बेनी नगरपालिकाले बनायो तीन वडा कार्यालय भवन

नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर यसै महीनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए।

नेपालभ्युज

बेनी नगरपालिकाले बनायो तीन वडा कार्यालय भवन
बेनी बजारको दृश्य।

म्याग्दी। बेनी नगरपालिकाले तीन ओटा वडाको कार्यालय भवन निर्माण गरेको छ ।

बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण भएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाका यसअघि नै भवन थिए ।

पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गतवर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।

सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको आठ लाख रुपैयाँ बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर यसै महीनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए।

नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी व्यवस्थापन गर्न एक करोड २१ लाख रुपैयाँमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । क्याम्पसचोकका स्थानीयले २१ लाख रुपैयाँ सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए ।

अधिग्रहण भएको घरको भुइँतला मुनी भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गर्ने बनाइएको छ । भुइँतलाको सटरसहित तीन ओटा कोठा भाडामा लगाउन मासिक न्युनतम ३० हजार भाडा कायम गरेर प्रस्ताव आव्हान गरेको छ ।

पहिलो तलाको तीन ओटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुनर्निर्माण गरेर कार्यालय स्थापना गर्न दश लाख खर्च भएको वडाध्यक्ष बराइलीले बताए। नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा अर्थुङ्गेमा शुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्यलाई पूर्णता दिन चालु आर्थिक वर्षमा विनियोजन भएको २० लाख बजेटको काम गर्न ठेक्का लागेको इञ्जिनियर विमलरञ्जन कार्कीले बताए।

गतवर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयहरुका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved