुपर्छ र त्यसलाई खँदिलो बनाएपछि त्यो पछिसम्म काममा आउँछ।”

टेबुलमाथिको एउटा लामो क्यानभासलाई मुसार्दै भन्छन्, “मैले विदेशी क्यानभासबाट धेरै धोका पाएँ, त्यही भएर अचेल आफैले तयार पारेको क्यानभासमा मात्र पेन्टिङ गर्दै आएको छु।”

हुन पनि, उनले विदेशी क्यानभासबाट धेरै नै धोका पाए। एउटा पेन्टिङ अमेरिका पठाएका थिए। फिर्ता आयो। क्यानभास पूरै कमसल परेपछि भयो त्यस्तो। भन्छन्, “त्यति गुणस्तरीय क्यानभास नभएपछि मेरो सिर्जनाले नै फेल खायो।”

भन्छन् उनी, “मैले ६०-७० वर्षदेखि नै आफैले क्यानभास बनाउन कोसिस गरिरहेको थिएँ। पछिल्लो समय कसरी बनाउनुपर्छ भन्ने थाहा पाएँ र बनाउन थालेँ।” उनले बनाएको क्यानभास हुन्छ नरम र चित्र त झनै नरम। भन्छन्, “क्यानभास त निकै नरम पो हुनुपर्छ त।”

कला-सिर्जना धैर्यताको अर्को नाम हो सायद। त्यागको पनि आवश्यकता पर्दछ, उत्तिकै।

पहिला एउटा आर्ट सिर्जना गर्न लाग्थ्यो उनलाई करीब २-३ दिनजति। कुनै-कुनै त हप्ता दिन लगाएर पनि बनाए। पछिल्लो समय भने उमेरको हदबन्दीका कारण अलिक समय लाग्न थालेको छ। भन्छन्, “पहिलाजति सक्रिय रुपमा बनाउन सकिँदैन अचेल।”

तर कला-सिर्जनालाई नियमित दिनचर्याबाट हटाइसकेका छैनन्। केही दिनपूर्व ज्वरोले सतायो, केही दिन नै। बिरामी हुँदा पनि उनको आँखा भने पेन्टिङ गर्न टाँगिएको क्यानभासतिरै पुग्थ्यो। ज्वरो कम हुने बित्तिकै उनले उपकरणहरू समाति हाले।

विरासत थाम्दै अस्मिना
उनकी छोरी अस्मिना रञ्जित पनि चलेकी आर्टिस्ट। देश-विदेशमा धेरै ठाउँमा धेरै पटक कलाप्रदर्शनी गरिसकेकी। पढाइ भने विज्ञान विषयमा। तर विज्ञानको उच्च तहको परीक्षा दिने बेला भने उनी बिरामीले थलिइन्। करीब आठ महीना नै गुजार्नु पर्‍यो। त्यही समय अस्मिनाले भनिन्, “म अबको आठ महीना खाली हुने भएँ, के गरुँ बाबा ?”

बच्चैदेखि बुबाको कला-संसारप्रति परिचित अस्मिनाले त्यो समयलाई कलामा लगाउने विचार गरिन्। भनिन् बुबासँग, ‘म ललितकला पढ्छु।’ त्यतिबेला ललितकला क्याम्पसमा प्राध्यापन गर्थे, शशि शाहलगायत कलामै भिजेकाहरू। उनीहरूले नै ललितकलामा भर्ना गरिदिए। पछि त ललितकला विषय लिएर अध्ययन गर्न थालेपछि पूराका पूरा छात्रवृत्ति पाइन् र निस्किन् अब्बल कला-छात्राकी रुपमा। पछिल्लो समय अमेरिकामा फुलब्राइट पाएर पढ्न पनि गइन्।

उनी मात्र होइन, छोरी अस्मिना र भतिज किरण रञ्जितले पनि कलालाई नै पछ्याए। विडम्बना, भतिज किरण भने गएको वर्ष बिते। पोखरामा सक्रिय भतिज किरणको कला सिर्जनाप्रति उनी गौरव गर्छन्।

मूल्यवान आर्टिस्ट
उनका हरेक पेन्टिङ बिक्रीयोग्य छन्÷हुन्छन्। धेरै बेचे, केही छन् बाँकी। बनाउँदैछन् अझै।

एकपटक त पेन्टिङ बेचेरै उनले हातमा पारे, २२ लाख रुपैयाँ। एक जना जापानी नागरिकले हिमाल मात्रै अङ्कित २०-२२ थान पेन्टिङ सिनित्तै उठाए। भन्छन्, “ती जापानी कस्ता रहेछन् भने उनलाई हिमाल मात्रै चाहिने, हिमालसँगै घर र मान्छेहरू भएका नहुने। साना-ठूला, पुराना-नयाँ सबै चित्र लगे।” उनको हिमाल मात्रैको मोह देखेर छक्क पर्छन्, रञ्जित। पछि त उनले जापानको फुजी हिमालको पनि चित्र बनाए र त्यो पनि राम्रै दाममा बिक्री भयो।

पछिल्लो समय भने उनले एउटा पेन्टिङ ३ लाखमा बेचे। किन्ने चाहिँ नेपाली नै। अझ, संविधानसभाको सांसद भइसकेका। कलाका पारखी। त्यो श्वेतभैरवको पेन्टिङ थियो। भन्छन्, “त्यो पेन्टिङ मैले बनाउन त ६-७ वर्षअघि नै बनाएको थिएँ, बिक्री चाहिँ एक वर्षअघि मात्रै भयो।”

प्रयोगमा सधैं अगाडि
धुवाँ-सिर्जित कलामात्रै प्रदर्शन गरिसकेका उनले त्यस्तो कला सजाउन बेग्लै तरिका अपनाउने गरेका छन्। क्यानभासलाई माथि टाँगेर त्यसमा बिस्तारै बत्तिको धुवाँ लगाउँछन्। यो नौलो तरिका कसरी थाहा भयो त ? भन्छन्, “पाषाण युगका गुफाभित्रका कलाहरू धुवाँबाट नै सिर्जित थिए। मैले यो कुरा पढेको हुँदा मैले पनि त्यही प्रयोग गरेँ र सफल पनि भएँ।”

पहिला उनले धुवाँबाट नेपालको नक्सा बनाए। पछि त दश अवतार वरिपरि आवृत बुद्ध, सरस्वतीका चित्र पनि बनाए, धुवाँबाटै। धुवाँबाटै केही मुहार-चित्र पनि बनाए। धुवाँबाट निर्मित सिर्जनाको आयु अरूभन्दा कम होला कि ? उनी भन्छन्, “मैले धुवाँको चित्र बनाउँदा त्यसमा आयल पनि मिसाउँछु र त्यो दीर्घ हुन्छ। चित्रकारिताको माध्यम मात्र धुवाँ न हो।”

केही मूर्ति पनि बनाएका छन्, उनले। सबैमा प्रयोग। कुनै मूर्ति बिरे नुन र सुपरग्लु मिसाएर। कुनै काठको धुलो र सुपरग्लु मिसाएर। कुनै सेतो ढुङ्गा र सुपरग्लु मिसाएर। कुनै-कुनै त इँटा र काठको धुलो मिसाएर पनि मूर्ति बनाएका छन्, उनले।

सिर्जना-समय
सिर्जनाका निम्ति समयकालको पनि महत्व रहन्छ, उत्तिकै। प्रातःकाल, मध्याह्न, सायङ्काल। उनी भने प्रातःकालीन समयलाई सिर्जनाका लागि उर्वर ठान्छन्। भन्छन्, “म बिहान ४-५ बजे नै उठ्छु। एक सरो घुमेर फर्केपछि खाजा खान्छु र काम थाल्छु।” तर उनले पेन्टिङ गर्नुअघि आफूलाई चाहिने उपकरणहरू जुटाउनेदेखि आफैले तयार पार्नेसम्म सबै काम भने गर्दै आएका छन्।

चित्र बनाउँदा उनी हरेक उपकरणमा ध्यान दिन्छन्। पेन्टिङमा रङ पोत्दा नरम खालको चक्कु प्रयोग गर्नुपर्ने भएको हुँदा उनले प्लास्टिकको चक्कु बनाएका छन्, अनेक। “कडा खालको पर्‍यो भने त चित्र कोरिइहाल्छ नि।” सचेत हुँदै भन्छन् उनी।

आठ दशकभन्दा लामो समयदेखि रङ, ब्रस र रेखासँग खेल्दै आएका उनका भूदृश्यबाहेकका कलालाई नियाल्ने हो भने त्यसमा आत्मानुभवको खोजी र आत्मबोधको व्याकुलता सहजै देख्न सकिन्छ।

छोरी अस्मिना बुबाको कलासर्जनालाई यसरी हेर्छिन्, “बुबा रङसँगै प्रकाश-संयोजनमा पनि अद्भूत तरिकाले खेल्नु हुन्छ। एउटा मुभमेन्टदेखि अर्को मुभमेन्टसम्म बदलिने प्रकाशलाई रङले दिने साजसज्जा र आयाम निकै उच्च कोटीका लाग्छन्। यसलाई नै उहाँको सिर्जनाको खुबी ठान्छु म।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved