देशका ६ महानगर : यस्तो छ कोरोना नियन्त्रणको तयारी र अवस्था

देशका ठूला शहर काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्जमा महानगरपालिकामा दैनिक संक्रमित थपिरहेका छन्। कोरोना नियन्त्रणमा यी महानगरपालिकाले केके गरिरहेका छन् त ?

देशका ६ महानगर : यस्तो छ कोरोना नियन्त्रणको तयारी र अवस्था

काठमाडौं। ओमिक्रोन भेरियन्ट संक्रमण देशव्यापी बनिसकेको छ। विशेषगरी देशका ठूला शहरमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढिरहेको छ। यस्तो छ ६ महानगरपालिकामा कोरोना संक्रमणको अवस्था र संक्रमण नियन्त्रणका लागि उनीहरूले गरिरहेको तयारी:

काठमाडौं महानगरपालिका

कोभिडको केन्द्रबिन्दु बनेको छ। देशका ठूला शहर काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्जमा महानगरपालिकामा दैनिक संक्रमित थपिरहेका छन्।

केन्द्रमा रहेको सबैभन्दा ठूलो र पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकामा अहिले २२ हजार ५६७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काठमाडौंको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये काठमाडौं महानगरपालिकामा मात्रै २४ प्रतिशत संक्रमित रहेको स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्लेले जानकारी दिए।

काठमाडौं महानगरपालिकामा अहिले सक्रिय संक्रमितको संख्या बढिरहेको काफ्ले बताउँछन्। “स्थानीय तहमा १२ माघमा ५ हजार ८९ जना १३ माघमा २ हजार १७६ जना संक्रमित थपिए”, काफ्लेले भने, “ अहिलेसम्म एक लाख ४६ हजार ६११ जना संक्रमित भएका छन्।”

उनका अनुसार संक्रमितको संख्या बढे पनि अस्पतालमा बिरामीको चाप छैन, धेरैजसो संक्रमित होम आइसोलेसनमै छन्। अहिले धेरै व्यक्तिमा संक्रमण देखिएकाले सबैलाई सम्पर्क गर्न नसकिएको काफ्लेले जनाकारी दिए।

कोरोना नियन्त्रणका लागि खोपलाई प्राथामितामा राखेको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जानकारी दिए। भने, “१२ देखि १७ बर्ष उमेर समुहका ९० प्रतिशत बालबालिकालाई खोप दिइसकेको। बुस्टार डोज दिन पनि शुरु गरेका छौं।”

सार्वजनिक स्थलमा खोप कार्डबिना आवातजावत गर्न प्रतिबन्ध गरिएको छ। स्वास्थ्य सेवा लिन जाँदा भने खोप कार्ड नहेरिने उनले बताए।

ललितपुर महानगरपालिका

काठमाडौं महानगरपालिकामा जस्तै ललितपुर महानगरपालिकामा पनि संक्रमित थपिरहेका छन्। अहिले ललितपुर महानरपालिकामा २ हजार २८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख देवी गुरुङले जानकारी दिइन्। वैशाकदेखि हालसम्म स्थानीय तहमा २२ हजार २४८ जना संक्रमित थपिएको उनले जानकरी दिइन्।

उनका अनुसार कोभिड नियन्त्रणका लागि आइसोलेसनको व्यवस्था, मिल्दाजुल्दा लक्षण देखिएका व्यक्ति र आशंका गरेको व्यक्तिको एन्टिजेन परीक्षण गरिरहेका छौं।

स्थानीय तहले १५ जनाको कन्ट्रयाक ट्रेसिङ इन्भेष्टिगेशन टिम (सीआइसीटी) बनाएका उनले जानकारी दिइन्। उक्त टिमलाई विभाजन गरी संक्रमितलाई फोनमार्फत सल्लाह र प्रेरणा दिने र अपरेशनल भिजिटमा जाने व्यवस्था मिलाएका उनले बताइन्।

उनले भनिन्, “एक टिमले कोभिड संक्रमितलाई परिवारमा अरुलाई कोभिडको आशंका भए कहाँ जाने, एन्टिजेन वा पीसीआर कहाँ गएर गर्ने जानकारी उक्त टिमले दिने गर्छ।”

एक टिमले बैंक, फाइनान्स, सहकारी र विभिन्न डिपार्टमेन्ट स्टोर अपरेशनल भिजिट (अनुगमन) गरी मापदण्ड पूरा नगरेका संस्थालाई जनचेतना दिने र कोही संक्रमित भए सुरक्षाको व्यवस्थाका विधिबारे जानकारी दिने उनले जानकारी दिइन्।

उनका अनुसार, मानिसहरूको भीडभाड हुने स्थानमा निगरानी गरी काउन्सिलङ गर्ने, कतिपय स्थानमा गएर मास्क वितरण गर्ने, माक्स नलाउनेलाई जरिवाना तिर्न लगाउने गरिरहेका छौं।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकामा केही दिनयता संक्रमण ह्वातै बढिरहेको प्रवक्ता धनबहादुर नेपाली बताउँछन्। स्थानीय तहमा सक्रिय संक्रमितको संख्या ३ हजार १०५ पुगेको उनले जानकारी दिए।

अहिलेसम्म ३६ हजार ४६१ कोरोना संक्रमित भइसकेको उनले बताए। उनका अनुसार कोरोना नियन्त्रणका लागि अत्यावश्यक कामबाहेक बाहिर निस्कन रोक लगाउने, बाहिर निस्कनै परे मास्कको प्रयोग गर्न र भीडभाड नगर्न सचेत गराइहेका छौं।

“हेल्थ डेस्क सञ्चालन, फिवर क्लिनिक सञ्चालन, क्वारेन्टाइन तथा आइसोलेशन सञ्चालन व्यवस्थापन शंकास्पद व्यक्तिहरूको नमूना संकलन, परीक्षण संक्रमितलाई आइसोलेशन व्यवस्थापन तथा होम आइसोलेशन अनुगमन गरिरहेका छौं”, नेपालीले भने, “एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन, शव व्यवस्थापन, आपूर्ति व्यवस्थापन गरिरहेको छ।”

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना जनशक्ति महानगरमार्फत परिचालन गरिएको उनले जानकारी दिए। त्यस्तै प्रतिष्ठानको सरुवा तथा संक्रामक रोग अस्पतालमा अक्सिजन पाइप जडान तथा पीपीई सहयोग गरिरहेको उनी बताउँछन्।

पोखरा महानगरपालिकाको १०० बेडको कोभिड अस्पताल सञ्चालन गरेको नेपालीले जानकारी दिए। देशभर चलिरहेको कोभिड-१९ विरुद्ध खोपलाई प्राथामिकतामा राखेर खोप अभियान सञ्चालन गरिरहेको उनी बताउँछन्।

विराटनगर महानगरपालिका

काठमाडौं, ललितपुर र पोखराको जस्तै विराटनगर नगरपालिकामा पनि कोभिड संक्रमित बढिरहेका छन्। अहिले स्थानीय तहमा संक्रमितहरू २ हजार आठ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

हालसम्म २४ हजार ४९७ जना कोभिड संक्रमित भएको र हालसम्म कोरोना संक्रमणका कारण ४२६ जनाले मृत्युवरण गरिसेकेको उनले जानकारी दिए।

कोभिड–१९ नियन्त्रणको लागि स्थानीय तहले जन–चेतनाका लागि विभिन्न माध्ययमबाट प्रचारप्रसार गरिरहेको उनी बताउँछन्। उनका अनुसार, हटस्पट लोकेसन भएको स्थानहरूमा एन्टिजेन परीक्षण, नाकामा हेल्थ डेस्क स्थापना, नाकाबाट वारपार गर्ने व्यक्तिको कोभिड परीक्षण र जनचेतना दिइरहेका छौं।

खोप लगाएका र कोभिडको परिक्षणको रिपोर्टको नेगेटिभ भए मात्र सीमाबाट प्रवेश गर्ने दिएको उनले बताए। आवश्यकताअनुसार विभिन्न सथानलाई डिसइन्फेक्सन गरिरहेका उनले तर्क गरे।

उनका अनुसार संक्रमितका लागि संस्थागत आइसोलेशनको व्यवस्था, संक्रमितलाई होल्डिङ सेन्टरबाट ओसार्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी र सहयोगमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरे गरिएको छ।

देशभर सञ्चालन भइरहेको नियमित खोप सेवा सञ्चालन गरिरहेको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाको अवस्था पनि उस्तै छ। अहिले स्थानीय तहमा २ हजार ८५९ सक्रिय संक्रमित रहेको जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए। उनका अनुसार सक्रिय संक्रमितमध्ये २ हजार ८२५ जना होम आइसोलेशनमा र ३४ जना अस्पतालमा उपचाररत छन्। हालसम्म २२ हजार ८१४ जना संक्रमित भइसकेको उनले जानकारी दिए।

उनले भने, “अहिले कोरोना रफ्तारमा बढिरहेको छ। २७ पुससम्म स्थानीय तहमा एक सयभन्दा कम संक्रमित थिए १ माघमा नै पाँच सय नाघ्यो।”

उनका अनुसार स्थानीय तहले १० स्थानबाट दैनिक परीक्षण गरिरहेको छ। ओमिक्रोन भेरियन्टबाट संक्रमण भएका व्यक्तिलाई गम्भीर किसिमको स्वास्थ्य समस्या नभएकाले आइसोलेसनको व्यवस्था नगरिएको उनले जानकारी दिए।

भरतपुरमा पनि खोप कार्यक्रमलाई प्राथामिकतामा राखेको सुवेदी बताउँछन्। उनका अनुसार स्थानीय तहले लक्षित गरेको ९० प्रतिशतलाई खोपको पहिलो मात्र लगाइसकेको र ५० प्रतिशतले दुई डोज लगाइसकेकिएको छ। फ्रन्टलाइनरलाई तेस्रो मात्रा दिन शुरु गरिएको उनले जानकारी दिए। भने, “विद्यालय र हाट बजारबाहेक अन्य क्षेत्र खुलेका छन्, सबै व्यक्ति चलायमान छन्। एक जना व्यक्तिले दिनमा कति जनासँग भेटेका हुन्छन् त्यो पत्ता लगाउन कठिन भएकाले कन्ट्याक ट्रेसिङको गर्न असम्भव भएकाले प्राथमिकता दिएका छैनौं।”

कोभिड १९ विरुद्धको खोप लगाउने स्थानमा पनि भीडभाड नै छ। स्वास्थ्यकर्मी खोप लगाउनै व्यस्त हुन्छन्, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने विषयमा नागरिक सचेत भएका छैनन्।

वीरगन्ज महानगरपालिका

वीरगन्ज महानगरपालिकामा पनि संक्रमित बढिरहेका छन्। दैनिक दुई हजारसम्म कोरोना परीक्षण भइरहेको सूचना अधिकारी अरविन्द लाल कर्णले जानकारी दिए। नाका र हटस्पट क्षेत्रमा एन्टिजेन परीक्षण गरिरहेको उनले बताए।

“नाका प्रवेश गनुअघि कोरोना परीक्षण गर्ने र उक्त व्यक्तिको पहिचान गर्छौं,” उनले भने, “भारतीय नागरिक भए फर्काउने र नेपाली भए एक दिन होल्डिङ सेन्टरमा राख्छौं।” उनका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ।

अघिल्लो महामारीमा जस्तो ओमिक्रोन भेरिएन्ट संक्रमित अस्पताल भर्ना भएका छैनन्। कोभिडले गम्भीर अवस्था सिर्जना भएको भए पनि स्थानीय तह पूर्ण तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved