गाउँपालिकाको ५३ लाख ‘हराउने’ वडासचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

गाउँपालिकाको ५३ लाख ‘हराउने’ वडासचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पञ्चकन्या गाउँपालिका भवन

काठमाडौं । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ।

नुवाकोट पञ्चकन्या गाउँपालिकाकी वडा सचिव सरिता राउत र कार्यालय सहायक रामकुमार गिरीले बैंकबाट रकम लिएर कार्यालयमा राखेको रकम शंकास्पद तरिकाले गायब भएको थियो।

गत २४ चैत ०७७ मा बैंकबाट ल्याएको सामाजिक सुरक्षा भत्ता र वडामा उठेको राजश्व रकम गरी ५३ लाख एक हजार ८५६ रुपैयाँ हराएपछि वडासचिव राउतलगायतले रकम हराएको बारेमा प्रहरीमा उजुरी पनि नगरेका अख्तियारको आरोपपत्रमा भनिएको छ।

कार्यालयबाट हराएको बताए पनि कुनै तोडफोड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी कार्यालय सहयोगी निलप्रसादसँग रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।

चाबी लगाएको ठाउँ तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएकोले राउत, गिरी र मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियतपूर्ण तरिकाले हानिनोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ।

तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा ९१० र ऐऐ दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रकम राउत, गिरी र मिश्रबाट असुलउपर गर्न आयोगले विशेष अदालतसमक्ष माग गरेको छ।

सामाजिक सुरक्षा भत्ता हराएपछि सत्यतथ्य सार्वजनिक गर्न पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved