- विगतको तुलनामा सन् २०२२ मा किन धेरै चिनियाँ महिलाहरू गर्भवती हुँदैछन्?
- फेब्रुअरी १ तारिखदेखि एक सातासम्म किन चिनियाँले कुनै पनि हतियार चलाउँदैनन्?
- अहिले १२, २४, ३६, ४८, ६० अथवा ७२ वर्ष पुगेका चिनियाँले फेब्रुअरी १ तारिखदेखि भित्री पोशाक (ब्रा, पेन्टी, अण्डरवेयर अथवा थर्मकोटदेखि मोजासम्म) किन रातै रङको लगाउँछन्?
- यो वर्ष २४ अथवा ३६ वर्ष पुगेका चिनियाँहरू सन् २०२२ भित्रै बिहे गर्न किन हतारिएका छन्?
- चिनियाँहरूले वर्षभरी गर्ने खर्चको एकतिहाई खर्च यो फेब्रुअरीको पहिलो सातामै किन गर्छन्?
कम्युनिष्ट मुलुक चीनमा अझै पनि कयौँ अन्धविश्वास र रुढिवादी प्रचलन व्याप्त छ। चिनियाँ संस्कृति कम्तिमा पाँच हजार वर्ष पुरानो हो। पुरानो चलन पछ्यानउने भएकाले पनि चिनियाँहरू रुढिवादी भएका हुन्। यस्तै अन्धविश्वास र मान्यता चिनियाँ वसन्त चाडमा पनि छन्।
उल्लिखित प्रश्नका जवाफभित्र चिनियाँ अन्धविश्वास र मान्यता कस्तो रहेको छ भन्ने कुरालाई यस आलेखमार्फत प्रस्ट्याइएको छ।
परम्परागत चिनियाँ पात्रो अनुसार आगामी फेब्रुअरी १ तारिख अर्थात् माघ १८ गते मंगलबार चिनियाँहरूको नयाँ वर्ष हो। चिनियाँ नयाँ वर्षलाई वसन्त चाड पनि भनिन्छ र यो चीनको सबैभन्दा ठूलो पर्व पनि हो।
यतिबेला बेइजिङका सडक, गल्ली, बजार, अफिस, घर, विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपटि्ट बत्ती जडान भएको) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो)ले सजाइएको छ। राता कपडा, राता खेलौना, राता तुलहरू, रातै सिँगारटारले यतिबेला पूरै चीन राताम्मे बनेको छ।
नेपालमा दशैँतिहारकै झल्को दिने गरी चीनमा मनाइने वसन्त चाडमा चिनियाँहरू झुमिरहेका छन्। नेपाली शेर्पा, तामाङ, गुरुङहरू तथा थकाली लगायतले जस्तै चिनियाँले पनि गाई (गोरु) वर्षलाई बिदा गरेर बाघ वर्षलाई भित्र्याउँदैछन्।
माघ १७ गतेदेखि चीनमा एक साताको सार्वजनिक विदा हुन्छ। यो अवधिमा आकस्मिक सेवा बाहेकका सबै सरकारी तथा निजी कार्यालयहरू बन्द हुन्छन्। ठूला मलहरू खुले पनि साना बजार र खुद्रा पसलहरू बन्द रहन्छन्। अध्ययन, जागिर, अवसर र सुविधाको खोजीमा परिवारबाट टाढा भएकाहरू वसन्त चाडमा घरमा भेला हुन्छन्। लामो बिदा भएकाले परिवार लिएर घुमफिर गर्ने मौका पनि यही हो। सन् २०१९ को अन्त्यसँगै देखिएको कोरोना महामारीले पहिले जस्तो मेलाहरू आयोजना नभएता पनि पारिवारिक जमघट भने भइरहन्छन्।
चिनियाँ चन्द्रमासको पात्रोअनुसार वर्षको अन्तिम दिनलाई ‘छु सी’ भनिन्छ। यो रात बत्ती ननिभाउने र अबेरसम्म जागा बस्ने चलन छ। नयाँ वर्षको स्वागत गर्नका लागि घरपरिवारका सबै व्यक्तिहरू रातको १२ बजेसम्म जाग्राम बस्ने गर्छन्। नयाँवर्षको पूर्वसन्ध्यामा कचौरा, प्लेट, कप फुटाइयो भने त्यसलाई सबैभन्दा ठूलो अशुभ मानिन्छ।
नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् ‘छु सी’ मा घर बडारकुँडार गर्ने र घरको फोहोर बाहिर फाल्ने गर्न निशेध हुन्छ। फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फ्याँकिन्छ भन्ने म्यानता चिनियाँमा रहेको छ। चिनियाँहरूले नयाँ वर्षको पहिलो दिन घर सार्दैनन्। बिरामी भए पनि डाक्टर देखाउँदैनन् र लुगाकपडा तथा सिरकका खोल अनि बेड कभर धुदैनन्।
नयाँ वर्षको पहिलो दिन बिहे गरेर घर गएकी छोरी माइतिघरमा आउनु हुँदैन। दोस्रो दिन बिहे गरेकी छोरीले कोसेली र उपहार लिएर माइतिघर आउने चलन छ। त्यसैगरी तेस्रो दिनमा चिनियाँहरू घरबाहिर जाँदैनन् र आफ्ना साथीहरूलाई पनि घरमा भेट्न निमन्त्रण गर्दैनन्।
चौथो दिनमा परिवारका सदस्यहरूले घरमा बसेर रमाइलो गर्छन् र पाँचौं दिनमा सबैजनाले एक हप्तादेखिको फोहोर सफा गर्ने, घर बढारकुढार गर्ने काम गर्छन्। छैटौँ दिनमा साथीहरूसँग भेटघाट गर्ने, साथीहरूकोमा जाने र आफ्नो घरमा पनि निमन्त्रण गर्दै बजार गएर किनमेल गर्ने चलन छ। वसन्त चाडको अन्तिम दिन अथवा नयाँ वर्षको सातौँ दिन पनि सक्केसम्म घर बाहिर जानु हुँदैन भन्ने विश्वास छ।
वसन्त चाडको एक हप्ताभरि धारिलो हतियारहरू चलाउनु हुँदैन, मारकाट गर्नुहुँदैन। जनावर मार्नाले घरमा प्रकोप उत्पन्न हुन्छ भन्ने चिनियाँमा विश्वास रहेको छ। मासु नभइ नहुने चिनियाँहरूले एक हप्ता अगाडि नै मासु टुक्रा बनाएर फ्रिजमा राखेका हुन्छन्। घरका हात हतियार लुकाएर राखेका हुन्छन्। कपाल काट्ने कैचीदेखि नङ काट्ने नेलकट पनि यो अवधिमा चलाउन पाइन्न भन्ने चलन चिनियाँमा छ।
वसन्त चाडका अवसरमा चिनियाँहरूले भेला भएर खाने सबैभन्दा लोकप्रिय खानेकुरालाई ‘च्यावो च’ भनिन्छ। यो एक प्रकारको मम हो तर पानीमा डुबाएर पकाउने गरिन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास छ।
घुमफिर, भेटघाट, कोसेलीपात, भोजभतेर आदि कारण चिनियाँ नयाँ वर्ष सबैभन्दा खर्चिलो पर्व पनि हो। भनिन्छ, चिनियाँहरूले वर्षभरि गर्ने खर्चमध्ये एक तिहाई अर्थात् ३३ प्रतिशत खर्च यही वसन्त चाडमा गर्छन्। नेपालीहरूले दशैँलाई खर्च साँचेजस्तै चिनियाँहरूले पनि वसन्त चाडका लागि खर्चको जोहो गरेका हुन्छन् र मस्तसँग दिल खोलेर चाड मनाउने गर्छन्।
चिनियाँहरूले आम रुपमा बसन्त चाडमा रातो लुगा लगाउने गर्छन्। विशेष गरी यो वसन्त चाडमा बाघ वर्षमा जन्मिएका व्यक्तिले भित्री लुगा अनिवार्य रुपमा रातो रङको लगाउनुपर्छ भन्ने मान्यता छ। यो वर्ष १२, २४, ३६, ४८, ६०, ७२, ८४ वर्ष पुगेका चिनियाँहरू सबै बाघ वर्षमा जन्मिएका हुन्। बाघ वर्षमा जन्मिएकाले यो वर्ष महिलाहरूले पेन्ट्री र ब्रा तथा ट्राउजर तथा हाइनेक रातो रङको लगाउँछन् भने पुरुषले पनि कट्टु, भेष्ट, थर्मकोट रातै रङको लगाउँछन्। त्यति मात्र होइन पञ्जा र मोजा पनि रातै रङको लगाउने चलन छ।
बाघ वर्षमा जन्मिएका चिनियाँहरूले यो वसन्त चाडमा राता रङका कपडा लगाउनाले आफूमा भएको दोष, दुःख, अशुभ, अशान्ति, कष्ट लगायतका नकारात्मक कुराबाट मुक्ति पाइन्छ भन्ने विश्वास गर्छन्। वसन्त चाड आउनुभन्दा एक महिना अगाडिदेखि चिनियाँ बजार पनि राताम्मे बनेका हुन्छन्। सुपरमार्केट तथा डिपाटमेन्टल मलहरूमा राता बिकनीको सजावट आकर्षक देखिन्छ।
वाघ वर्षमा जन्मिएका व्यक्तिहरू मध्ये २४ अथवा ३६ वर्ष पुगेकाले सन् २०२२ मा बिहे गर्ने जमर्को गर्दैछन्। किनभने उहीहरूका लागि बाघ वर्ष २०२२ जोडी बाँध्नका लागि भाग्यशाली मानिन्छ।
प्रेमी प्रेमिका भएकाले पनि बिहे गर्नलाई बाघ वर्षलाई नै कुरेर बसेका छन् भने जोडी नभएकाहरू पनि जोडी खोज्न लागि परेका छन्। बाघ वर्षलाई भाग्यशाली मानिने भएकाले सन् २०२२ मा थुप्रै चिनियाँ दम्पतिले बच्चा जन्माउने योजना बनाएका छन्।
चीनमा वसन्त चाडको सबैभन्दा ठूलो महत्व टाढा रहेका परिवारजनहरू भेला हुनु हो। औपचारिक रुपमा एक साताको बिदा भए पनि वसन्त चाड सुरु हुनुभन्दा केही अगाडिदेखि चालीस दिनसम्म चिनियाँहरूको यात्रा जारी रहन्छ। यो अवधिलाई चीनमा ‘छुन युन’ भनिन्छ। यो समयमा चीनमा हवाइ टिकट र रेलको टिकट महङ्गो र प्राप्त गर्न निकै कठिन हुन्छ। वसन्त चाडको चिनियाँको यात्रा नै संसारको सबैभन्दा ठूलो मानव आवतजावत हो। कोरोना महामारी अगाडिसम्म वसन्त चाडमा ३ अर्ब चिनियाँहरूले यात्रा गर्दथ्ये।
वसन्त चाडका अवसरमा विभिन्न पार्कमा आयोजना हुने मेला मेलामा सिंहनृत्य, लौरीखुट्टी नृत्य, ओपेरा, सर्कस, एक्रोब्याटिक प्रदर्शनी तथा गायन समारोहरू आयोजना गरिन्छ। चिनियाँ टेलिभिजनले नयाँ वर्षको अघिल्लो राति प्रत्यक्ष प्रसारण हुने सांगितिक गाला विश्वमा सबैभन्दा धेरै दर्शकले हेर्ने टेलिभिजन कार्यक्रम हो।
नेपाली हिन्दूहरूको दशैँसँग वसन्त चाडका केही मिल्दाजुल्दा पक्षहरू छन्। दशैँमा आफूभन्दा सानालाई टीका लगाएर दक्षिणा दिने चलन छ भने चीनमा टीका नलगाए पनि दक्षिणा दिने चलन छ। पहिले बैंकबाट नयाँ नोट ल्याएर रातो खाममा हालेर दिइन्थ्यो। चीनमा दक्षिणा दिने रातो खामलाई ‘होङ पावो’ भनिन्छ। चिनियाँ भाषामा ‘होङ’ भनेको रातो हो र ‘पावो’ भनेको लिफा हो। डिजिटल युगमा प्रवेश गरिसकेकाले वीच्याट, अलिपे, पाइतु जस्ता विभिन्न सामाजिक संजालमाफ दक्षिणा आदानप्रदान गरिन्छ।
परम्परागत चिनियाँ पात्रो अनुसार अब ४७२० नयाँ वर्ष लाग्दैछ। तर धेरै चिनियाँहरूलाई यो कतिऔँ वर्ष हो भन्ने कुरा थाहा छैन। उनीहरू बाघ वर्ष २०२२ भनेर सम्बोधन गर्छन्। किनभने परम्परागत चिनियाँ पात्रो व्यवहारमा प्रयोग हुँदैन। यो सांस्कृतिक परम्परा र चाडबाडका लागि मात्र प्रयोगमा भएकाले महिना र तिथि मात्र चिनियाँले ख्याल गर्छन्।
चिनियाँहरूको विश्वासमा भेडा वर्षलाई त्यति राम्रो मानिदैन। त्यही भएर पनि सन् २०१५ मा चीनमा कम बच्चा जन्मिएका थिए। सन् २०१४ मा १ करोड ६८ लाख ७० हजार बच्चा चीनमा जन्मिएका थिए भने सन् २०१५ मा १ करोड ६५ ५० हजार बच्चा जन्मिएका थिए। त्यसैगरी सन् २०१६ मा १ करोड ७८ लाख ६० हजार बच्चा जन्मिएका थिए। सन् २०१५ भेडा वर्षलाई अभागी ठानिएकाले कम बच्चा जन्माइएको मानिन्छ।
बच्चा कम अथवा बढी जन्मिने कुराले बजार अर्थतन्त्रमा पनि निकै ठूलो प्रभाव पार्छ। कम शिशु जन्मने कारणले बजारमा नवजात शिशुका लागि उत्पादित पोशाक तथा खाद्यपदार्थ पनि कम उत्पादन गरिन्छ। भेडा वर्षमा जन्मिएकाहरू दुखी, रोगी र अभागी हुन्छन् भन्ने परम्परागत भनाइ चीनमा रहेको छ। चीनमा सबैभन्दा भाग्यशाली वर्षका रुपमा ड्रागन वर्षलाई मानिन्छ। सन् २०१२ मा ड्रागन वर्ष थियो भने अब २०२४ मा ड्रागन वर्ष पर्नेछ।
धेरैलाई लाग्छ चीन कम्युनिष्ट मुलुक भएर पनि यति धेरै अन्धविश्वास कसरी?
एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको चीनमा जम्मा ९ करोड २० लाख मात्र चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू छन्। चिनियाँहरूमा कम्युनिष्ट पार्टीप्रतिको विश्वास र आस्था जति छ त्यति नै विश्वास र आस्था आफ्नो संस्कृतिमा छ। चिनियाँ संस्कृति ५ हजार वर्ष पुरानो हो। चिनियाँहरू आफ्नो संस्कृतिप्रति विश्वास गर्छन् र सकेसम्म त्यसका मान्यतालाई पछ्याउँछन् पनि।
राम्राे कथा । दक्षिणालाई हान्युमा के भनिन्छ? पुनरुक्ति गर्न सिपालु ।
उत्तरको छिमेकी देश र त्यहाॅको समाज बुझ्न सघाउ पुग्ने लेख।