जलवायु परिवर्तनकै कारण दुर्लभ र महँगो हुनसक्छ कफी

जलवायु परिवर्तनको असरका कारण विश्वभरको कफी उत्पादन हुने जमिनमा ह्रास आउने एक अध्ययनको निष्कर्ष छ। संसारमा सबैभन्दा बढी कफी उत्पादन गर्ने ब्राजिलले पनि आफ्नो कफी उत्पादन गर्ने जमिनको ७९ प्रतिशत गुमाउन सक्छ।

जलवायु परिवर्तनकै कारण दुर्लभ र महँगो हुनसक्छ कफी
ब्राजिलमा गरिएको कफी खेती। तस्वीर स्रोतः इन्टरनेशन कम्युनीक्याफे।

कफी प्रेमी हुनुहुन्छ ? त्यसो हो भने तपाईँका लागि त्यति प्रिय समाचार छैन। किनकि, भविष्यमा कफी दुर्लभ र महँगो हुन सक्ने हालैको एक अध्ययनले देखाएको छ।

जलवायु परिवर्तनको असरका कारण विश्वभरको कफी उत्पादन हुने जमिनमा ह्रास आउने उक्त अध्ययनको निष्कर्ष छ। संसारमा सबैभन्दा बढी कफी उत्पादन गर्ने ब्राजिलले पनि आफ्नो कफी उत्पादन गर्ने जमिनको ७९ प्रतिशत गुमाउन सक्छ।

स्वीट्जरल्याण्डमा हालै भएको एक अध्ययनले कफी, काजु र एभोकाडोमा जलवायु परिवर्तनको कारण पर्न सक्ने सम्भावित असरको आकलन गर्न गरेको थियो।

यी तीनै वटा खाद्यबाली विश्वव्यापी रूपमा व्यापार हुने बाली हुन्। र, ती उष्ण प्रदेशीय वातावरणमा उत्पादन हुन्छन्।

सन् २०२२ मा कफीबाट चार खर्ब ६० अर्ब अमेरिकी डलर, एभोकाडो र काजुको क्रमशः १३ अर्ब डलर र ६ अर्ब डलर राजस्व उठाइएको थियो।

कफीलाई मुख्य रूपमा एक उत्प्रेरक पेय पदार्थको रूपमा लिइन्छ। एभोकाडो र काजु व्यापक रूपमा उपयोग हुने खाद्य बाली हो जसमा तेल पर्याप्त मात्रामा पाइन्छ। साथै पोषक तत्त्व पनि प्रशस्त हुन्छन्।

नयाँ अध्ययनले अनुमान गरेजस्तै जलवायु परिवर्तनले हाल खेती गरिएका केही मुख्य क्षेत्रहरूमा यी बालीहरू उब्जाउ हुने भूमिमा उल्लेखनीय कमी आउन सक्ने सम्भावना छ। फलस्वरूप कफीको विश्वभरका उत्पादक र उपभोक्ता दुवैलाई असर गर्न सक्छ।

विश्व तापमान र पानी पर्ने तरिकामा आएको परिवर्तनले पनि असर पुर्‍याएको छ।

अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी अधिकांश अध्ययन शीतोष्ण क्षेत्र उब्जाउ हुने गहुँ, मकै, आलु, तेलहन जस्ता प्रमुख बालीहरूमा केन्द्रित छन्। यसको विपरीत उष्ण प्रदेशीय पर्यावरणमा कम काम भएको छ। जसले विश्वभरकै उब्जाउ भूमिको लगभग ४० प्रतिशत ओगटेको छ। र त्यहाँ ३ अर्ब भन्दा बढी मानिसले जीवनयापन गर्छन्। सन् २०५० को दशकसम्म त्यहाँ थप एक अर्ब मानिसहरू बसोबास गर्न सक्छन्।

उष्ण प्रदेशीय वातावरणमा जैविक विविधताको विशाल भण्डार छ। साथै विशाल क्षेत्रमा मुख्य अन्नबाली उत्पादन हुन्छ, जसले मानव समुदायको लागि आम्दानी र खाद्यान्नको अभावको पूर्ति गर्छ।

नयाँ अनुसन्धानले कफी, काजु र एभोकाडो बालीहरूमा भएका अध्ययनले सानो निष्कर्ष निकाले पनि ठूलो संकेत गरेको छ।

उक्त अध्ययनमा तापक्रम र पानी पर्ने तरिका जस्ता विशुद्ध जलवायु परिवर्तनका कारकहरूका अतिरिक्त माटोको मापदण्ड पनि जाँच गरिएको थियो। उक्त अध्ययनले भविष्यमा माटोमा पर्न सक्ने असरहरूको अनुमान गर्न सजिलो बनायो। उक्त अध्ययनले माटोको अम्लीय वा क्षारीयपनमा आएको परिवर्तनलाई बुझ्न सघायो।

नयाँ अध्ययनले पाल्म तेलबारेका हालैका अनुसन्धानलाई पनि सघाउँछ। पाल्म तेल विवादास्पद छ र यो वन विनाशसँग जोडिएको छ। यद्यपी यो अझै पनि मानिसको पोषणको सन्दर्भमा महत्त्वपूर्ण उष्ण प्रदेशीय बालीहरूमध्ये एक हो जसले तीन बिलियन मानिसको खानाको आवश्यकता पूरा गर्छ।

मेरा सहकर्मी सहित मैले पाल्म तेलबारे हालसम्म उपलब्ध तथ्याङ्कहरूको अध्ययन गरेर भविष्यमा पर्न सक्ने असरको विश्लेषण गरेका थियौँ। त्यसबाट हाम्रो निष्कर्ष छ– सन् २०५० पछि रुखको मृत्युदरमा उल्लेख्य वृद्धि हुने सम्भावना छ। सम्भवतः अमेरिकामा थुप्रै अन्न बाली नष्ट हुनेछ। साथै रुखको फेदमा कुहिने रोगको प्रकोप दक्षिण पूर्वी एसियाभरि तीव्र रूपमा वृद्धि हुनसक्छ।

यी अध्ययनहरूले जलवायु परिवर्तनको असर र उष्ण प्रदेशीय क्षेत्रमा सबैभन्दा बढी उब्जाउ हुने बालीहरूमा सम्बन्धित कारकहरूको आश्चर्यजनक सीमा र जटिलता प्रकट गर्न थालेका छन्। तर जलवायु परिवर्तनको असर सबै ठाउँमा समान रूपमा पर्नेछैन। केही क्षेत्र जलवायु परिवर्तनबाट लाभान्वित हुन सक्छन्।

उदाहरणका लागि चीन, अर्जेन्टिना र अमेरिकाका केही भाग कफी उत्पादनको लागि उपयुक्त हुने सम्भावना छ भने ब्राजिल र कोलम्बियाका जमिन कफीको लागि कम उपयुक्त हुने।

त्यसैले हामीले उष्ण प्रदेशीय वातावरणमा भइरहेको परिवर्तनलाई अनुकूलन गर्न आवश्यक छ। उदाहरणको लागि विशेष बालीको खेती विभिन्न क्षेत्रमा स्थानान्तरण गर्न सकिन्छ। तर जुनसुकै उपाय अपनाए पनि थुप्रै उष्ण प्रदेशीय वातावरणमा उब्जाउ हुने बालीहरू लोप हुन्छन्, त्यसैले यस्ता बाली भविष्यमा महँगो हुनेछन्।

-‘द कन्भरसेसन’मा २७ जनवरीमा प्रकाशित यो सामग्रीको अनुवाद सुनिता साखकर्मीले गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved