निर्वाचनसम्म गठबन्धनमै रहला कांग्रेस ?

कांग्रेसका प्रभावशाली नेतृत्वले गठबन्धनलाई राष्ट्रियसभासम्म मात्रै सीमित राख्ने बताउँदै आएको परिप्रेक्ष्यमा गठबन्धनको आगामी भविष्य के हुन्छ भन्ने प्रश्न टड्कारो रूपमा उब्जिएको हो।

निर्वाचनसम्म गठबन्धनमै रहला कांग्रेस ?

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ।

सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र प्रदेश निर्वाचनसम्म निरन्तरता दिने बताउँदै गर्दा नेपाली कांग्रेसका प्रभावशाली नेतृत्वले गठबन्धनलाई राष्ट्रियसभासम्म मात्रै सीमित राख्ने बताउँदै आएको परिप्रेक्ष्यमा गठबन्धनको आगामी भविष्य के हुन्छ भन्ने प्रश्न टड्कारो रूपमा उब्जिएको हो।

नेपाली कांग्रेका नेता रमेश लेखक गठबन्धनले निरन्तरता पाउने बताउँछन्। “यो गठबन्धनले आगामी निर्वाचनसम्म नै निरन्तरता प्राप्त गर्ने मलाई विश्वास छ,” नेता लेखक भन्छन्, “गठबन्धनले निरन्तरता प्राप्त नगर्ने जस्तो मलाई कतैबाट पनि लाग्दैन।”

कांग्रेस नेता लेखकले यस्तो बताउँदै गर्दा सोही पार्टीका उपसभापति धनराज गुरुङको मत भने फरक छ।

बहुलवादमा आधारित संसदीय पद्धतिलाई अंगीकार गरेको बताउँदै उपसभापति गुरुङ बहुलवादमा आधारित संसदीय पद्धतिअनुरूप हरेक पार्टीले आफ्नो नीति, कार्यकाम लिएर निर्वाचनमा जानुपर्ने बताउँछन्।

“बहुलवादको जगलाई हामीले प्रहार गर्नु हुँदैन। गठबन्धन भनेको स्वार्थको मिलन हो, बहुलवादमा यस्तो स्वीकार्य हुँदैन,” उपसभापति गुरुङ भन्छन्, “स्वार्थका कारण एक ठाउँमा आएको गठबन्धनले देश र जनताका लागि विशेष काम गर्न सक्दैन भन्ने हामीले यसअघि एमाले र माओवादीबीच भएको चुनावी गठबन्धन र त्यसपछि निर्माण भएको सरकारबाट पनि देखि सकेका छौँ।”

स्वार्थ प्रेरित गठबन्धन गरेर कुनै काम नभएको बुझ्नुपर्ने उनको सुझाव छ। “जनतालाई केन्द्रमा राखेर आफ्नो नीति र कार्यक्रम बनाएर त्यसलाई अनुमोदन गर्न निर्वाचन गर्ने हो,” उपसभापति गुरुङ अघि भन्छन्, “बहुलवादको मूल सिद्धान्त र भावनालाई टाढा राखेर हामी अघि बढ्नु हुँदैन। बहुलवादको पहरेदारी गर्ने कांग्रेसले यो विचारलाई बुझ्नु झनै आवश्यक छ।”

कांग्रेसकै सहमहामन्त्री बद्री पाण्डे भने निर्वाचन आउँदासम्म कसरी अघि बढिन्छ अहिले नै त्यो भन्नु हतार भएको बताउँछन्। व्यक्तिगत रूपमा आफू गठबन्धनसहित निर्वाचनमा जानु नहुने पक्षमा भएको बताउँदै सहमहामन्त्री पाण्डे पार्टीका शीर्ष नेता गठबन्धनको पक्षमा हुँदा कस्तो निर्णय हुन्छ त्यो यकिन नभएको भन्छन्।

“व्यक्तिगत रूपमा भन्नुपर्दा म कांग्रेस एकल हिसाबमा निर्वाचनमा जानुपर्छ भन्ने मान्यता राख्छु, तर, पार्टीका शीर्ष नेताहरू गठबन्धनको पक्षमा देखिनुभएको छ,” सहमहामन्त्री पाण्डे भन्छन्, “पार्टीका शीर्ष नेतृत्व नै गठबन्धनको पक्षमा हुँदा अहिले नै पार्टीले निर्वाचनमा कस्तो कार्यदिशा लिन्छ यकिन साथ भन्न सकिने अवस्था छैन।”

स्थानीयस्तरमा भने कांग्रेसमा एकल हिसाबमा निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने माग बढ्दै गएको सहमहामन्त्री पाण्डेको दाबी छ। “केही समयको अवधिमा मैले ६–७ वटा जिल्लाको भ्रमण गरें,” उनी भन्छन्, “भ्रमणको क्रममा कांग्रेस एकल हिसाबमा निर्वाचनमा जानुपर्ने मत रहेको पाएको छु।”

कांग्रेसभित्र विशेषगरी डा. शेखर कोइराला पक्षका नेता एकल हिसाबमा निर्वाचनमा जानुपर्ने पक्षमा रहेका देखिन्छ। भने, सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेता भने गठबन्धनको पक्षमा रहेका छन्। कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासमेत गठबन्धनको पक्षमा हुँदा देउवाको बोली कांग्रेसभित्र बलियो हुनसक्ने अनुनमान गरिएको छ।

पौडेल पार्टीको १४ औँ महाधिवेशनअघिसम्म पार्टीको स्थापन इतरसमूहका नेता थिए। तर, महाधिवेशनमा उन सभापतिमा प्रतिस्पर्धा नगर्दा आफै गुटका तर्फबाट सभापतिमा प्रतिस्पर्धा गरेको शेखर कोइरालाको पक्षमा पनि नखुल्दा पछिल्लो समय उनी सभापति देउवानिकट रहेका छन्। यस्तै सिटौलाको समर्थन पनि देउवालाई रहेको विश्वास गरिन्छ।

यी सबै कारणले गर्दा पनि कांग्रेस बाहिरका नेता समेत गठबन्धनले निरन्तरता प्राप्त गर्ने विषयमा विश्वस्त देखिन्छन्। नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल त कांग्रेसमा ८० प्रतिशतभन्दा बढी पकठ सभापति देउवाको रहेको बताउँदै अन्य केही नेताले भन्दैमा गठबन्धनले निरन्तरता प्राप्त नगर्ने भन्ने नहुने दाबी गर्छन्।

“कांग्रेसभित्र ८० प्रतिशतभन्दा बढी पकड देउवाको छ त्यसबाहेक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा हुनुहुन्छ,” एकीकृत समाजवादीका महासचिव भुसाल दाबी गर्दै भन्छन्, “त्यसैले कांग्रेसका केही नेताले गठबन्धनलाई निरन्तरता दिन नहुने व्यक्तिगत धारणा राख्दैमा त्यसले विशेष अर्थ राख्दैन।”

कांग्रेसका नेताहरूले व्यक्तिगत धारणा राखेको विषयलाई नै समस्याका रूपमा लिनु उचित नहुने पनि उनी बताउँछन्। भन्छन्,“पार्टीले संस्थागत निणर्य गर्दा उहाँहरूले निणर्य अस्वीकार गर्नुहुन्छ जस्तो लाग्दैन।”

एकीकृति समाजवादीका महासचिव भुसालले यस्तो दाबी गरे पनि देउवा, पौडेल र सिटौलाले गठबन्धनलाई संघीय र प्रदेश निर्वाचनमा के हुन्छ स्पष्ट पारेका छैनन्। तर, उनीहरू गठबन्धनकै पक्षमा रहने एकीकृत समाजवादीका महासचिव भुसालको दाबी छ।

कांग्रेसभित्र अगामी संघीय र प्रदेश निर्वाचनमा गठबन्धनबाट नभई एकल हिसाबमा निर्वाचनमा जानुपर्ने माग राखिरहेका नेताहरू स्थानीय तहको निर्वाचनको मिति पनि सार्न नहुने पक्षमा छन्। पार्टी सभापति देउवा सहित पौडेल र सिटौला स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने तयारीमा लागेको आरोपसहित यो समूहले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउँछन्।

पार्टीभित्र स्थानीय तहको निर्वाचन सार्नुपर्ने ‘लबिङ’ गर्दै आएका नेताहरूले संविधान र स्थानीय तह निर्वाचन कानूनमा विरोधाभाष भएको बताउँदै संविधानिक व्यवस्थालाई मान्यता दिनुपर्ने बताउँछन्। कांग्रेसभित्र पौडेल र सिटौला नै स्थानीय तहको निर्वाचन सार्नुपर्ने पक्षमा रहेको कांग्रेसकै एक पदाधिकारी बताउँछन्।

“हाम्रै पार्टीका शीर्ष नेता पनि स्थानीय तहको निर्वाचन सार्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ,” उनी भन्छन्, “के कारण उहाँहरू यस्तो भनिरहनुभएको छ बुझेको छैन।”

संविधानमा स्थानीय तहको निर्वाचन स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिएको ६ महीनाभित्र गर्न सकिने प्रावधान रहेको बताउँदै सोही अनुरूप गर्नुपर्ने उनीहरूको जिकिर छ। यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। त्यसैले कुनलाई आधार मानेर निर्वाचनको मिति घोषणा गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दल निकट कानून व्यवसायीसँग छलफलमा रहेका छन्।

तर, पार्टीभित्र फरक धाराको नेतृत्व गर्ने डा.शेखर कोइराला पक्षका नेता भने स्थानीय तहको निर्वाचन वैशाख–जेठमा नै गर्नुपर्ने धारणा राख्छन्। संविधान र कानूनमा समस्या देखिएको छ भने संविधानअनुसार कानून संशोधन गरेर तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने उनीहरूको माग छ।

“संविधान र कानून बाझिएको अवस्थामा संविधानअनुसार कानून परिमार्जन गरेर स्थानीय तहको निर्वाचन गर्नुपर्छ,” पार्टीका सहमहामन्त्री पाण्डे भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved