अनुभूति

जब सन्ध्याको सम्झनाले द्रवीभूत हुन्छु…

एक साँझ मेरो श्रीमान डाक्टर बाबुराम भट्टराईलाई राजुले कल गरे र सन्ध्या अब यो धरतीमा नरहेको जानकारी गराए। हामी स्तब्ध भयौँ। उहाँले नै सन् २०११ मा प्रधानमन्त्री हुनुहुँदा यी दुवै बाबुनानीको उपचारको आर्थिक पक्षसमेत गरी विशेष पहलकदमी लिनुभएको थियो।

जब सन्ध्याको सम्झनाले द्रवीभूत हुन्छु…

पोखराको पहाडीछेउस्थित यो परम्परागत घरको आरामदायी सानो कोठामा जब म प्रत्येक पटक ब्युँझन्छु तब मलाई ‘सन्ध्या’को आभा महशुस हुन्छ। सन्ध्या अर्थात् दिन र रातबीचको केही प्रहर।

पार्टी निर्माण परियोजनाको सिलसिलामा म गण्डकी प्रदेश पुगेको बेला पोखरामा बसोबासको लागि मलाई सन्ध्याको ओछ्यान उपलब्ध गराइएको थियो। सन्ध्याको घर उनकै सिर्जनशील कलाहरुले सजाइएको थियो। घरका भित्ताहरुमा उनका चित्रकलाहरु सर्वत्र झुण्डयाइएका थिए।

प्रत्येक बिहान मेरो ओछ्यानको छेउको भित्तामा विशाल तैलीय चित्र देख्ने गर्दथेँ। उक्त चित्रमा मुख्यत: निलो रङ्ग प्रयोग भएको थियो, जसले मलाई चिन्तनशील बनाउने गर्दथ्यो।

उक्त चित्रमा एक किशोरी ध्यानमुद्रामा बसिरहेकी थिइन्। नदीनाला, जङ्गल र जनावरले उनलाई आलिङ्गन गरेको देखिन्छ। ध्यानी बुद्ध बादलबाट प्रकट भई उनलाई आशिष दिएको पनि देखिन्छ।

कलाकार थमनसिङ परियारले सन्ध्या क्षेत्रीको सम्झनामा सिर्जना गरेको चित्रकला।

यो चित्र सन्ध्याको सम्झनामा पोखराका थमनसिङ सुनारले सिर्जना गरेका रहेछन्। बास्तवमा यो चित्रको भाव पूर्ण रुपमा प्रकट भएको छ। प्रत्येक भित्ताहरुमा उनका चित्रकला सजाइँदा उनका आभाहरुले कोठाहरुलाई अझ कसिलो तरिकाले आलिङ्गन गरेको महशुस गर्न सकिन्छ।

कोठामा रहेको दराजका घर्राहरुमा उनका नेल पोलिस, सनब्लक कृम, तेलको डिब्बा थिए। डिब्बाका आधाउधी यी सौन्दर्य सामग्री रित्तिन पर्खिरहे जस्ता देखिन्थे। कोठाको एउटा कुनामा उनका सिर्जनाका अभ्यास पुस्तिकाको चाङ थिए। यी अभ्यास पुस्तिकामा मैले नजर लगाउँदा उनले कार्टुनदेखि जटिल चित्रहरुसम्म मिहेनतका साथ कोरेको पाएँ। यी अभ्यास पुस्तिकाका पानाहरु पनि थप चित्र कोरिने र भरिपूर्ण हुने आशामा पर्खिरहेका थिए।

सन्ध्याका पुस्तिकाका पानाहरु पल्टाउदै जाँदा पेन्सिलको सहायताले एउटा किशोरीको उनले बनाएको चित्रले मलाई प्रहार गर्यो। उक्त चित्रमा एक किशोरी मास्क लगाएर आँशुको थोपा खसालिरहेकी थिइन्। क्याप्सनमा लेखिएको थियो, ‘तिमीले कसैलाई भन्यौ भने।’

विशेषत: उनले भित्तामा कोरेको एउटा रुखको अर्को तैलीय चित्रतिर मेरो ध्यान गयो। रुखमा मज्जाले मच्चिरहेको पिङ थियो। यो चित्रको अर्थ सायद कसैलाई उनले ठूलो स्वरमा केही सुनाइरहेकी पो थिइन् कि जस्तो। ‘भित्तामा लेखेको पढ्नु।’

सायद उनले आफनो जीवन अन्त्यको सन्देश प्रवाह गर्न खोजेकी थिइन् जस्तो।

यसै वर्षको श्रावणमा सन्ध्याले सोही घरमा आत्महत्या गरिन्। उनी जम्मा २१ वर्षकी भएकी थिइन्। उनले आफना कथामात्र नभई जनयुद्धका इतिहासलाई पनि पछाडि छोडिन्।

सन्ध्या र उनको भाइ सङ्गम आफ्ना अभिभावक राजु छेत्री र सरिता छेत्रीका साथमा हामीलाई भेट्न आइपुगेका थिए २०६४ सालमा। त्यसबेला सन्ध्या आठ वर्ष र सङ्गम ६ वर्षका थिए। दुवैजनाको श्रवण शक्ती गुमेको सुन्दा हामी स्तब्ध भएका थियौँ।

एकदिन सरिताले आफ्नी छोरीको कानतर्फ जाने नसा सुक्दै गएको मेसो पाइन्। सन्ध्या त्यो बेला भर्खर चार वर्षकी मात्र थिइन्। नसा सुक्दै जाँदा उनको कानले सुन्न सक्ने छमता गुमाउन पुगिन्। झन् पीडादायी अवस्था त फेरि नौ महीनापछि छोरीभन्दा दुई वर्ष कान्छो छोराको कान पनि उसैगरी नसुनिने भयो दादुरा र उच्च ज्वरोको कारण।

यी दुवै घटना तब भयो जब देशमा जनयुद्ध चलिरहेको थियो। सरिताको श्रीमान राजु क्षेत्रीलाई मिसन पत्रकार भएकै कारण राज्यले बधशालामा कठोर यातना दिँदै थियो। बहुल राज्य, बहु सांस्कृतिक, बहुभाषिक देश नेपालमा एकल सामन्ती व्यवस्थाले जबरजस्ती थोपरेको झुठको पर्दाफास गर्नु राजुको मिसन थियो।

तत्कालीन शाही सेनाले सरिता उनका चार र दुई वर्षका अबोध बालबच्चालाई पनि बेलाबखत घरमै पुगेर मानसिक र शारीरिक यातना दिएकै हुन्थे। जब राजु आफना अन्य कमरेडहरुसँगै तत्कालीन शाही सेनाको गजुरीस्थित ब्यारेक तोडेर उम्कन सफल भए, सरिता पनि आफ्ना छोराछोरीलाई आफन्तको जिम्मा लगाई पार्टीमा ‘होल टाइमर’ बनेर सक्रिय हुन पुगिन्।

सन् २००६ मा सरकार र माओवादीबीच भएको शान्ती वार्ताको क्रममा उनीहरुले आफ्नो बालबालिकाको उपचार गर्ने अवसर पाए। श्रवणशक्ती प्राप्त गर्न र सम्वाद गर्न उनीहरुलाई चार वर्ष लाग्यो। बहिराहरुको लागि बनाइएको बिद्यालयबाट उनीहरुलाई सामान्य विद्यालयमा भर्ना गर्न सम्भव भयो। उनीहरुको सामाजिकीकरण हुँदै थियो तर कोभिडका कारण पुन: कष्टकर समय शुरु भयो। उनीहरु विद्यालय जान पाएनन्।

त्यसैबखतमा, बहिरा बिद्यालयमा आवद्द शिक्षकहरुले चित्रकलामा सन्ध्याको प्रतिभा पहिचान गरेका थिए। कोभिडको बेला उनी चित्रहरु कोरिरहन्थिन् र त्यसैमा निपूर्ण हुने चाहना थियो। उनको इच्छालाई मलजल गर्ने निश्चय गरे सरिता र राजुले, जसका लागि उनीहरुले छोरीलाई राजधानी काठमाडौंतर्फ पठाए। पाटनमा बस्नुहुने एक महिला कलाकारको ग्यालरीमा प्रशिक्षण प्रदान गर्ने गरी नजिकै आवासको समेत व्यवस्था गरे।

लेखिका आफ्ना साथीहरु राजु क्षेत्री र सरिता क्षेत्रीको पोखरास्थित घरमा।

म आफै एक आर्किटेक्ट, राजु र सरिताको निकट साथी पनि भएको नाताले सन्ध्यालाई भेट्न आर्ट ग्यालरीमा गएको थिएँ। मैले त्यहाँ उनलाई चित्रकलामा असाध्यै क्रियाशील हुनुका साथै खुशी भएको पाएँ। उमेर फक्रँदै जाँदा उनले चित्रकलामा नयाँ सीप प्राप्त गरिरहेकी थिइन्। उनको आफनै सिर्जनाहरु असाध्यै रङ्गिनमय थिए। पृष्ठभूमि थाहा भएको हुँदा मैले उनलाई झन् धेरै स्नेहका साथ हौसला दिएँ।

एक साँझ मेरो श्रीमान डाक्टर बाबुराम भट्टराईलाई राजुले कल गरे र सन्ध्या अब यो धरतीमा नरहेको जानकारी गराए। हामी स्तब्ध भयौँ। उहाँले नै सन् २०११ मा प्रधानमन्त्री हुनुहुँदा यी दुवै बाबुनानीको उपचारको आर्थिक पक्षसमेत गरी विशेष पहलकदमी लिनुभएको थियो।

म त्यसबखत कोभिड १९ का कारण जनमानसमा परेको स्वास्थ्य असर खासगरी घरेलु हिंसाको सन्दर्भमा लेखहरु पढ्दै र लेख्दै थिएँ। विशेषत: फरक क्षमता भएका व्यक्तिहरु खासगरी महिलाहरुलाई कसरी असर पुर्‍याइरहेको छ भन्ने विषय अध्ययन गर्दै थिएँ। मैले सोचेकै थिइनँ मेरै साथीहरुको परिवारमै यस्तो घटना घट्छ।

पाटनमा चित्रकलाको प्रशिक्षण लिनेबेला जसको घरमा पेइङ गेष्टको रुपमा सन्ध्यालाई राखिएको थियो, सोही घरधनीले करणी गर्ने प्रयास गरेका रहेछन् भन्ने कुरा मलाई बताइयो। यो थाहा पाउने बित्तिकै तत्काल राजु र सरिताले सन्ध्यालाई पोखरा बोलाइहाले। घर पुगेको हप्तादिनभित्रै सन्ध्याले आत्महत्या गरिन्। शोकाकुल राजु र सरिता जो निष्ठावान माक्र्सवादी भए पनि सान्त्वना प्रदान गर्न साथीहरु ॐ शान्तीमा लाग्नुभएछ।

जब म बिस्तारामा सुत्छु तब सन्ध्या मलाई अलिङ्गन गर्न आइपुग्छिन्। जीवन र मृत्युले मलाई द्रवीभूत बनाउँछ। अन्धकार र उज्यालोले। नयाँ र पुरानोले।

उनको मृत्युले माओवादी पार्टीकै विषयमा मलाई द्रवीभूत बनाउँछ। माओवादी पार्टी जसले जनयुद्ध शुरु गर्‍यो र अहिले क्रान्ति र प्रतिक्रान्तिबीच विचरण गरिरहेको अवस्थामा छ।

यमी पूर्वमन्त्री र हाल जनता समाजवादी पार्टीकी नेतृ हुन्। [email protected]


Comment

One thought on “जब सन्ध्याको सम्झनाले द्रवीभूत हुन्छु…

  1. ति घरधनीलाई सजाय दिलाउन प्रयास भयो कि भएन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved