घिनाघाट-विराटचोक चारलेन सडक खण्डको १० किलोमिटर कालोपत्रे सम्पन्न

नेपालभ्युज

घिनाघाट-विराटचोक चारलेन सडक खण्डको १० किलोमिटर कालोपत्रे सम्पन्न
फाइल फोटो।

विराटनगर। प्रदेश १ को राजधानी विराटनगर जोड्ने घिनाघाट–विराटचोक चारलेन सडकखण्डको १० किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ।

तीन प्याकेजमा सम्झौता भई निर्माण भइरहेको उक्त मार्गको नेताचौक–मिलनचौक सडकखण्डको कालोपत्रे सम्पन्न भएको हो। श्रेष्ठ–रमन–एपेक्स जेभी निर्माण कम्नीले विराटचौक–नेताचौक र नेताचौक–मिलनचौकका दुई वटा प्याकेजमा काम गरिरहेको छ।

यस सडकखण्डको २० किलोमिटरमध्ये १० किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ। विराटचोक–नेताचोक सडकखण्ड भने निर्माणाधीन अवस्थामा छ। आगामी वैशाखसम्म उक्त खण्डमा पनि कालोपत्रे सम्पन्न हुने दाबी गरिएको छ।

यो खण्डमा ३ किलोमिटर क्षेत्रमा सडक कालोपत्रेको कार्य भईरहेको श्रेष्ठ कन्स्ट्रक्सनका साईट इन्जिनियर उज्वनकृष्ण मानन्धरले बताए। सडक सीमाभित्र रहेका विद्युतका पोल सार्न ढिलाइ भएका कारण विराटचौक बजार क्षेत्रको काममा ढिलाइ भइरहेको उनले जानकारी दिए।

बाँकी क्षेत्रमा ‘स्ट्रक्चर’ को काम पूरा भइसकेकाले कालोपत्रे गर्न मात्र बाँकी रहेको उनको भनाई छ। साइट इन्जिनियर मानन्धरका अनुसार भौतिक प्रगति ६० प्रतिशत भएको सो सडकको निर्माण सम्झौता ६० करोडमा भएको हो। जसमध्ये ५० प्रतिशत रकम निकासा भएको छ।

‘बाँकी रकम निकासा भए वैशाखसम्ममा सबै काम सम्पन्न हुनेछ’, मानन्धरले भने, “आगामी असार मसान्तसम्म सबै काम सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार लक्ष्य हासिल हुने अपेक्षा राखेका छौं।”

पुष्पलालचौक–घिनाघाट जोड्ने पुलसहितको २ किलोमिटर सडक विस्तारको ठेक्का भने लामा–बानिया जेभीले लिएको छ। ३८ करोड लागतमा पुलसहित २ किलोमिटर सडक कालोपत्रे गरिनेछ। जसमध्ये सडक ग्राभेलको चरणमा पुगेको र पुलको बेश तयार पारिएकोले असारसम्ममा काम सम्पन्न गर्ने दाबी गरिएको छ।

प्रदेश सरकारको गौरवको आयोजना मानिएको यो सडक प्रादेशिक संरचना बनेपछिको मोरङका लागि पहिलो सडक आयोजना मानिन्छ। भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले यसको नियमन गर्दै आएको छ।

पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीका अनुसार २२ किलोमिटरमध्ये समग्र भौतिक प्रगति ७० प्रतिशत र वित्तीय भुक्तानी प्रगति ६० प्रतिशत भएको छ।

मिलनचौक–विराटचौकको २० किलोमिटर सडक वैशाखसम्ममा र मिलनचौक–घिनाघाट पुलसहितको दुई किलोटिमर सडक असारसम्म सम्पन्न हुने प्रमुख रेड्डीले दाबी गरे।

कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि गतवर्ष जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक विस्तारको कार्य नरोकिएका कारण तोकिएको म्याद भित्र कार्यसम्पन्न हुने दाबी गरिन्छ।

जम्मा दूरी २२ किलोमिटरमध्ये एक अर्ब २० करोड रुपैयाँ लागतमा निर्माणाधीन २० का दुईवटा प्याकेज र पुलसहित दुई किलोमिटरको लामा–बानियाँ प्याकेज ३८ करोडमा निर्माण सम्पन्न गर्ने योजना राखिएको छ।

साइट क्लियर समयमै नहुँदा विराटचौक–मिलनचौकका काम ढिलो भएपनि आगामी असारसम्म सडकको काम सम्पन्न हुने ठेकेदार कम्पनीको दाबीअनुसार पूर्वाधार विकास कार्यालयले सहजीकरण गरिरहेको छ।

नेताचौक–मिलनचौक खण्डका प्रोजेक्ट म्यानेजर भरत कार्कीले कालोपत्रेको काम सम्पन्न भएको र अब रङ्गरोगन गरेर सडक हस्तान्तरण गरिने बताए। ६० करोडमध्ये अझै ६ करोड रुपैयाँ भुक्तानी पाउने बाँकी रहेको उनले जानकारी दिए।

चारलेनमा विस्तार गरिने सडककलाई आवासीय क्षेत्रमा ६४ मिटर र आवास नभएको क्षेत्रमा ५६ मिटरमा सीमा क्षेत्र कायम गरी मध्यभागको दुवैतर्फ ३५/३५ फिट कालोपत्रे गरिने योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved