शिक्षामन्त्रीले निजी क्षेत्रसँग मागे शैक्षिक सुधारका सुझाव, २३ माघदेखि स्कुल खोल्न दिन प्याब्सनको माग

नेपालभ्युज

शिक्षामन्त्रीले निजी क्षेत्रसँग मागे शैक्षिक सुधारका सुझाव, २३ माघदेखि स्कुल खोल्न दिन प्याब्सनको माग

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरूका पदाधिकारीसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका छन्। उनले मन्त्रालयमा बुधबार र बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग सुझाव लिए।

सुझावमा प्याब्सनले कोराना भाइरसको तेस्रो भेरियन्ट– ओमिक्रोनका कारण बन्द भएका विद्यालय २३ माघदेखि खोल्न दिन माग गरेका छन्।

प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी स्कुलले गरेका राम्रा कामहरूको मुल्यांकन सरकारले गर्नुपर्ने बताए। उनले सरकारले विद्यार्थीलाई खोप दिने भने पनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको आरोप लगाए।
देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण गराउन प्याब्सनले माग गरेको छ।

यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपालले सहुलियपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ। ‘स्कुल चलाउन हामीले बैंकबाट ऋण लिएका छौँ’, एसोसिएसन अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘गत वर्ष कर्जामा ५ प्रतिशत छुट भएको थियो, यस वर्ष पनि छुटका लागि पहल गरिदिनुपर्‍यो।’

संक्रामक रोग ऐन, २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकूल गराउन माग गरेको छ।

छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए। उनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने  बताए।

शिक्षा मन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा मन्त्री पौडेलले सीसीएमसीसीको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिएका थिए।

पछिल्लो समय मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका विषयमा विश्वविद्यालय, निजी शैक्षिक संस्था र शिक्षाविद्हरूसँग सुझाव लिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved