युवाकालीन दिनहरूमा मैले धेरै साहित्यिक पुस्तक पढेँ। ती पुस्तकका केही पात्रले मलाई अधिक प्रभाव पार्यो। मलाई प्रभाव पार्ने पात्रहरूमा अधिकांश विद्रोही चरित्रका पात्रहरू थिए।
१. नोरा– युवावस्थामा मलाई मन परेको पात्र थिइन्, नोरा। उनी हेनरी इब्सनको नाट्यकृति ‘द डल्स हाउस’ की पात्र हुन्। उनी आफ्नो निर्णय आफैं लिने, आफ्नो इच्छा व्यक्त गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने र आफू अरूको शोषणमा पर्न नचाहने विद्रोही चरित्रकी थिइन्।
तात्कालिक समयमा नोराको चरित्रले मभित्र एक किसिमको चेतनाको बिजारोपणसमेत गरिदिएको थियो। श्रीमान्ले राम्रो व्यवहार गरे पनि, सिँगारपटार गरेर राखे पनि उनी एक दिन अनुभूत गर्छिन्– ‘म त सोकेसभित्रकी पुतली मात्रै पो रहिछु। ममा कुनै अर्धाङ्गिनी भएर बस्ने अधिकार नै रहेनछ।’
आफू पुतली र फूलजस्तो भएर बाँच्न नचाहने निर्णयमा पुग्छिन्, नोरा। अन्ततः विद्रोहको बाटो समात्छिन्। साँच्चै, आफ्नो अस्तित्वको लागि बाँच्नु पर्दोरहेछ भन्ने ज्ञान र चेतना मलाई नोराले नै दिइन्। यो नाट्यकृति मेरो हातमा पर्दा म कलेज पढ्दै थिएँ। हामी साथीहरूबिच यो नाट्यकृति र यसको मुख्य पात्र नोराको सशक्त चरित्रबारे छलफल पनि हुन्थ्यो।

२. हेलेन– आधुनिक कवि गोपालप्रसाद रिमालको नाट्यकृति हो, ‘मसान’। यो नाटकको महिला पात्र हेलेन मलाई मन परेको अर्को पात्र हुन्। नाटककी नायिका विद्रोही स्वभावकी हुन्छिन्।
उनलाई श्रीमान्ले माया त गर्छ तर श्रीमान्ले आफ्नो चाहना पूरा गर्नका लागि मात्र उनलाई माया गरेका हुन्छन्। श्रीमान्को लागि राम्रो बनिदिनुपर्ने, स्वस्थ बनिदिनुपर्ने र आफ्नो इच्छा चाहिँ पूरा नहुने देखेपछि उनले विद्रोह गर्छिन्। मूलतः श्रीमान्को छलछामप्रतिको विद्रोहलाई यो नाटकमा मिहीन रुपले उठाइएको छ।
आफ्नो अस्तित्वको लागि विद्रोह गरेर घर छाड्ने ती नायिका मलाई मन परेको पात्र हो।
३. बाटुली– प्रसिद्ध लेखिका पारिजातको उपन्यास ‘पर्खालभित्र र बाहिर’ कि पात्र हुन्, बाटुली। बाटुली यस्ती पात्र हुन्, जसले मानिसहरू आशावादी भएर बाँच्नुपर्छ भन्ने कुरा सिकाएकी छिन्।
बाटुली गरिबीमा हुर्केकी हुन्छिन्। इच्छा विपरीत उनको सानै उमेरमा विवाह हुन्छ। तर पारिवारिक शोषणमा परेपछि उनले पहिलाको श्रीमान्लाई छाड्छिन्। त्यसपछि उनले एक जना शिक्षकसँग दोस्रो विवाह गर्छिन्। उनलाई विवाह गर्ने शिक्षक दसौं वर्ष जेल पर्छन् र जेलबाट छुटेर आउँछन्।
तर बाटुलीले आफ्नै एउटा घर हुने र दुइटा सन्तान हुने जुन सपना देख्छिन्, त्यसलाई मर्न दिन्नन्। उनको आशावादिताले मलाई धेरै प्रभाव पारेको थियो र मलाई लाग्दथ्यो, ‘मानिसले जीवनमा यस्तै आशावादी भएर बाँच्नु पर्छ।’
पारिजातकै अरू कृतिहरू ‘अनिँदो पहाडसँगै’ कि होरीमाया र ‘शिरिषको फूल’ को सकम्बरी पनि मलाई मन परेका पात्रहरू हुन्। होरीमायाको गाउँदेखि सहरसम्मको संघर्ष–कथा ज्यादै प्रभावकारी छ। सकम्बरी पनि एउटी विद्रोही चरित्र हुन्। उनको विद्रोहलाई योगमायाको विद्रोहसँग तुलना गर्न सकिन्छ। आफ्नो इच्छा विपरीत चुम्बन गर्ने पात्रप्रति उनले फरक ढंगले विद्रोह गरेकी छिन्। सकम्बरीमार्फत यौन शोषणको चित्रणलाई उतारेकी छे, पारिजातले।
आफ्नो अस्तित्वका लागि विद्रोह गर्ने यस्ता पात्रहरू मलाई युवावस्थादेखि नै मन पर्दै आयो।
४. कला– युवा लेखक भूपिनले एउटा पात्र उभ्याएका छन्, कला। यो उनको उपन्यास ‘मैदारो’ का पात्र हुन्। नेपाली समाजमा व्याप्त जातीय विभेद, छुवाछुत र उत्पीडन विरुद्ध उभिएकी पात्र हुन्, उनी।
हामीकहाँ जातीय विभेदको खाडल यति गहिरो छ कि, कथित उच्च जात र दलितबिच वैवाहिक सम्बन्ध गाँसिदा त्यसले समाजमा एक किसिमको तरङ्ग ल्याउँदै आएको छ। यो उपन्यासमा पनि विष्टका छोरीले दलितकी छोरासँग विवाह गर्दा केटीका बाबुले ‘मेरो एउटा अण्डा फुट्यो’ भनेर उद्घोष गर्छन् र घरबाट निकालिदिन्छन्।
त्यसपछि कलाले सोच्छिन्, ‘यो मेरो बाबुको मात्र दोष होइन्, सिङ्गो समाजकै दोष हो, जातीय प्रथाको दोष हो।’ त्यसपछि कलामा विद्रोह भाव उत्पन्न हुन्छ र उनी जनयुद्धमा होमिन्छे। कलालाई श्रीमान्ले ‘अहिंसाको बाटो रोजेरै संघर्ष गरौं’ भन्छन्। तर उनी आफ्नो अस्तित्वका लागि संघर्ष गर्नुपर्छ भन्ने निर्णयमा अडिग हुन्छिन्। कलामा हुर्किएको विद्रोही चेतले जनयुद्धकै बाटो रोज्छ। अन्ततः उनी सहिद हुन्छिन्।
पछिल्लो समय मलाई आन्विका गिरीको कथाको पात्र ‘कुमारी आमा’ पनि धेरै मन परेको पात्र हो। कुनै अज्ञात व्यक्तिद्वारा गर्भाधान गरेपछि ती पात्रले बच्चा जन्माउँछिन्। उनले ती बच्चा ‘मेरै हो, मैले नै जन्माएकी हुँ’ भनेर समाजलाई देखाउन कुनै संकोच मान्दिनन्। पुरुषवादी चिन्तनप्रतिको उनको विद्रोह यो कथामा झल्किन्छ। एकल आमा भएर पनि समाजमा शिर ठाडो पार्ने ती पात्र आदर्श लाग्यो मलाई।
कथाकार हरिमाया भेटवालको ‘कल्ली’ पनि मन परेको पात्र हो। उनले वैदेशिक रोजगारीको विरुद्धमा उभिएकी एउटी संघर्षशील महिला हुन्। उनले गरेको विद्रोह मलाई मन पर्यो।
‘सीमान्ती’ नामक पात्र छिन्, प्रभा बरालको उपन्यास ‘फिलिङ्गो’ मा। उनी श्रीमान्सँगै जापान जान्छिन्। तर जापानमा उनले श्रीमान्बाट जुन माया, स्नेह पाउनुपर्ने हो, त्यो पाउँदिनँन र नेपाल फर्केर आफूलाई आर्थिक–सामाजिक रुपले समृद्ध तुल्याउँछिन्।
युवावस्थादेखि अहिलेसम्म मलाई आफ्नो अस्तित्वका लागि संघर्षशील महिला पात्रहरू मन पर्दै आयो। अचेल पनि पुस्तक पढ्दा यस्तै विद्रोही पात्रहरूको संघर्षशील कथा–गाथाले प्रभावित तुल्याउँछ मलाई।
Facebook Comment
Comment