सहकारीलाई सिद्धान्तअनुसार अघि बढाउन बोर्डको भूमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ

नेपालभ्युज

सहकारीलाई सिद्धान्तअनुसार अघि बढाउन बोर्डको भूमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यताअनुसार सहकारीहरूलाई अगाडि बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन्।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुनर्जीवन पाएको बताइन्। उनले सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भूमिका खेल्नुपर्ने पनि बताइन्।

सहकारी बोर्डको अध्यक्ष समेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रूपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरूप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिँदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन्।

सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा समेत मन्त्री श्रेष्ठको जोड थियो।

कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औँल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टि गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रूपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved