राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनले १८ सीट जित्दा एमालेको एक

सात पद गुमाए पनि राष्ट्रियसभामा पहिलो दल एमाले नै

प्रदेश १ मा आफ्नै २ जना सांसदले भोट नहाल्दा एमालेका एक उम्मेदवारले हार बेहोरे। सत्तागठबन्धनले जितेको १८ सीटमा प्रतिनिधिसभामा १ सीट रहेको राष्ट्रिय जनमोर्चाले पनि उपस्थिति जनाउन सफल भएको छ।

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनले १८ सीट जित्दा एमालेको एक

काठमाडौं। सत्तारुढ पाँच दलिए गठबन्धन र विपक्षी (नेकपा एमाले)बीच प्रतिस्पर्धा रहेको बुधबार सम्पन्न राष्ट्रिय सभामा एमालेका १ उम्मेदवार विजयी भएका छन्। १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा भने पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भए।

प्रदेश १ मा आफ्नै २ जना सांसदले भोट नहाल्दा एमालेका एक उम्मेदवार गोलाप्रथामा पुगेर हार बेहोरे। सत्तागठबन्धनले जितेको १८ सीटमा प्रतिनिधिसभामा १ सीट रहेको राष्ट्रिय जनमोर्चाले पनि उपस्थिति जनाउन सफल भएको छ।

यो निर्वाचनमा एमाले एक्लैविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए। बलियो गठबन्धनलाई पराजित गर्नेमा प्रदेश १ का ग्याल्जेन शेर्पा रहेका छन्। उनी अपाङ्गता वा अल्पसङ्ख्यकतर्फको उम्मेदवार थिए। उनले गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राईलाई पराजित गरे।

गठबन्धनबाट कहाँ कसले जिते

१९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए। सत्ता गठबन्धनबाट जित हात पार्नेहरूमा प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन्।

यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भए। वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भए।
यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा छन्। यस्तै सोही प्रदेशमा कांग्रेसका युवराज शर्मा विजयी हुँदा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भए।

कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् ।

७ पद गुमाए पनि पहिलो दल एमाले

एमालेका ८ जना सांसदको पद सकिँदै छ। जसमा १ पदमा मात्रै जिते पनि एमालेले बाँकी ७ पद गुमाएको छ। जुन पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले हत्याउन सफल भए। तर, अझै राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ। अहिले राष्ट्रिय सभामा एमालेका २४ सिट थिए।

अब ७ गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल बनेको छ। माओवादी केन्द्रले १५ सिट पुर्‍याएको छ भने कांग्रेसले १० सिट पुर्‍याएको छ। त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्‍याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved