राष्ट्रियसभाका सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछ: अध्यक्ष नेपाल

नेपालले भने, “हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ।”

नेपालभ्युज

राष्ट्रियसभाका सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछ: अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ ओटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताएका छन्।

आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताए। राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उनले बताए।

भागबण्डामा नेपाली कांग्रेसले ६, नेकपा (माओवादी) केन्द्र पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट पाएको छ। नेपालले भने, “हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ।”

आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकैपटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ। एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै पाँच अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झण्डै २५ अर्ब खर्च हुने उनले बताए।

स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनको विषयमा बहस भइरहेको नेपालले बताए। संविधान सर्वाेपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्नेमा उनको जोड छ। नेपालले भने, “एकैपटकमा तीन ओटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ।”

विद्रोहका चेतका साथ कम्युनिष्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताए। पार्टी जिल्ला हुँदै पालिका र वडा कमिटीसम्म बिस्तार भइरहेको उनले बताए।

कोरोनाका कारणले अवरोध आइररहे पनि जिल्ला जिल्लामा अरु पार्टी छाडेर प्रवेश गर्नेको अभियान जारी रहेको नेपालको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved