‘ओमिक्रोन अन्तिम होइन, मिश्रित भेरियन्टसँग लड्न सक्ने खोप विकास नभएसम्म जोखिममै छौं’ (भिडिओसहित)

पछिल्लो समय नेपालमा ओमिक्रोन भएका धेरै नागरिकहरू संक्रमित हुँदा हुँदै पनि लक्षण सहित घरबाहिर निस्कने, काममा जाने गरेकाले पनि संक्रमण अझ तीव्र गतिमा फैलिएको हो। नागरिकहरू अहिले त्यति सचेत नभएकाले पनि संक्रमण समुदायस्तरसम्म पुग्नुको अर्को कारण हो।

‘ओमिक्रोन अन्तिम होइन, मिश्रित भेरियन्टसँग लड्न सक्ने खोप विकास नभएसम्म जोखिममै छौं’ (भिडिओसहित)

ओमिक्रोन भेरियन्ट तीव्र गतिमा समुदायमा फैलदो छ। कोरोना भाइरसले स्वरूप बदल्दै ओमिक्रोमसम्म आइपुग्दा यो कम घातक रहेको विज्ञहरूको राय छ। के सॉच्चै कमजोर भनिएको ओमिक्रोन कम घातक हो? भाइरस अझै कति स्वरूपमा फैलने जोखिम र सभ्भावना छ? भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यसँग नेपालभ्यूजका लागि समृद्धा केसीले गरेको कुराकानीको सम्पादित अशः

समुदायमा फैलिएको ओमिक्रोम कम घातक भनेर तर्कहरू आइरहेका छन्, अहिलेको संक्रमण कति घातक हो, सामान्यजनले बुझ्नेगरी भनिदिनोस् न ?

दक्षिण अफ्रिकाबाट २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लेबीडटवानडट ५२९ भेरियन्ट जसलाई अरबिक भाषामा ओमिक्रोन भनेर नामकरण गर्‍यो। अहिले यो ओमिक्रोन विश्वका एक सय ५९ भन्दा बढी देशमा फैलिसकेको छ।

त्यही ओमिक्रोनको तेस्रो लहरमा अहिले नेपाल जुधिरहेको छ। तर आम नागरिकले बुझनु पर्ने महत्वपूर्ण कुरा के हो भने, यो भन्दा अगाडि फैलिएका भेरियन्टहरूभन्दा ओमिक्रोन निकै संक्रामक छ। पूर्ण मात्रा खोप लगाएका र यो भन्दा अगाडि संक्रमित बनेका व्यक्तिहरू पनि पुनःओमिक्रोन संक्रमित बनेको अवस्था छ।

ओमिक्रोन संक्रामक भएपनि संक्रमित भएर आइसीयू, एचडीयू र भेन्टिलेटरमा भर्ना हुने दर डेल्टा भेरियन्टभन्दा ९१ प्रतिशत कम रहेको छ। ओमिक्रोन संक्रामक हो तर संक्रमित बनाए मृत्यु बनाउने स्तरको घातक भने होइन।

के ओमिक्रोन कोरोना भाइरसको अन्तिम भेरियन्ट हो ? वा अझै यसले कति स्वरूप बदल्दै जाने हो ?

डब्लुएचओले ओमिक्रोन भेरियन्टबाट नै कोरोना भाइरसको अन्त्य हुने तर्क राखेको भनेर समाचार मैले पनि पढे तर पछि ट्रेडोसको डाइरेक्टर जेनरलले गलत समाचार बाहिर गएको पनि भन्नु भयो।
कुनै पनि संक्रामकको जीनमा आउँने परिर्वतनले नै म्युटेशन (उत्परिर्वतन) कति बढी वा कति कम हुन्छ भनेर निर्धारण गर्छ।

अहिले नै कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अन्तिम हो भन्नु गलत हो।

ओमिक्रोनपछि पनि दुई वटा नयाँ भेरियन्ट आइसकेको अवस्था छ। साइप्रसमा डेल्टा र ओमिक्रोनको मिश्रित भेरियन्ट डेल्टाक्रोन बढीरहेको अवस्था छ भने फ्रान्समा पनि अहिले डेल्टा, ओमिक्रोन र अल्फाको मिश्रित भेरियन्ट देखिएको छ। त्यसकारण मिश्रित भेरियन्टहरूको निश्चित चक्र ६० दिन देखि एक सय २० दिन पुग्दै गर्दा उत्परिर्वतन हुदै जान्छ र यो कहिलेसम्म रहन्छ भन्ने विषय चाहि जब उत्परिर्वतन छिटो÷छिटो हुन्छ र जति छिटो समुदायमा फैलिन्छ त्यति नै बढी नयाँ भेरिएन्ट ‘आउट ब्रेक’ हुन्छन्। त्यसैले अहिले जसरी ओमिक्रोन धेरै देशमा पुगेको छ। अब यस पछि धेरै प्रकारका भेरियन्ट ‘आउट ब्रेक’ हुन सक्ने अवस्था छ। त्यसकारण विभिन्न जर्नलहरूले निकालेको निष्र्कषमा अब आउँने मिश्रित भेरियन्टहरू अझ बढी घातक हुन सक्ने विश्लेषण वैज्ञानिकहरूले गरेका छन्।

त्यसो भए जोखिम अझै टरेको छैन ?

नेपाल लगायत संसारभर नै हालसम्म कोभिड–१९ विरुद्धको लागि लगाइएको खोपले ओमिक्रोन भेरियन्टमा भन्दा अन्य पुराना भेरियन्टहरूको विरुद्धका लागि राम्रो काम गरे पनि ओमिक्रोन भेरियन्टमा यी खोपले प्रभावकारीता निकै कम देखिएकाले पुनः खोपको विकास गर्नु पर्छ भनेर साइनोभ्याक्स कम्पनीले जो नेपालीहरूले लगाएको भरोसेललाई पुनः परिमार्जन गरेर तीन महिनामा नयाँ खोप निकाल्ने तयारी गरेको छ। अन्य खोप कम्पनीहरूले पनि अध्ययन अनुसन्धान गर्दै छन्। जबसम्म मिश्रित भेरियन्टका लागि नयाँ खोप बन्दैन तबसम्म हामी जोखिम मै छौं।

अहिले हामी तेस्रो तलहरमा छौं, यस्तो लहरहरू स्पेनिश फ्लूमा पनि सात पटकसम्म दोहोरिएको थियो। जसमा दश करोड मानिसको मृत्यु भएको थियो।

यसअघि देखिएका र्सास, मर्स वा एचवनएचएनले गरेको ‘आउट ब्रेक’ हरू करिब तीन वर्ष देखि दश वर्षसम्म लगातार उत्परिर्वतन भएको अवस्था छ। त्यसकारण यसकोे उत्परिर्वतन एक सय ५० वटा भन्दा बढी उत्परिर्वतन भइसकेर आफै भाइरस–भाइरस बिच प्राकृतिकरूपमा खान सक्ने संम्यन्त्र भएपछि एउटा भाइरस आफै हराएर जान सक्ला, र अर्कोचाहिँ नागरिकहरूमा विभिन्न मिश्रित भेरियन्टबाट संक्रमित बनेर त्यसबाट निस्केको रोग प्रतिरोधात्मक क्षमता जसलाई हामीले हाइब्रिड प्रतिरक्षा भन्छौं त्यसको विकास भयो भने अन्य भाइरसलाई निष्कृय पार्दै जान सक्ने सम्भावना छ।

तर यथास्थितिमा डब्लुएचओ वा अरू कसैले भने जस्तो यो आमिक्रोनपछि कोरोना महामारी हराउँने या चाहिँ अर्को ‘आउट ब्रेक’ नहुने भन्ने हुँदैन। एक सय ५० देखि दुई सय ५० वटा उत्परिर्वतन नभएसम्म यसको चक्र समाप्त हुने देखिँदैन।

नेपालमा ओमिक्रोन कुन स्तरसम्म पुग्न सक्छ ? र, हामी कुन अवस्थामा छौं ?

संक्रमण समुदायस्तरसम्म पुगिसकेको छ। तर जति संख्यामा एन्टिजेन र पीसीआर हुनुपर्ने हो त्यति भएको छैन। अहिलेको अवस्थामा दैनिक ७० हजार नागरिक संक्रमित हुन सक्छन्। अहिले त्यस्तो कुनै घर छैन्, जहा संक्रमित नबनेको व्यक्ति होस्।

यसको चक्र निकै छिटो अगाडि बढेकोले अब नेपालमा ३० देखि ४५ दिनमा ओमिक्रोन संक्रमण बिस्तारै कम हुँदै जान्छ। यथास्थितिमा ओमिक्रोन रहँदैन। नेपालमै वा अन्य देशबाट पुनः वैशाखतिर अर्को भेरियन्ट आउन सक्छ।

यसरी समुदायस्तरसम्म संक्रमण फैलिनुमा व्यक्ति स्वयंको लापरवाही गरेका हुन वा सरकार नै कतै चुकेको हो ?

सरकारले एक वर्षदेखि कोरोनाविरुद्ध खोप लगाइरहेको छ तर धेरैले जानाजान पनि खोप लगाएनन्। त्यस्तै सरकराले पनि सक्दो चाँडो सबैलाई खोपको दायरामा ल्याउन सकेको भए अस्पताल भर्ना हुने संक्रमितको संख्या अझै कम हुन सक्थ्यो। ओमिक्रोनले खोप र पहिले नै संक्रमित बनेर रोग प्रतिरोधात्मक क्षमताको विकासलाई पनि छलेकाले पनि संक्रमण विश्वव्यापी रूपमै छिटो फैलिएको हो अर्को तर्क छ।

पछिल्लो समय नेपालमा ओमिक्रोन भएका धेरै नागरिकहरू संक्रमित हुँदा हुँदै पनि लक्षण सहित घरबाहिर निस्कने, काममा जाने गरेकाले पनि संक्रमण अझ तीव्र गतिमा फैलिएको हो। नागरिकहरू अहिले त्यति सचेत नभएकाले पनि संक्रमण समुदायस्तरसम्म पुग्नुको अर्को कारण हो।

त्यस्तै सरकारीस्तरबाट पनि ‘आउट ब्रेक’ हुनु भन्दा पहिले नै संक्रमण फैलिन नदिन कुनै पनि तयारी भएको देखिएन। अझै कन्ट्याक ट्रेसिङ भएको देखिँदैन जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस पुगिरहेको छ। अस्पताल व्यवस्थापन र नागरिकलाई सचेत बनाउनुपर्ने कुरामा पनि सरकार अझै चुकेको देखिन्छ।

तथापि सरकारले मात्र यस्तो महामारीमा काम गरेर हुँदैन सर्वसाधारहरूले पनि गम्भीर भएर स्वास्थ्यका मापदण्डहरू पालन नगरेसम्म यस्ता ‘आउट ब्रेक’हरू भई नै रहन्छन्।

सरकारले अहिले दैनिक कोरोना परीक्षण २० हजार मात्र नगरेर ५० हजार पीसीआर र दुई हजार एन्टिजेन परीक्षण गर्नुपर्छ। घरघरमा गएर वा शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षणको जिम्मा वडाहरूले लिनुपर्छ।

पहिलो र दोस्रो लहरमा संक्रमित बनेकामा पोष्ट कोभिड अर्थात् कोभिड निको भएपछि पनि विभिन्न समस्या देखिरहेका थिए, यो पटक ओमिक्रोनले पनि त्यस्ता कुनै समस्या ल्याउन सक्ने कतिको सम्भावना छ ?

ओमिक्रोन संक्रमण निको भइसकेका व्यक्तिहरूमा पछिल्लो सयम राति सुत्दा पसिना आउने गरेको समस्या देखिरहेको छ। खासगरी ज्येष्ठ नागरिकमा यो समस्या बढी देखिएको छ। त्यस्तै आज ओमिक्रोनको लक्षण देखिएको छ परीक्षण गर्दा नदेखाउने तर पाँच दिनपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिने र खोकी एक हप्तापछि निको भएको जस्तो हुने तर पुनः केही दिनपछि शुरु हुने, नाकबाट केही दिन पानी बग्न बन्द हुने र फेरि बग्न समस्यादेखि नाक बन्द हुने र शरीर पनि निकै दुख्ने जस्ता लक्षणहरू पोष्ट कोभिडमा देखिरहेको छ।

नयाँ–नयाँ भेरियन्टहरू आइरहेका छन्, अब खोपको डोज पनि बढाउँदै लैजानुपर्ने हो ?

कुनै खोप लगाएपछि त्यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने भनेको ६ देखि ८ महिनासम्म मात्र हो।

अहिले बुस्टर डोज लगाउँने भनिएको छ बुस्टरभन्दा पनि खोपको मात्रालाई अगाडि बढाउँदै लैजानुपर्ने हो। तर अहिलेसम्म पाँचौं, छटौं, सातौं, आठौं कति वटासम्म खोप लगाउने भन्ने कुरा वैज्ञानिकले प्रमाणित नगरिसकेकाले केही पनि भन्न सकिने अवस्था छैन, तर पनि यति हो कि, हामीले आजसम्म लगाएका खोपले बढीमा ८ महिनासम्म मात्र काम गर्छ। त्यसपछि पुनः लगाउनुपर्छ।

यद्यपि डब्लुएचओ र वैज्ञानिकहरूले बुस्टर डोज लगाउँदैमा अब आउने संक्रमणले वा जीवनकालसम्म रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ भनेका छैनन। त्यसकारण बजारमा मिश्रित भेरियन्टसँग लड्न सक्ने खोपको विकास नभएसम्म हामी सुरक्षित छौं भन्न सक्ने अवस्था छैन।

आमनागरिकलाई कोरोना भाइरसबाट बच्नका लागि के सुझाव दिन चाहनुहुन्छ ?

सबैलाई थाहा छ भाइरसबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालन गर्ने र खोप लगाउनुपर्छ। तर पनि धेरैले यसको पालना गरेको देखिँदैन। खोप नलगाएकाले आफ्नो स्वास्थ्यभन्दा ठूलो कुरा केही हुँदैन भन्ने सोच राखेर तेस्रो मात्रा खोप लगाउन आवश्यक छ। जसले संक्रमणबाट हुन सक्ने गम्भीर समस्याबाट जोगाउन सक्छ।

त्यसैसरी सबै जनाले अनिवार्य रूपमा मास्क लगाउनुपर्छ मास्कले कोभिडबाट मात्र नभएर दम र अन्य रोगहरू लाग्नबाट पनि केही हदसम्म बचाउँन मदत गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved