गृहमन्त्री खाँण र बेलायती राजदूतबीच भेट

नेपालभ्युज

गृहमन्त्री खाँण र बेलायती राजदूतबीच भेट
फाइल तस्वीर ।

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले आज शिष्टाचार भेटघाट गरेकी छिन्।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो। भेटमा गृहमन्त्री खाँणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकास, लैङ्गिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिए।

उनले आगामी दिनमा यस्ता काममा सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। गृहमन्त्री खाँणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए।

मन्त्री खाँणले नेपालीले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरे।

भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताइन्। राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने आश्वासन दिइन्। भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved