एक वर्षमा एक करोड ६४ लाखले लगाए खोप

हालसम्म एक करोड ६४ लाखले कम्तिमा पहिलो र १ करोड ३७ लाख नागरिकले पूर्ण मात्रामा खोप लगाएका छन्।

नेपालभ्युज

एक वर्षमा एक करोड ६४ लाखले लगाए खोप

काठमाडौं। नेपालमा कोरोनाविरुद्ध खोप अभियान शुरु भएको एक वर्ष पूरा भएको छ। एक वर्षअघि आजकै दिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालीन निर्देशक डा. सागरराज भण्डारी, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले र कोरोना संक्रमितको उपचारमा खटिएका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले खोप लगाएर खोप अभियान शुरु भएको थियो।

भारतले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोपबाट सरकारले पहिलो चरणमा फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाएको थियो। फ्रन्टलाइनर हुँदै खोप लगाउनयोग्य सबैलाई खोप लगाउँदै गएको थियो। हालसम्म एक करोड ६४ लाखले कम्तिमा पहिलो र १ करोड ३७ लाख नागरिकले पूर्ण मात्रामा खोप लगाएका छन्। मन्त्रालयकाअनुसार अतिरिक्त मात्रा खोि लगाउनेको संख्या २ लाख ८२ हजार ७२४ जना रहेको छ ।

पछिल्लो समय सरकारले दैनिक पाँचौँ लाख नागरिकलाई खोप लगाइरहेको जनाएको छ। मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा पाँच लाख ५४ हजार ५६६ डोज खोप लगाइएको जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा. आरपी बिच्छाकाअनुसार १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन्। यसैगरी २ महीनाभित्र १२ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारी गरिरहेको जानकारी उनले दिए।

हालसम्म अनुदान र खरीदसहित चार करोड २० लाख ४९ हजार ६४० डोज खोप नेपाल आएको छ। अहिलेसम्म नेपालमा भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्स, मोडर्ना र फाइजर खोप लगाइएको छ।

सरकारले पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिए पनि उक्त लक्ष्य पूरा भएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved