तनावपूर्ण बन्यो मैत्रीपूर्ण खेल, तीन खेलाडी र एक प्रशिक्षकलाई रातो कार्ड

खेल अवधिभर दुबै देशका खेलाडी तनावमा देखिदाँ मैत्रिपूर्ण खेल जित्नैपर्ने युद्धजस्तो बन्यो। खेलमा मौरिसस ९ जनामा समेटिएको थियो भने नेपाल १० जनामा।

तनावपूर्ण बन्यो मैत्रीपूर्ण खेल, तीन खेलाडी र एक प्रशिक्षकलाई रातो कार्ड

काठमाडौं। कार्डको वर्षा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफ्रिकी राष्ट्र मौरिससलाई १–० ले पराजित गरेको छ। मौरिसससँगको दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्दै नेपालले शतप्रतिशल नतिजा निकालेको छ।

तर खेल अवधिभर दुवै देशका खेलाडी तनावमा देखिँदा मैत्रीपूर्ण खेल जित्नैपर्ने युद्धजस्तो बन्यो। खेलमा मौरिसस ९ र  नेपाल १० जनामा समेटिएको थियो। गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले विमल घर्तीमगरको एक मात्र गोलको मद्दतले मौरिससलाई १–० ले हराएको थियो।

पहिलो खेल जिते पनि औसत प्रदर्शन मात्र गरेको नेपालले दोस्रो खेलमा प्रदर्शनमा सुधार गर्ने आशा थियो। जसअनुसार आज दशरथ रंगशामा शुरुदेखि नै नेपालले आक्रामक खेल खेल्ने संकेत देखायो। खेलको दशौं मिनेटमा नै नेपालले अग्रता लियो। नवीन गुरुङको कर्नर किकमा आशिष लामा हुँदै पुजन उपरकोटीले दिएको उत्कृष्ट ब्याक पासलाई सदुपयोग गर्दै सुजल श्रेष्ठले नेपालको खाता खोले। सुजलको नेपालका लागि यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

लगत्तै, मौरिससले बराबरी गोल गर्ने मौका पायो। रिबाउण्ड बलमा गोल गर्न जाँदा मौरिससका कप्तान एन्डी सोपीलाई नेपालका दिनेश राजवंशीले पेनाल्टी बक्सभित्र फल गरेपछि मौरिससले पेनाल्टी पायो। तर एन्डी सोफिको पेनाल्टी प्रहारलाई नेपालका कप्तान किरणले आकर्षक बचावट गरे।

खेलमा मौरिससले यसपछि केही राम्रो मौका पाएको थियो। तर, मौरिससका खेलाडीहरू टिम गेमभन्दा व्यक्तिगत स्किलमा ज्यादा केन्द्रित देखिए। जसकारण, पहिलो हाफमा नेपालको अग्रता कायम रह्यो। दोस्रो हाफमा अग्रता बढाउन नेपालले विमल घर्तीमगरलाई मैदान पठायो। उता, शारीरिकरूपमा बलिया मौरिससका खेलाडीहरू दोस्रो हाफमा निकै आक्रामक देखिए पनि फिनिसिङमा चुके।

६७ औं मिनेट मौरिससका कप्तान सोफिले पेनाल्टी बक्सभित्र कडा प्रहार गरेका थिए, जसलाई किरणले फेरि राम्रो बचाऊ गरे। ७१ औं मिनेटमा खेल अचानक तनावपूर्ण बन्न पुग्यो। सामान्य टकराबमा रेफ्रीले अनावश्यक कार्ड प्रयोग गर्दा नेपालका पुजन उपरकोटी र मौरिससका खेलाडी बोटलरर दोहोरो पहेंलो कार्डको शिकार भएर मैदान छाड्न बाध्य बने। यही समय मैदान छिरेका नेपालका सहायक प्रशिक्षक विकास मल्ललाई पनि रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाए।

७९ औँ मिनेटमा मौरिसस ९ जनामा समेटियो। मौरिससका खेलाडी फुलचुण्डले नेपालका गौरव श्रेष्ठलाई फल गरेपछि उनी पनि दोहोरो पहेँलो कार्डको कारण मैदान छाड्न बाध्य भए। अघिल्लो खेलमा शुरुआती लाइनअपमा देखिएका खेलाडीमध्ये आज ६ खेलाडी बेन्चमा थिए। पहिलो खेलका एक मात्र गोलकर्ता विमल घर्तीमगर नै आज शुरुवाती लाइनअपमा परेनन्। हुन त अलमुताइरीले ३४ खेलाडीमध्येबाट दुई खेलका लागि दुई फरक स्क्वाड बनाएका थिए। जसमध्ये १२ प्रमुख खेलाडी दुवै स्क्वाडमा थिए।

त्यसैगरी, युवा डिफेन्डर नवीन गुरुङले पनि पहिलोपटक राष्ट्रिय टिमबाट शुरुआती ११ मा परेर नै डेब्यू गर्ने मौका पाएका थिए।

अलमुताइरीले ४–३–३ फर्मेशनलाई नै निरन्तरता दिँदा गोलकिप्पर किरण कुमार लिम्बु, फर्वार्ड अञ्जन विष्ट, मिडफिल्डर तेज तामाङ र डिफेण्डर दिनेश राजवंशी र देवेन्द्र तामाङले दोस्रो खेलमा पनि शुरुआती लाइनअपमा खेल्ने मौका पाएका थिए।

नेपालले तीन महीना अघि माल्दिभसमा भएको साफ च्याम्पियनसिपमा जुन लयको खेल खेलेको थियो, त्यो लय मौरिसससँगको दुवै खेलमा खासै देखाउन सकेको सकेन। हुन त फरक क्लबबाट लिग खेलिरहेका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय ब्रेकमा राष्टिय टिमबाट खेलाउँदा टिम कम्बिनेशनमा समस्या हुने गर्छ। यो फुटबलका महारथी राष्ट्रमा पनि देखिने समस्या हो।

हुन त खेलअघि नै अल्मुतारीरले हार वा जित भन्दा पनि यी खेल आसन्न ठूला प्रतियोगिताहरूको अभ्यासका लागि रहेको बताएका थिए। धेरै खेलाडीबाट छानेर भविष्यका लागि बलियो टिम बनाउन नै उनले प्रारम्भिक छनोटमा परेका ३४ खेलाडीलाई नै राष्ट्रिय टिममा मौका दिएका थिए। ताकी, धेरै खेलाडीलाई अन्तर्राष्ट्रिय म्याचमा खेलाएर उत्कृष्ट खेलाडी छान्न सकियोस्।

नेपाल कै स्तरको मौरिसससँगको दुवै खेलमा नेपालको प्रदर्शन औसत रहे पनि नेपालले दुवै खेल जितेको छ। अब यसको प्रत्यक्ष फाइदा भने फिफा वरीयतामा हुनसक्छ। यो जितले नेपालको वरीयतामा स्थान सुधार हुनसक्छ। जसको आधारमा एशियन कपको छनोट खेलमा तुलनात्मक रुपमा नेपालले सजिलो प्रतिद्वन्दी पाउन सक्छ।

नेपाली टिमको तत्कालको तयारी भनेको नै एशियन कप छनोट हो, जुन प्रतियोगिता आउँदो जुन महीनामा आयोजना हुँदैछ। एसिया कपको टाइसिट ड्र आउँदो फेब्रुअरी २४ मा हुनेछ।

एशियन कपमा नेपाल तेस्रो चरणसम्म पुगेको छ। तेस्रो चरणमा कुल २४ टिम रहेका छन्। २४ टिमलाई चार–चार टिमको ६ समूहमा विभाजन गरी राउण्ड रोबिन लिगका आधारमा छनोट खेल खेलाइनेछ। यसबाट हरेक समूहका विजेता र उत्कृष्ट पाँच उपविजेता एशियन कपमा लागि छनोट हुनेछन्। यी ११ टिम र आयोजक चीनसँगै कुल १२ टिमले सन् २०२३ को एशियन कपमा भिडन्त गर्नेछन्।

तस्वीरहरू : गोपेन राई/ नेपालभ्यूज 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved