पोखरामा सिटामोल अभाव छैन, कमी छ

घरमै आइसोलेशनमा बस्ने धेरै हुँदा सिटामोला खरिद उच्च

पोखरामा सिटामोल अभाव छैन, कमी छ

पोखरा। कोरोना संक्रमण बढेसँगै सिटामोलको माग अत्याधिक बढ्दा त्यसको असर बजारमा पर्न गएको छ।

सिटामोलको माग बढेसँगै बजारमा अभाव देखिन थालेपछि यतिबेला उपभोक्ताहरू मेडिकल पसल चहार्न थालेका छन्। पोखरामा पनि सिटामोलको अभाव हुन थालेको हल्ला हुने थालेपछि केही दिनअघि जिल्ला प्रशासन र पोखरा महानगरपालिकाले अनुगमन गरेको थियो। पोखरा केही सप्लार्यस र मेडिकलमा गरेको अनुगमनले बजारमा सिटामोल अभावभन्दा पनि पहिलाको तुलनामा कमी भएको पत्ता लगायो।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको थियो। गण्डकी प्रदेशमा पनि १८ लाख चक्की सिटामोल आएको थियो। पछिल्लो समय देशभरको बजारमा अत्याधिक औषधि सिटामोल अभाव भएको छ।

औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष विक्रम पन्तले कतिले घरमै स्टक औषधि राखिदिँदा समस्या भएको सुनाउँछन्। पछिल्लो समय अस्पताल जानेभन्दा घरमै आइसोलेशनमा बस्ने हुँदा सिटामोल खरिद उच्च भएको उनले सुनाए।

“बिरामी हुन्छु कि भनेर घरमै लगेर राखिदिँदा पसलमा औषधिको समस्या देखिन थालेको हो,” उनले भने, “पोखरामा संघमा आबद्ध ४ सय ५० औषधि पसलमध्ये आधामा यस्तो समस्या छ। बाँकीमा दुई दिनअघि आएको औषधि वितरण गरिएको थियो।”

बिरामीलेनै बढी औषधि खरिद गरेर लैजाने गर्दा अब एक चक्की मात्र दिने र बाँकी चाहिएको खण्डमा पछि दिने व्यवस्था गर्ने मौखिक व्यवसायबीच सरसल्लाह भएको उनले जानकारी दिए। आफै अन्नपूर्ण मेडिको फर्मा सञ्चालन गरेका पन्तको पसलमा स्टक सिटामोल औषधि नभएको बताउँछन्। “मसँग स्टक औषधि छैन्,” उनले भने, “यतिखेर धेरै डिमान्ड भएकोले मेरोमा पनि अभाव नै छ। हप्तादिनमा सहज होला।”

पछिल्लो समय नेपाली कम्पनीहरूले पनि उत्पादन कमी गरेकोले अभाव हुन थालेको उनको विश्लेषण छ। “भारतबाट नेपालमा आयत गर्दा महँगो पर्न जान्छ। अधिकांश पसलमा नेपालमै उत्पादन भएको औषधि बिक्री गर्ने हो। तर, यहाँ पनि उत्पादन कम हुँदै गएको छ,” उनले भने, “नेपाल सरकारले सरकारी अस्पताललाई दिन सिटामोल ५० हजार स्टक छ। तर, त्यो किन्न पाइदैन्। स्वास्थ्य चौकीमा गएर लिन पनि सक्नुहुन्छ।”

औषधि व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डेले यस प्रदेशमा सिटामोलको अभाव नभएको सुनाउँछन्। “सबै पसलहरूमा एकैचोटी औषधि नपुगेको होला। तर अभाव भने छैन,” उनले भने, “सिटामोल पाइँदैन कि भन्ने हल्लाले एकैचोटि घर लगेर थुपार्ने हुँदा यस्तो भएको हो। तर औषधि पाइएको छ। कतै सिटामोल पाइएन भने ‘मल्ल फर्मा सिटिकल’ पोखरामा गएर लिन सक्नुहुनेछ। यसको लागि हामीले सूचना पनि गरेका छौं।”

महेन्द्रपुलमा रहेको गोर्खा मेडिकल हल सञ्चालक विकास नेपालीले आफ्नो पसलमा ४/५ बक्स मात्र सिटामोल रहेको बताए। “केही दिनलाई त पुग्ला केरे, पछि आउँला नि,” उनले भने।

स्वास्थ्य कार्यालय कास्कीका अनुसार सबै पालिकाहरूलाई सिटामोल उपलब्ध गराएपनि केही भण्डारमै रहेको छ। कास्कीका पालिकाहरूलाई पर्याप्त सिटामोल दिएको र भण्डारमा पनि रहेको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved