ओशो विचार : हाँसो कसरी बन्यो अर्थराजनीतिको पाटो ?

नेपालभ्युज

ओशो विचार : हाँसो कसरी बन्यो अर्थराजनीतिको पाटो ?

छोटो समयमा मालिकले आफ्ना कर्मचारीलाई केही पुराना चुटकिला सुनाइरहेका थिए, जुन उनले पहिले पनि धेरैपटक सुनाइसकेका थिए। भलै ती चुटकिला सुनेर कर्मचारीहरू वाक्कदिक्क भइसकेका थिए, तथापि हाँसिरहेका थिए। जागिर खाएपछि मालिकका चुटकिलामा हाँस्न जरुरी थियो। त्यो पनि जागिरकै अंशमा पर्थ्यो। त्यहाँ केवल एकजना टाइपिस्ट चाहिँ मौन र गम्भीर देखिन्थिन्।

आफ्नो चुटकिलामा नहाँसेको देखेर मालिकले सोधे, ‘‘तिम्रो समस्या के हो ? तिमी मेरो चुटकिलामा किन हाँसिनौ ?”

उनले भनिन्, ‘‘म यो महीना जागिर छोड्दैछु, हाँस्नुको कुनै अर्थ छैन।”

मानिसहरूका आ-आफ्ना कारण र बाध्यताहरू छन्। जसकारण हाँसो पनि व्यापार, अर्थतन्त्र र राजनीति बनिसकेको छ। हाँस्नु केवल हाँस्नु मात्रै रहेन। सारा शुद्धता धमिलिसकेको छ। तपाईं शुद्ध ढंगले, सरले रूपले, कुनै बच्चा हाँसे जसरी पनि हाँस्न सक्नुहुन्न। यदि तपाईं सफा हृदयले हाँस्न सक्नुहुन्न भने तपाईं जीवनमा धेरै ठूलो उपलब्धी गुमाउँदै हुनुहुन्छ। तपाईं आफ्नो जवानी, निश्चलता र निर्दोषपना गुमाउँदै हुनुहुन्छ।

सानो बच्चा हाँसेको हेर्नुहोस् त- कति गहिराईबाट, केन्द्रबाट उत्पन्न हुन्छ त्यो हाँसो। बच्चा जन्मिएपछि उसले एउटा सामाजिक काम सिक्छ – यो भन्नु उचित हुँदैन कि ‘सिक्छ’, किनकि ऊ हाँस्ने कला आफैसँग ल्याउँछ। पहिलो सामाजिक काम। मुस्कुराएर ऊ समाजको हिस्सा बन्छ। जुन निकै प्राकृतिक र स्वभाविक लाग्छ।

जीवनमा अरु चीजबीजहरू त पछि विस्तारै आउँछन्- संसारमा उसको पहिलो चिनारी हो कि ऊ मुस्कुराउँछ। एउटी आमा आफ्नो बच्चालाई मुस्कुराएको देख्दा खुशीले उफ्रिन्छिन्–किनकि त्यो मुस्कानले स्वास्थ बनाउँछ, त्यो मुस्कानले उसको प्रतिभालाई चिनाउँछ, त्यो मुस्कानले बताउँछ कि बच्चा मूर्ख वा कमजोर छैन। त्यो मुस्कानले बताउँछ कि बच्चा बाँच्नेवाला छ, प्रेम गर्नेवाला छ, ऊ खुशी हुनेवाला छ। आमा केवल यिनै कुरामा खुशी भइदिन्छिन्।

मुस्कुराउनु पहिलो सामाजिक काम हो र यो  सामाजिक कामको आधारशीला सधैँ रहनुपर्छ। जीवनभर हाँस्नुपर्छ। यदि तपाईं जस्तोसुकै परिस्थितिमा हाँस्न सक्नुहुन्छ भने, तपाईंमा तिनको सामना गर्नसक्ने ऊर्जा आउँछ। र यो क्षमताले तपाईंमा परिपक्वता आउँछ। मैले नरोऊ भनेको छैन। सत्य त यो हो कि यदि तपाईं हाँस्न सक्नुहुन्न भने तपाईं रुन पनि सक्नुहुन्न। यी दुवै सँगसँगै आउँछन्, यी दुवै एउटै गर्भबाट आउने अंश हुन्।

लाखौं मानिस छन् जसको आँशु सुकिसक्यो। तिनका आँखाबाट बाँच्ने अभिलाषा र गम्भीरता खसिसकेको छ। आँखाबाट पानी बगेर गइसक्यो, किनकी उनीहरू रुन सक्दैनन्, आँसु बगाउन सक्दैनन्, सजिलै बग्न सक्दैनन्। यदि हाँस्न नसक्नु समस्या हो भने रुन नसक्नु पनि हो। राम्रोसँग हाँस्न नसक्ने मानिस रुन पनि सक्दैन।

र यदि तपाईं ठीकसँग रुन सक्नुहुन्छ भने मात्रै ठीकसँग हाँस्न सक्नुहुन्छ, यसको अर्थ तपाईं ज्यूँदो हुनु हो। मरिसकेको मान्छे हाँस्न सक्दैन, ऊ रुन पनि सक्दैन। मरिसकेको व्यक्ति गम्भीर हुनसक्छ। गएर मुर्दालाई हेर्नु, मरेको मान्छे जत्तिको गम्भीर कोही हुनसक्दैन। केवल ज्यूँदो मान्छे हाँस्न सक्छ, रुन सक्छ, आँसु बगाउन सक्छ।

हाँसो तपाईंभित्रको अवस्था हो, ऋतु हो, समृद्धि हो। तर सबैले विस्तारै हाँस्न बिर्सिँदै गए। शुरुमा जे सजिलो थियो त्यही कठिन भइदियो। अब त तपाईंलाई हाँस्नका लागि पनि सहयोगी चाहिने भइसक्यो। कोही हँसाओस्, काउकुती लगाओस् तब मात्रै तपाईं हाँस्न सक्नुहुन्छ। यही कारणले गर्दा संसारमा धेरै चुटकिलाहरू बन्ने गरेका छन्।

तपाईंले याद गर्नुभएको छैन होला सायद, संसारमा सबैभन्दा उत्कृष्ट चुटकिला यहुदीहरूसँग छन्। कारण यो हो कि उनीहरूले संसारका अन्य जातिभन्दा बढी दु:ख र पीडा देखेका छन्। यसैकारण उनीहरूलाई चुटकिलाको आवश्यकता पर्‍यो, नत्र उनीहरूको अस्तित्व धेरै पहिले सकिसकेको हुनेथियो। उनीहरू धेरै पीडाबाट बाहिर आएका छन्, उनीहरू सदियौँदेखि उत्पीडित छन्, थिचोमिचोमा परेका र मारिएका छन्। जसकारण उनीहरूलाई हाँसो सिर्जना गर्नुपर्‍यो। चुटकिला उनीहरूले गरेको बाँच्ने तरिकाको खोज हो। यसैले तिनीहरूसँगै सबैभन्दा सुन्दर चुटकिला छन्- गहिरो, तेज र हाँसोले भरिएका।

म तपाईंहरूलाई के भन्न खोजिरहेको छु कि हामी त्यतिबेला मात्रै हाँस्छौँ जब हामीसँग कारण हुन्छ। चुटकिला सुनेपछि तपाईं हाँस्नुहुन्छ-त्यसले तपाईंभित्र एकप्रकारको उत्साह पैदा गर्छ। चुटकिलाको व्यवस्था यस्तो हुन्छ कि कथा एकातर्फ बगिरहेको हुन्छ र अचानक एउटा मोड लिन्छ। टर्निङ पोइन्ट यति अप्रत्यासित र अचानक आइदिन्छ जुन तपाईंको कल्पनामासम्म हुँदैन।  उत्साह बढ्दै जान्छ र तपाईं विशेष चीजको लागि पर्खनुहुन्छ। र अचानक, जुन अपेक्षा तपाईंले गरिरहनुभएको हुन्छ त्यो हुँदैन, पूर्णतया उल्टो, असंगत र व्यंग्यात्मक।

चुटकिला कहिल्यै पनि तार्किक हुँदैनन्। यदि चुटकिलामा तर्क हुने हो भने हाँस्न सम्भावना हराउँछ, हाँसोका सबै गुण मेटिएर जान्छन् किनकी तपाईं अब के हुन्छ भनेर पहिल्यै कल्पना गर्नसक्नुहुन्छ। चुटकिलाले अचानक मोड लिन्छ, यति अचानक कि तपाईंका लागि यो कल्पना लगभग असम्भवप्राय: हुन्छ। एउटा लामो क्रमभंग जसले तपाईंलाई हाँसो दिन्छ। तपाईंलाई हँसाउने यो सूक्ष्म मनोवैज्ञानिक तरिका हो।

म चुट्किला सुनाउन बाध्य हुनुपर्छ, किनकि म डराउँछु। तपाईं धार्मिक मानिसहरू हुनुहुन्छ, गम्भीर हुनुहुन्छ, मैले काउकुती लगाउनुपर्छ ताकि त्यसले तपाईं धर्म बिर्सिन सक्नुहोस्। दर्शन, सिद्धान्त र प्रणाली बिर्सिएर भुइँमा उत्रिनसक्नुहोस्। मलाई बारम्बार तपाईंलाई भुइँमा झार्नुपर्छ। नत्र तपाईं गम्भीर, गम्भीर हुँदै धेरै गम्भीर बनिहाल्नुहुन्छ। र यो गम्भीरता क्यान्सर जस्तै बढ्दै जान्छ।

अ सडेन क्लास अफ थन्डरबाट अनुदित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved