शहीद धर्मभक्तको नाममा मानव सेवा आश्रम बन्ने

माथेमा काजी परिवारका थिए, उनलाई नपुग्दो केही थिएन। उनी दरवारभित्रैको पहुँचवाला थिए। तथापि उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिएर जहाँनीया राणा शासनविरुद्ध संघर्ष गरेका थिए।

नेपालभ्युज

शहीद धर्मभक्तको नाममा मानव सेवा आश्रम बन्ने

काठमाडौं। प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिनको सम्झनामा आज उनले अमरत्व पाएकै ठाउँमा रहेको सालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ। शहीदसप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा वडा सदस्यहरू र सीमित कर्मचारी सहभागी भएर सालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो।

कोरोना संक्रमण बढिरहेकाले यस बर्ष शहीद सप्ताहका कार्यक्रमहरू सीमित व्यक्तिहरूबीच आयोजना भइरहेका छन्।काठमाडौं महानगरले शहीद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ। नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ। यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ।

यस्तै माथेमा जन्मिएको ठाउँ काठमाडौंको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले उनको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको छ। पहिलोपटक २०५३ माघ १३ गते सिफलमा माथेमाको सालिक राखिएको थियो। यो सालिक अहिलेको स्थानभन्दा करीब ५ मिटर पूर्वमा अर्धकदको थियो। सडक विस्तारका क्रममा सालिक भत्काउनुपर्ने भएपछि साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो। यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्धकदको प्रस्तर सालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो। यसलाई थप सुधार गरेर महानगरले सालिकसहित त्यस क्षेत्रमा पूर्वाधार विकास गरेको हो।

माथेमा काजी परिवारका थिए, उनलाई नपुग्दो केही थिएन। उनी दरवारभित्रैको पहुँचवाला थिए। तथापि उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिएर जहाँनीया राणा शासनविरुद्ध संघर्ष गरेका थिए।

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो। वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई ज्यानदण्ड दिएका थिए।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो।

धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक थिए। उनले प्रजातन्त्रका पक्षमा काम गर्न राजालाई प्रजा परिषद्को सदस्यसमेत बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved