कोशी अस्पतालमा फोहोरबाट बायो ग्यास उत्पादन शुरु

अस्पतालले प्रशोधित फोहोरबाट बायो ग्यासको उत्पादन शुरु गरेको हो।

नेपालभ्युज

कोशी अस्पतालमा फोहोरबाट बायो ग्यास उत्पादन शुरु

विराटनगर। पूर्ण सरसफाईको लक्ष्यसहित विराटनगरस्थित कोशी अस्पतालले फोहोर प्रशोधन गरी बायो ग्यास उत्पादन शुरु गरेको छ। व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अस्पतालले प्रशोधित फोहोरबाट बायो ग्यासको उत्पादन शुरु गरेको हो।

अस्पतालको प्रसुति गृहबाट दिनहुँ निस्कने सालनाल, खानेकुरा अन्य स्वास्थ्यजन्य फोहोरमैलालाई प्रशोधन गरी बायो ग्यासको उत्पादन शुरु गरिएको अस्पतालले जनाएको छ। बायो ग्यास उत्पादनका निम्ति अस्पतालले उत्तरपट्टीको डायग्नोसिस सेन्टर पछाडि अक्सिजन प्लान्टसँगै फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरेको छ। फोहोरमैला प्रशोधनका निम्ति ५० घनमिटर क्षमताको ग्यास आउटलेट बनाइएको छ।

अस्पतालबाट निस्किने सालनाल र त्यसबाहेकका अन्य फोहोरमैला प्रशोधनका निम्ति बेग्लाबेग्लै इन्लेट तयार पारिएको छ। इन्लेटमा राखिएका फोहोर आउटलेट अर्थात् बायो डाइजेष्टरमा पठाएपछि बायो ग्यास उत्पादन हुने गर्दछ। यसरी उत्पादित बायोग्यास हाल अस्पतालले आन्तरिक रूपमै खपत गरिरहेको छ। बायोग्यासको थप उपयोग सम्बन्धमा अतिरिक्त योजना तयार पार्ने कार्य भईरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। उनले भने, ‘‘हाल हामीले अस्पतालमै खपत हुनेगरि उत्पादन गरिरहेका छौं। बाहिर पठाउने वा बजारमा बिक्री गर्ने बिषयमा छलफल जारी छ।’’

नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको मापदण्डमा आधारित कोशी अस्पतालको बायो प्लान्ट विराटनगरको भगवती बायो ग्यास तथा ऊर्जा विकास कम्पनीले निर्माण गरेको हो। उक्त प्लान्टमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र कोशी अस्पतालको संयुक्त लगानी छ। प्लान्ट निर्माणका लागि कोशी अस्पतालले ५ लाख लगानी गरेको छ भने केन्द्रले ४० प्रतिशत अनुदान दिएको छ। निर्मित प्लान्ट दैनिक ३०० केजी फोहोर प्रशोधन गर्न सक्ने क्षमताको भएको निर्माण कम्पनीका सञ्चालक दिवाकर निरौलाले बताए। उनले दैनिक ८ देखि ९ घण्टा चुल्हो बाल्न पुग्ने गरि कोशी अस्पतालको प्लान्टले बायोग्यास उत्पादन गरिरहेको जानकारी दिए।

विराटनगरस्थित कोशी अस्पतालमा यसअघि फोहोरमैला व्यवस्थापनको उचित प्रवन्ध थिएन। अस्पतालको विभिन्न कुनाकाप्चा र उत्तरपट्टी रहेको पानी टयांकी छेउमा जथाभाबी फोहोर फाल्ने गरिएको थियो। प्लास्टिकले छोपेर तथा जस्तापाताले घेरेर फोहोरमैला राख्ने गरिएको थियो। तर, बायो ग्यास उत्पादनका निम्ति प्रविधि भित्रिएपछि अस्पतालबाट निस्कने फोहोर हाल व्यवस्थित रूपमा भण्डारण गर्ने गरिएका छन्। यसबाट फोहोरमैला व्यवस्थापनको नाममा मासिक रूपमा खर्च हुने ठुलो रकम जोगिनुका साथै पुनः प्रयोग गर्न सकिने फोहोरमैलाहरु रिसाइकल गर्ने बाटो समेत खुलेको अस्पताल विकास समितिका अध्यक्ष महेश प्रसाद भट्टराईले बताए।

उनले बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि हाल अस्पतालको फोहोरमैला व्यवस्थापन खर्च पनि ५० प्रतिशतमा झरेको जानकारी दिए। ‘पहिले यो ठाउँमा नाक थुनेर हिँडनुपर्ने अवस्था थियो। ठुलो संघर्षपछि प्लान्ट निर्माण भएको हो,’’ उनले भने, ‘‘४२ वटा ट्रयाक्टर लगाएर यहाँको फोहोर अन्यत्रै स्थानान्तरण गरेर व्यवस्थापन गरेपछि प्लान्ट निर्माण भएको हो। हाल फोहोरमैला व्यवस्थापनको मासिक खर्च पनि निकै घटेर गएको छ। खर्च २५ प्रतिशतमा झार्ने लक्ष्य छ।’’

अस्पताल प्रशासन र विकास समितिको संयुक्त संघर्षले फोहोरमैला व्यवस्थापनको सवालमा कोशी अस्पतालमा ठुलो परिवर्तन आएको कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरू बताउँछन्। अस्पतालबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन हुन थालेपछि पछिल्लो समय फोहोरबाटै सर्ने विभिन्न संक्रमणजन्य रोगको जोखिम समेत न्यूनीकरण भएको उनीहरूको भनाई छ। आगामी दिनमा अस्पतालले भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीको उपचारमा प्रयोग गर्ने विभिन्न औजार तथा स्वास्थ्य उपकरणको निर्मलीकरण पनि बायोग्यासबाटै गर्ने तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved